काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । आइतबार राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरुप आफूलाई ढाल्नुपर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले प्रविधि एवं आर्थिक समस्यासँगै बढिरहेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्नुपर्ने पनि बताए ।
प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचालन हुने विशेष दस्ताका रुपमा विकास गर्न चाहेको जानकारी दिए । प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरुलाई उनले निर्देशन दिए ।