काठमाडौं । साहित्यकार सञ्जय तुम्बाहाङ्फेको कवितासङ्ग्रह ‘सृष्टिको याङदाङ’ सार्वजनिक भएको छ । कृतिको याक्थुङ्ग लेखक संघ, काठमाडौ उपत्यका समितिको आयोजनामा आज ललितपुरस्थित चुमलुङ्ग हिममा लोकार्पण भएको हो।
लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कवि बिमला तुम्खेवाले सञ्जय तुम्बाहाङ्फेका कविताहरुमा मुन्धुमी बिम्बहरुको प्रयोगसँगै प्रतिरोधी चेत पाइने बताइन् । यस कवितासङ्ग्रहले साहित्यवृत्तमा कविको नाम स्थापित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताइन् ।
त्यस्तै वक्ताका रुपमा उपस्थित कवि स्वप्निल स्मृतिले सञ्जय तुम्बाहाङ्फेका कविताहरुलाई विद्रोही कविताको संज्ञा दिए । वैरागी काइँलाबाट सुरु भएको मुन्धुमी बिम्बहरुको सफल प्रयोगलाई सञ्जयले पनि निरन्तरता दिएको उनले बताए । सञ्जयका कविताहरु सामाजिक न्यायको पक्षमा र सबै खाले विभेदका विरुद्ध लेखिएको उनको भनाई थियो ।
वक्ताका रुपमा उपस्थित कवि केशव सिलवालले सञ्जयका कविताहरु गैरजनजातिले धेर पढ्नुपर्नेमा जोड दिए । लिम्बू समुदायको मनोविज्ञान, सौन्दर्यशास्त्र र सांस्कृतिक परिवेशलाई नजिकबाट बुझ्नका लागि कवितासङ्ग्रहले भूमिका खेल्ने उनले बताए । सञ्जयका कविताहरुले विभेदमुक्त सांस्कृतिक समाजको परिकल्पना गरेको उनको भनाई थियो ।
शनि लिम्बुको सभापतित्वमा सम्पन्न उक्त लोकार्पण कार्यक्रमको सन्चालन सुनिल आङ्गबोले गरेका थिए ।