पोखरा । मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित केबी नाम्जाली स्मृति साहित्य सम्मान–२०७८ बाट साहित्यकार रूद्र “सन्देश” मगर सम्मानित भएका छन् । कवि नाम्जालीको ५५औं जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मगर सम्मानित भएका हुन् ।
साहित्यकार मगरलाई गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”, कवि नाम्जाली पत्नी शशी थापामगर, मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगर र प्रतिष्ठानका कास्की अध्यक्ष रूद्रबहादुर हितानमगरले नगद, ताम्रपत्र, फेटा र भाङ्ग्राद्वारा सम्मान गरे ।
सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले कवि नाम्जालीका अप्रकाशित कृति प्रकाशन गर्न सके उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने भनाइ राखे । दिवंगत व्यक्तिको नाममा गरिने सम्मान नै सबैभन्दा ठूलो पुण्य भएको भन्दै उनले सम्मान पाउनु ठूलो प्राप्ति भएको बताए ।
स्थापित जातिको विस्थापित भाषाका रुपमा मगर भाषा रहेको भन्दै उनले गण्डकी प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको उत्थानमा मगर भाषा प्रतिष्ठानसँग सहकार्य गर्ने उल्लेख गरे । कवि, साहित्यकार कुनै जाति विशेषको मात्र नहुने भन्दै जुनसुकै भाषामा कलम चलाएपनि ऊ सबैको साझा हुने बताए ।
मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषा प्रतिष्ठान, कास्की शाखाले भाषिक एवं साहित्यिक गतिविधिमा सक्रियता देखाएको भन्दै प्रशंसा गरे । सो अवसरमा उनले मातृभाषामा रचना वाचनलगायतका सिर्जनात्मक कार्यक्रमलाई समेत जोड दिन सके अझै राम्रो हुने बताए ।
रुपा गाउँपालिका वडा नं. १, कास्कीका वडाध्यक्ष दीपक आलेमगरले भाषा, साहित्यको उत्थानका लागि जनप्रतिनिधिहरूले पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । आफूले भाषा, साहित्यको विकासमा सक्दो सहयोग गर्ने भन्दै उनले समाजलाई सही दिशामा डो¥याउन भाषाविद्, साहित्यकारहरूको महत्वपूर्ण भूमिका हुने बताए ।
नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर जातिको भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि प्रतिष्ठानजस्ता संस्थाले उल्लेख्य भूमिका खेलेको भन्दै समुदायस्तरमा अझै सक्रियताको आवश्यकता औंल्याए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार रूद्र “सन्देश” मगर, केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक क्या. नरेश थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले बोलेका थिए ।
त्यस्तै, प्रतिभा छनौट समितिकी संयोजक फूलकुमारी थापामगरले सम्मानित व्यक्तित्वको परिचय र प्रतिष्ठानका उपाध्यक्ष यामबहादुर थापामगरले कवि नाम्जालीको व्यक्तित्व र कृतित्वका बारेमा बोलेका थिए ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र सदस्य कुमार थापामगरले स्वागत गरेका थिए ।