‘प्रशासन’
जनसेवक हो कि स्व–सेवक ?
जिउँदैलाई मार्न सक्छ
मरेकालाई जिउँदो उभ्याउन सक्छ
विडम्बना !
सोझा सिधाको निम्ति प्रशासनको दैलो
केवल सिउँडीको झाङ
जहाँ आम नागरिकलाई
कारिन्दा नामका काँडाले
घोचिरहेका हुन्छन् ।
‘अस्पताल’
बाटोमै सुत्केरी हुन बाध्य छन्
दुरदराजका गर्भवती महिला
सिटामलविहीन छन्, निमुखा गरिब
अस्पतालले थर्मोमिटरसम्म बेच्छ
धनीहरूको बेडमा बाक्लो नोट हुन्छ
अस्पताल हो कि हाटबजार ?
‘देश’
दिनहुँ ट्याक्सीको मार
भनसुनको चक्कर
यात्राको भिर र अक्कर
झिसमिसेमै भागदौड गर्दै लाहुरे बन्न
कुदिरहेका आकांक्षीहरूको लस्कर
केवल स्वर्ग छ–
मात्र मुठ्ठीभरको निमित्त ।




