काठमाडौं –आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले गाडीसहित निकालेको र्यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त भएको छ ।
भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्याली निकालेका छन् । र्यालीका कारण कोटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सात बुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदैछन् ।
कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरुले राखेका छन् । उनीहरुले एकान्तकुनामा रहेको यातायात कार्यालय घेराउ गर्ने बताएका छन् । व्यवसायीको विरोध र्यालीका कारण यात्रु भने समस्यामा परेका छन् ।