April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

प्रथम ‘घाँसी’ खड्ग ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

6.3K

काठमाडौं । प्रथम ‘घाँसी’ खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । विजेताहरुलाई बुधबार काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबीच नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

पुरस्कार वितरण समारोह जयन्तीका परिकल्पनाकार आङकाजी शेर्पाको सभापतित्व र नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघका अध्यक्ष एवम् साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

यूके र नेपालबाट करिब डेढ दर्जन कविहरू सहभागी भएको प्रतियोगितामा काठमाडौंकी सीता तुम्खेवा प्रथम, धरानकी हेन्सन याक्खा दोस्रो, मोरङका प्रदीप योङहाङ तेस्रो र उदयपुरका टीका टोली मगर सान्तवना भएका थिए । उनीहरूलाई क्रमशः नगद रू १५ हजार, १० हजार, सात हजार र पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रतियोगितामा समावेश भएका कविहरूका सिर्जना समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको थियो ।

Advertisement

त्यसैगरी कार्यक्रममा विजयी कविहरूले पुरस्कृत कविता समेत वाचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष राजन मुकारुङले घाँसी खड्ग ठाडा मगर समाजको उत्प्रेरक र उत्पीडित दुवैको पात्र भएको बताए । ‘पहिलो कवि भनेर चिनिएका भानुभक्तलाई चिनाउने काम पनि उनले नै गरे । अलिक पछि उनी आदिवासी समुदायकै भएका कारण उत्पीडितको प्रतीक पनि बने,’ उनले भने, ‘भानुभक्तका लागि सिङ्गो राज्य नै लागेर जयन्ती मनाउँछन् । तर, त्यहीँ छेउमा जन्मिएका घाँसी उपेक्षित छन् ।’

फरक प्रसङ्गमा उनले नेपालमा स्रष्टाहरूको शालिक आवश्यकताभन्दा बढी सङ्ख्यामा जहाँ पायो त्यहीँ साँस्कृतिक अतिक्रमण गरी बनाइएका कारण आक्रमणको तारो बनेको बताए । ‘बेलायतमा महान् कवि एवम् नाटककार सेक्सपियरको आफ्नो जन्मथलोको घरमा शालिक सिमित छ । जसकारण संसारभरका प्रशंसकहरू आउँछन् र हेर्छन् । हामीकहाँ भने बाक्लो गरी ठाउँका ठाउँ अतिक्रमण गरी शालिक बनाइँदा स्थानीय समुदाय र भूगोल चिढिएका हुन्,’ उनले थपे । मुकारुङले ऐतिहासिक विभेदका विषयमा राज्यविरुद्ध प्रश्न उठाइरहनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष राजन मुकारुङ

यसैगरी, परिकल्पनाकार शेर्पाले राज्यले देशको साँस्कृतिक विविधता बुझ्न नसक्दा मातृभाषा साहित्य र साहित्यकारहरू विभेदमा परेको आरोप लगाए । उनले विभिन्न राज्यबाट विभिन्न उपाधि दिइएका कविहरूले राज्यका अन्य भूगोलको साहित्य, सँस्कृति र जनजीवन समेट्न नसकेको समेत बताए । कार्यक्रम सञ्चारकर्मी एवम् रेडियोकर्मी मिरान खापुङले सञ्चालन गरेकी थिइन् ।

नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ, यूके च्याप्टरको आयाजनामा गत जुलाई १३ तारिखमा नेपाल कविता प्रतियोगिता आयोजना गरिएको भएतापनि कोभिड महामारीका कारण पुरस्कार वितरण भने अनुकूल वातावरणको पर्खाइमा केही ढिला गरी भएको कार्यक्रम संयोजक अमित थेवेले बताए ।

कार्यक्रमका परिकल्पनाकार आङकाजी शेर्पा

कविता प्रतियोगिताको निर्णायकहरूमा विश्वासदीप तिगेला, लाहाङ चेम्जोङ र रजनीमाला रजनी रहेका थिए भने जुलाईको कार्यक्रमको सभापतित्व बेलायतमा रहेका गीतकार भगवान चाम्लिङले गरेका थिए । त्यस्तै, महासंघका यूके संयोजक अमित थेवेले सहजीकरण र सञ्चालन गरेका थिए ।

कार्यक्रमको पुरा भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।