February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

याम्बुनेरः तामाङ समुदायको कथाहरूको चित्रण

4K

पेम्बा तामाङ

नेपाल देशलाई ‘चार जात छत्तीस वर्णको फूलबारी‘ भनिन्छ । उसैगरी ‘थरीथरी बाजा एउटै गीत‘ भनेर बहुसांस्कृतिक बहुल जाति भएको राष्ट्र भनेर परिचय दिइन्छ । वास्तविकता भने यस्तो कहिले थिएन । जमिनी स्तरमा राष्ट्र धर्म, नश्ल, जात, वर्गमा विभाजित थिए । सत्तामा रहेको समूहले सत्ताको आडमा फरक धर्म, नश्ल, जात, संस्कार र गरिबीमा रहेका निमुखा जनसमूहलाई जहिले थिचोमिचो गरेर नै शासन चलाए । यही धरापमा परेको र सत्ताको दलनमा परेको जात गोष्ठीमध्ये तामाङ चरम प्रताडनमा पर्न पुगेको इतिहासको डोबहरूले बताउँछ ।

तामाङ गोष्ठी पहिला किपटमा रहने मूलवासी थिए । नेपालको एकीकरण पछि उन्नाइसौं शताब्दीको प्रारम्भिक दशकबाट तामाङको समस्त किपट समाप्त भयो । सम्वत १९१० को मुलुकी ऐनले तामाङलाई मासिने मतवाली भनेर बेचविखनमा पर्न सक्ने जात गोष्ठीमा दर्ता गर्यो । यो ऐनले सम्पूर्ण नेपाली जाति समूहलाई चार भागमा विभाजन गरेर जाति वरीयता एवम सोही अनुरुपको दण्ड विधान तय गरिएको थियो । तामाङलाई तेस्रो वर्गमा राखेको थियो । ( यो वर्गीकरण जङ्गबहादुर राणाको नयाँ प्रयोग नभइ प्रचलित हिन्दू दण्ड विधानको अनुरसण थियो र प्राचीन कालदेखि नै थियो । एघारौं शताब्दीमा अल बिरुनी भारत भ्रमणमा आएर उनले लेखेका पुस्तकमा उल्लेख छ । कुन जातले कतिजना बिहे गर्न पाउने छुटको सुविधा बताउँदै लेखेका छन् ः ब्राह्मणले चारजना बिहे गर्न पाउने, क्षत्रीयले तीनजनासम्म बिहे गर्ने छुट, वैश्यलाई दुईजना बिहे गर्ने अनुमति र शुद्रले एकजनामात्र बिहे गर्न पाउने ।) यसो भए रातारात सम्पूर्ण तामाङ दासप्रथा अन्तर्गत पर्यो । कमारा कमारीमा दर्ता भएपछि उसको नागरिक अधिकार केही रहेको हुँदैन । त्यही नै भयो नेपालमा तामाङ जातिको दशा । कुनै निजामती वा जङ्गी सेवामा रोजगार पाउनबाट वञ्चित र जुनै समय राज्य वा सामन्तीहरूको निशुल्क श्रमसेवामा तत्पर रहन पर्ने भयो । तामाङलाई एक भरिया (पिपा) को रुपमा रुपान्तरण गरियो ।

Advertisement

दास प्रथा सन् १९२६ मा आएर समाप्त गरियो, तर जो यसप्रथाको सिकार भएका थिए उनीहरूको उचित व्यवस्थापन भने भएन । कमैया प्रथा रोक लागेपछि जमिन्दारको जग्गा जमिनमा आश्रित बँधुवा मजदुरलाई अर्को समस्या आइलाग्यो । उनीहरूलाई जमिनदारले जग्गा जमिनबाट बेदखल गरिदिए र यसबाट गरिखाने एक मात्र साधन पनि खोसियो ।

सत्ता परिवर्तन भए पनि यी तल्ला वर्गको निम्ति भने आशा अनुरुप सुधार हुन सकेन । पञ्चायतकालमा ‘एक देश एक भाषा’ जस्तो निरंकुश नीतिले पनि यिनीहरूलाई घातक नै भयो । ग्रामीण क्षेत्रका तामाङहरू आफ्नो मातृभाषा तामाङ बाहेक अन्य भाषाको ज्ञान जान्दैन थिए । ठाउँठाउँमा पाठशाला खोलिए तापनि यही भाषाको कारण तामाङ बालबालिका शिक्षाबाट वञ्चित हुन पुग्यो । सत्तामा परिवर्तन आए, प्रजातान्त्रिक व्यवस्था ल्याइए, पछि परेका समुदायको हितार्थ समानुपातिक एवम आरक्षण राखिए तर शताब्दीयौँ दमनमा परेका समुदायलाई उँभो उठ्न एकदुई दशकको समय पर्याप्त हुँदैन । यसैले ती समुदाय अझ त्यही छन् जहाँ अघि थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक कथा ‘मर्स्याङ्दी’मा तामाङको दरिद्रता बडो हेपाहा प्रकारले आएको छ ।
‘बैठकका एक कुनामा तीनजना तामाङ देखिन्थे । यौटा पाको घोप्टे आँखीभौँमा दुईचार बिरालाका जुँघा उछिट्टिए जस्तो, निरक्षर निधारमा व्यासका भन्दा गहिरा परेका, चिपचिपे घाम पसिनाले कल्सेदिएको मङ्गोलियन पहेँलीपनमा कर्म्मलाई राजिनामा लेखे जस्तो चेहरा परेको, बदाम आँखे, पाखीकोट र झल्लर झुत्रे घुडा छोप्ने निलो दौरा लगाएको, तेल, कालो बटारनसे गुँडुल्के पिँडौला र धुले औँला बिंगठिएका पयर दभखाएर बसेको करिब पैतालिसको तामाङ थियो ।‘
पत्नीको चित्रण चित्रमय छ
‘कहिले कपाल ठुङ्ग पार्न खोजेर बाँदर्नीले बच्चालाई मातृस्नेह देखाए झैँ अविकसित प्राणीका प्राकृतिक स्नेहको प्रबलता स्पष्टतासँग साङ्केतिक हावभाव र अर्धजङ्गली भाषामा प्रदर्शन गर्थी ।‘
‘कर्म्मलाई राजिनामा’, ‘झल्लर झुत्रे घुडा छोप्ने निलो दौरा’ले चरम गरिबी बुझाएको छ । ‘अविकसित प्राणी’, ‘साङ्केतिक हावभाव’, ‘अर्धजङ्गली भाषा’ले तामाङ एक अविकसित प्राणी अर्थात पशु जस्तो र उसको भाषा पनि जङ्गली भनिएको छ । महाकवि देवकोटा उच्च जातिको भए पनि उदार विचारधाराका थिए । एक उदार विचारधारा लिने देवकोटा तामाङमाथि यस्तो धारणा राख्थे भने उग्रवादी उच्च जाति अथवा सत्तामा रहनेको कस्तो घृणास्पद अवधारणा पालेका थिए त्यो यहीबाट कल्पना गर्न सकिन्छ । नेपालको एकीकरण पछिको तामाङको अवस्था देवकोटाको यो कथाले छर्लङ्ग पारेको छ ।

साहित्यकार बिना थिङ

समकालीन समयमा तामाङबारे अवधारणामा धेरै परिवर्तन आए पनि तामाङ जातिले यही दीर्घकालीन ऐतिहासिक दलनको कारण अझ चेतनामूलक स्तरमा वाञ्छनीय परिवर्तन र विकास ल्याउन समय लिइरहेछ । सर्जक बिना थिङले चेतना स्फुरणको स्थगनमा आफ्नो निजी अनुभव बयान यसरी गरेकी छ:
‘सम्झिन्छु पढ्ने सपनाले सासूसँगै पद्मकन्या क्याम्पस खोज्न हिडेको । स्थानीय नेतालाई सोधेकी थिएँ ठेगाना । बागबजार गल्लीको शिरदेखि पुछार, पुछारदेखि शिरसम्म दुई तीन फन्को लगाउँदा पनि क्याम्पस भेट्न सकिएन । निरस भएर प्रविणता पत्र तहमा भर्ना नभई फर्केकी थिएँ म । अहिले जबजब त्यो गल्ली पुग्छु, आफैसँग सोध्छु वर्षौंदेखि उभिएको त्यो क्याम्पस मैले कसरी देखिनँ ? मानिसलाई निर्जीव भवन देख्न पनि चेतनाको आँखा चाहिँदो रहेछ । दबाइएको चेतनाले वर्तमान नदेख्दो रहेछ ।‘ बिना थिङको यो अनुभूति अनन्य नभएर आम तामाङको जीवनमा प्रभावी रहेको बुझिनु पर्दछ । तामाङ समुदायमा निरक्षरता, चेतनाको अभाव गरिबी झल्काउने कथाहरूबाट यही कुराको चित्रण गरेकी छ ‘याम्बुनेर‘ कथासङ्ग्रहमा । यस संकलनमा परेका १३ वटा कथाहरूमा ६ वटा कथाहरू तामाङ पात्रमा आधारित छन् ।

‘याम्बुनेर‘ कथाको शीर्षकले याम्बुको नजिकैको भनिएको बुझाउँछ । तामाङहरू काठमाडौंलाई याम्बु भनेर सम्बोधन गर्दछ । अजितमान तामाङको भनाइ अनुसार याम्बु ह्याङ्ला बु को अपभ्रंश हो । ह्याङलाको अर्थ हुन्छ हाम्रो र बु को अर्थ हो खेत । याम्बु अर्थात काठमाडौंलाई यसैले तामाङ आफ्नो आदिभूमि मान्दछ । तर कालान्तरमा ऊ आफ्नो भूमिबाट लखेटियो र यसैको छेउछाउ भिरपाखामा बस्न बाध्य बनियो । याम्बुनेर भनेको अर्थ काठमाडौंको छेउमा भए पनि नभए जस्तो भनिएको हो । ‘याम्बुनेर‘ कथाको मुख्य पात्र सोममाया ३४ वर्ष उमेर खाइसकेकी छ, बिहे हुन सकेको छैन । उसको दैनन्दिनि भनेको बिहानै जंगल पसेर दाउरा काटेर ल्याउने र घरमा रक्सी बनाउने अनि आफ्नो नियमित ग्राहक कहाँ ठिका पुर्याउन जाने हो । यसैबाट उसको जिविका चल्छ । उसकी बिमारी आमाको दवाई पानी हुन्छ । तर दाउरा काट्ने काम सहज छैन । एकलै जङ्गलमा जाँदा कुनै बलात्कारी पुरुषको सिकार हुने त्रास हरबखत हुन्छ । बाटो अफ्ठ्यारो भिरालो भएको कारण दुर्घटनामा परिने भय रहन्छ । घरेलु रुपमा बनाइएको रक्सी बेचबिखन गर्न प्रहरीले रोक लगाएको हुन्छ । यही सकस झेलिरहेकी सोममायाको तर आत्मविश्वास र आत्मनिर्भरता भने प्रबल छ । एकातिर एक सम्पन्न विश्वभर नाम चलेको विशाल शहर काठमाडौं र अर्कोतिर यसैको किनारमा रहेकी एक विपन्न सर्वहारा महिलाको जिउने जद्दोजहदको तस्बिर हो कथा ‘याम्बुनेर‘ ।

नेपालको खबरकागतमा एवम लेखादिहरूमा तामाङ जातिलाई उनीहरूको निकृष्टता र नैतिकता विच्युति देखाउन भारतका विभिन्न शहरहरूमा यौनजन्य मामिलामा तामाङ महिलाको आधिक्य रहेको प्रमाण देखाइन्थ्यो । यसो गर्दा उनीहरूलाई आफ्नै सहनागरिकको सम्मानमा आघात पुगिरहेको हेक्का नलिएको छर्लङ्ग हुन्थ्यो । यस्तो कदम आत्मघाती हो भनेर उनीहरूले बुझेनन् । हुनत जुन ठाउँमा जात व्यवस्थाले प्रश्रय पाउँछ त्यो ठाउँका मानिसहरू आफू उच्च रहेको दावी गर्नको निम्ति कसैलाई निच देखाउन अनिवार्य बन्दछ । तामाङलाई नैतिकता विहीन देखाउने प्रवृत्ति यसैको परिणाम हो । कथाकार बिनाले आफ्नो कथामा यसलाई बुझ्ने प्रयास गरेर लेखेकी ‘सिफनको फेरो‘ कथा संकलनको विशेष आकर्षण रहेको छ । गरिबी, निरक्षरता, अज्ञानता मुख्य कारक रहेको देखाइएको छ गाउँका सोझा निमुखा किशोरीहरू यौनजन्य अनैतिक भुवँरीमा होमिनुको निम्ति । पहिल्यैदेखि निर्लप्त रहेका अभिभावक बालिकाहरूलाई यस्ता कर्मतिर धकेलिदिने जिम्मेवार रहेको यस कथाले बताउँछ । कथाकार बिनाले नेपालको सामाजिक व्यवस्थामाथि कुनै प्रश्न उठाएकी छैन र यो उनको रणनैतिक प्रयोग जस्तो देखिएको छ । भारतमा प्राचीनकालदेखि नै राज्यले नै महिला बेचविखन गरेको उल्लेख दशौँ शताब्दीमा कल्हणद्वारा लिखित इतिहास ‘राजतरंगिणी‘ मा पाइन्छ । नेपालमा पनि शासकले आर्थिक लाभको निम्ति यस्तो गरेन भन्न सकिन्न । विश्वविख्यात भाषाविद डा आरके स्प्रिगसित (1922–2011) तामाङ महिलाबारे यस पंक्तिकारको बातचितमा अनौठो चलनको जानकार खुलेको थियो । डा स्प्रिग तामाङ भाषा अध्ययनको शिलशिलामा सन् १९५० तिर रिस्याङ्गुमा दुई वर्ष बसेका थिए । त्यतिबेला उनले देखे ‘नवयौवना तामाङ महिला कन्ट्र्याक् मेरिएज’ अर्थात तय समयको निम्ति मात्र कुनै सामन्ती वा सत्ताका प्रमुख व्यक्तिकोमा विवाहको निम्ति लगिन्थ्यो । (स्प्रिगले व्यंग्यात्मक रुपमा भनेका हुन । वास्तवमा यो कन्ट्र्याक्ट मेरिएज नभएर तामाङ महिलामाथि सत्ताले गरेको दोहन थियो ।) यी महिला जब बच्चा जन्माएर शारीरिक सौन्दर्य क्षय हुन्छ वा कुनै सामान्य वा असामान्य रोगको सिकार हुन्छ उनीहरूलाई क्षतिपूर्तिको निम्ति केही धनराशि दिएर जन्माएको बच्चासितै गाउँ पठाइन्थ्यो ।
कवि श्यामलको कविता ‘किचकन्या‘मा आएको भयावह चित्रणभित्र अवश्यै तामाङ महिला पनि पर्दछ ।
‘तर केहीले फेला पारेका छन् नलीहाड
राजाको दरबारमा/केहीले सिंहदरबारमा
केहीले अनेक साना–ठूला दरबारहरूमा
सायद कैयौ प्रेमाप्त युवतीहरू
अकालमै मरेका थिए ती ठाउँ‘मा
तिनीहरूलाई प्रेतयोनिबाट मुक्त गर
बाकी रहेको नलीहाड भस्म गर ।‘
यसले राणाकालीन समयमा नेपालमा चलनमा आएको हो भयावह शोषणको तस्बिर देखाउँछ । यसमा ती महिलाहरू मात्र मनोरञ्जनको साधनको रुपमा हेरिन्थ्यो । कति मारिन्थे र कति भने त्यही ठूला ठालुको घरभित्र नरकीय जीवनमा रहनु पर्थे । तामाङ समुदाय दासप्रथाभित्र पर्ने हुनाले उनीहरू बेचबिखनमा पर्दथे । यही कालमा तामाङ महिला देशभित्र त बेचिन्थ्यो नै यी दासीहरूका मालिकबाट धनलाभको निम्ति देशबाहिर बेचबिखनमा परेको सहजै अनुमान गर्न सकिन्छ । यसैले तामाङ समाजमै यो विकृति थियो भनेर आरोप लगाउन कुटिलता हो । विषयको सम्वेदनशीलता र सत्यतालाई राम्ररी आत्मसात नगरी तामाङ महिलालाई आरोपित गरिएको यो प्रकरणको चित्रण भने भ्रामक हुन जाने कुरा हो ।
सेर्मो उर्फ नैना १२ वर्षको उमेर मै बलात्कृत हुन पुग्छ । वेश्यालायमा नारकीय जीवन बिताउन वाध्य बन्दछे ।
सेर्मो कोठाको सञ्चालक बन्दछे र पर्याप्त धनार्जन गरेपछि ऊ मुम्बईबाट नेपाल फर्केर आउँछे र काठमाडौंमा घर किनेर आफ्नो भाईसित सामान्य जीवनको लयमा फर्किन्छे ।
नेदरल्यान्डको राजधानी आम्स्टडर्ममा रहेको प्रसिद्ध रेड लाइट डिस्ट्रिकमा रहेर पछि सामान्य जीवनमा फर्केर आउने केही महिलाहरूको डकुमेन्ट्रीमा देखाएको थियो एकपटक यस्तो जीवनमा परेपछि उनीहरूलाई सामान्य हुन अत्यन्तै कठिन पर्दछ । पारिवारिक जीवन, पति, छोराछोरी भएर पनि त्यो जीवनको तितो अनुभव स्मृतिमा आघात पुर्याइरहेको र अन्य घरेलु महिलाहरू झैँ सामान्य रहनु धेरै कठिनाइ आउँछ । उनीहरूले यसलाई बाहिरी रुपमा यसलाई नझल्काए पनि आन्तरिक पीडाले ग्रस्त भएको हुन्छ । ‘सिफनको फेरो’ कथामा भने सेर्मो सामान्य जीवनको लयमा फर्केर आएपछि उत्कण्ठाग्रस्त भएकी छैन र यसैले चित्रण केही अस्वाभाविक अवश्य देखिन्छ ।
आफ्नो पछिल्लो जीवनमा सेर्मो सुखद रहेको छ । उसको प्रेमी उसँग हुन्छ, जीवनको अन्तिम क्षणसम्म । कथा सुखान्त बनाइएको छ । कथाले बुझाउने प्रयास गरेको छ, एक महिला जस्तै शोषणमा परे पनि उसले त्यसबाट आफ्नो मुक्तिको बाटो आफै निर्माण गर्न सक्छे ।
‘आइतीमाया’ र ‘ब्याड भाले’ चरित्र प्रधान कथाहरू हुन् । यी दुवै कथाहरूमा एक सामान्य ग्रामीण महिलाहरूका दैनन्दिनि एवम उनीहरूको जीवनको भोगाइ चित्रण गरिएको छ । ‘आइतिमाया’को सोममाया र ‘ब्याड भाले’को स्याङमेन्दो दुवै विवाहित छन् । यी विवाहित महिलाहरूको उनीहरूको पतिसितको सम्बन्ध र यौनेच्छा विश्लेषण कथाका केन्द्रमा रहेको छ । ‘ब्याड भाले’को तुलनामा ‘आइतिमाया’ सबल देखिन्छ कथाको संरचना र बुनोटलाई हेरे । ‘ब्याड भाले’ छोटो कथाको आयामभित्र औपन्यासिक रुप अटाएको छ । शिल्पको दृष्टिकोणले नवीनता वा प्रायोगिक छैन । यसको विपरीत ‘आइतिमाया’ छोटो कथालाई सुहाउने आयाममा आएको छ । तामाङ संस्कारमा महिला दोयम नरहेर पुरुष बराबरको हक र अधिकारको भागिदारी हुने गर्दछ । पैतृक सम्पत्तिको फाटवारीमा छोरीले छोरा सरह हिस्साको हकदार हुन्छ, जसलाई तामाङ शब्दावलीमा जो भनिन्छ । ‘ब्याड भाले’ कथामा यसलाई पेवा भनेर प्रसङ्गमा ल्याइएको छ र ब्याड भाले माइती जाँदा पाएकी थिई । यसबाट भएको आयअर्जनमाथि उसको पतिको अधिकार हुँदैन र स्वेच्छाले खर्च गर्न सक्छिन । तामाङ समाजभित्र महिलाले पाउने आर्थिक स्वतन्त्रताको महत्त्वपूर्ण सांस्कृतिक घटक यही हो । अर्को घटक हो महिलाको माइतीसित विवाहपछि पनि अटुट सम्बन्ध । बिहे पछि छेत्रीनी बाहुनीको थर परिवर्तन हुन्छ तर तामाङमा परिवर्तन हुँदैन र उसले आफ्नो पैतृक थर लिएर आएकी हुन्छ । एक तामाङ महिलाको निम्ति यसले उसको सुरक्षा र स्वतन्त्रता दुवैको निम्ति कारगर हुन्छ । नभन्दै तामाङ समाजभित्र नारीवादको मुद्दा छैन भन्ने होइन किनकि पितृसत्तात्मकता तामाङ समाजमा पनि विद्यमान छ ।

‘आइतिमाया’ कथाले नेपाली उखान ‘लोग्ने स्वास्नीको झगडा परालको’लाई चरितार्थ गर्दछ । कथा महिलाप्रधान भएको कारणले यसलाई गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’को नारीवादी कथनमा हेरिन सकिन्छ । मैनालीको कथा पुरुषप्रधान भएको हुनाले चामेको चरित्रमा अधिक शब्द खर्चिएको छ र उसकी स्वास्नी गौथलीले उसकोबाट कुटाइ खान्छे । कुटाइ खाए पछि ऊ माइत जान्छे । ‘आइतिमाया’ कथामा भने उसको लोग्ने दावा घरमा कामको चटारो परेको बेला घरमा नभएकोमा आइतिमाया रिसले चुर हुन्छे र माइती जाने धम्की दिन्छे । ‘परालको आगो’ कथामा गौथलीलाई कुटेको प्रकरण यहाँ आइतिमायाको प्रतिक्रियामा तुलना गर्न सकिन्छ ।
दिनभरको कामले थकान र दावाको अनुपस्थितिले रिसले भाउन्न छुटेर सुतेकी हुन्छे । कथाकार बिनाले यो दृश्य अत्यन्त जीवन्त चित्रण गरेकीछ ‘रातको दोस्रो प्रहर सकिँदो थियो होला । आइतिमायाको निद्रा एकाएक भङ्ग भयो । उसले अघिदेखि नै आफ्नो छातीमाथि सलबलाइरहेका गह्रौं हातहरू च्याप्पै समाती । त्यसपछि आफूमाथि खप्टाएको एउटा खुट्टा झट्कारेर हुत्याई । फेरि त्यो खुट्टा खप्टिन आइपुग्यो । यो पटक जोर खुट्टा थिए । दावाकै खुट्टाहरू हुन । आइतिमायाको लुङ्गी सरक्कै मास्तिर सारियो । आइतिमायाले बिस्तारै आफ्ना दुवै खुट्टालाई छातीनजिक दोब्राई । अघिल्लो दिनदेखिको सम्पूर्ण रिस जम्मा गरेर आफूमाथि खप्टिन आउँदै गरेको दावालाई जोर लात बजाई ।
‘मुर्दार! अइले पो सम्झिइस स्वास्नी? लु जा !’
ठाउँमै परेछ क्यार, दावा खुत्रुक्क भयो होला ।’
नभन्दै ‘परालको आगो’ र ‘आइतिमाया’ बीच समानता भन्दा असमानता अधिक छ । पहिलो घटनाप्रधान कथा हो भने दोस्रो चरित्रप्रधान कथा हो । मैनाली पुरानो मान्यताको पक्षधर अर्थात पितृसत्तात्मक विचार लिएका कथाकार हुन भने बिना पितृसत्तालाई चुनौतीदिने आधुनिक धारका कथाकार । यहाँ चर्चामा ल्याइएको कथाले पितृसत्तालाई चुनौती, नारीको अधिकार एवम परिवारमा नारी र पुरुष दुवैको समान उत्तरदायीको प्रस्तावना राखिएको छ ।

१३ वटा कथाहरू भएको सङ्ग्रहमा ‘भगवान निवास’ एक मात्र त्यस्तो पुरुष प्रधान कथा हो । मुख्य पात्रको लामाले न्वारनमा राखिदिएको नाम भए पनि उसको आमा आपाले राखेको नाम भगवान तामाङ र उसले बनाएको घरको नाम भगवान तामाङ । कथाले ग्रामीण नेपालको आर्थिक अवस्था, बेरोजगारी, सरकारबाट गाउँको विकासीय योजनामा उदासीनता र गाउँलेहरूबिचको एकता एवम सौहार्दता, जातीय समन्वय एकैसाथ देखाएको छ ।
नेपाल सरकारले देशको उत्पादनशील युवाहरूलाई उचित रोजगारको व्यवस्था मिलाउन सकेको छैन । २० प्रतिशत भन्दा बडी युवा समूह रोजगारको निम्ति विभिन्न देशहरूमा गएका हुन्छन् । तर देशको आर्थिक अवस्थालाई टेको पुर्याउन यही बाहिरिएर गएका जनशक्तिबाट महत सहयोग भएको छ । नेपालको सकल घरेलु उत्पादनको ३० प्रतिशत बडी उनीहरूबाट आपूर्ति हुन्छ । यही रेमिट्यान्सले गरिबी उन्मूलन, देशको विदेश विनिमय सन्तुलन एवम पूर्वाधार निर्माण कार्यमा सहुलियत पुर्याएको छ । वैदेशिक रोजगारमा पर्ने भगवान पनि हो । अरबको चर्को घाममा सात वर्षसम्म पसिना बगाएर आवश्यक धनार्जन गरेको थियो । पीढी दर पीढीको अन्तरमा पनि आफ्नो परिवारको निम्ति एक सामान्य गृह निर्माण गर्न नसक्ने नेपालको ग्रामीण गरिबीको तस्विर छ कथामा । उसको बाबू बाजेले राम्ररी बनाउन नसकेको घर वैदेशिक रोजगारमा गएर कठोर परिश्रम र पेट मारेर वचत गरेर कमाएको धन लगानी गरी बनाउँछ । आफ्नो परिवारलाई एक सुविधा सम्पन्न आवासमा राख्ने सपना पूर्ण हुन्छ । तर दुर्भाग्यवश भुँइचालोले उसको नवनिर्मित घर ध्वस्त हुन्छ ।
अप्रिल २०१५ मा भुइचालोले नेपाललाई ठूलो क्षति पुर्याएको थियो । हजारौँले ज्यान गुमाए । पुरै गाउँहरू माटोमा विलीन भए । कथाकार बिनाले यही घटनालाई यहाँ कथामा भगवान तामाङ एक पीडित देखाउने प्रचेष्टा गरेकी हुन । सिर्जनात्मक चित्रणद्वारा वैदेशिक रोजगार र उक्त घटनाको दस्तावेज बनिएको छ ‘भगवानको घर’ कथा ।

‘याम्बुनेर’ सङ्ग्रहको क्रममा पहिलो कथा छ ‘आनी पेमा’ सङ्ग्रह कै उत्कृष्टतम कथा पनि हो । यहाँ संकलित कथाहरूमा यस कथामा कथाकारले देखाएकी कलाकारिताले यसलाई उदाहरणीय बनाएको छ । यसको शैली रहल कथाहरूभन्दा भिन्न छ । जर्मन आलोचक एरिक आयरबाकले उनको पुस्तक ‘माइमेसिस‘ मा लेखेका छन पाश्चात्य साहित्यमा कथा (महाकाव्य÷उपन्यास) लेखनमा दुई प्रकारको शैलीको चर्चा गरेको छः पहिलो होमरीय शैली र दोस्रो बाइबलीय शैली ।( Mimesis: The representation of reality in western literature) (Page: 23) होमरीय परम्परामा घटना पात्र चरित्र छर्लङ्ग बनाएर लेखिएको हुन्छ यसैले पाठक अन्योलमा रहँदैन र सबै बुझिहालिने हुन्छ । यस्तो कथाको शुरु र अन्त चट्ट मिलेको हुन्छ र पाठकले कुनै अनुमान लगाउनुपर्ने आवश्यकता पर्दैन । रामायण, महाभारत जस्ता महाकाव्य यही परम्परामा समेटिन्छ । यी दुवै कृतिमा पात्र पात्राहरूको सम्पूर्ण परिचय, उनीहरूको विगत र वर्तमानको वृतान्त राखेका छन । पाठकले प्रत्येकलाई ठिम्याउन सक्छ । यसको विपरीत बाइबलीय परम्परामा भने सबै घटना र पात्रको पूर्ण परिचय राखिएको हुँदैन । यस्ता कृतिमा रहेका रिक्तता पाठक स्वयंले पूर्ति गर्नु पर्ने हुन्छ । पात्र पात्राको यात्रा कस्तो हुनुपर्ने पाठकले आफै निर्णय गर्न सक्छ । घटनाको पूर्ण विवरणी पनि दिइएको हुँदैन । नदेखाएको घटना पाठकले आफै अनुमान लगाउनु पर्दछ । यहाँ संकलनका १२ वटा कथामा पात्र पात्रा र उनीहरूको जीवनको पूर्णता देखिन सकिन्छ । एउटा छोटो कथाको आयाममा जति सूचना वहन गर्न सकिन्छ त्यति सन्तोषजनक आएको छ र पाठक अन्योलमा रहँदैन । तर ‘आनी पेमा’ कथामा भने पाठकले कल्पना गर्न सक्ने स्थान राखिएको छ । कथाको अन्तिम मोडमा नायिका आनी पेमा गुम्बालाई त्याग गरेर काठमाडौं जान्छिन । तर उसको वास्तविक गन्तव्य आमा बाबुको घर, एकल स्वतन्त्र जीवन या प्रेमीसित विवाह बन्धनमा बाँधिने हो, यी तीन विकल्प पाठकको विवेकको निम्ति मौन राखिएको छ । यही कारण यो कथा बाइबलीय शैलीमा आउँछ ।

पाठकसँग ‘याम्बुनेर

‘आनी पेमा’ कथाको अर्को विशेषता हो पात्र निर्माणकला । अधिकांश नेपाली उपन्यास वा छोटो कथाका पात्रहरू स्थिर चरित्र (static character) का हुन्छन भने यसको पात्रा गतिशील छ । नेपाली उपन्यासमा गतिशील पात्र रहेको प्रख्यात उपन्यास हो इन्द्रबहादुर राईको ‘आज रमिता छ ।‘ उनको छोटो कथा ‘घाँसीसँग‘ पनि गतिशील पात्रबाट निर्माण गरिएको छ । गतिशील पात्र भनेको पात्रको चरित्रमा परिवर्तन आउनु हो । कथाको प्रारम्भमा जस्तो देखिन्छ पछि गएर परिवर्तन भएको देखाइनु गतिशील रहनुको लक्षण हो । बिना थिङको कथा एक सानी विद्यार्थी बालिका आज्ञाकारी र अनुशासन बद्ध परिचय लिएर आएकी हुन्छ । गुम्बामा ऊ धर्ममा समर्पित बन्दछे । धार्मिक बस्त्रमा सजिएर त्यही अनुष्ठान पोस्तक पाठ, ध्यान, अर्चनामा लिप्त रहेकी हुन्छिन् । जब एक परपुरुषको सम्पर्कमा आउछे, त्यो व्यक्तिले दिएका किताब पढन थाल्छे उसको मन बरालिन थाल्छ । मनमा छटपटाहट आउन थाल्छ । गुम्बाको कठोर अनुशासन उसलाई बन्धन लाग्छ र यसबाट मुक्ति चाहन्छे ।

कथाको निर्णायक मोड पात्र पदमको पेमालाई भनेको यो वाक्यद्वारा भनिएको वचन भन्न सकिनेछ । ‘तपाईं अत्यन्त सुन्दर हुनुहुन्छ र हृदयले पनि । यो सुनौलो टाउको भित्रको तपाईंको चेतना पनि उत्तिकै सुन्दर लाग्छ ।’

बाल्जाकको कथा साराजिनको विश्लेषण गर्दै रोल्याँ बार्थले कथा/उपन्यासमा प्रेम प्रसङ्गबारे लेखेका छन् :”A commonplace truism (a completely literary endoxa which life constantly disproves) maintains that there is an obligatory link between beauty and love (to see her so lovely is to love her).” (Roland Barthes : S/Z)

कसैलाई सुन्दर देखिनु र उसलाई उसको सौन्दर्यको प्रशंसा गर्नु उसलाई प्रेम गर्नु हो । आनी पेमालाई आभास हुन्छ पदमद्वारा यो वचन उसलाई प्रेमको प्रस्ताव हो अथवा उसलाई प्रेम गर्न लागेको छ । यसको प्रतिक्रिया पेमामा पर्दछ र उसको हृदयमा पदमप्रति प्रेमको भावना स्फुरण हुन्छ ।
‘आनी पेमा‘ कथाको बनोट र बुनोट आकर्षक छ । कथामा बनोट र बुनोटकोबारे समालोचक इन्द्रबहादुर राईले रोचक रुपमा बताएका छन् ।
‘बनोट अस्थिपन्जर जस्तो हुँदा बुनोट मासु र छाला, दुवै भई शरीररूप । घरका खाँबाहरू, निदालदलिन, डाँडाभाँटा, चौकोस आदि बनोट हुँदा बुनोट यसका चोटाकोठा, ढोकाझ्याल, रङ्गरोगन, टेबलचौकी, गलैंचा आदि ।कथाको बनोट पात्रहरू, कथानक, आयोजना, मूल भनाइ आदि हुँदा बुनोट भाषा, शैली, विम्ब, मिथकीय पृष्ठभूमि, मान्यता आदि । बनोट कुनै अङ्ग तर बुनोटको अंश हुन्छ, र कथा बुनोट मात्र पनि, रूप मात्र पनि ।’ (कथामा सूर्य कुमार सुब्बा)
यो कथा एउटी प्रवज्या प्राप्त गरेकी युवती पेमाको प्रेम कथा हो । यसको बनोट (स्ट्रक्चर) यही हो । कथा नौ उपपाठमा विभाजित छ । उपपाठको आयोजन बुनोट (टेक्सचर) हो । उपपाठको आयोजनाले पाठलाई आकर्षक बनाएको छ र भिन्न रहस्य खोतल्न सहयोग पुर्याएको छ । यसमा प्रयोग गरिएको भाषा कथाको बनोट हो । तर यहाँ भाषाको मिश्रण गरिएको छ, बहुभाषिक (पोलिफोनिक) बनाइएको छ । भाषिक मिश्रणले शैलीलाई प्रभाव पारेको छ जो यसको बुनोट हो ।

सामान्य नेपाली कथामा आफ्नो आस्था र संस्कृतिभित्र रहेर कथाको निचोड राखेको हुन्छ । कथामा शिवतत्व रहेको उत्तम मान्छ । यसरी पात्र र कथालाई कठपुतली बनाएर यसको स्वतन्त्रता हनन गरेको पाइन्छ । कथाकार बिना बौद्ध धर्मावलम्बी भएकी हुनाले पाठकलाई पेमाले प्रेमलाई तिरस्कार गरेर धर्मको पालन गर्नेछ भन्ने अपेक्षा हुन्छ । तर यहाँ यसो भएको छैन । पेमालाई विद्रोही बनाएको छ । उसले सम्झन्छे उसको निर्वाण गुम्बाभित्र होइन खुला आकाशमा छ । कथाको चरमोत्कर्ष (क्लाइमेक्स) अप्रत्याशित भएको छ । पेमाको चरित्र कृष्ण धरावासीको मदन पुरस्कारले सम्मानित प्रसिद्ध उपन्यास ‘राधा‘को राधासित तुलना गरे यसको भिन्नता स्पष्ट हुन्छ । राधा कृष्णको प्रेमी हो भक्तीन हो पुराण अनुसार । ‘राधा‘ उपन्यासमा पनि राधा कृष्णकी प्रेमी र भक्त नै रहेकी छ अन्तसम्मनै । विद्रोह छैन । राधाले स्वधर्म निभाएकीछ । आफ्नो धर्म त्याग गरेकी छैन । यही मान्यताले हेर्नु हो भने पेमाले गुम्बा छोडेकी धर्मछाडा र कर्तव्यच्युत भएकी हुन्छ । ‘राधा‘ उपन्यास पुराणसम्मत विचारले लेखिएको हो र यसलाई पौराणिक मान्यताको सहचारक्रमिक भन्न सकिन्छ भने यस्तै पौराणिक मान्यताको खन्डन गरेर ‘आनी पेमा‘ विन्यासक्रमिक (प्रतिआख्यान) हो ।

माथि चर्चामा ल्याइएका कथाहरू तामाङ जनजीवन देखाएको छ तर उसको भाषा, संस्कार र छुट्टै जीवन शैलीमा अन्य सम्प्रदाय वा सत्ताबाट घात पुग्न गएको कुनै दृश्य छैन । यसैले यी कथाहरू पहिचानवादभित्र पर्दैनन् । ‘याम्बुनेर‘ कथा सङ्ग्रहले कथाकार बिना थिङ पहिचानवादको समर्थक वा अभियन्ता भनेर सावित गर्न सकिने आधार छैन । यही हुनाले ‘याम्बुनेर‘ कथा सङ्ग्रहलाई एक विशेष विचारधाराको प्रतिनिधित्व गर्ने लेखन भनेर दर्ता गर्न भ्रामक हुनेछ । नेपालको मधेसी, मुसलमान, नेवार, बाहुन तथा तराईको जीवन, शिक्षा व्यवस्था, राजधानीको शहरीय जीवन जस्ता विविध वस्तु कथाहरूमा आएको छ । नेपालको सामाजिक अन्तर्घुलनको चित्रण सजीव देखिन सकिन्छ । विषयवस्तु पात्र पात्रा चयन वा वैचारिकता रूढ (Stereotyped) छैन । कथाको विषयवस्तुको आवश्यकतालाई केन्द्रमा राखेर पात्र निर्माण र उनीहरूको जीवनमा आएको उतार–चडाव चित्रण गरिएको छ । केही कथामा लेखिका पाठसित अन्तर्घुलन भएकी छिन तर सबैमा होइन । ‘सिकोफाइभ‘ ‘आनी पेमा‘, ‘सिफनको फेरो‘ ‘गंगारामको साइकल‘ कथाहरूमा कथाकार र कथा एकाकार भएको लाग्छ । लेखिका बिना थिङको बाल्यकाल हेटौंडामा बितेका हुन यसैले ‘गंगारामको साइकल‘ त झन आत्मपरक नै देखिन्छ ।

नारीवादीहरू भन्छन् सबै नारी कुनै न कुनै समय यौन हिंसाको प्रताडन सहेकै हुन्छ । तर सबै पुरुष बलात्कारी पनि हुँदैन । यही दुई विचारको सहचारक्रमिक कथाहरू छन ‘सिकोफाइभ‘ र ‘ड्राइभरका आँखा‘ । ‘सिकोफाइभ‘ कथामा एक बालिका एक ६८ वर्षीय पुरुषबाट बलात्कार भएकी घटना छ । ६८ वर्षको वार्धक्य उमेरमा पनि एक पुरुष बलात्कारी हुन सक्छ । एक बालिका कुनै उमेरको पुरुषबाट सुरक्षित रहन सक्दैन । ‘ड्राइभरको आँखा‘ कथामा ड्राइभरको बलात्कारी जस्तो आँखा देखेर विद्यार्थी बालिका भयातुर हुन्छे र उसले गाडीमा स्कुल पुर्याइदिने सहयोग गर्दा पनि चडन मान्दिन । उसलाई लाग्छ ड्राइभरको मनसाय अनुचित छ । ऊमाथि अन्याय हुनसक्छ । तर एकदिन ऊ साथीहरूसित साइकल दौडमा दुर्घटनामा पर्दछे । दुर्घटनामा परेकी विद्यार्थी बालिकालाई त्यही ड्राइभरले अस्पताल लगेर उपचार गराउँदछ । ड्राइभरले भन्छ उसलाई देखेर उसकी आफ्नी छोरीको सम्झना गर्दछ जसको मरण भइसकेको थियो । यो कथाले सबै पुरुष बलात्कारी हुँदैन भन्ने नारीवादी कथनलाई पुष्टि गर्दछ ।

मर्स्याङदी र बिनाका कथाका पात्राहरू
महाकवि देवकोटाको ‘मर्स्याङदी’ र मातृका प्रसाद कोइरालाको ‘पिपाको हवल्दार’ प्रारम्भिक चरणका दुई कथाहरू हुन् जसमा तामाङ पात्र चित्रण गरिएका छन् । ‘पिपाको हवल्दार‘ ईश्वर बरालले उनको सम्पादनमा निस्केको ‘झ्यालबाट’ सङ्ग्रहमा थियो । यसले धेरै ख्याति पायो, पाठ्यक्रममा सामेल गरिए । तर देवकोटाको ‘मर्स्याङदी‘ कुनै चर्चामा आएन । यद्यपि कथाको रूपमा यसको त्यति कै महत्त्व छ जतिको ‘पिपाको हवल्दार’ को छ ।

मर्स्याङदीमा तामाङस्या वा महिला पात्रा मुख्य छ भने पिपाको हवल्दार कथामा पुरुष पात्र छ । यी दुवै कथाले तत्कालीन समयमा नेपालमा तामाङ जातिको अवस्थाको यथार्थ चित्रण गरेका छन् ।
मर्स्याङ्दी कथामा एक अत्यन्तै गरिब घरकी मर्स्याङदी बाहुनको घरमा बेचिएकी घटना छ । त्यो घरमा घर मालिकबाट ऊ बलात्कार हुन पुग्छे र गर्भवती हुनजान्छ । उक्त घरबाट फेरि अर्को घरमा बेचिन्छ । यसरी पटकपटक बेचिएकी मर्स्याङदी दुखै दुखमा डुबेकी हुन्छ । दोस्रोपटक बेचिएको घरमा उसले अझ दुःख पाउछे । दोस्रोपटक बेचिइँदा उसलाई बस्न दिएको कोठाको चित्रण देवकोटाले यसरी गरेका छन् ।, ‘उसलाई एउटा छिँडी दिइएको थियो नाली खस्ने ठाउँनेर –सहरको चिसो, कीरा वासा, गन्ध, सिप जसलाई छिँडी भन्दछन । फल्याक ओछ्याइदिएको थियो । जुम्रे पाखी भाग लगाइदिएको थियो । खान जुठो र ढिंडो गुन्द्रुकको झोलसँग मिल्थ्यो । ठूलो जहानको भाँडा १२ बजे रातिसम्म गीत गाएर माझ्यो ।’

गर्भवती मर्स्याङदी यो दोस्रो घरमा आएर आमा बन्दछिन । तर उसको दुख र शास्ति अझ थपिएर जान्छ । दुधे बालखलाई सुकेनास लागेर बिमार हुन थाले पछि उसको जीवन थप कष्टकर बनिने भयो । एकदिन त्यो सानो बालखको मृत्यु हुन्छ । आफ्नो बच्चाको मृत्यु पछि मर्स्याङदी पनि प्राण त्याग गर्छे । मर्स्याङदीको मृत्युलाई देवकोटाले ‘मुक्ति’ भनेका छन् ।

मर्स्याङदी कथामा मर्स्याङदी एक लाचार, निरीह, कुनै संघर्ष गर्न नसक्ने एक हुतिहारा देखाइएको छ । मर्स्याइदी जस्तो कमजोर, अशक्त, लाचार, बेबस बनाइएको छ कथाकार बिना थिङले यसको विपरीत उनका कथाका सबल, स्वतन्त्र, आत्मनिर्भर, आत्मनिर्णय लिन सक्ने सशक्त महिला पात्राहरू सिर्जना गरेकी छ । ‘याम्बुनेर’ को सोममाया, ‘आइतिमाया’को आइतिमाया, ‘सिकोफाइभ’को छम्पेनी, ‘ब्याड भाले’को स्याङम्हेन्दो सबल र सशक्त छन् । यी मध्ये छम्पेनी आफ्नी छोरीलाई बलात्कार गर्ने अपराधीलाई हत्या समेत गरिदिन्छे । ‘सिफनको फेरो’को सेर्मो मुम्बईको वेश्यालयमा बेचिएर एक अन्धकारमय जीवन जिउन परे पनि पछि आफ्नो जीवन सम्हाल्न सक्षम बन्दछिन् ।

देवकोटाको मर्स्याङदी र बिना थिङका पात्राहरूमा कुनै समानता छैन । ती विपरीत छन् । यसैले कुन यथार्थ हो र कुन कपोल कल्पना हो भन्ने प्रश्न उठ्छ । यी भिन्ना–भिन्नै समयमा सिर्जना गरिएका रचनाहरू हुनाले एकसमान मापदण्ड सही हुँदैन । दार्शनिक भाइकोको विचारको व्याख्या गरेर विख्यात लेखक एडवर्ड सइदले भनेका छन्, ‘प्रत्येक युगको यथार्थ वा सत्यलाई हेर्ने यसैको पद्धति या ऐना हुन्छ । (Each age has its own method, or optic, for seeing and then articulating reality.)

महाकवि देवकोटा र कथाकार बिना थिङ भिन्दा भिन्दै समयका हुन् । त्यति मात्र नभएर बिना समकालीन सर्जक हुन् र उनको दृष्टि समकालीन हुन् । देवकोटाको दृष्टि विगतको हो । यसैले देवकोटाले जे देखे त्यसलाई असत्य भन्न सकिन्न । उनको दृष्टि उनको समयको सटीक प्रतिबिम्ब हो । आज बिना थिङले जो देखिरहेकी छिन् त्यो आजको समयको सत्य हो ।
नेपाल एक बहुल जाति र बहुल संस्कृति भएको देश हो । कुनै एक जाति समूह वा सांस्कृतिक गोष्ठीको नभएर सम्पूर्ण जाति र सम्पूर्ण सांस्कृतिक समूहको साझा फूलबारी हो । इतिहासमा राम्रा नराम्रा जे जति घटना भए ती विगत हुन् । बिना थिङले आफ्ना कथाहरूमा जाति, संस्कृति र भौगोलिक विविधता समेटेर सम्पूर्ण नेपाललाई अगाल्ने प्रयास गरेकी छन् । यसबाट उनले सन्देश दिन चाहेकी बुझिन्छ नेपाल सबैको साझा घर हो र सबै प्रेम भाव लिएर रहने हो ।

गान्तोक सिक्किमका लेखक, साहित्यकार साथै अवकाशप्राप्त विशेष सचिव हुन् । उनको ‘तामाङको आख्यानदेखि पराख्यानसम्म’ (आलोचनात्मक लेखसङ्ग्रह –२००५), ‘कालोभारी ‘(कथासङ्ग्रह – २००६), ‘नेपालको इतिहासमा तामाङ जाति’ (लेख सङ्ग्रह), ‘विचार अनि विवेचना ‘( आलोचनात्मक लेखसङ्ग्रह– २०१९) लगायत पुस्तक प्रकाशित छन् ।