May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

१३ बर्ष अस्पतालमा सेवा गर्दाको अनुभवलाई कवितामा लेखें : दिलकुमारी ढंगोल

4.3K

काठमाडौंकी कवि दिलकुमारी ढंगोल पेशाले स्वास्थ्यकर्मी हुन् । विद्यालय तहमा अध्ययनरत रहँदा कविता लेख्ने उनले एसएलसीपछि भने चटक्कै छाडेकी थिइन् । उच्च शिक्षा सकेपछिको करिब १४ वर्षको अस्पताल सेवापछि भने पुनः साहित्यमा फर्किइन् । साहित्यको लय छोडेको करिब २९ वर्षपछि उनले कवितासंग्रह ‘फोक्सोमा देश’ प्रकाशन गरेकी छन् । उनी नेपाल भाषाका कविताहरू पनि लेख्ने गर्छिन् । चाडै नै नेपाल भाषाको कवितासंग्रह प्रकाशन गर्ने तयारीमा छिन् उनी । उनीसँग नेपाल मामिलाका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छः

भर्खरै प्रकाशित कवितासंग्रह ’फोक्सोमा देश’ बारे केही बताइदिनोस् न ?
भाग १ र २ गरी दुई भागमा ‘फोक्सोमा देश’ कविता लेखेकी छु । यो देशको परिस्थितिलाई लिएर लेखिएको कविता हो । विषेश गरी हिजोको सुन्दर काठमाडौंको धुलो, हिलोजस्ता प्रदुषित वातावरणलाई बिम्ब बनाएर लेखिएको कविता हो । पुस्तकको शीर्षक पनि यसैबाट राखिएको हो । यो पर्यावरणलाई बिम्ब बनाएर लेखिएको कविता हो ।

यो तपाइको पहिलो कवितासंग्रह हो । आफैले मूल्याङ्कन गर्दा कस्तो पाउनुहुन्छ ?
परिमार्जन र सुधार गर्नुपर्ने धेरै छन् । यो पहिलो प्रयास भएको हुँदा त्यति अनुभव पनि भएन । आउने कृतिहरूमा म कमजोरी सच्याउने कोसिस गर्नेछु । त्यसका लागि मैले के गर्नुपर्छ ? त्यो पाठकहरूलाई सुम्पेको छु । के गर्दा लेखनलाई सुधार गर्न सकिन्छ, अथवा कवितालाई स्तरीय बनाउन सकिन्छ ? म पाठकहरूबाट सल्लाह सुझाव चाहन्छु ।

Advertisement

अहिलेसम्म पाएका पाठक प्रतिक्रिया कस्ता छन् ?
कविताको भाव राम्रै छ, तर अलिक सरल भयो भन्ने प्रतिक्रिया आइरहेका छन् । उक्त सुझाव अनुसार म भविष्यमा कोसिस गर्दै जाने छु ।

तपाइँ आफू स्वास्थ्यकर्मी हुनुन्छ । कतिपय मेडिकलका बिम्ब कवितामा पाइन्छन्, तपाइँ आफैले नयाँ बिम्बको रुपमा लेख्नुभएको हो कि यस बिम्बमा यसअघि अरुले पनि कविता लेखेका छन् ?
यो म आफैले लेखेको हुँ । यसअघि यश बिम्बमा लेखिएको कविता मैले पढेको थिइनँ । १३ बर्षको अस्पतालको सेवा गरेको अनुभवलाई मैले बिम्ब बनाएको हुँ । सेवा गरिरहँदा मेरो मनमा उब्जिएका विषयहरूलाई लेखेको हुँ । जस्तै एवर्सन केस, फर्मा र फार्मेसी डाक्टरहरूको बारेमा मैले कवितामार्फत पोखेको छु ।

मेडिकल क्षेत्र प्रवेश गरेपछि कस्ता–कस्ता महिलाहरूका समस्या देख्नुभयो ?
यस क्षेत्रमा प्रवेश गरेपछि सबैभन्दा धेरै लैंगिक अपराध देखें । हाम्रो समाजका जति नै शिक्षित परिवारमा पनि छोरा र छोरीबीच विभेद हुने रहेछ । शिक्षित परिवार भएता पनि छोराको ३/४ जना छोरी पछि श्रीमतीलाई छोराको आशामा सन्तान जन्माउन लगाउने केसहरू आइरहेका हुन्छन् ।

लिङ्ग पहिचान गरी एवर्सन गराउन चाहने दम्पत्ति पनि आउछन् ?
त्यस्ता दम्पति आउछन् । तर, त्यो काम यहाँ हामीबाट हुँदैन । लिङ्ग पहिचान गर्नु इलिगल हो । यदि त्यस्ता दम्पति आएको खण्डमा अस्पताल गएर डाक्टरलाई कन्सर्न गराउनोस्, भन्दिने गरेको छु ।

यही बिम्बमा कविता लेख्नुभएको छ ?
ठ्याक्कै यही भन्दा पनि सेक्सुवल अबोर्सनबारे लेखिएको कविता‘असुरक्षित गर्भपतनको भयावह’ लेखेको छु ।

स्वास्थ्यकर्मी भएको हिसाबले मेडिकल संस्थाभित्र हिंसाजन्य दुव्र्यवहार सहनुपर्छ कि ?
अस्पतालमा नर्सहरूले गर्ने केही असमान व्यावहारबाहेक त्यस्तो भोग्नुपरेन । सबै एउटै हुन्न । अलिअलि त सबै क्षेत्रमा हुन्छ । तर, आजसम्म मैले त्यस्तो असामान्य किसिमको दुर्ववहार भने भोग्नुपरेको छैन ।

फेरि कविताकै कुरा गरौं, कहिलेदेखि लेख्न सुरु गर्नुभयो?
लेख्न त कक्षा ६ म अध्ययन गर्दादेखि नै सुरु गरेको हो । तर, कक्षा १० पुगेपछि सबै बन्द गरेर मेडिकल पढ्न सुरु गरेको हो । त्यसपछि अस्पतालको ड्युटी, कलेज गर्दा समय दिन पाइन । २०५० सालमा लेखन कार्य छोडेको मैले करिब ०७३ को अन्तदेखि पुनः लेखनमा फर्केको हुँ ।

किन त्यति लामो अन्तरालमा ?
स्कुलमा पढ्दा कविता लेख्ने गर्थेँ । तर, त्यतिबेला संग्रह निकाल्ने कुरै थिएन । सोचेकै थिइनँ । खाली लेख्ने मात्रै हुन्थ्यो । एसएलसीपछि बुबाले राम्रो पढ्नुपर्छ, यस्तो साहित्यमा लाग्नु अनावश्यक हो, इन्जिनियर पढ्नुपर्छ भन्नुभयो । तर जब मेरो हजुरआमालाई ब्लड क्यान्सर भयो, म अस्पताल बसें । त्यतिबेला डाक्टरहरूबाट प्रभावित भएपछि आइएसी पढ्न थालेँ । दोस्रो वर्ष पढ्दापढ्दै फेरि म मेडिसिन पढ्न गएँ । त्यसपछि मैले साहित्यको किताब पल्टाइनँ । साहित्यमा नफर्किने हिसाबले मेडिकलतिर लागेको थिएँ । तर करिब १४ बर्षको अस्पतालको कामपछि जब फार्मेसी खोलेर बस्न थालेँ । दिउसोको समयमा पसलमा बस्दा फुर्सद हुन्थ्यो, त्यतिबेला पत्रीका पढ्ने आदत बस्यो । मेरो पसलमा प्रायः कान्तिपुर, नागरिक, अन्नपूर्ण पत्रीका आउथ्यो । त्यसमा म समाचार भन्दा पनि लेखहरू पढ्ने गर्थें । शनिबार आउने अन्नपूर्ण र कान्तिपुरको विशेष साहित्यिक विषयहरू पढ्थें । त्यसपछि मैले पनि लेख्न सुरु गरें । ०७४ सालमा मैले लेखेको कविता ‘स्टोन हार्ट गर्ल’ लेखें, यो नै मेरो पहिलो कविता हो । त्यसअघि स्कुल पढ्दा लेखेको कविता त कुनै थिएनन् ।

साहित्य अनुरागीहरूले साहित्यलाई साधना र तपस्याको रुपमा लिन्छन्, तपाइको जीवनमा भने फुर्सफको समय सदुपयोग जस्तो भएछ हैन?
त्यही नै भन्नुपर्‍यो । सुरुमा लेखेकै हो, बीचमा ‘ग्याप’ भयो । पछि फेरि लेख्न मन लाग्यो ।

यी दुई सोचाइबाट लेखिएको साहित्य सिर्जनामा फरक पाइएला ?
एकदमै पाइन्छ नि ! साधना गरेर साहित्य लेख्नु र नगरी लेख्नुमा धेरै अन्तर हुन्छ । म आफैले महसुस गरेको छु । साधना गर्न नपाएरै हो म आफ्नो लेखनमा कमजोरी पाउछु । म मेडिसिनका बुकहरू ठेलिका ठेली पढ्ने मान्छेले साहित्यमा लाग्दा त्यति साधना गर्न पाउदिनँ । म प्रायः व्यस्त हुन्छु । त्यसैले साधना गर्न पाउदिन ।

अहिले धेरै पुस्तकहरू आइरहेका हुन्छ्न, किताब किताब कत्तिको पढ्नुहुन्छ ?
मेरोमा किताबहरू आइरहेका हुन्छन् । सबै पढ्न भ्याउदिनँ । फुर्सद हुँदा पढ्ने हो । विशेष कथा, कविताहरू पढ्छु । तर, कतिपय पूरा गर्नै पाउदिनँ ।

पछिल्लो समय पढ्नुभएको कुनै एउटा उत्कृष्ट पुस्तकको नाम लिनुपर्दा ?
नीलम कार्की निहारिकाको मदन पुरस्कार प्राप्त पुस्तक ‘योगमाया’ पढेको हुँ । त्यसयता आएका किताबहरू खासै पढ्न पाएको छैन ।

भावी योजना ?
लघुकथाको संग्रह निकाल्ने सोच छ । म नेपाल भाषा र नेपाली दुवैमा निकाल्ने सोचमा छु । बाँकी आफूले सकेसम्म स्वास्थ्य सेवा गरिरहन्छु ।