पातालमै बसेर ‘पाताल प्रवास’ पढिसकें । उहिले स्कूले जीवनमै ‘घनघस्याको उकालो काट्दा’ भन्ने नियात्रा पढिएको थियो तारानाथ शर्माको । शब्दमै चित्र भर्न सक्ने, भावको भुँवरी सिर्जना गर्न सक्ने, विचारको प्रवाहमा बग्न र बगाउन सक्ने क्षमताका मालिक शर्माको शाब्दिक जादुको स्वाद पाताल प्रवासमा पनि उत्तिकै घनत्वमा घनीभूत भएको छ ।
क्षितिज फैलाउने उकुसमुकुस शीर्षकमा नेपालबाट विद्यावारिधीका लागि अमेरिका आउनुअघिका कानुनी उल्झन र सरकारी झमेलाहरू, पासपोर्ट बनाउने क्रममा कीर्तिनिधी विष्टदेखि हृषिकेश शाहसम्मका प्रसङ्ग र प्रयासहरूको वर्णन गर्दै सुरू भएको यो नियात्रा सङ्ग्रहमा अमेरिकाको विस्कन्सिन विश्व विद्यालयले भर्ना स्वीकार गरिसकेपछि पनि राहदानी बनाउन नै अनेक दुःख गर्नु परेको, सचिव र मन्त्री सम्मै पुग्दा पनि पासपोर्टकै लागि भीषण सङ्ग्राम परेको, अमेरिकन नागरिककै शिफारिसमा तत्कालीन शिक्षा राज्यमन्त्री हीरालाल विश्वकर्माको सदिच्छा स्वरूप बल्लबल्ल पासपोर्ट बनेपछि बानेश्वरको त्यसबेला ४० हजार रूपैयाँ पर्ने पौने दुई रोपनी जग्गा अठ्ठाइस हजारमै बेचेर खर्च जुटाएको, त्यसपछि पनि भिसा प्राप्त गर्न कठीन संघर्ष गर्नु परेको जस्ता प्रसङ्ग राक्षसी सेनानीहरूसितका भीषण संघर्ष शीर्षक दोस्रो निबन्धमा उल्लेखित छन् ।
२०३१ साल फागुन १ गते अर्थात् सन् १९७५ फेब्रुअरी १३ का दिन नेपालबाट अमेरिका प्रस्थान गर्दाका उकुस मुकुसहरू,पारिवारिक विछोडका वियोगी भावहरूसहित दिल्ली हुँदै तेहरान, तेहरानबाट बेरूत, बेरूतबाट इस्तानबुल, इस्तानबुलबाट फ्र्याङ्कफर्ट, फ्र्याङ्कफर्टबाट लण्डन र लण्डनबाट अमेरिकाको डिट्र्रोइट, डिट्र्रोइटबाट शिकागो र शिकागोबाट बल्ल-बल्ल गन्तव्य म्याडिसन पुग्दाको ३ दिन लामो यात्राको रोचक र रोमान्चक बर्णन छ पाताल प्रस्थान शीर्षक नियात्रामा ।
आफन्त चिनारू कोही नभएको यो विरानो अमेरिकामा आफूलाई स्वागत र आतिथ्य प्रदान गर्ने प्रोफेसर जो र उनको परिवारसँगको सान्निध्य र सुरूवाती अनुभूतिहरूको सघन अभिव्यक्ति तथा त्यसपछि भेटिएका केही नेपाली परिवारसँगका प्रसङ्ग पढ्न पाइन्छ पाताल पसेपछिको पहिलो दिन शीर्षक वृत्तान्तमा ।
अमेरिकाको चर्चमा हुन लागेको एक नेपाली जोडीको विवाहलाई आफ्नै जोडबलमा आफैंले बेदका मन्त्र पाठ गरी हिन्दूकरण गरेका जस्ता रोचक प्रसङ्ग छन् अमेरिकाली मन्दिरमा नेपाली विहे शीर्षक निबन्धमा ।
“मेरो जीवनको सबैभन्दा ठूलो आकाङ्क्षा यात्रा गर्नु हो । सके र पुगेदेखि म यात्रालाई नै आत्मसमर्पण गर्ने थिएँ । नर्वे जान पाइयोस् र मध्यरातको सूर्यको दर्शन गरेर कुकुरहरूले तानेको चिप्लो गाडीमा अलास्का घुमियोस् । स्क्याडिनेभियाली ल्यापहरूसित बार्हसिङ्गेले तानेको गाडीमा बसी हिउँमा चिप्लेपछि गिजेका पिरामिडमा र त्यसका वरिपरी उँट चढेर ढल्कन पाइयोस् । नील नदीमा जहाजबाट बग्दै काईरोबाट हिँडेको खार्टुम पुगी इथियोपियाको अडिस अबाबामा दुई महिना विताई नाइरोबी, कम्पाला, आक्रा, लियोपोल्डभिल हुँदै जोहान्सवर्ग र केप्टाउनमा रमाउन पाइयोस् । जहाजमा चढेर पानामा महानहर तरेपछि मेक्सिकोको माया सभ्यता हेरेर अकापुल्को र मेक्सिको महानगरीमा दुईदुई महिना विताउँदै तीन महिना हवाइका टापुहरूमा विहार गरी क्वीतोमा चार महिना विश्राम लिन पाइयोस् । कराकास, लिमा, सान्तियागो, बोगोटा, बुनेश आयर्स, साउ पोलो, रियो दे जेनेरियो हुँदै ब्राजिलिया घुमेपछि गयाना निस्केर जमाइका, बार्बेडस भई हाइटी ,क्यूबा, गुवाटेमाला, निकारागुवा र होन्डुरस भई भ्यानकुवरमा एक महिना बिताई गाडी आफैं हाँक्तै मन्ट्रियल र टोरान्टो पुग्न पाइयोस् । त्यसपछि लास यान्जलसमा छ महिना घुमी सान फ्रान्सिस्को, साल्ट लेक सिटी, लास भेगास, सियाटल, सालेम, फिनिक्स र टुसान हुँदै वायोमिङ घुमेर पूर्वी टेक्सास पुगी न्युओर्लिन्स हुँदै मायामी झरी तीन महिना फ्लोरिडा घुमेर पूर्वी किनारका सहरहरू चाल्दै न्युयोर्क, बोस्टन र नायग्रा छाँगामा रामरमितो मच्चाई जहाजबाट आइसल्याण्ड जान पाइयोस् । स्वीडेन, डेनमार्क, हल्यान्ड, बेल्जियम, फिनल्यान्ड, जर्मनी, अष्ट्रिया, इटली चेकोस्लोभेकिया, हंगरी, रोमेनिया, बल्गेरिया,युगोस्लाभिया र अल्बानिया दुईदुई महिना चालेर ग्रीस निक्ली फनक्क घुमेर याटमा भूमध्यसागरको सयर गर्दै सिसिलीको घाम तापी नेपल्स निक्लेपछि फेरि म्याड्रिड जान पाइयोस् । स्पेनको चक्कर लगाएपछि पोर्चुगल घुमेर मोरोक्को, सिएरालियोन, लाइबेरिया हुँदै ट्युनिसिया, अल्जेरिया र इज्रेल हेरेपछि सिरिया, जोर्डन, साउदी अरेबिया, कुवेत र इराक घुम्न पाइयोस् । तुर्की र इरान पूरै फन्फनिएपछि र उडेर अस्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी र टाहिटी हुँदै फिलिपिन्स पुगेपछि ताइवान, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया र जापानमा छ महिना घुमेर कोरिया, मङ्गोलिया र चीन हुँदै तिब्बत पुगेर साइबेरिया हेर्दै उराल नाघी मस्को, लेनिनग्राद र कीभ पुग्न पाइयोस् । जेरुसलममा प्रातःभोजन खाएर कोलम्बोमा दिउँसोको खाजा डम्फ्याइ रङ्गुनमा रात्रिभोजन गर्न पुगियोस् ।

यसरी संसार घुमेर हरेक ठाउँको बयान गरी कम्तीमा एक सय नियात्रासम्बन्धी सुरूचिपूर्ण र रमाइला पुस्तकहरू लेख्न पाइयोस् । मलाई अरूथोक केही चाहिने थिएन ।”
सम्झनाले झक्झक्याउँदा शीर्षक निबन्धमा यस्ता प्रखर इच्छा प्रकट गरेका छन् शर्माले ।
ठूलो स्याउ शीर्षकमा पहिलो पटकको न्यूयोर्क यात्राको वर्णनमात्रै छैन,अमेरिकी सडक प्रणाली,गोरा र कालाहरूको सम्बन्ध र न्यूयोर्कको सौन्दर्य हेर्दै एट्लान्टिक सिटी ओर्लेर क्यासिनोको अनुभव लिएका प्रसङ्ग पनि छन् ।
आफ्नो नेपाली जातिप्रतिको माया, भाषाप्रतिको स्नेह र हिमालप्रतिको सम्मान रहेका नेपालीदेखि नेपालीत्वप्रति गौरव नगर्ने र एकछिन भेट्नसमेत अनिच्छा गर्ने सम्मका नेपालीहरू भेटेका अनुभवहरू व्यक्त भएका छन् पातालमा भेटिएका एकदुई नेपाली शीर्षक निबन्धमा ।
“बर्मामा जन्मेर पातालमा समृद्धि कमाए पनि नेपालका लागि मरिमेट्ने डाक्टर पौडेल र भारतमा जन्मेर भारतमै प्रसिद्धि कमाई पातालतिर सन्यास बिताउन पुगे पनि भित्रभित्रै नेपाली भनेपछि हुरुक्क हुने टी. मनेन मानव स्वभावका स्वस्थ पाटाहरूको साँचै राम्रो अध्ययन प्रस्तुत गर्नुहुन्छ । उहाँहरूकै हाराहारीमा नेपालमा जन्मेका दीक्षित भने नेपालमै पनि विदेशीको नोकरीमा नगण्य जीवन बिताइसकेपछि हाल स्वदेशको गौरवलाई तृण बराबर ठान्दै पातालमा रमाएका देख्दा मनुष्य चरित्रको अर्को पाटाको छनक पनि केही पाइएको छ ।”, शर्माको अनुभव यसरी बोलेको छ ।
प्रकृतिले सिंगारेको पाताल शीर्षकमा लेखकले अमेरिकालाई स्वर्गसँग तुलना गरेका छन् । उनी भन्छन्, “मान्छेले चाह्यो भने जस्तोसुकै मुलुकलाई पनि स्वर्ग बनाउन सक्दो रहेछ । यस कुराको छनक त मैले पाताल टेकेकै दिन पाएको थिएँ, तर पुरै पत्त्यार भने सन १९७८ को अगस्त महिनाको ४ तारिखदेखि २० तारिखसम्मको सोह्रदिने यात्राले नै मलाई दिन सक्यो। अगस्त ४ तारिख शुक्रबारको ७ः३० बजे बिहान म्याडिसनको चिलडाँडामा स्थित १०६ एफ नम्बरको डेराबाट शान्ता, अनल र सलिललाई लिएर मेरो प्लीमथ डस्टर भन्ने नीलो गाडी चलाई शिव शर्मा त्यस ताक बसेको मिनेसोटा राज्यको राचेस्टर भन्ने नगरतर्फ गएर त्यही अगस्तकै २० तारिख आइतबारका दिन ७ः३० बजे बेलुका म्याडिसनको डेरामा फर्केर आइपुग्दा हामीले ४४३८ माइलको यात्रा गरिसकेका रहेछौँ । यस लामो यात्रामा हामीले विस्कन्सिन, मिनेसोटा, दक्षिण डकोटा, वायोमिङ, मोन्टाना, आइडाहो, युटाह, एरिजोना, कोलोराडो, नेब्रास्का र आयोवा गरी आठ वटा राज्यहरू कुल्च्यौँ। हामी जङ्गलका माझबाट गुड्यौँ, नदीका तीरैतीर घुइँक्यौँ, घाँसे मैदानलाई काँडले झैँ चिर्दै सुल्क्यौं। हामी राकी पर्वतमालामा सर्प झैं गुडुल्क्यौं, कोलोराडो नदीका पहरामा च्याप्पै च्यापबाट चिप्लियौं र अनेकौँ सुरुङहरूका पेटभित्र सन्सनाउँदै छिर्यौँ। दक्षिण डकोटाका विस्तृत घाँसे मैदान, ब्याक हिल्स भन्ने क्षेत्रका रमणीय पहाड र नेब्रास्का र आयोवाका कहिल्यै नटुङ्गिने मकैका फाँटका बीचबाट दुगुर्दा मलाई पाताललाई प्रकृतिले सिंगार्नसम्म सिंगारेको प्रत्यक्ष ज्ञान भयो ।
पाताल प्रकृतिले ठगेको देश होइन। यहाँ अग्लाअग्ला पहाडहरू छन्, ठूलाठूला नदीहरू छन् र बाक्लाबाक्ला जङ्गलहरू छन्। यहाँ विशाल मलिला मैदानहरू छन्, विराट आकारका समुद्र झैँ लहराउने अनगिन्ति तालहरू छन् र मुलुकैलाई सुन्दर पार्ने तीनतिर समुद्रका अनन्त किनारहरू छन् ।” जताततै निर्धक्क पाताल उपनाम दिंदै शर्माले अमेरिकाको मुक्त कण्ठले प्रसस्ती गाएका छन् यसरी ।
अमेरिकाका चार पूर्व राष्ट्रपतिहरूको चित्र कुँदिएको माउन्ट रस्मोरदेखि येलोस्टोन नेशनल पार्क र ग्रान्ड क्यानन् सम्मका सबै यात्रा वृत्तान्त औधी रोचक लाग्छन् ।
डाक्यो न बोलायो लिंडे पुच्छर डोलायो शीर्षकमा नबोलाएको पाहुना हुनु पर्दाको सकस समेटिएको छ भने पाताल पसेका नेपालीका पीडा शीर्षकमा एरिजोनाको टुसानमा त्यसवेला बस्ने केही नेपाली परिवारका मनोदशा, त्यो भूगोलको सौन्दर्य मात्रै छैन सन्तानले आफ्नो भाषा र संस्कृति भूलेका भोगाइ र अनुभूति समेटिएको छ ।
एक पारिवारिक भेटको प्रसङ्गमा शर्मा लेख्छन्;
मैले भनें, ‘केटाकेटीहरू समवयस्क साथीहरूसँग बोलेका भाषा बोल्छन्, तिनकै खेल खेल्छन् र तिनकै टिपो टिप्छन्। मेरा पनि दुवै छोराहरू नेपाली बोल्दैनन् !”
“हेर्नोस् न शर्माजी, शिव र पार्वतीलाई यी चिन्दैनन्, राम र कृष्णको नाउँ यिनले सुनेका छैनन् र सरस्वती र गणेशको कुरो गर्दा यी अनौठो प्रहेलिका भन्ठान्दै ट्वाल्ल पर्छन्,” सीताले प्रकट गर्नुभयो ।
खानपिनको प्रसङ्गमा पनि शर्माले आफ्ना छोराहरूले गोमांस खाने गरेको नलुकाई उल्लेख गरेका छन् । पेज नम्बर १७० मा शर्मा लेख्छन्, साँझ बाह्र बजेतिर घुमाइ सकियो र भोजनालय खोज्दै गाडी टुसानतिर लाग्यो । श्याम र अनिता ‘म्याक्डोनाल्ड्स्’ जाऊँ भन्ने र सीता चाहीँ केन्टकी फ्राइड चिकेनमा जाऊँ भन्नुहुन्थ्यो । त्यही झगडा मेरा छोराहरू र शान्तामा पनि पर्छ । छोराहरूलाई गोमांसनिर्मित ह्याम्बर्गर मन पर्छ र शान्ता सीताजस्तै गोमांस छुँदै छुन्न । ‘केन्टकी फ्राइड चिकेन’मा भुटुवा कुखुरो पाइन्छ । अन्तमा सीताजीकै जीत भयो, किनभने बाटामा सर्वप्रथम कुखुराकै भोजनलय भेटियो । तर अमेरिकामै जन्मे हुर्केका भएपनि केही अपवादबाहेक अधिकांश हिन्दू सनातन धर्मी नेपाली र तिनका छोराछोरी गोमांस खाँदैनन् । शर्माका छोराहरू अपवादमा परेको प्रतीत हुन्छ ।
पातालमा विलाउने रोग शीर्षकमा म्याडिसनका रूखहरूमा लागेको रोग,अमेरिकी महिलासँग विवाह गरेका नेपालीका परतन्त्री जीवनका पीडासहित अन्य प्रसङ्ग छन् ।
दुर्घटनाको भूँवरी शीर्षकमा आफू सडक दुर्घटनामा पर्दाका प्रसङ्गसहितका नमीठा अनुभूतिलाई मीठो पारामा प्रस्तुत गरिएको छ ।
पातालमा लोखर्के माया शीर्षकमा लोखर्केहरूकै प्रेमलीलाको बिम्ब प्रस्तुत गर्दै अमेरिकीहरूको अस्थायी प्रेम, लिभिङ टुगेदर र बाक्लै भइरहने पारपाचुकेका प्रसङ्गहरूलाई रसिलो तरिकाले प्रस्तुत गरिएको छ ।
चन्द्र मानव शीर्षकमा डा शर्मा लेख्छन्, “साहस देखाउने हो भने नील आर्मस्ट्रङ हुन सक्नुपर्छ– चन्द्रमानव हुन सक्नुपर्छ । नील आर्मस्ट्रङ्ले चन्द्रमाको भुइँमा पहिलो मानव पाइलो हाले । यसरी विकट चन्द्रलोकको कौमार्य हरण गरेर पातालले मानव सभ्यतामा एउटा प्रशंसनीय पाइलो सारÞ्यो। पातालले नै किन चन्द्रमाको सिउँदामा सिन्दूर भर्न सक्यो र अरू कुनै मुलुकले पनि किन त्यहाँ मान्छे पठाउन सकेन ?”, उनी प्रश्न गर्छन् ।
यसरी नील आर्म स्ट्रङले चन्द्रमामा पाइलो टेकेका प्रसङ्गदेखि तत्कालीन विश्व राजनीति र व्यवस्थाका प्रभाव स्वरूप विद्यार्थीहरू विभिन्न विचारधारामा बाँडिदै गरेका गतिविधिको चर्चा छ चन्द्र मानवमा ।
आँखाका कुनाहरू मुजा पर्न थालेपछि शीर्षक निबन्धमा अमेरिकामा बुढेसकालको जिन्दगीको चर्चा गरिएको छ । शर्माले तत्समयको सन्दर्भमा उल्लेख गरेको बूढाहरूले राजनीतिको पद ओगटिरहेको प्रसङ्ग हाल पनि सान्दर्भिक लाग्छ । उनी लेख्छन्, “पातालका बृद्ध आश्रमहरू र अङ्ग भङ्ग भएकाहरूका लागि वा मगजको विकास हुन नसकेका अर्धसिल्ली अभागीहरूका लागि चलाइएका अस्पतालहरूको कुरो उक्काउँदा मलाई त्यस्ता एकतन्त्रीय मूढाग्रही शासकहरूको सम्झना हुन्छ जहाँ कुप्रो परेका, गाला खुम्चिसकेका र अहिले हो कि भरे भैसकेका हरिलम्फु बूढाहरू नेतृत्वको कुर्सीमा ढसमस्स परिहन्छन् । तर, काम गर्न सक्ने युगको गतिलाई बुझ्न सक्ने जाँगरिला जवानहरू त्यस्ता एकलकाँटे समाजमा काँचा र अनुभवहीन मात्र नठहरिई रातारात ज्यान गुमाउन पुग्छन् । एकदलीय फलामे व्यवस्थामा बुद्धि सड्किसकेका, हर भत्किसकेका र नसा गुज्मुजिए झैँ इन्द्रिय कच्याककुचुक भई ढुँडिइसकेका नेताहरू तीस चालीस वर्षअघिका धमिरे आँखाले विश्व हेरेर समयलाई पछि तान्दै सभ्यतामा कीरा पारिरहेका छन् । मानव कल्याण, मानव स्वतन्त्रता र मानव न्यायको काट्टो गरिरहेका छन् । ती बाँचुन्जेल देवताको पूजाभाग खान्छन् भने ती मर्नेबित्तिकै तिनका चिहान खनिन्छन् र तिनका क्रियाकलापमाथि भुभुत्ते खन्याइन्छ। पातालतिर भने नेतृत्व बराबर फिटिंदो रहेछ, चालिँदो रहेछ, निख्खर, ताजा र नित्य क्रियाशील तरुण पारिँदो रहेछ ।”
डा तारानाथ शर्माका निबन्धहरूमा अनुभूतिको उचाई हुन्छ,भावको गहिराई हुन्छ, विचारको विनिमय हुन्छ र हुन्छ शब्द शब्दमा मधुरता र मिठास।सङ्ग्रहका हरेक निबन्धहरू पठनीय छन् । साहित्यिक रस र लालित्यले भरिपूर्ण छन् । हुनत म जस्तो सिकारू लेखकले तारानाथ शर्मा जस्ता नेपाली साहित्यका हिमालको के आलोचना गर्नु र ! तै पनि उहाँप्रति भावपूर्ण शब्द श्रद्धा अर्पण गर्दै यत्ति चाँहि भन्छु –कतै कतै शर्माको लेखकीय आत्म अभिमानले अरूको स्वाभिमानलाई थिचेको अनुभूति हुन्छ । आफूलाई मन परेका कुरामा हदै प्रसंसा र मन नपरेका कुरामा हदैसम्मको निन्दा गर्ने अतिवादी प्रवृत्ति पनि भेटिन्छ कतै ।
वि.सं. २०४२ मा साझा प्रकाशनबाट पहिलोपटक प्रकाशित यो सङ्ग्रह हाल मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको रहेछ । बालकृष्ण समको छोटो भूमिकासहितको यो नियात्रासङ्ग्रहको सात बर्षपछि मातृभूमि फर्कंदा शीर्षकको अन्तिम निबन्धमा अमेरिका सात बर्ष बसेपछि सपरिवार नेपाल फर्किंदाका अनुभव र अनुभूति समेटिएका छन् । सात–सात बर्ष अमेरिकाको सुकिलो वातावरणमा जीवन विताएका शर्माहरूलाई नेपालको दुर्गन्ध, टेम्पो गाडीहरूको प्रदुषण र कोलाहलले पिरोल्छ,असरल्ल ठडिएका घरहरू र तिनका साँघुरा गल्ली मन पर्दैनन्, दिसा पिसाबको दुर्गन्धले भाउन्न भएपनि, आँखा विझाए पनि नेपाली नियात्रा लेखनका यी आदिगुरू डा शर्मा भन्छन्, “यो जतिसुकै गन्हाए पनि, जतिसुकै साँघुरिए पनि र जतिसुकै दरिद्र भए पनि पशुपतिनाथले पालेको नेपाल हो । पृथ्वीनारायण शाहले एकीकरण गरेको स्नेहभूमि हो । अमरसिंह थापा र भक्ति थापाले जीवन अर्पण गरेको पवित्र स्थल हो । हाम्रो राष्ट्र हो । हाम्रो मुटुको ढुकढुकी हो । लम्पसार पर्छु म यसै मातृभूमिको काखमा, सेवा अर्पण गर्छु म सम्पूर्ण आर्जेको अनुभव र योग्यतालाई यसै माटामा । र जसले जे भनोस् म घोप्टिन्छु श्रद्धा, स्नेह र आत्मीयताले यही चाउरी परेकी व्यथित र बूढी आमाकै पाउमा ।”




