राजतन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म निरन्तर कमल चलाउदै आएकी साहित्यका एक स्तम्भ हुन्, उषा शेरचन । छोरी पढाउनु अपराधसरह ठानिने त्यो समयमा स्नातक तहसम्म अध्ययन गरेकी शेरचनले तीन अनेक बाधाहरू छिचोल्दै आफूलाई साहित्यिक, व्यवसायिक तथा सामाजिक रुपमा स्थापित गराएकी हुन् ।
२०४८ सालमा ‘नजन्मेका आस्थाहरू’ कवितासङ्ग्रह प्रकाशन गरेकी उनका ‘अक्षरहरुका शिविरबाट’ (मुक्तकसङ्ग्रह,२०५६), ‘सर्वकालीन पीडा र जागृतिका शङ्खघोष’ (कवितासङ्ग्रह,२०६३),’तेस्रो रङ्ग’ (कथासङ्ग्रह,२०७०), ‘आधि’ (उपन्यास, २०७६) प्रकाशित कृतिहरू छन् । यस्तै, ‘अभीप्सा’, ‘सञ्चयन’, ‘मेरो माटो मेरो गीत’, ‘संवेदन’, ‘आकाश छुने रहर’ उनका गीति एल्बमहरू हुन् ।
‘गुञ्जनको बार्षिकमुखपत्र’, ‘नारी साहित्यको विधागत इतिहास’देखि ‘देवकोटा शताब्दी अभिलेख’ लगायत दर्जनौ सम्पादनको काम गरेकी शेरचन धेरैपटक पुरस्कृत हुनका साथै असंख्य सम्मान तथा पदक प्राप्त गरेकी छन् । विश्व नारी नेपाली साहित्य सम्मेलनकी केन्द्रीय उपाध्यक्ष तथा नारी प्रतिस्ठानकी संरक्षकसमेत उनले हङकङ, कोरिया, म्यान्मा, इजिप्ट लगायत विभिन्न देशमा विश्व कला साहित्य यात्रा गरिसकेकी छन् । थकाली समुदायबाट राष्ट्रियस्तरमा प्रसिद्ध हुने प्रथम महिला साहित्यकारसमेत रहेकी उनीसँग नेपाल मामिलाका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ:
लामो साहित्यक यात्रा तय गरिसक्नुभएको छ, पञ्चायत, प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दाको आफ्नो लेखन यात्रालाई स्मरण गर्नुहोस् न ?
– समयको रफतारमा नेपाली समाजले ‘छोरीलाई पढाउनु भनेको विगार्नु हो’ भन्ने मान्यता राख्ने युगमा जन्मेँ म । साहित्यिक कृति पढ्नु भनेको लागू औषध सेवन गर्नु जत्तिकै अपराध मानिन्थ्यो उतिबेला । त्यसमाथि पनि कथा, उपन्यास जस्ता पुस्तक पढेमा त झन् छोरी सोह्रै आना बिग्र्यो भन्ने सोचबाट ग्रसित समाजबिच हुर्केँ बढेँ म ।
एकातिर घरपरिवारले देख्ने गरी साहित्य पढ्ने सम्भावना थिँदै थिएन भने अर्कातिर अहिले जस्तो बिजुली बत्ती पनि थिएन । टुकी वा पानसको मधुरो प्रकाशमा त्यो पनि पाठ्य पुस्तकभित्र लुकाएर वा स्कुलका खाली समय सदुपयोग गर्दै चोरीचोरी, लुकीलुकी उपन्यासहरू पढ्नु र पढिसकेपछि अपराधबोधले ग्रस्त हुनु मेरा दिनचर्याभित्र पर्ने गर्थे । आफ्ना सिर्जनाहरू पनि नोटकपीमा मात्रै सीमित राख्नुपर्ने अवस्था थियोे !
निगालोको कलमदेखि कम्युटरको किबोर्डसम्म, रातोमाटो र खरिले लेख्ने पाटीदेखि टच स्क्रिनसम्म आइपुग्दा समय र परिस्थिति र प्रविधि भने धेरै बद्लिएको छ । तर, हाम्रो स्थिति भने जहीँको तहीँ टक्क अडिएको छ । महिला पुरुषबीच मान्छेको सोचसिद्धान्त र व्यवहारमा भिन्नता उस्तै छ, लैङ्गिग विभेद उस्तै छ, विभिन्न प्रकारका महिला हिंसाको परकाष्ठा उस्तै छ, साँघुरो सामाजिक र पारिवारिक संरचना उस्तै छ, समाजमा ब्याप्त विसङ्गति र कुरीति पनि उस्तै छ । अझै पनि सहरका केही भागमा बाहेक छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता उस्तै छ । यसो भनौँ एक्काइसौँ शताब्दी टेकिसक्दा शहर बजारमा केही फरक अवश्य छ । विश्वव्यापीकरणका कारण पढ्न र लेख्नका लागि सामग्रीहरू भने प्रशस्तै छ । अनि पहिलाको भन्दा धेरै सहज पनि अवश्य छ । पहिला साहित्यिक कृतिहरू अनिकालको बिउजस्तै थियोे, अहिले भने च्याउझैँ प्राप्त छ । तर पनि पुरुषसत्तात्मक समाज भएको कारणले महिलाको हकमा भने विभिन्न जिम्मेवारीका कारण जति खुकुलो हुनुपर्ने हो त्यति भने अझैसम्म पनि भएको छैन ।
प्रायः साहित्यका सबै विधामा लेख्नुभएको छ, जसमध्ये मनपर्ने विधा पनि होला नि ?
– मलाई साहित्यका सबै विधा उत्तिकै मनपर्छ । कुनै पनि कुरा लेख्नका लागि जन्मजात गुण त हुनैपर्छ । लेखनमा पनि त्यही गुणले काम गर्ने भएकोले नै होला सायद, म सानैदेखि अलि बढी नै संवेदनशील थिएँ । अनि मेरो जीवन र जगतप्रति हेर्ने दृष्टिकोण अलि बेग्लै थियोे ! कुनै पनि विषयले छोएपछि मस्तिष्कमा तरङ्ग उत्पन्न हुन्छ, र यतिकै दिमागमा बिजुलीझैँ चम्किन्छ र लेख्छु । मन पर्ने नपर्नेभन्दा पनि दिमागमा जे उत्पन्न हुन्छ सोही बमोजिम कविता, मुक्तक लेख्छु । गीत भने यत्तिकै गुनगुनाइरहेको बेला मनपरेको खण्डमा लेख्ने गर्छु । तर कथा भने हाम्रो वरिपरि घटिरहेका कुरा र पात्रहरूको सुक्ष्म अध्ययन र पत्रपत्रिका र अन्य सञ्चारका माध्यमबाट अवगत हुने मुद्दाका विषयमा केन्द्रित रहेर परिवार एवम् समाजमा हुने गरेका विसंगति विकृति कुरीति अनि विभेद विरुद्ध लेख्ने गर्छु ! “आधि” उपन्यास भने मैले यौनहिंसामा आधारित रहेर लेख्छु भन्ने सोच राखेर निकै अनुसन्धानपछि दिमागमा एउटा खाका तयार गरेर मात्रै लेखेकी हुँ ! यसकारण यस्तै हिसाबकिताबले लेख्ने गर्छु भनेर भन्न चाहिँ अलि मुस्किललै पर्छ ! तर मन चाहिँ सबै विधा उतिकै मन पर्छ मलाई !
तपाईका गीति एल्बमहरु प्रशस्त छन्, पछिल्लो समय त गीतकारहरु प्रायः ‘मुर्गा’ हुने गरेको सुनिन्छ, त्यस्तो अनुभव छ ?
– हजुर बहिनी खासै त होइन तर पनि अनुभवै नभएको भने पक्कै होइन ! पहिला मैले एल्बमहरू निकाल्दा त्यस्तो अनुभव केही भएन तर बीचमा भने यस्तै नमीठो अनुभव भएपछि त्यतातिर च्वाट्टै छाडि दिएँ ! र, ती गीत र म्युजिक भिडियो डिब्बामैँ सीमित छन् अझैसम्म पनि । त्यसरी गीति एल्बम निकाल्नु भन्दा त कृति प्रकाशन गर्नु नै ठीक भन्ने लाग्यो मलाई चाहिँ !
तपाइँको जीवन पढ्दै जाँदा यहाँले ‘लाइब्रेरी पस्ने अधिकार महिलालाई थिएन’ भन्ने अभिव्यक्ति पनि दिनुभएको छ । यस्ता महिलामाथिको विभेद सामाजिक थिए कि आफ्नै समुदायमा पनि थियो ?
– लाइब्रेरी पस्ने अधिकारको कुरा मात्रै नभइ पोखरामा जम्मा एउटा मात्रै लाइब्रेरी “ब्रिटिस लाइब्रेरी” थियोे । त्यहाँ कोही पनि महिला पढ्नका लागि जाने चलन नै थिएन । त्यहाँ केकस्ता पुस्तक राखिन्थ्यो? केही पत्तै थिएन ! त्यसैले सामाजिक वा आफ्नै समुदायको कुरा भन्दा पनि संस्कारै कायम भएको थिएन भनौँ ।
मल्टी पर्पस नेशनल हाइस्कुलमा गएपछि भने त्यहाँ चाहिँ स्कुुलकै निकै ठूलो लाइब्रेरी भने थियोे । त्यहाँ पनि जाने हिम्मत आउने थिएनँ त्यतिबेलाको सामाजिक संरचना नै त्यस्तैखालको थियो !
तपाइँ थकाली समुदायबाट हुनुहन्छ, आदिवासी समुदायका महिला स्वतन्त्र हुन्थे, राज्यबाट भने दमित हुन् भनिन्थ्यो, अहिले पनि छ । त्यो हदको विभेद कसरी भयो होला ? भन्ने जिज्ञासा रह्यो ।
– हाम्रो समुदाय मातृसत्तात्मक समुदाय हो । तापनि आफ्नो पुर्ख्यौँली थलो मुस्ताङबाट पोखरा बसाइँसराइ गर्ने पहिलो थकाली परिवार हाम्रो परिवार भएको कारणले आफ्नो राम्रो संस्कारहरू छाडेर पितृसत्तात्मक समाजका कुसंस्कारहरू धेरै हदसम्म अपनाउने गरेको कारणले हाम्रो पुस्ता भने पुरै शिकार भइसकेको थियोे । एकल भाषानीति लागु गरेर बाँकी भाषालाई ओझेल र दमन गरेर उठन नदिएजस्तै कुराहरू हुन् सबै ! विभेदको कारण र इतिहास लामो छ र जुन अहिलेसम्म पनि प्रष्ट देखिरहेको कुरालाई थप प्रष्ट पारिरहनु पर्दैन भन्ने लाग्यो मलाई ।
तपाइँका लेखनमा महिला सशक्तिकरणका कुरा आउँछन्, त्यससमय तपाइँका आँखाले देखेका महिलाका दर्दनाक भोगाइहरु सायद अरु पनि थुप्रै होलान् ?
– किन नहुनु ? कति छन् कति ! मैले मेरो सिर्जनाहरूमा त्यसलाई औंल्याइरहेकै हुन्छु । मेरा कथाहरू र मेरो उपन्यासमा पनि धेरै हदसम्म लेखेकी छु !
तपाइँका त परिवार शिक्षित हुनुहुन्थेछ, त्यसमाथि तपाइँले हजुरबुबाको प्रेरणाले पढ्न पाउनुभएको रहेछ । त्यससमयमा सहपाठी महिलाहरू कस्ता घरानाका थिए ?
-हजुर हजुर बहिनी। मेरो हजुरबुबाको प्रेरणा नै मुख्य थियोे । भक्तपुरबाट बसाइँसराइ गरेर गएका नेवार व्यापारीहरू रहेको टोलको बीचमा एकमात्र थकालीको घर हाम्रो ! सबै व्यापार व्यवसाय गर्ने जमिन्दारहरू थिए र हामी थकाली पनि व्यापार व्यवसायमा रमाउने जात भएकोले सबै एक से एक हुनेखाने घरानाकै थिए ।
फेरि उनै प्रसंगमा गएँ, तपाइँ थकाली समुदायबाट राष्ट्रियस्तरमा प्रसिद्ध हुने प्रथम महिला साहित्यकार हुनुहुन्छ, तपाइँसँग पञ्चायत, प्रजातन्त्रमा राजा र गणतन्त्रमा राष्ट्रपति/प्रधानमन्त्रीको बाहुलीबाट अनगिन्ती पुरस्कार तथा सम्मान ग्रहण गरेको अनुभव छ । आफ्नो अनुभव साझा गर्नुहोस् न ?
-हजुर बहिनी ! थकाली समुदायबाट राष्ट्रियस्तरमा प्रसिद्ध हुने प्रथम महिला साहित्यकार हुँ कि होइन भनेर इतिहास खोज्न आवश्यक छ, भन्ने लाग्छ मलाई । आधिकारिक हिसाबले अनि आफ्नो शिरमा आफैँले शिरफूल लगाउन खोजेको नभइ सोधखोज गर्नुपर्ने कुरा यो पनि छ । मेरो पुर्खौली थलो थाकखोला, म जन्मे हुर्केको पोखरा अनि मेरो विवाह भएको म्याग्दी खोलाको हिसाबले फुटकर लेख्नुहुने महिला कवि त मभन्दा अग्रजहरू पनि हुनसक्छ। तर, राष्ट्रिय स्तरमा पुग्नेमा थकाली समुदायको हिसाबले, पोखरेली चेली र म्याग्दीकी बुहारीको हिसाबले सायद प्रथम महिला कवि म नै हुनुपर्छ मुस्ताङ, म्याग्दी र पोखराबाट । पोखरेली दिदीबहिनी समूहले त ‘प्रथम महिला साहित्यकार’को रुपमा २०५७ सालमै सम्मानित गरेको भने पक्कै हो ।
हाम्रो पालोमा त श्री ५ महाराजाबाट शीर्षक बक्सेपछि त्यसैको आधारमा कविता लेख्नु पर्ने हुन्थ्यो । खचाखच भरिएको भव्य एवम् गरिमामय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयभित्र पाइला टेक्दा पनि त्यसैत्यसै मनमा एकप्रकार दकस लागेर आउँथ्यो । रत्नश्री–सुवर्ण–पदक (२०४०), कविता महोत्सव पदक (२०४५), व्यथित–काब्य पुरस्कारः(२०४३) देखि पछिल्लो पटक वानीरा पुरस्कार (२०७८) भूपी काव्य पुरस्कार (२०७९) ग्रहण गर्दासम्म पनि सधैंभरि उहीँ डर मिश्रित खुशी लाग्ने रहेछ । पुरस्कार पाउनु मानसम्मान पाउनु भनेको जिम्मेवारी थपिनु पनि हो भन्ने लाग्ने भएकोले पनि होला सायद ।
साहित्य लेखनका सुरुवाती समयका साहित्यिक सहपाठीहरूलाई सम्झिनुहोस् न ?
– कहिलेदेखि लेख्न सुरु गरेँ ? त्यसको तिथिमितिको खासैे हेक्का छैन मलाई । तर, जति लेख्थेँ आफैंभित्र मात्र सिमित राख्थेँ । मैले एसएलसी पोखराकै तत्कालीन् मल्टिपर्पस नेसनल हाइस्कूल हाल श्री राष्ट्रिय उच्च माध्यामिक विद्यालयबाट गरेकी हुँ । मैले आईए काठमाण्डौँको रत्न राज्य लक्ष्मी क्याम्पसमा पढेँ । त्यसबेला मेरी सहपाठी अहिले नेपालभाषाका सशक्त हस्ताक्षर कवयित्री प्रतिसरा सायमी हुनुहुन्थ्यो । स्नातक तह भने मैले मेरै जन्म थलो पोखराको पृथ्वी नारायण क्याम्मसमा पढेँ । त्यहाँ मेरो सहपाठी साहित्यका विविध विधाहरुमा समानुपातिक रुपमा कलम चलाउन सक्ने बहुमुखि प्रतिभाका धनि सरुभक्त हुनुहुन्थ्यो । त्यसै क्याम्पसमा अर्का युवा कवि तीर्थ श्रेष्ठ, कवि तथा गीतकार प्रकट पगेनि शिव, जति मायाँ लाए पनि जस्ता बहुचर्चित गीत लेख्ने गीतकार तथा कवि विनोद गौचन पनि हुनुहुन्थ्यो । र, विनोद गौचनले कताबाट मेरो कविताको कपी देख्नुभएछ र सुटुक्कै जिन्दगी कविता सारेर गोरखापत्रमा पठाईदिनु भएछ र एक्कासि मेरो कविता गोरखापत्रमा छापिएको कुरा साथीहरुबाट सुन्दा पहिला त विश्वासै लागेन । पछि पत्रिका देखेपछि भने छक्क परेँ । म आफैँ भित्र मात्र सिमित मेरा कविताहरू सार्वजनिक हुने क्रमको सुरुआत भने यसरी भयो ।
अन्त्यमा, त्यस समयका साहित्यक सिर्जना र अहिलेका साहित्यक सिर्जनबीच कस्तो किसिमको तुलाना होला ? आफ्नो विचार राखिदिनुहोस् न ?
-जीवन र जगत उहीँ भए तापनि स्थिति र परिस्थिति बेग्लाबेग्लै हुने कारण समयले छलाङ्ग मार्दै नवीन-नवीन प्रयोगहरू भइरहेका हुन्छन् । त्यसैले तुलना गर्न चाहिँ अलि गाह्रै हुन्छ बहिनी !