वर्षे बिदाको मौकामा केही पुस्तकहरु आन्नदले पढ्ने समय मिलेको छ । “नवयुगकी सुम्निमा” भर्खरै पढेर सकेँ । “नवयुगकी सुम्निमा” कवि शकुन आँशु को नवीन कृति हो । जसमा जम्मा ४२ वटा कविता छन् । कविताहरुलाई “समय यात्रा” र “सिली सिलसिला” गरि दुई खण्डमा विभाजन गरि राखिएको छ । कविता पढ्दै जाँदा कविको स्वअनुभुति नै उनको कविताको मेरुदण्ड हो भन्ने कुरा थाहा हुन्छ ।
कवि सँग म सामाजिक सञ्जालमा जोडिएको त छु तर त्यस्तो नजिक बाट चिनेको भने छैन् । बेला बखत सामान्य गफ भएको छ । यतिको चिन्जानबाट वहाँ लामो समय द.कोरियामा कार्यरत रहनु भएको र कविता लेखिरहनु भएको कुरा बुझेको हुँ । अधिकांश कविताहरुमा त्यही समयको अनुभुति प्रतिबिम्बित छ ।
समय यात्रा पहिलो खण्ड हो । जसमा जम्मा २७ वटा कविता रहेका छन् । यस खण्डका कविताहरु मन छुनेछन् । अनुभुतिनै कवितामा बढी आएकोले कविताहरु जीवनबोध गराउने किसिमका छन् ।
यो बेला
मेरो रिस भोग्दै आएकाहरु भन्छन्
तँ त अचेल देउता भएको छस् ।
(रुपान्तरण)
ए परदेशी!
तिमीलाई देशको माया लाग्छ भने
घृणा गर्छौ किन मलाई ?
म त ढाकरमा सिङ्गै देश बोकिहिँड्ने भरिया पो हुँ ।
(भरियाको आत्मकथा)
यता एक महिनाको तलबले
धान्दैन उता एक महिना परिवार
दुःख पनि के भनौँ ?
यो त दुःखहरु नै भक्कानिएर राइरहने महादुःख हो ।
(मरुभूमिबाट)
केही कविताहरु प्रेमिल पनि छन् । “हजुरसँग”, “अजम्बरी याद”, “आशंका”, “दोभान”, “फर्की आउनेलार्र्ई” जस्ता प्रेमिल कविताहरु सुन्दर छन् ।
बिर्सिने कोशिसको अन्तिम सिँढीमा
उक्लिएर पनि सम्झिरहेको छु
अजम्बरी नहुने मानिसको सम्झना ।
(अजम्बरी याद)
यसै पनि दौडिँदा– दौडिँदा थाकेको यायावर म
चौतारी भई बसिदिनु हजुर एक छिन्
मेट्न चाहन्छु जीवनका कैयौँ थकानहरु
(हजुरसँग)
वियोगका प्रेम कविताहरुमा पनि कसै बिना आफूलाई अधुरो महशुस गर्ने चरम निराशावादी भावको सट्टा ‘आफू पनि केही हुँ’ भन्ने स्वभिमान र स्वअस्तित्वको भावहरू पाइन्छन् । यो कवि र कविता दुवैको बलियो पक्ष हो भन्ने रुपमा मैले बुझेको छु ।
अधिकांश कविताहरुको केन्द्रमा कवि स्वयम आफू उभिएको पाइन्छ । यसैले कविताहरु कल्पनाको धरातलमा नभएर यथार्थ र अनुभुतिको धरातलमा उभिएका छन् ।
“सिलि सिलसिला” यस सङ्ग्रहको दोस्रो खण्ड हो । यसमा जम्मा १५ वटा कविताहरु समावेश छन् । यस खण्डका कविताहरु अलि बढी वैचारिक किसिमका छन् । “जिन्दगी अझै बाँकी छ”, “सत्तामोह”,“आदिम मान्छे”, “रेम्माखिम” जस्ता कविताहरु अत्यन्तै सशक्त र सुन्दर छन् ।
पर्खिरहेकै छ उसैगरी
बन्जर खेतका गह्राहरुले
आप्पाले खोल्सीबाट डो¥याएर ल्याउने पानीको मूल
ठीक यतिबेला म
मूर्तिझैँ
विवशताको कमजोर सास फेरिहेको छु
आप्पाको रेम्माखिममा उभिएर ।
(रेम्माखिम)
मृत्यूको मलामी पाउनु अघि
आफूलाई जीवित घोषणा गर्नु छ ।
(जिन्दगी अझै बाँकी छ )
कहाँ–कहाँ उडिपुगे
सँगै साकेला नाचेका सङ्गीहरु!
म मात्रै जरुवा भई बसेको छु गाउँमा
ब्याडमा छोडिएको कोदोको बीउ जस्तो
नमिल्दो रहेछ, हिँड्ने र बस्नेहरुको लय ।
(नोष्टाल्जिया)


सरलतामा सुन्दरता र अर्थपूर्णता हुनु अर्को बेग्लै सुन्दर कुरा हो भन्ने लाग्दछ । सङ्ग्रहका थुप्रै कविताहरुमा यही महशुस हुन्छ । स्वअनुभुति भन्दा अलि पर गएर विद्रोही चेतबाट लेखिएका कविताहरु तुलनात्मक रुपमा अलि कम छन् । सँख्याले कम भए पनि विद्रोही चेतका हिसाबमा ती कविताहरु अब्बल छन् ।
पढ्दै जाँदा कविताहरुमा केही कमी भए जस्तो महशुस हुँदै नभएको भने पक्कै होइन । पहाडको यात्रामा निस्किएका यात्रीहरुले हिँड्ने एउटै बाटो, सुन्ने पातका एउटै गीत, पिउने एउटै तिरतिरे मुलको पानी र थकाई मार्ने एउटै चौतारीमा उनीहरुको अनुभुति फरक फरक हुन्छ । त्यही बाटो कसैलाई बढो उत्साहित, कसैलाई बढो सकसपूर्ण लागिरहेको हुन्छ । त्यही पातका गीतहरु, कसैलाई बढो अनन्द र कसैलाई झर्को लागिरहेको हुन सक्छ । मेरो बुझाइमा कविता पढ्नु पनि त्यो बाटो हिँड्नु जस्तै हो । त्यो पातको गीत सुन्नु जस्तै हो । त्यो तिरतिरे धाराको पानी पिउनु जस्तै हो । जहाँ कसैको धारणा र अनुभुतिनै अन्तिम सत्य हुन सक्दैन । यसैले मैले कम्जोरी भनिरहेको कुरा अर्को पाठकका लागि असत्य पनि हुन सक्दछ ।
मेरो विचारमा “पर्यटक” र “अपिल” कविता साह्रै कम्जोर छन् । यी दुई कविता सङ्ग्रहमा नभएपनि केही फरक पर्ने थिएन । कविबाट अलि सशक्त कविता अपेक्षा राख्ने पाठकलाई यी दुई कविताले निराश बनाउँछ । यी दुई कविता औसत भन्दा तलका छन् । “अजम्बरी याद” कविता जति सुन्दर तरिकाले बुन्दै लगिएको छ त्यतीनै कम्जोर तरिकाले यो कविताको बिट मारिएको छ । “संघर्षको कथा” कवितामा भावनै रुमलिएको पाएँ । कविताले के भन्न खोजेको हो? त्यो स्पष्ट आएको महशुस भएन । “मौन समुन्द्र” कविताको सुरुका तीन स्टान्जा बढो सुन्दर छ । चौँथो स्टान्जाबाट भने कविताको बहाव अनियमित भयो कि ? भन्ने लाग्यो । “समर्पण”, “आधा आकाश”, “उज्यालो” जस्ता लामा आकारका कविता कतै कतै निबन्धात्मक प्रवृत्ति हाबि हुनुले यी कवितालाई जति शक्तिशाली हुनपथ्र्यो, त्यति हुनबाट रोकेको छ भन्ने आभाष भयो । उठाएका मुद्धाहरु संवेदनशील र महत्वपूर्ण भए पनि त्यसको प्रस्तुतिमा निबन्धात्मक शैली हाबि भैदिनाले कवितालाई हलुका बनाई दियो कि? भन्ने मेरो आँकलन छ । “सत्तामोह” भव्य कविता हो तर दोहो¥याएर पढ्दा पनि यसको अन्तिम हरफ नभई दिए हुन्थ्यो भन्ने आभाष भयो ।
भाव र भावना अलि फरक कुरा हो भन्ने मलाई लाग्दछ । मेरो दृष्टिकोणमा केही कविताहरुमा अलि बढी भावना हाबि भएका छन् । मलाई लाग्दछ, कवितामा भावना हाबि हुनु भनेको कविताको कलात्मकता र त्यस कविताले भन्न खोजेको मुख्य कुरा छायाँमा पर्नु अथवा अलमलमा पर्नु हो । यो प्रवृत्ति “सङ्घर्षको कथा”, “मौन समुन्द्र”, “आँसु उत्सव” जस्ता कविताहरुमा हाबि भएको महशुस भयो । यी कविताहरुमा पुनःलेखन् जरुरी छ कि? भन्ने लाग्यो ।
“सुम्निमा” किराँत समुदाय,त्यसमा पनि राई समुदायमा प्रचलित बढो महत्वपूर्ण मिथकीय पात्रा हुन् । “सुम्निमा” सामान्य नारी पात्र होइनन् । विशेष गरि राई समुदायमा सुम्निमा प्रतिको धारणा, दृष्टिकोण नै अत्यन्तै उच्च र पवित्र छ । यसैले “नवयुगकी सुम्निमा” पोस्टर पढ्ने बित्तिकै यो सङ्ग्रह र यो शीर्ष कविता पढ्न बढो हतारिएको थिएँ । यस सङ्ग्रह र यो शीर्ष कवितामा “सुम्निमा” प्रतिको मान्यतालाई कुन रुपमा प्रस्तुत गरिएको होला? भन्ने जिज्ञासा जागेको थियो । जब सङ्ग्रह पढ्न थालेँ र शीर्ष कविता पुगें त्यतिबेला पो यो कविता प्रेम कविता रहेको थाहा पाएँ । उक्त प्रमिल कविता बढो सुन्दर हुँदाहुँदै पनि कविता पढि सके पछि “सुम्निमा” लाई हेर्ने एउटा नौलोे दृष्टिकोण छुट्यो कि? सम्झेर छुकछुकाइ रहेँ । अर्थात यो शीर्षक प्रति अरुनै भावको कविता मैले अपेक्षा गरेको थिएँ । कविको आफ्नै दृष्टिकोण हुनुपर्छ भन्ने मान्यतामा म सहमत छु । कविलाई मरो अपेक्षाको भारी बोकाउन चाहिन ।
स्टे«, रुपान्तरण, दुखाइ, हजुरसँग, भरियाको आत्मकथा, फर्की आउनेलाई, रेम्माखिम, आदिम मान्छे मलाई औधी मनपरेका कविता हुन् ।
अन्त्यमा, नवयुगकी सुम्निमा घरको चौघेरा र जुठेल्नामा मात्रै सिमित रहँदैन । नवयुगकी सुम्निमा आफ्नै पौरखमा बाँच्न सक्छे । प्रेमीले छोड्यो भन्दैमा विरक्तिएर हिँड्दिन । बरु ऊ अझ सशक्त भएर दौडिन सक्छे । भन्ने बुलन्द आजाव सङ्ग्रहका कविताहरुले बोलिरहेका छन् ।
सशक्त सङ्ग्रहका लागि कवि ज्यू लाई हार्दिक बधाई छ । आगामी लेखन यात्रा अझ सशक्त बनोस् भन्ने शुभकामना छ ।
यो पाठकीय प्रतिक्रिया नै सङ्ग्रह र सङ्ग्रहका कविताहरु प्रतिको अन्तिम दृष्टिकोण कदापि हाइन् । यो एउटा सामान्य पाठकको सामान्य पठन अनुभुति मात्रै हो ।




