January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

आगोको पिदारभित्र घुमिरहेको पहिचान

अमित थेबे ‘मिहाङ’
२०८१ भाद्र ३०

7.8K

नेपाली साहित्यमा पछिल्लो समय सम्भव समूहले आफ्नो दह्रो उपस्थिति जनाइरहेको छ । स्थापना भएको तीन वर्षभित्र पदायात्रासँगै सिर्जना वाचन, पुस्तक चर्चा, कविता कन्सर्ट राखेर समूहआबद्ध तन्नेरी कविहरूले आफ्नो पहिचान बनाइसकेका छन् । यी मध्ये कवि मिथोच सुनुवार आगोको पिदार कविता सङ्ग्रह ल्याएर उभिएका छन् । गत वर्ष प्रकाशित भएको कृतिले समकालीन कविहरूमाझ राम्रै चर्चा पाएको थियो ।

साहित्यिक आन्दोलनदेखि सिर्जना लेखनसम्म पूर्वी भूगोल उर्वर मानिन्छ । खासगरी, याक्थुङ लिम्बू र राई समुदायका सर्जकहरूको वर्चस्व सहजै देखिन्छ । यस्तोमा वल्लो किरात या कोइँच भूमिको संस्कृति, इतिहास, आख्यान, मनोविज्ञान र स्वपहिचानको आवाज आउनु सुखद हो । लिम्बुवानको पान्थरमा जन्मिए पनि कवि मिथोचले कोइँच सँस्कृति र भूगोललाई आफ्नो सिर्जनाको भावभूमि बनाएका छन् । ऐतिहासिक रोल्वालिङ हिमश्रङ्खलाबाट दक्षिणपूर्व भएर बग्ने लिखु, तामाकोसी, सुनकोसी र शाखा नदीहरू खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग कोइँच (सुनुवार) आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलो हो । यहीँ माटोमा उत्पन्न भएको सामुदायिक साँस्कृतिक पहिचानको सुगन्ध उनको कवितामा मगमगाइरहन्छ । मुक्दुम दर्शनमा आधारित संस्कृति, पहिचान, जीवन पद्धति, लिखित अलिखित इतिहासप्रति कवि मिथोच अत्यन्तै सचेत देखिन्छन् ।

मुक्दुमको रागसँगै
शाँदरको हावामा
खेदरको लिङ्गो फर्फराइरहेछ ।

Advertisement

गुञ्जिरहेछ
एउटा मौलिक धुन
मुक्दुमी लयमा
झ्याँ झ्याँ झ्याकुम झ्याँ झ्याँ झ्याँ
झ्याँ झ्याँ झ्याकुम झ्याँ झ्याँ झ्याँ

(शाँदरको रिल, पृ ६४)

प्रस्तुत कवितामा सालिवा रापवा (उँधौली उँभौली)का अवसरमा कोइँच सुनुवारले नाच्ने शाँदर नृत्यको रिदम अनुभव गर्न सकिन्छ । ढोल र बुप्थेलको तालसँगै शाँदर शिल नाचिरहेको कुरा यस कवितामा छ । यसमा सिङ्गो समुदाय पवित्र अनुष्ठानमा सरिक भएर झुमिरहेको वर्णन् छ । उस्तै अनुभूति शीर्षक कविता ‘आगोको पिदार’ मा पनि छ । यस कविताको सुरुवाती लाइनमै ‘चुप्लुङको छेउमा बसेर आगोको पिदार गरिरहेछु’ भन्दै कविले कविताको अनुष्ठान सुरु गरेका छन् । उनले तीन चुल्हा मानिने ‘इगिखुःलु, दुमा खुःलु र रेल्लु खुःलु’ लाई स्मरण गरेका छन् । यो सँस्कृति राई, हायु, जिरेल, थामी, सुरेल समुदायसँग समेत केही समीप छ । आगोको मिथक, आख्यान प्रायः सबै आदिवासी हिमाली समुदायमा छ । यसको व्याख्या, शैली, घटनाक्रम र पात्रहरूमा केही भिन्नता छ ।

मलाई असाध्यै आगोको माया छ
आगो निभ्यो भने
मेरो अस्तित्व निभ्ने छ
मेरो उज्यालो निभ्ने छ
आगोको मुक्धुम निभ्ने छ
चुप्लुको शक्ति निभ्ने छ ।

(आगोको पिदार, पृ. ८२)

‘रुखहरू’ शीर्षकको कवितामा जीववाद र प्रकृतिवादको कुरा छ । सालिवा र रापवाका बेला सालाकु मुग्दुम पढिने र शाँदर पिदार गरिन्छ । षाँदर पिदार र फोल्ष्याँदरका नामले उधौली उभौली पर्व अन्य समुदायमाझ पनि चिनिन्छ । यो कविता मात्रै नभएर स्यादार सिली नाच्दा गाइने सलाक जस्तो पनि हो । सलाक कसैलाई लयबद्ध तरिकाले व्याख्या गर्ने गीत हो । यसलाई सासी मुक्दुमको मन्त्र पनि भनिन्छ । मुक्दुम कोइँचको जीवन दर्शन र सामाजिक विधान हो । याक्थुङले यसैलाई मुन्धुम, याक्खाले मुन्थुम, राई/खम्बूले मुन्दुम, मुदुम, मुग्दुम आदि भन्ने गर्छन् । तर, यी सबैका आ–आफ्नो ऐतिहासिक थातथलो, साँस्कृतिक मिथ, पात्र र घटनाक्रमहरू छन् । मिथोचका कविताहरूमा मुग्दुमी सभ्यताको गहनताको विस्तृती बयान त छैन तर जति आएका छन् त्यसको स्पर्शले पाठकलाई एउटा भिन्ने भूगोलमा पुर्‍याइदिन्छ । यसको विम्ब यो कवितामा पढौँ ।

पालुवाको लाछा बाँधेर
होमाचिरीको लयसँगै
पातभरि फिजाउँछन् उँभौली सौँन्दर्य,
हाँगाको चिम्टीले च्यापेर
हरियो पातका शिरबन्दी लगाउँछन्
र, उँभौली बताससँगै सालिवा गाउँछन् ।

(रुखहरू, पृ. ८५)

गजल लेखनबाट कविता विधामा स्थानान्तरण भएका कवि मिथोचले चार दर्जन बढी कोइँच मातृभाषाका शब्दावलीहरू प्रयोग गरेका छन् । यद्यपि, ४२ शब्दका मात्रै अर्थ खुल्याएका छन् । ती अमरापाति विमारपाति, नेगनेगी, मोहनमाला, होल्फागिल्फा, ग्याँबे, कोकर श्याँम, चुप्लुहोपो, तारा कलपिपि, नाम्जा, निकबाकु, प्लेःकास, मुक्दुम, कलपिपि, सुयुपिपि सुयुकिकि, खादिमुदि, थारखरी, सालिवा रापवा, बुप्थेल, लुजेग्यो, थेअ्नि, हाँसाल्, पोइँबो ग्याँमि, ग्योर, खेदर, रिब्दो, पार्मोसरी, चुप्लु, इगि खुःलु दुमा, खुःलु रेत्लु, खुःलु, साङ सो, राकुदेले, छेक्कुए, फुसु, पिदार, होमाचिरी, खुये, क्लाःतोली, फेनेरेल्फु, फेन्चेम, सेरेम्फू, नम्दीचरा, जिखिपुर्गी, सुखुप प्लुसे हुन् । जुन कवितापछिका अन्तिम पृष्ठहरूमा राखिएका छन् । पहिलो पटक यी शब्दहरूसँग साक्षात्कार भइरहेका पाठकहरूलाई कविताको प्रवाहमा पटकपटक रोकिनुपर्ने हुन सक्छ । यसकारण शब्दार्थ हेरेर कवितामा प्रवेश गरे केही सहज हुन सक्छ । कविले खुम्सुहाङ, स्वथ्मापिया, नम्सी फु, बुख्युची, सुरोम, पार्मोसिरि लगायतका शब्दका अर्थ या प्रयोजनको उद्देश्य खुलाउन सकेका छैनन् । ४१ कवितामा कवि मिथोचले पहिलो कविता आमालाई समर्पित गरेका छन् । यसमा प्रयुक्त ‘रगतको डल्लाबाट बिस्तारै मान्छेको चित्र कोरिएँ म’ ले आमालाई एक चित्रकार या सर्जकसँग तुलना गरेका छन् । यसको प्रतिविम्ब चौथो कविता ‘जन्म’ कवितामा पनि झल्किन्छ । ‘उमेरको पात’ एक बहुत विम्बात्मक कविता हो । यसको पहिलो लाइनले नै पाठकलाई तान्छ । ‘जाडोका विरुद्धमा’ साधारण मान्छेको कथा हो । जसले कुलीनतन्त्रउपर आक्रोश पोख्छ । ‘अस्पताल’ मा लोककल्याणकारी राज्य हुँदा भोग्नुपर्ने पीडा र सास्तीको बयान छ । ‘त्यस दिन’ कविताले समानता र न्यायको कुरा उठाएको छ । ‘ऐना हेरिरहेको मान्छ’ एक बलवान् कविता हो । यसले राष्ट्र र राष्ट्रियताहरूको प्रतिनिधित्वको कुरा उठान गरेको छ । पहिचानको आन्दोलन, आदिवासी जनजातिको आन्दोलनको प्रभाव उनको लेखनमा प्रशस्तै पाइन्छ ।

ऐनामा
आफूलाई सुन्दर सफा
देखिएकै भ्रममा
बिर्सिरहेछ
सत्ताको ब्रान्डेड ऐनामा
चक्रपथभन्दा बाहिरका मान्छेहरूको
अनुहारको कथा

(ऐना हेरिरहेको मान्छे, पृ.१८)

‘देश’ कवितामा पनि बहुलताकै विषय भेटिन्छ । यसमा कविले शाषक एवम् देश निर्मातालाई चित्रकारका रूपमा उभ्याएका छन् ।‘झन्डाको मान्छे’ बाट उनले उग्रराष्ट्रवाद या अन्धराष्ट्रवादलाई प्रहार गरेका छन् । ‘विवाह’ मा उनको बाल्यकालको सम्झना छ । तर, यसमा उनले सेरेम्फु (सुनाखरी)को टीका, मोहनमाला, ओछ्याएको होल्फा गिल्फा (वनकेरा), अमरपाती विमारपाती (टोटलाको फूल) झल्झली याद गरेका छन् । ‘छोराको प्रश्न’ कवितामा युद्धले प्रभावित परिवारको संवेदना छरिएका छन् । आगो उनको कवितमा आइरहने विम्ब हो । कृतिको नाम जुर्नमा यसको भूमिका हुन सक्छ । ‘आगोले चित्र कोरिरहेछ’ कविताले सामान्य रूपमा सकारात्मकताको शक्तिको कुरा गर्छ । ‘बाटोले भत्किनु’ कहीँ न कहीँ विर्निमाण र पुनःनिर्माणको सवाल उठाएको छ । ‘आन्दोलन’ कविताले श्रमिक र सिमान्तकृतको संघर्षलाई बोध गराउँछ । तर, यस कविताको अन्तिम पङ्क्तिमा सामान्य व्याकरणिक त्रुटी भने छ । प्रथम पुरुष (म)बाट कविता सुरु गरेर अकस्मात् तेस्रो पुरुष(उनी) प्रयोग गरेर टुङ्ग्याइएको छ । यसमा कविले ध्यान दिएको भए उत्तम हुने थियो ।‘सिस्नु र भाङ्ग्रा’ ले प्राचीन समयको कुरा गर्छ । यसले हामीलाई जरामा जोड्छ ।

सिस्नोसँग
च्याँखलाको खमे
बेथुको भुटुवा
आदिम सिलौटामा पिसेर
मीठो मगमग
फेन्चेमको आचार बनाउनुहुन्थ्यो ।

(सिस्नु र भाङ्ग्रा, पृ.९३)

कवि मिथोचले आफ्नो पहिलो कृतिबाट आफूमा कवित्व गुण भएको प्रमाणित गरेका छन् । छोटा कविताहरूमा उनले पकड देखाएका छन् । केही कविताहरू छोटा भइकन पनि अझ खँदिला राख्न सकिन्थ्यो । ‘डेरा’‘मान्छे’ त्यसका उदाहरण हुन् । कोइँच समुदायले कोइँचबु काःतिच(उत्तम सुनुवार), चेरेहाम्सो(सूर्यप्रकाश सुनुवार), समीर मुखिया, केदार सङ्केत, लाल शाँकारेलु, इँगिहाम्सो(अतीत मुखिया), साङ्खु बुजिच, चिम्रु बुजिच लगायत कविहरू पाएका थिए । मिथोचको आगमनले समुदायको प्रतिनिधित्व अरू बढी सशक्त भएको छ । कवि मिथोचको लेखनमा जति गाम्भीर्यता र परिपक्वता बढ्छ । त्यति नै, पाठक र साहित्यानुरागीलाई लाभ नै हुने छ ।

पुस्तक विवरण
कृतिको नाम: आगोको पिदार (कविता सङ्ग्रह)
पहिलो संस्करण: २०८० असोज
कृतिकार: मिथोच
प्रकाशक: फिनिक्स बुक्स, काठमाडौँ
मूल्य: नेरू ३२५
पृष्ठ: १०३