April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

मानव र प्राणीबीचको अन्तर

2.3K

आत्मावादीले भने,
‘तिमी सोच्दछौ, त्यसैले तिमी छौ’
भौतिकवादीले भने,
‘तिमी छौ, त्यसैले तिमी सोच्दछौ ।’

जसले जे भनुन्
सोच्नु त केन्द्रमै रहेछ;
त्यसैले सोच्नुमा छ, तिमी हुनु वा नहुनुको अर्थ
विचार गर्नुमा छ तिम्रो अस्तित्व ।

सोच्न त सबै प्राणीले सोच्दा हुन्,
फरक हो,
उनीहरू व्यक्त गर्न सक्दैनन्, तिमी जसरी
त्यसैले
तिमी मान्छे हौ ।

Advertisement

तिमीसँग भाषा र बोली छ
अनि लेख्ने हात र औंलाहरु
तिम्रो बोली सुन्न सक्ने
सात अर्ब जोडा कान छन्
छन् तिम्रा भावनाहरु पढिदिने
चौध अर्ब आँखाहरू
तर, तिमी चुप छौ
बिल्कुल चुप

फेरि पनि,
तिमीले सोच्नुमै छ, आफू हुनु वा नहुनुको सार
सोचेर मात्रै के हुन्छ ?
केवल सोच्नु होइन, व्यक्त गर्नुमा छ
मानव हुनुको सार
नत्र निस्सार ।

त्यसैले,
लागेका विचारहरु लेख, बोल, भन, साट
किनकी
–तिमी छौ
–तिमी सोच्दछौ
–तिमी सोच्दछौ, त्यसैले नै तिमी छौ ।