July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

अनागरिकको बयान

2.2K

एलिशा एकलास

माइतीघरमा
अनागरिकहरुको जुलुस छ

मानौं, माइतीघर
सत्ताका निम्ति हो अगम्य कालो छिद्र
जसका वरिपरि,
नागरिक बन्न नपाएकाहरु घुमिरहन्छन्
निरन्तर उस्तै लयमा !

Advertisement

अनागरिहरुको घुमाइले
रिङटा छुट्छ बानेश्वरको
‘एउटै माला’वाला राष्ट्रियतालाई

कहिलेकाहीँ
तिनै ‘नट् आवर सिटिजन’ माथि धावा बोल्न झिकाइन्छ
२६०० वर्षअघिको बुद्ध
र भनिन्छ–
बुद्ध वाज् वर्न इन नेपाल
उसलाई नागरिकता देऊ
नाम: सिद्दार्थ गौतम
बुवाको नाम: शुद्धोदन
आमाको नाम: माया देवी
नागरिकताको प्रकार: वंशज

बुद्धको नागरिकतामाथि दाबी गरिरहेको हुल हेर्दै
छेउमै टोलाइरहेको
गौतम यादव… मधेसी टोनमा भन्छ–
‘हामी नेपाली छ !’

अलिक पर उभिएको
छिरिङ्ग लामा आदिवासी लवजमा मिसाउँछ–
‘र्सा… यी मैले ढाका टोपी लागायो
आबो त नागरिकता पाउनुहुन्छ नि मैले…?’

पेट सुमसुम्याउँदै
अविवाहित गर्भवती भन्छिन्–
‘आफ्नै स्वाभिमान थाती राखेर
मैले प्रशासनमा भन्नुपर्ने छ– यो अनैतिक सम्बन्धले जन्मिएको सन्तान हो
नागरिकता दिइबक्सियोस् हजुर !’

जबजब
उनीहरु नागरिक हुनुको प्रमाण माग्छन्
चन्द्रशमशेरको सिंहदरबार
हल्लन थाल्छ ७२ सालको भूकम्पले झैं
र दुख्छ बानेश्वरको राष्ट्रियता
सुत्केरीको दूध गान्निएजस्तो गान्निएर
चरक्क चर्किन्छ,
मुक्त कमैयाका हातखुट्टा चर्किएजसरी
राष्ट्रिय निकुञ्ज छेउका
चेपाङ बस्तीमा डढेलो सल्काएजस्तो
माइतीघरमा, राकेंजुलुस उठ्छ
जब महिलाहरु भन्छन्–
‘मेरो पाठेघरले कहिल्यै
तिम्रो राष्ट्रियताको ठेक्का लिएको छैन !’

बानेश्वरको राष्ट्रियता
टोपी चिन्छ– धोतीमाथि प्रश्न गर्छ
गहुँगोरा सुकिलाहरुको प्रशासन – कालो छालामाथि सङ्कोचको आँखा गाढ्छ
उसलाई आदिवासी टोन मन पर्दैन
ऊ विधान देखाएरै अस्विकार गर्छ–
फरक ‘पहिचान’ का मान्छेहरुलाई !

तिम्रो राष्ट्रियता
‘म’हरुलाई हराउन लागिपरेको छ

मलाई अस्वीकार गर्ने राष्ट्रियता
म चाहिँ किन स्वीकार गर्छु हँ ?