करिब दुईदशक अघि घुँडाभन्दा तल पुग्ने लामो कपाल र सेतो साडी लगाएर पूर्वको हरेक साहित्यक गोष्ठीहरुमा पुग्दाको समय र आजको दिनसम्म आइपुग्दा बिमला तुम्खेवाले नेपाली साहित्य, पत्रकारिताको क्षेत्रमा गहकिलो व्यक्तित्व निर्माण गरीसकेकी छिन् ।
पितृसत्ताको विरोधमा प्रतिकार गर्नुको साथै प्रेम, करुणा, अन्याय र असमानताको विरोधमा बोल्नु उनको लेखनीको स्वाभाव हो । कारगीलको चिसो हिँउ, मलेसियाको घना जंगल, फोकल्याण्डको टापु, पप्पी फूलको कथा, अधुरो प्रेमकथा यी सबै संस्मरणहरू बेलाबखत बुबाले उनलाई सुनाइरहन्थे । बुबाले भोगेको परेको सर्घषको संस्मरणहरुले तुम्खेवाको बाल मनोबिज्ञानलाई गहिरो प्रभाव पार्यो । तर, खड्गबहादुर लिम्बु पल्टनबाट रिटार्यर भएको दुई बर्षपछि मात्र जन्मिएका हुन् तुम्खेवा ।
बुबा खड्गबहादुर लिम्बु अब यो संसारमा छैनन् । तर, त्यो समय तुम्खेवाले बुबाको काजकिरिया छोराले झैँ गरिन् । उबेला समाजमा यसरी छोरीले बुबाको क्रिया गर्नु ठुलै बिद्रोह थियो । यो सबै एकैपटक देखेर आएकी तुम्खेवालाई यी कुराहरुले कमजोर होइन अझ मजबुत बनायो । उनको लेखन अझ मजबुत हुँदै गयो ।
उनले लेखेका प्रेम कविताहरू कविताको पाठकबीच अत्यन्त प्रिय छन् । तर, यो समय अर्को जिम्मेवारी थपिएको छ, त्यो हो सञ्चारिका समूह नेपालको केन्द्रीय अध्यक्षको । १९९६ मा स्थापना भएको सञ्चारिका समूह नेपाल देशभरका पत्रकार महिलाको साझा संस्था हो । यसको मुख्य उदेश्य सञ्चारमाध्यममा महिलाका मुद्दालाई सम्बोधन गराई समतामूलक समाज निर्माण गर्नु हो । १९९५ मा चीनको बेइजिङमा आयोजित चौथो विश्व महिला सम्मेलनले यो संस्था स्थापनाको परिकल्पना गरेको थियो । सस्थामा देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत हजारौं पत्रकार महिलाहरू आवद्ध रहेका छन् । संस्थाले स्थापनाकालदेखि नै महिला पत्रकारहरुको व्यावसायिक र गुणात्मक वृद्धिका लागि निरन्तर काम गरिरहेको छ । पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि र पेशागत हक अधिकार प्राप्तिका लागि योजनाहरू बनाउनुका साथै विभिन्न परियोजनामार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ । लैङिगकमैत्री कानून र नीति निर्माणमा संस्थाले सरोकारवाला निकायलाई सहजीकरण र दबाब सृजना गर्दै पत्रकारिता क्षेत्रमा क्षमतावान महिला पत्रकारलाई अवसर सृजना गर्नुका साथै सम्बन्धित क्षेत्रका सरोकारवालाहरुसँग समन्वय गर्दै विभिन्न परियोजनाहरूमार्फत पत्रकार महिलाहरुलाई लेखनवृती ,रेडियो, टिभी, अनलाइन लगायतको माध्यमबाट महिलाका बिषयहरुलाई उजागर गर्ने काम गर्छ । तुम्खेवा केन्द्रीय कार्य समितिमा सदस्य कोषध्यक्ष, सचिव, महासचिव हुदै अध्यक्ष भएकी हुन् ।
बाल्यकालबाटै हक्की स्वाभावकी तुम्खेवाको सोचेको कुरा गरिछाड्ने स्वाभावले गहकिलो व्यक्तित्व निर्माणका निम्ति महत्वपूर्ण भूमिका खेलेको छ । उबेला साहित्य र पत्रकारितामा आएकामध्ये पथरीबाट तुम्खेवा एक्लो थिइन् । बिराटनगर, इटहरी, धरान त कहिले झापाको बिर्तामोड मा नियमित साहित्यक कार्यक्रम हुन्थ्यो । ति कार्यक्रमहरुमा बिमला नियमित पुग्थिन् । उबेला छोरी मान्छे घरबाट टाढाटाढा एक्लै हिँड्नु संकुचित सोचाई थियो । तर यी सबै प्रश्नहरुलाई बेवास्ता गर्दै निरन्तर साहित्य र पत्रकारिता दुबै क्षेत्रमा लागिरहिन् । तुम्खेवा नेपाल पत्रकार महासघ मोरङको कार्यसमितिमा चुनाव नै जितेर आउने उबेलाको तेस्रो महिला पत्रकार थिइन् मोरङ्ग जिल्लामा ।
परिवारमा दुई भाइ बितेर एक्लै हुर्केकी तुम्खेवाको साहित्य माथिको रुचीलाई सधैं साथ र सहयोग गरे दम्पतीले । परिवारको यही साथले बिमलालाई निडर उभिन, कविता सुन्न, सुनाउन र पत्रकारतिामा रहिरहन हौस्याइरह्यो र असमानताको विरोधमा निडर भएर उभिन सक्षम भईन् ।
तुम्खेवासँग कवि हुनुको ट्याक छ । पथरी खोलामा पौडी खेल्दै, दाउरा बोक्दै सुगुरको चारा खोज्दै हुर्किएकी तुम्खेवा साहित्यमा कवितामात्रै लेखेर स्थापित हुने आफ्ना कमै समकालिनहरू मध्ये एक हुन् । तर, पछिल्लो समय कथा र संस्मरण लेखनमा पनि गम्भीर छिन् । कति साथीहरू हङकङ गए, युके गए तर उनी निरन्तर दुईदशक भन्दा लामो समयदेखि कविता लेखिरहेकी छिन् । र, काठमाडौंकैै खाल्टोमा छिन् ।
उनको जीवनमा धेरै कुरा फेरबदल भयो । सबै भन्दा ठूलो कुरा उनी अहिले एक सन्तानकी आमा भईन् । आफू आमा भएपछि जगतलाई हेर्ने दुष्टिकोण नै परिवर्तन भयो । उनले भनिन्, “माया भनेको त आफुले जन्माएको सन्तानको मात्र लाग्दोरहेछ । अरु चाहिँ मोह रहेछ ।”
पछिल्लो समय कथाको कृतिमा तयारी रहेकी उनका थोरै मात्र कथा प्रकाशन भएका छन् । जति भएका छन्, ति कथाहरुले पाठकको राम्रै प्रतिक्रिया पाएका छन् । हालसम्म उनको चार कविताको कृति प्रकाशित छन् । सुदुरपश्चिम विश्वविद्यालय अर्तगतको १६ कलेजमा व्यचुलर तहको दोस्रो बर्षको पाठ्यक्रममा उनको कविता समावेश छन् । उनको नेपाल, भारत, हङकङ र अमेरिकामा एकल कविता कार्यक्रम सम्पन्न भैसकेको छ ।
‘लेखक समाजप्रति जवाफदेही हुनुपर्छ सचेत लेखकले जहिल्यै अन्याय अत्याचार र बेथितिको विरोधमा बोल्छ’ भन्ने तुम्खेवाको जिकिर छ । सायद यही कारणले हुनसक्छ जति बुझ्दै गइन्, समाजमा स्थापित मान्यताहरुसँग उनलाई समस्या हुन थाल्यो र साहित्य र पत्रकारिताको माध्यमबाट निरन्तर रुपमा उनले बेथिति अन्याय र असमानताको विरोधमा प्रतिकार गरिरहिन् ।
कवि बन्ने सपना बोकेर २०५८ सालमा काठमाडौं आइन् । गाउँझै शहर हुन्न रहेछ भन्ने बुझायो । कविताप्रतिको प्रेमले तुम्खेवाले यो शहरमा पैदल हिडेर छिचोलेका गल्लीहरुसँगको आत्मीयता कति घनिष्ट छ भने उबेला न्युरोडको पिपलबोटमा हरेक दिन देशको नामुद कवि लेखकहरुको जमघट हुने । त्योबेला तुम्खेवाको बसाई सिनामंगल, हिँडेरै न्युरोडसम्मै पुग्ने गर्थिन् । गोजीमा पैसा नहुदा हिँडेर छिचोलेका यी बाटाहरुले उनलाई जीवनको अर्को महत्वपूर्ण अध्याय बुझ्न सघायो । सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली साहित्यलाई नजिकबाट बुझ्न सघायो । जीवनमा परिआएका सबै चुनौतीहरुबाट तुम्खेवा कहिले बिचलित भईनन् । बरु उनी निर्वाद उभिइन् । सामाना गरिन् र आफूलाई एक जब्बर व्यतिmत्वको रुपमा स्थापित गरिन् ।
देशमा ०६२/६३ को जनआन्दोलन चलिरहेको थियो । काठमाडौको सडकहरू हरेक दिनजतो आन्दोलित हुन्थ्यो । छिनमै सडक टियर ग्यास, पानीको पोहोरा, ढुङ्गा र ईट्टाका टुक्राहरुले भरिएको हुन्थ्यो । सर्वसाधारण, नागरिक, वकिल पत्रकार कवि लेखकहरू सबै सडकमा ओर्लिएका थिए । तुम्खेवा हरेक दिनजसो आन्दोलनमा जान्थिन् । त्यो बेला गुरुकुल, नयाँ बानेश्वर, पुतलीसडक, बागबजार, रत्नपार्क , खुल्लामञ्च जताततै सकडमा मान्छे मात्रै भरिएका हुन्थे । देशभरबाट लेखकहरू सडकमा ओर्लिएका थिए । वि.सं. २००८ साल ०१७ साल, ०४६ साल पछि सडकमा यति धेरै नागरिकहरू लोकतन्त्रको निम्ति निस्किएको यो पहिलो घटना थियो । तर, बिचारको बिद्रोह भनेको साच्चीकै सबरजस्त हुदोरहेछ तुम्खेवाले भनीन्, “अहिलेको माहौल त्यस्तो छैन । त्यो समय कवि लेखकबीच गहिरो आत्मीयता हुन्थ्थो । अहिले सामाजिक सञ्जालमा नजिक झैं छौ, तर मनले निकै पर ।”
नेपाली समाजमा महिलाले महिला भएकै कारण भोग्नु परेको अन्याय र हिंसाको फेहरिस्त निकै लामो छ । महिलाहरू लोग्ने मरेकै कारण जिउदै सती जानु पर्ने अवस्थाबाट केही माथी उठेता पनि अझै नेपाली समाज अपराधबाट मुतm छैन । सबै तह र तप्कामा महिलाले पुर्याएको योगदान महत्वपूर्ण छ । तर, त्यसको सही कदर र मूल्यांकन भएकौ छैन । तुम्खेवाले कुराकानीलाई बिट मार्दै भनिन्, “पारिजातले किन प्रज्ञाप्रतिष्ठानमा आफुलाई नलान आग्रह गरिन थाहा छैन तर अबको दिनमा नेपाल प्रज्ञा प्रतिष्ठानले महिला कुलपति पाउनुपर्छ ।”