– रूमी लश्कर बोरा
तिमीलाई नभेटेको भए
सक्दिनँ थिएँ बुझ्न–
प्रेमको कुनै समय हुँदैन
प्रेमको कुनै व्याकरण हुँदैन ।
तिमीलाई नभेटेको भए
कसरी थाहा हुन्थ्यो मलाई
जीवन–नदीको धारा
उल्टो पनि बग्न सक्छ,
मनको आकाशमा
हरेक पल उदाउँछ इन्द्रधनुष
मयुरजस्तै भएर नाच्छ मन ।
जब तिमी भेटियौ
अँध्यारोको प्रवेश निषेध भयो,
मेरो हृदयको बगैँचामा हिँड्न थाले
तिम्रा बलिया पदचापहरू,
अहिले–
हरेक पल उज्यालो खेल्छ
र हाँस्छ चन्द्रमा ।
तिमीले नै त दियौ
बाँच्ने असीम शक्ति
तिमीले नै त सिकायौ
हाँसी हाँसी विष पिउने गुप्त मन्त्र
राखिदियौ मेरा दुवै हातमा
बलिया अस्त्रहरू ।
तिम्रो आगमनले नै
त्यो एउटा नदीलाई बुझ्न सकेँ
जो आफ्नै भुमरीमा
अल्झिनुको मादकतामा रमाउँछ ।
एउटा सागर हो
या फेरि महासागर हो
जसको मधुर आत्मीय अनुभूति
उसको गहिराइमा छ ।
तिमी आउँदैनथ्यौ भने
मैले कसरी बुझ्न सक्थेँ
प्रकृतिको पनि सीमा हुन्छ
यद्यपि—
मेरो मनको प्रकृतिमा छ
शरदको एकता
वसन्तको हाँसो
इन्द्रको बगैँचा
जहाँ छ सधैभरि
तिम्रो उपस्थिति ।
(रूमी लश्कर बोरा भारतको असम राज्यकी एक जना प्रसिद्ध असमियाभाषी कवि हुनुहुन्छ । उहाँको यो कविता मूल भाषा असमियाबाट भारतका कवि देवेन्द्रकुमार देवेशले हिन्दी भाषामा अनुवाद गर्नुभएको थियो भने हिन्दी भाषाबाट कवि सुमन थापा सङ्गमले नेपाली भाषामा अनुवाद गर्नुभएको हो ।)