May 5, 2024, Sunday
२०८१ बैशाख २४
1:37:26 pm

कविता: अलार्म समय

3.6K

पहिलो प्रहर बितेछ उसको
फेसबुक र ट्विटरका स्टाटसहरू
देशका बिदेशका
अनलाइन खबरहरू
अनि केही ‘लाइभ रेडियो न्यूज’ हेरेर ।

दोश्रो प्रहर खर्चिएछ उसले
सम्झनाका तरेलीमा
जहाँ बाल्यकाल आयो
किसोर काल आयो
स्कुल कलेज आए
संघर्षका चरण आए
र आयो बर्तमान ।

तेश्रो प्रहर जसै निदाएछ
देखेछ आमालाई सपनीमा
र सुनाएछ आमालाई
जिन्दगी दुखेका कुराहरू
भावुक भएछ र
ब्यूझाँएछ आफ्नै आँसुले उसलाई ।

Advertisement

अन्तिम प्रहर सपनीमा
जब देखेछ उसले आफ्नो प्रियसीलाई
तर…
तर कफि समेत पिउन नपाउँदै
बज्यो पहिलो अलार्म
किरिङ्…! किरिङ…
उफ् ! कति कर्कस यो अलार्मको आवाज
दोश्रो घण्टी बज्नुअघि
उस्ले फेर्यो अलार्म ‘साउन्ड’
थाहा छ तथापी उसलाई की, भोलि ठीक त्यही समयमा
त्यो अलार्म बज्नेछ फेरी ।

कुन आतंककारी शासकले बनायो होला
यो सामन्ती समय ?
कुन हिटलरले तयार गर्यो
यो २४ घण्टे संरचना ?
सरासर अन्याय हो यो
किनकी अपूग छ यो समय
ऊ जस्ता श्रमजीवीहरूलाई ।

त्यो समय बनाउनेलाई के थाहा
कति सकस छ
साघुरो समयसित बाँच्नु ?

अशोक चाम्लिङ