काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्तीका सन्दर्भमा ‘कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । गोष्ठी प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको थियो ।
गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालभाषामा कविता/काव्य रचना गरेर कविकेशरी चित्तधर हृदयले नेपालभाषा साहित्यका साथै नेपाली साहित्यमा विशिष्ट योगदान दिएको बताए। उनले नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालको बहुलतालाई सम्बोधन गर्ने राष्ट्रको सर्वोच्च प्राज्ञिक निकाय भएको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठानले नेपालीलगायतका विभिन्न भाषाका विशिष्ट साधकहरूका जन्मजयन्तीका अवसरमा उनीहरूका योगदानका बारेमा चर्चा गर्ने गरिएको बताए । उनले भने– “तर, कतिपय अवस्थामा सम्बन्धित सरोकारवाला पक्षले यसबारेमा चासो नदिँदा भने चाहेर पनि कतिपय कामहरू गर्न सकिएको छैन । सरोकारवाला पक्षको चासो हुँदा आजको कार्यक्रमले भव्यता प्राप्त गरेको छ । म यहाँहरूको सक्रिय सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूकै यस प्रकारको सहभागिताले आजको कार्यक्रम सार्थक भएको छ । म आज विभिन्न पुरस्कारबाट पुरस्कृत सबै प्रतिभाहरूलाई हार्दिक बधाई दिन्छु । ”
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कार्यक्रम अत्यन्तै सार्थक भएको उल्लेख गर्दै नेपाल भाषा साहित्यका माध्यमबाट कविकेशरी चित्तधर हृदयले नेपाली साहित्यमा विशिष्ट योगदान दिएको बताए । उनले नेपालभाषाका स्रष्टाहरूले रञ्जना लिपिको अध्ययन गर्नुका साथै नेपाल भाषा साहित्यलाई व्यापक बनाउनका निमित्त मातृभाषामै तर देवनागरी लिपिको प्रयोग गर्दा प्रभावकारी हुने विचार व्यक्त गरे । सदस्य सचिव प्रा. उपाध्यायले नेपाल भाषाका स्रष्टाहरूकै कारण प्रज्ञा–प्रतिष्ठानबाट वार्षिकरूपमा प्रकाशित हुँदै आएको नेपालभाषाको पत्रिका ‘थाय्भु’ अर्धवार्षिक भएको जानकारी गराए ।
साहित्य (मातृभाषा) विभाग प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष प्राज्ञ लक्ष्मी मालीले मातृभाषा साहित्यतर्फ प्रज्ञा–प्रतिष्ठानले उल्लेखनीय कामहरू गरेको जानकारी गराइन् । उनले भनिन्– “यसमा पनि नेपालभाषाका साहित्यका काम अन्य भाषाका तुलनामा धेरै भएका छन् । यो सबै तपाईं नेपालभाषाका स्रष्टाहरूको योगदान र सक्रियताकै कारण हो ।”
कार्यक्रममा पूर्ण ताम्राकारले कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए भने परिषद्का सचिव पुष्परत्न तुलाधरले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कवि श्रीराम श्रेष्ठले कविकेशरी हृदयको एउटा कविता वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण कवि प्रतिसरा सायमीले गरेका थिए ।
उक्त अवसरमा नेपालभाषा परिषद्द्वारा स्थापित विभिन्न पुरस्कारहरू नेपालभाषा साहित्यमा योगदान दिएका विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको थियो । कुलपति उप्रेतीले डा. आनन्द जोशीलाई चित्तधर पुरस्कार, विमलप्रभा बज्राचार्यलाई ठाकुरलाल पुरस्कार, सरस्वती तुलाधरलाई मोतीलक्ष्मी पुरस्कार, केदार सितुलाई केशललाल पुरस्कार र कुन्दनप्रसाद श्रेष्ठलाई पूर्ण–हीरा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत प्रतिभामध्येबाट विमलप्रभा बज्राचार्य र कुन्दनप्रसाद श्रेष्ठले बोलेका थिए ।
कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङ, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल र डा. देवी नेपालका साथै प्राज्ञ सभा सदस्यहरू प्रा.डा कपिल लामिछाने, शशी लुमुम्बू, धु्रव मधिकर्मी, नन्दु उप्रेती, वीणा सिन्हा, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष पद्म ज्योति, कवि वासुदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
वि.संं. १९६२ साल जेठ ५ गते काठमाडौंको रक्तकालीमा जन्मिएका कविकेशरी चित्तधर हृदयका नेपालभाषामा ३३ ओटा पुस्तक प्रकाशित छन् । उनलाई राजा महेन्द्रले २०१३ सालमा ‘कविकेशरी’को उपाधि दिएका थिए ।