नेपाली भाषाका कविहरूको प्रतिभा विश्वमा पुर्याउने उद्देश्यका साथ नेपालमा पहिलोपटक कवितामा आधारित रियालिटी शो आयोजना हुँदैछ । उक्त ऐतिहासिक ‘द पोएट आइडल’ रियालिटी शोलाई अमन प्रताप अधिकारीले निर्देशन गरेका हुन् । पुस १४ गते शुक्रबारदेखि एपीवान टेलिभिजनबाट प्रसारण हुन लागेको ‘द पोएट आइडल’का चार निर्णायकमध्ये एक हुन् कवि/साहित्यकार तथा चलचित्रकर्मी उपेन्द्र सुब्बा । उनीसँग यस कार्यक्रमबारे नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
‘द पोएट आइडल’ सुरु हुन अब केहि दिन बाँकी छ । चारजना निर्णायकमध्ये तपाइँ पनि एक हुनुहुन्छ, उत्साहित हुनुहुन्छ कि मनमा डर पनि छ ?
पहिलोपटक पोएट आइडल कार्यक्रम हुँदैछ, ऐतिहासिक कार्यक्रमको निर्णायक हुँदै गर्दा डर त स्वभाविक रुपमा हुने नै भयो । यो एउटा जिम्मेवार ठाउँ हो । उत्साहित पनि छु । समाजले कस्तो रेस्पोन्स गर्छ होला ? सकारात्मक या नकारात्मक जस्तो भएपनि एउटा रिजल्ट त आउछ नि ! त्यो उत्साह छ । जति भएको काम छ, त्यो हेर्दा राम्रै हुन्छ भन्ने पनि लाग्छ ।
दर्शकबाट कस्तो रेस्पोन्स आउला ? भन्ने जिज्ञासा राख्नुभयो, त्यसो त कुनै एउटा शोमा कविताको मूल्यांकन हुन सक्तैन, त्यसैले यो शो बहिष्कार गर्ने कि भन्ने जिज्ञासा केहि कविहरुबाटै आएका थिए नि ?
मान्छे स्वतन्त्र छ । सबैले स्वीकार गरेको कुनै पनि कुरा छैन । सबै सकारात्मक प्रतिक्रिया आउछन्, राम्रै मात्रै हुन्छ भन्ने आश गर्नु पनि हुँदैन । सायद आयोजकले पनि सतप्रतिशत सकारात्मक प्रतिक्रिया आउँछन्, वाहवाही मात्रै हुन्छ भन्ने आशा राखेका छैनन् होला । त्यसैले जति पनि नकारात्मक टिप्पणी गरिरहनुभएको छ, वहाँहरुको टिप्पणीलाई पनि सम्मान नै छ ।
कार्यक्रम कतिको सफल बन्ला ?
सफल त होला नि ! असफल भएपनि एउटा प्रयास त हो नि ! कोसिसै नगरेको भए एउटा कुरा तर कोसिस गरिसकेपछि असफलै भएपनि प्रयास त गरेकै हो भन्ने त हुन्छ नि ! अर्को कुरा कार्यक्रम सफल बन्नैपर्छ भन्ने छैन । कवितालाई व्यावसायिक बनाउन सहयोग पुर्याउने एक अभियानको थालनी जस्तै पनि हो । धेरैको नजरमा आज पनि एउटा कवि चिया पसल या भट्टीहरुमा निःशुल्क आफ्नो कविता बाँडीहिँड्ने बेगारी मान्छे हो । यो धारणालाई परिवर्तन गरि एक कविले कविताबाट आफ्नो जीविका चलाउन सक्छ भंन्ने धारणाको विकास गर्न पनि समाजमा कविताप्रतिको नजर फेरिन जरुरी छ । संगीत जस्तै साहित्यलाई पनि व्यावसायिक बनाउन सके युवा जेनेरेसनको साहित्य प्रतिको मोह बढेर जान्छ । यसरी साहित्यको चौतर्फी विकास हुनेछ । अरु धेरै गर्न नसके पनि पोएट आइडलले यत्ति गर्नेछ ।
जहाँसम्म स्डेन्डअप कविताको कुरा छ, हिजो तपाइँ आफै एक कुनामा बसेर भावनाको गहिराइमा पुगेर मोतीजस्ता कविता झिकेर ल्याउने मान्छे हुनुन्छ । साहित्य चिन्तन पनि हो, यस्ता कार्यक्रमले चिन्तनमा भन्दा भावभङ्गी बढी जोड दिएको जस्तो हुन्छ कि ?
त्यस्तो पनि हैन होला ! कविहरु अलिक बढी आत्तिएको, तर्सेको हो । कतिपय कविहरुको प्रतिक्रिया देख्दा/सुन्दा चाहिँ कार्यक्रमको फर्म्याट थाहा नपाइ बोलेका हुन् जस्तो लाग्यो । स्ट्याण्डअप भन्दैमा कवितालाई भावभङ्गीमा मात्रै सिमित बनाउदैछ भन्ने त गरिब मानसिकता हो नि । जस्तै श्रवण मुकारुङका कवितामाथि नाटक पनि छन् । अन्य थुप्रै कविहरुको कवितामाथि नाटक मात्र नभइ फिल्म पनि बनेका छन् । कवितालाई शब्दमा सिमित बनाउनुपर्छ भन्ने तर्क जायज हो र ? कविता शब्दमा सिमित होस् भन्ने चाहाना राख्नु त निरङ्कुश जस्तो भएन र ?
फेरि त्यसरी कवितालाई प्रस्तुत गरिरहँदा यस कार्यक्रमले कवि खोजेको कि कलाकार भन्ने प्रश्न आउला नि ?
यो कार्यक्रममा कला प्रस्तुत गर्नुपर्छ भनेर भन्यो चैं कस्ले ? कवितालाई कसरी भनिन्छ या वाचन गरिन्छ ? त्यसलाई बिगार्ने भनेको हैन । कतिपय अवस्थामा कविताको क्षमता अनुसार प्रस्तुत गर्न नसक्ने हामी थुप्रै कवि छुङ् नि ! हो, यसरी भनेमा या प्रस्तुत गरेमा यो कवितालाई अझ न्याय हुन्छ है भन्नेसम्म हो, कलाकार जस्तो कला देखाउनुपर्छ भन्ने हैन ।
आजसम्म नेपालमा कुनैपनि रियालिटी शोहरु विवादरहित छैनन् । राम्रा प्रतिभाहरु भोटकै कारण पछि परेका हुन्छन् पोएट आइडल त्यसबाट अछुतो रहला ?
हरेक कुराको गुण र दोष दुबै हुन्छन् । पोएट आइडलमा पनि ती गुण र दोष नदोहोरिएला भन्न त मैले नसकुला हैन ! तर भरसक कम हुन्छ होला भन्ने मेरो व्यक्तिगत अपेक्षा छ ।
यस शोमा भोटकै कारण राम्रो कवि पछि नपरोस् भन्नलाई निर्णायकसँग केहि पावर रहने फर्म्याट छ ?
मैले बुझेअनुसार छ । त्यो कस्तो रहन्छ भन्ने चाहिँ कार्यक्रम सुरु भएपछि सबैजना प्रष्ट हुनुहुनेछ ।
अन्त्यमा यस रियालिटी शो सकिएपछि कविहरुमा कस्तो फाइदा पुग्ला ? उत्साहित या निरुत्साहित ?
निरुत्साहित त किन बनाउला र ? कवि आइडल हो, अवश्य राम्रै कविहरु आउछन् । कविहरुबाट पनि अझ राम्रो कविलाई अगाडी बढाउँ भन्ने यस कार्यक्रमको उद्देश्य हो । अघि नै पनि भनेँ यस कार्यक्रमले कवि र कविताप्रतिको धारणा बदल्नेछ ।त्यसो त कार्यक्रम सुरु हुन बाँकी नै छ हगि ! यद्यपी मेरो व्यक्तिगत बुझाइ यहि नै छ ।