करिब तीन दशकअघि ‘आँसु’ कविता र ‘बादलले छोपिएको किरण’ शीर्षकको कथाबाट साहित्य सिर्जना कोर्न सुरु गरेकी साहित्यकार ज्ञानु अधिकारीका शब्दमृत्यु र सपनाको हत्या (कवितासङ्ग्रह–सह, २०६७), प्रायोगिक समालोचनाः केही प्रतिरूप (समालोचनासङ्ग्रह, २०६७) नेपाली नारी समालोचना :परम्परा, प्रवृत्ति र विश्लेषण (२०६८, अनुसन्धान ग्रन्थ), सृजनविधाका परिवृत्तमा सनत रेग्मी (२०७०, अनुसन्धान ग्रन्थ ), साइबर सिद्धान्त, प्रयोग र अन्य समालोचनाहरु, २०७४, समकालीन नेपाली कवितामा पहिचानको स्वर, २०७८ लगायय विविध विधाका १७ भन्दा बढी कृतिहरु प्रकाशित छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी उपप्राध्यापक समेत रहेकी अधिकारी समिक्षक, समालोचक तथा अनुसन्धानकर्ताको रुपमा परिचित छन् । असंख्य समालोचनात्मक तथा अनुसन्धानात्मक लेखहरु प्रकाशित गरेकी अधिकारीको हालसालै ‘संवेदनाको समायोग’ शीर्षकको निबन्धसंग्रह प्रकाशनमा आएको छ । उनीसँग नेपाली नेपाल मामिलाका लागि गरिएको साहित्यक गनथन यहाँ प्रस्तुत छ:
भर्खरै तपाइँको निबन्धसंग्रह प्रकाशनमा आएको छ, यश संग्रहबारे बताइदिनोस् न ?
एक हप्ताअघि मात्र मेरो निबन्धसङ्ग्रह प्रकाशित भएको छ । संवेदनाको समायोग शीर्षकको यस निबन्धसङ्ग्रहमा सातवटा भिन्नभिन्न शीर्षकका खण्डहरु रहेका छन् भने समग्रमा सैतीसवटा निबन्ध समेटिएका छन् । ‘असम्यक् स्पर्श’, ‘कीर्तिपुर डायरी’ ‘भावका अनुगुञ्जन’, ‘हृदयको क्यानभासबाट’, ‘छोडेर आएका पाइलाहरु’, ‘सीमाभन्दा पर फैलँदै’, र ‘शब्द र अक्षरमा’ जस्ता सातवटा खण्डमा राखिएका यी निबन्धहरुले नारी विषयसँग सम्बद्ध, समाज र संस्कृति र स्थानसँग सम्बद्ध, समसामयिक विषय र प्रेमसँग सम्बद्ध, व्यक्तिविशेषसँग सम्बद्ध, यात्रानुभूतिसँग सम्बद्ध र साहित्य र समालोचनासँग सम्बद्ध निबन्धहरु यस कृतिमा समेटिएका छन् ।यी निबन्धहरु मेरा वैयक्तिक भोगाइ, अनुभूति र विचारलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा आएका छन् र यी आफू बाँचेको समय, समाज र जीवनलाई नै केन्द्र बनाएर लेखिएका हुन् ।
पुस्तक पाठकले किन पढ्नुपर्छ जस्तो लाग्छ ?
साहित्य कुनै व्यक्ति विशेषले लेख्ने भए पनि त्यसले दिने कुरा वैयक्तिक मात्र नभएर सबैको साझा हुन्छ । त्यो सबैको अभिव्यक्ति बन्न सक्छ । मान्छेभित्र विविध संवेदनाहरु सुुसुप्त अवस्थामा रहेका हुन्छन् । यस्ता संवेदनाहरुलाई जागृत गर्न पनि पढ्नुपर्छ । आफूले देखेको भोगेका र अनुभूति गरेको भन्दा फरक विषय र यथार्थ पनि पढ्नुपर्छ । कुनै पनि विषयमा धारणा बनाउन र त्यसबारे स्पष्ट हुन पनि पढ्नुपर्छ । पाठकले पढ्नुपर्छ तर किन पढनुपर्छ ? यसको एउटै ठोस उत्तर हुँदैन । पाठकको आआफ्ना रुचि हुन्छन् र पढ्नुको कुनै खास उद्देश्य हुन्छन्, तिनै उद्देश्यहरु पूरा गर्नका लागि पनि पाठकले पढ्नुपर्छ ।
निबन्धका पाठकहरू हुनुन्छ त ? अलिक कम पढिने विधा हो भन्ने सुनिन्छ नि ?
नेपाली साहित्यमा पछिल्लो समय आख्यान र कविताको चर्चा बढी भएको कारण निबन्ध विधा अलि पछि परेको जस्तो देखिए पनि निबन्ध विधाको आफ्नै विशिष्टता छ र यसका गम्भीर पाठकहरु पनि हुनुहुन्छ । अन्य विधाको तुलनामा निबन्धलेखन अझ त्यसमाथि पनि आत्मपरक निबन्धलेखन अलि जटिल नै हुन्छ । यो जीवन र जगत्का यावत् विषयहरुलाई आफ्ना अनुभूति, भोगाइका आधारमा यथार्थपरक र स्पष्टसँग लेखिने विधा हो । त्यसैले यो तुलनात्मक रुपमा केही कम लेखिएको छ र कम पढिएको पनि छ । यो सत्य नै हो ।
तपाइँ एउटा राम्रो समिक्षक हुनुहुन्छ । कैयौं पुस्तकमाथि समिक्षा लेखिसक्नुभएको छ । खासमा कुनै पुस्तकको समिक्षा किन गर्ने ?
मलाई कुनै पनि विधाका कृतिहरु पढिसकेपछि ती कृतिको विषयवस्तु तथा त्यसले दिने अर्थहरुसँग खेल्न मन पर्छ । त्यसैले यस विधाप्रति मेरो लगाव छ । र म समीक्षा लेख्छु । जबसम्म कुनै पुस्तकको समीक्षा किन गर्ने भन्ने सवाल छ यो निकै महत्वपूर्ण प्रश्न हो । कुनै पनि कृति या रचना आप्mना लागि लेखिने होइन, यो पाठकहरुका लागि लेखिन्छ । जब लेखकले पाठकलाई लक्षित गरेर लेख्छ भने ऊ आफ्नो लेखनप्रति उत्तरदायी हुनैपर्छ । यसरी लेखक आफ्नो लेखनमा कत्तिको इमान्दार छ ? उसको लेखनको साहित्यिक मूल्य तथा समाजमा त्यसले पार्ने प्रभाव तथा समग्र साहित्यमा त्यसको स्थानको मूल्य निर्धारण गर्न वा समग्र मूल्याङ्कन गर्न पनि पुस्तकको समालोचना र समीक्षा हुन आवश्यक हुन्छ ।
पुस्तक समिक्षा गर्दा देखिने त्रुटिहरूमात्र देखाइन्छ भन्ने आरोप पनि आउँछ नि ?
कृति समीक्षा भनेको कृतिको गुणदोष, कृतिको साहित्यिक मूल्य, विषयवस्तुको प्रस्तुति आदिलाई आधार बनाएर गरिने विश्लेषण हो । कतिपय अवस्थामा समीक्षकको सीमाहरुका कारणले पनि यस्तो हुन सक्ला तर कुनै पनि कृतिमा त्रुटि मात्र हुँदैनन् । राम्रा पक्ष पनि हुन्छन् । यसरी राम्रा पक्षलाई छोपेर त्रुटिलाई मात्र देखाउनुले समीक्षामाथि नै प्रश्न उठ्न सक्छ । समीक्षामा कृतिका सबल, दुर्वल पक्षका साथै कृतिको विशिष्ट पक्षलाई उजागर गर्नुपर्छ ।
कुनै पुस्तक पढ्दा वाह लाग्ने पक्ष आफ्नो पुस्तकमा देखिने रहेछन् ?
सामान्यतया आफ्नो सृजना आपूmलाई प्यारो लाग्नु स्वाभाविक नै हो । किनकि, त्यो सृजना स्रष्टाको दिल र दिमाग छोएर निस्केको हुन्छ । यसरी आफूले लेख्दैमा आफ्नो पुस्तकमा वाह लाग्ने पक्ष हुन्छ भन्ने छैन । यसरी वाह लाग्ने हुन भाषिक कला र विचारको सम्प्रेषण हुनु अनिवार्य हुन्छ । अनि अर्को कुरा यो वाह लाग्ने कुरा पनि सापेक्षित हुन्छन् । कसैलाई वाह लागेको अभिव्यक्ति कसैलाई नलाग्न पनि सक्छ । तर भावनात्मक रुपले पनि लेखकलाई आफ्नो लेखन मन पर्नु सामान्य कुरा हो र यो लेखकको चेतनासँग सापेक्ष हुन्छ ।
आफ्नै पुस्तक पाठक भएर पढ्नुहुन्छ ?
अवश्य पनि पढ्छु । हरेक लेखक आफ्नो रचनाको पहिलो पाठक र पहिलो समालोचक स्वयं हुन्छ । तर ऊ भित्र समालोचकीय चेतना कति हुन्छ त्यसमा भर पर्छ । म पनि आफ्नो पुस्तकको पहिलो पाठक र पहिलो समालोचक दुवै हुँ । यसरी पढ्दा कति ठाउँमा आफ्नै लेखनप्रति सन्तुष्ट हुन नसकिएको स्थिति पनि छन् ।
समीक्षाका आधारमा पुस्तकले चर्चा पाउने र बिक्री हुने गर्दछन् । तर सबै समीक्षा निष्पक्ष हुन्नन्, पूर्वाग्रही हुन्छन् भन्ने पनि सुनिन्छ नि ? यदि यो सत्य हो भने त पाठकमाथि अन्याय होला नि हैन र ?
हो, समीक्षाका आधारमा पुस्तकले चर्चा पाउने कुरा स्वाभाविक नै हो तर समीक्षामा चर्चा गरिए झैँ कृतिले आफ्नो स्तर कायम गर्न सकेन भने त्यो चर्चा क्षणिक मात्र हुनेछ र त्यसले लेखकको साहित्यक मूल्यलाई धरासायी बनाउनेछ । समीक्षाकै कारणले मात्र किताबले चर्चा पाउने र बिक्री हुने होइन । यदि कृति स्तरीय र पठनीय छ भने एउटा पाठकले अर्को पाठकलाई सिफारिस गरेर वा किताबमाथि बहस र छलफल गरेर पनि पुस्तकले चर्चा पाउँछन् र बिक्री हुन्छन् । समीक्षकले गरेको कृति चर्चालाई मात्र आधार मानेर किताब किन्दा कयौँ पाठकहरु झुक्किएको उदाहरणहरु हामीकहाँ प्रशस्त छन् । किनकि, माथि तपाइले भनेजस्तो सबै समीक्षा निष्पक्ष हुँदैनन् । त्यसैले पाठकले आफूमाथि हुने अन्यायबाट बच्न कुनै एक कृतिसमीक्षकको समीक्षालाई मात्र कृति छनोटको आधार नबनाई अन्य पाठकहरुको प्रतिक्रियालाई पनि सुन्नुपर्ने हुन्छ वा आफ्नो रुचि र विषयक्षेत्रको कृति हो कि होइन बुझ्नुपर्छ ।
भनिन्छ, कलम शक्तिशाली हुन्छ । तपाई लथायत धेरै महिला हुनुहुन्छ बम ओकल्ने । तर सामाजिक सञ्जालमा अनेक हर्कत गर्नेहरुले चर्चा पाइरहँदा एउटा बौद्धिक आलेखको पाठक अलि कमै हुन्छन् नि ?
अवश्य नै । संसारमा कलम शक्तिशाली हुन्छ । कलम अर्थात् विचार । संसारमा यावत भौतिक कुराहरु नाश भएर जालान् तर विचार कहिल्यै नाश हुँदैन । हरेक मान्छेले विना हिंसा गर्न सक्ने क्रान्ति भनेको पनि लेखन नै हो जस्तो लाग्छ मलाई । अहिले नेपाली साहित्यमा महिला साहित्यकारहरु यही विचार स्थापित गर्ने र विचारकै माध्यमबाट विद्रोह गर्ने लेखनयात्रा हुनुहुन्छ । यसको असर समाजमा बिस्तारै हुन्छ र दीर्घकालीन रुपमा हुन्छ । हो तपार्इँले भनेजस्तो झट्ट हेर्दा सामाजिक सञ्जालमा अनेक हर्कत गर्नेहरुले चर्चा पाएजस्तै यस्ता लेखनले सामाजिक सञ्जाल तताउन नसक्ला तर यसको प्रभाव समाजमा गहिरो गरी परेको हुन्छ । बौद्धिक आलेखको पाठक अलि कमै हुन्छन् त्यो स्वभाविक हो तर यो क्षणिक र सतही हुदैनन् ।
प्रविधिको विकाससँगै पठनसंस्कृति हराउँदै गएको छ त्यसको असर लेखनमा पर्ला ?
यो अहिले विश्वव्यापी समस्या हो, तर प्रविधिको विकासले पठनसंस्कृतिलाई वृद्धि गरेको कुरा पनि सत्य हो । प्रविधिकै माध्यमबाट पठन सामग्रीहरु सजिलै हातहातै पुग्ने र सजिलै उपलब्ध हुने वातावरण पनि प्रविधिले नै सृजना गरेको छ । अहिले तपाइले लिनुभएको यो अन्तर्वाता पनि प्रविधिकै कारणले सबैले पढ्न पाउनुहुन्छ । यो सत्य कुरा हो तर तपाईले लक्षित गर्न खोज्नुभएको कुरा भनेको आजभोलि प्रविधिका कारण मान्छेका सामु धेरै विकल्पहरु हुने भएकाले आम मान्छे पढ्न भन्दा पनि हेर्न सुन्न मनपराउँछ र त्यस्तै सामग्रीलाई रोजाईमा पार्छ भन्ने हो । यसमा केही सत्य भए पनि मान्छेको रुचि र स्वभावले पनि यसमा काम गरेको हुन्छ । जबसम्म मान्छेभित्र संवेदना हुन्छ, तबसम्म मान्छेले लेख्न छोड्दैन । लेखनमा भने प्रविधिले त्यति बाधा नपार्ला ।
नेपाली साहित्यको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपाली साहित्यको भविष्य ठ्याक्कै यस्तै हुन्छ भनेर भन्न मिल्ने स्पष्ट चित्र त छैन मसँग, तर पनि नेपाली साहित्यको इतिहास हेर्दा र यसले पार गर्दै आएका चरण र मोडहरुलाई हेर्दा यो गतिशील छ र फैलँदै गइरहेको छ ।