November 3, 2024, Sunday
२०८१ कार्तिक १९
1:37:26 pm

“मानिस र प्रकृतिको पक्षमा जहाँ, जता बसे पनि लडिरहने छु”- निर्भीकजंग रायमाझी

6.5K

कवि तथा पत्रकार निर्भीकजंग रायमाझी युवा पुस्ताका उम्दा र शक्तिशाली कवि हुन् । रायमाझी आवाजवीहिनको आवाज र आफैमा एक आन्दोलन हुन् । बनेपा, काभ्रेका रायमाझी हाल अध्ययनको सिलसिलामा बेलायत रहँदै आएका छन् । नेपालका विभिन्न आन्दोलनमा जोडिएका उनी बेलायतमा पनि गोर्खाहरुको मुद्दा र समस्यामा हातेमालो गर्छन् । पत्रकारिता कर्म र साहित्य सिर्जना गरिरहेका छन् ।

‘शीतल निवासको गर्मी

देहातको खलिहानमा जस्तै
मान्छे डढाउने गर्मी छ
शीतल निवासमा !

Advertisement

शीतल निवासको गर्मी
(नेपालगन्ज, वीरगन्ज र अमलेखगन्जतिर बरू
खुब ठन्डा छ मौसम
तर, महाराजगन्जको शीतल निवासचाहिँ
सधैं रापमा छ !)

गर्मी चढेको हो कि ज्वरो
सधैं तातिरहेको हुन्छ
शीतल निवासको चौघेरो

यसरी शिरमै ज्वरो चढेपछि
तात्छन् शरीरका अंग–प्रत्यंग
सायद, यहीँको ज्वरो सरेपछि नै
पसिना आइरहेछ दोलखा भीमसेनको
र, उल्टै सातो गइरहेछ–

पसिनाकै सर्बत पिउनेहरुको
ढोके, बैठके र छाता ओढाउनेहरु छन्
स्वयंसेवक, अर्दली र वैद्यहरु छन्
एसी, पंखा र वातानुकूलन छन्
तैपनि शीतल निवास उष्ण छ !

वास्तुविद्ले धोका खायो कि नाम जुराउनेले ?
शीतल निवास त, छहारी हुनुपर्ने देशको
हजारौं पाइतालाले नाच्न पाउने
आँगन हुनुपर्ने देशको

दक्षिणको हावा चल्यो कि
उत्तरको सिरेटोले हान्यो
कामज्वरो पनि यतैतिर छ

अहो ! कोतपर्वको नाटक लिएर
यो खाल्डोमा कोही पसेको छ
शीतल निवासको गर्मीले
देशमा लू चलेको छ !

रायमाझीको ‘मास्टरपीस’ कविता हो, ‘शीतल निवासको गर्मी’ । यस्तै शक्तिशाली ५० कविताहरू संग्रहित गरी रायमाझीले भर्खरै कवितासंग्रह ‘यसरी त कहिल्यै सोचिएन’ पाठकमाझ ल्याएका छन् । करिब १० वर्षदेखि नेपाली साहित्य तथा पत्रकारितामा काम गरेका रायमाझीको यसअघि सामुहिक कवितासंग्रह ‘अनुहारको भीड’ प्रकाशनमा आएको थियो । उनै कवि तथा पत्रकार रायमाझीसँग नेपाल मामिलाका लागि गरिएको छोटो संवाद यस्तो छः

यसरी त कहिल्यै सोचिएन’, निर्भीकको सोचमा यो कसरी आयो ?
– जीवन जिउने भागदौडमा हामीले धेरैकुरा भुल्ने रहेछौं । अथवा भनौं कति महत्त्वपूर्ण कुरालाई नजरअन्दाज गर्ने रहेछौं । यो कुरा भीडमा छँदा त्यति वास्ता हुँदैन रहेछ । तर कतै एक्लोपन वा अप्ठेरोमा हुँदामात्रै हामीलाई यो बोध हुने रहेछ । यसैले स-साना कुरामा नै जीवनका ठूला-ठूला अवयव लुकेको हुनेरहेछ भन्ने लागेपछि मैले त्यसरी सोचेको हुँ । सायद मेरा कविताहरू पनि त्यही हुन् ।

यो तपाईंको पहिलो कवितासंग्रह हो । पाठक प्रतिक्रिया पनि आउँदै होलान् । प्रतिक्रिया आइसकेपछि आफ्नो धरातल कहाँ होजस्तो लाग्छ ?
– मेरो पहिलो व्यक्तिगत कवितासंग्रह हो यो । यसअघि २०७५ सालमा सत्रजना कविहरूको संयुक्त कविताकृति ‘अनुहारको भीड’ प्रकाशित भएको थियो । बीचमा अरू धेरै पुस्तकको सहलेखन एवं सम्पादन पनि गरेको थिएँ । यद्यपि मेरो आफ्नो पहिलो पुस्तक ‘त्यसरी त कहिल्यै सोचिएन’ नै बन्न पुग्यो । पुस्तक बजारमा गएसँगै अहिले इमेल, फेसबुक तथा अनलाइनमा निकै प्रतिक्रियाहरू आउन थालेको छ । जसले मलाई आफ्नो लेखनको यथार्थ पक्ष देखाउन सहयोग गरेको छ । मेरो आँखाले नदेखेका छेउकुना अब पाठकको आँखाले देख्ने छ । मेरा सबै कविता एकैठाउँ पढेपछि आएका प्रतिक्रिया तथा समीक्षाहरू पक्कै पनि विशेष छन् ।

युकेबाट नेपाल आउनुभयो, संग्रह विमोचन गर्नुभयो । तुरुन्तै युके फर्किहाल्नुभो, यस्तो हतार किन रु कवितासंग्रहको लागि नेपाल नै आउनुपर्थ्यो र ?
– युके आउने-जाने मेरो व्यक्तिगत कामको कारण हो । तर आफू नेपाल भएकै बेला पुस्तक प्रकाशन गर्न पाउनु सुखद अवसर भएकाले हतार गरेजस्तो देखिएको हो । यसभन्दा अघि लामो समय म काठमाडौंमा नै बसेर सक्रिय थिएँ । साथै, युके वा अन्य कुनै मुलुक जाने, बस्ने र आउने कुरालाई मैले धेरै महत्त्व दिएर हेरेको छैन । समय नै यस्तो आयो कि पैसा कमाउन मात्र विदेश (लाहुर) जाने अवस्था अब रहेन । पढ्न, तालिम लिन, व्यापार गर्न वा आफन्त, परिवारसँग बस्न पनि विदेश जाने समय आयो । विदेश जाने आयाम नै फेरियो ।

कवि निर्भीकजंग रायमाझीको कवितासंग्रह ‘यसरी त कहिल्यै सोचिएन’ को विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई लगायत ।
कवि निर्भीकजंग रायमाझीको कवितासंग्रह ‘यसरी त कहिल्यै सोचिएन’ को विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई लगायत ।

यो संग्रह कुनै समय अंग्रेजीमा रुपान्तरण गरेर बेलायतकै प्रकाशन गृहबाट प्रकाशन हुने सम्भावना कत्तिको छ ?
– म नेपालीमा लेख्छु । नेपाली भाषा(साहित्य, पत्रकारितामा काम गरेकाले मेरो सम्पूर्ण अनुराग नेपालीपनमा छ । यद्यपि लेख, निबन्ध आदि अनुवाद गर्ने भएकाले मेरा केही कविता अंग्रेजीमा पनि प्रकाशन भएका छन् । समाचारहरू लेख्दा दुवै भाषामा लेख्नुपर्ने हुन्छ । पछिल्ला वर्षहरूमा नेपालकै केही प्राध्यापक एवं अनुवादकहरूले मेरो कविता अनुवाद गर्नुभएको छ । यसरी हेर्दा बेलायतबाट प्रकाशन हुने सम्भावना सामान्य कुरा हो । तर म यो दौडमा छैन ।

तपाईं नेपाली कवितामा काम गरिरहनुभएको मान्छे, बेलायत पुगेपछि पनि कविता लेख्नुभो, भिन्नता के पाउनुभयो ?
-आफूले आफैंलाई स्पर्श गर्ने अवसर पाएँ प्रवास पुगेपछि । टाढाबाट आफ्नो देशलाई नियाल्न पाएँ । विगतमा आफूले गरेका काम आँखाअघि छरिएर आउन थाले । विगतमा वास्ता नगरेका साना-साना चिज, वस्तु, ठाउँको माया लाग्न थाल्यो । हाम्रा गीत, बाजा, धून, संस्कृति, कलाकृतिको माया बढ्यो । समग्रमा म नयाँ, नरम र नोस्टाल्जिक भएछु कि १ यो कुरा मैले कवितासंग्रहको भूमिकामा प्रष्ट लेखेको छु ।

विदेशमा बसेर लेखिएका कवितालाई अझै गुणात्मकता दिनलाई कविले कस्तो साधना गर्नुपर्ला ?
-सामान्यतस् विदेशमा बसेर लेख्नेको लेखन गुणस्तरिय भएन भनेर नेपाली साहित्यमा धेरै चर्चा हुने गर्छ । कारण के हो भने, विदेशमा लेख्न-पढ्न पनि समय छुट्याउनुपर्छ । त्यहाँ बस्नेको मूल कर्म लेखन हुँदैन । तर नेपालमा एउटा जागिर वा व्यवसाय गरेर पनि मूल पेशा लेखन बन्न सक्छ । लेखनसँगै कलाका अन्य क्षेत्रमा थाहै नपाई काम गरिन्छ । जीवनको मुख्य पाटो नै लेखन भएपछि अवश्य राम्रो हुने भयो । यसर्थ लेखन, पठनमा कति डुबिएको छ त्यहीअनुसार फल पाइने कुरा सत्य रहेछ ।

तपाईं सामाजिक आन्दोलनमा जोडिनुभएको कवि हुनुन्छ। अब विदेश्मा बसेर सामाजिक न्यायको लागि कत्तिको मुखर तरिकाले कविता लेख्नुहुन्छ ?
– मानिस र प्रकृतिको पक्षमा म जहाँ, जता बसे पनि लडिरहने छु । एकपटक कवि चन्द्रवीर तुम्बापोले भृकुटीमण्डपमा भन्नुभएको थियो, ‘निर्भीक भाइ रोबोटले कविता लेख्न थालेको दिन हाम्रो अस्तित्व सकिन्छ । सम्पूर्ण मानवीय सृजनशीलता सकिन्छ ।’
त्यो दिनदेखि म मानवीय संवेदनालाई लिएर अझ बढी संवेदनशील भएँ । मानवीयताको पक्षमा जहाँ बसे पनि आवाज उठाउन छाड्दिनँ भन्ने सोचेँ । जस्तो युकेमा गोर्खाहरूले आनेदोलन गरेका छन् भने म त्यहाँ सम्भव भएसम्म पुग्छु । समाचार लेख्नमात्र नभई आफू स्वयं सहभागी हुन, कुराकानी गर्न अनि समर्थन गर्न म आन्दोलनहरूमा पुगेको हुन्छु ।

नेपालमा पत्रकारिता पनि गरिरहनुभएको थियो, तर छोडेर बेलायत जानुभयो । देशमा युवाहरूको लागि भविष्य नदेखेरै हो कि ?

– नेपालमा करिब दश वर्ष पत्रकारिता र लेखनमा रहेर काम गर्न पाएँ । यो अनुभवले मलाई सधैं प्रेरणा पनि दिएको छ । अहिले पढ्ने र नयाँ काम गर्ने सोचले युकेमा छु । रह्यो कुरा देशमा युवाहरूले भविष्य नदेख्ने कुरा । भावनामा बग्न छाडेर यथार्थमा हेर्दा, देशको अवस्था बिग्रेको छ । व्यापारदेखि रोजगारीका अवसर गुम्दै गएको छ । सम्पूर्ण रूपले देश परनिर्भर बनेकाले त्यसको असर युवामा परेको हो । अलिकतिमात्र राज्यले व्यवस्थापन पक्षमा ध्यान दियो भने विदेशिने दर क्रमश घट्नेछ । निराश भएर सबैकुरा सकियो भन्ने पक्षमा म छैन । विनिर्माणका लागि पनि केही न केही उथलपुथल हुनैपर्ने प्राकृतिक नियम नै हो ।

भौतिक भविष्यका लागि देश छोड्दै गर्दा साहित्यिक भविष्यले कस्तो मोड लेला ?
असाध्यै मर्मभेदी प्रश्न गर्नुभयो । साहित्य कर्म मसँगै जोडिएकाले त्यसलाई सार्थक ढंगले अघि लैजाने काम मेरै हो । यो मेरो कर्म र व्यवहारमा भर पर्छ होला सायद । नढाँटी भन्दा, टाढा बसे पनि लेखेर, बोलेर, भेला भएर वा भर्चुअल रूपमा गर्न सकिने सबै साहित्यिक कर्ममा मेरो दिलचस्पी छ । मेरो धेरै समय पनि यसैमा बितेको छ । यति गरिरहँदा पनि साहित्यिक भविष्यले कुन मोड लेला भनेर सोच्न थालेँ भने म दुस्खी हुन्छु । मेरो काम सृजना गर्ने हो । साहित्यिक कर्म अनि साधना गर्ने हो ।