April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नेपालमा किलिमन्जारो चिनाउने प्रयास

3.5K

देवेन्द्र सुर्केली

विकिपिडियाका अनुसार माउन्ट किलिमन्जारो तान्जानियाको एक सुप्त ज्वालामुखी हो । यसमा तीनवटा ज्वालामुखी कोनहरू छन् किबो, मावेन्जी र शिरा । यो अफ्रिकाको सबैभन्दा अग्लो हिमाल हो र विश्वमा समुद्री सतहभन्दा माथिको सबैभन्दा उच्च एकल स्वतन्त्र पहाड हो । समुद्र सतहबाट ५,८९५ मिटर (१९,३४१ फीट) र यसको पठार आधारभन्दा ४,९०० मिटर (१६,१०० फिट) माथि। यो अफ्रिका र पूर्वी गोलार्धमा सबैभन्दा उच्च ज्वालामुखी हो ।

किलिमन्जारो पृथ्वीको चौथो सबैभन्दा टोपोग्राफिक रूपमा प्रमुख शिखर हो । यो किलिमन्जारो राष्ट्रिय निकुञ्जको हिस्सा हो र एक प्रमुख पदयात्रा र आरोहण गन्तव्य हो । २०५५ र २०३५ को बीचमा हराउने प्रक्षेपण गरिएका ग्लेशियरहरू र बरफ क्षेत्रहरूका कारण, यो धेरै वैज्ञानिक अध्ययनहरूको विषय भएको छ ।

Advertisement

त्यसैगरी किलिमन्जारोको वास्तविक अर्थ तथा उत्पत्ति अज्ञात नै रहेको पनि विकिपिडियामा उल्लेख छ । स्वाहिली शब्द किलिमा (पहाड) तथा किचागा शब्द जारो हुन्छ । जसको अर्थ सेतो हो । तसर्थ सेतो पहाड नामाकरण भएको हो । एक अर्को मान्यताअनुसार चागा÷किचागा मा “जारो” को अर्थ हो ‘हाम्रो’ हुने भएकोले किलिमन्जारोको अर्थ हुन्छ ‘हाम्रो पहाड’ यो चागाबासीसँग लिएको धारणा हो जो यो हिमालको तटीय क्षेत्रमा बस्छन् ।

यहि किलिमन्जारो नामबाट नेपाली साहित्यको भण्डारमा एउटा पुस्तक थपिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अफ्रिका च्याप्टरले प्रकाशन गरेको पुस्तकलाई साहित्यकार गणेश खड्काले सम्पादन गरेका हुन् । र, यस पुस्तक प्रकाशन भएपछि किलिमन्जारो चागाबासीको मात्र नेपाली हाम्रो अर्थात नेपालीहरूको पनि भएको छ ।

किलिमन्जारो साहित्यिक सङ्गालो हो । अफ्रिकामा रहने नेपाली मनहरूद्वारा सिर्जित र विशेषगरी अफ्रिकाकै भूगोल, वातावरण र भोगाईका लेखनहरू यस पुस्तकमा अटाइएका छन् । अनेसास पनि विश्वभर छरिएर रहेका नेपाली मनहरूलाई समेट्ने एउटा संस्था हो ।

साहित्यकार गणेश खड्का

गणेश खड्का जहाँ पुगेपनि साहित्यका लागि मरिमेट्ने श्रष्टा हुन् । शुरुमा रेडियो नेपालसँग आवद्ध खड्काले धेरै नाटक लेखन र रेडियो नाटकमा अभिनय गरेका थिए । मलेसियामा पनि श्रम गर्न पुगेका खड्काले श्रमिकहरूबीचको नेपाली पत्रकारिता तथा साहित्यलेखनमै समय खर्चिएका थिए । त्यसपछि अफ्रिका महादेशभित्र पर्ने सिसेल्समा पुगेपछि सिंगो अफ्रिका महादेशकै अनेसास च्याप्टर गठन गर्न सफल भए । जसको अध्यक्ष पनि गणेश खड्का नै छन् । संस्था स्थापना भएपछि संस्थाको दस्तावेजीकरणको लागि खड्काकै पहलमा यस साहित्यिक सङ्गालो किलिमन्जारोको प्रकाशन भएको हो ।

नेपाली साहित्यमा विदेशका अनुभूतिबारे धेरै पढिएका छन् । अफ्रिकाबारे कम सामाग्री छन् । त्यसैको खाँचो खड्काले देखे र अनिवार्य रुपमा सङ्गालो प्रकाशन गर्ने अठोट लिएको खड्काले सम्पादकीयमा उल्लेख गरेका छन् । त्यसैले यस सङ्गालोभित्रको सामाग्रीहरू अफ्रिकाकै सेरोफेरोमा घुमेका छन् । नियात्रा, अनुभूति÷संस्मरण तथा कविता/गजल/गीत खण्डमा विभाजित रचनाहरूमा अफ्रिकाको माटो सिञ्चित नेपाली पसिनाको गन्ध नै आउँछ ।

नियात्रा खण्डमा गणेश खड्काको ‘एलिजाबेथ भ्युटारवरदेखि भिक्टोरिया क्लक टावरसम्म’, दुर्गा विनयको ‘मुगावेको देशमा’, दुर्गा भवानी भट्टको ‘पहिलो पटक विदेश जाँदा’, उद्धव मिसनको ‘गिद्धहरूबाट लुछिएको कङ्गो’ र मोहनकृष्ण श्रेष्ठको ‘नेपाल तथा अफ्रिका सम्बन्ध’ छन् ।

अनुभूति÷संस्मरण खण्डमा आरपी पन्तको ‘विचौलिया सास्ती, छरपष्ट नेपाली र एनआरएनए’, सुशीलबहादुर कार्कीको ‘सम्पदा संरक्षणको अद्भूत नमुना इजिप्ट’, बन्दना कार्की तुलाधरको ‘अफ्रिका अनुभव’, सुवासचन्द्र देवकोटाको ‘नैराबीः एक रातको डायरी’, रमेश भण्डारीको ‘यम्बेः एक सम्झना’, माधव गौतमको ‘नामिबियाः जहाँ समुद्र र मरुभूमिको सङ्गम हुन्छ’, गङ्गाराज मुकारुङ राईको ‘क्वान्द्रोमा बसाइका ती दिनहरू’ र प्रेम गुरुङको ‘किलिमन्जारोको देश’ छन् ।

त्यसैगरी हिक्मत थापा, सागर भण्डारी ‘विभोर’, कृष्णदत्त भट्ट, गङगा बस्न्याल रेग्मी, राम बगाले, विन्दा पराजुली बराल, रामचन्द्र राई र रमेश कँडेलका कविता, गजल र गीत छन् ।

सङ्गालोको नाम किलिमन्जारो नै किन ? भन्ने सम्पादक खड्कासँग राखिएको जिज्ञासामा खड्काले बताए –‘नामबारे निकै बहस भए । सबैभन्दा लामो नदि नाइल भएकोले यसै नाम राखौं भन्ने थियो । तर हामी विश्वको अग्लो सगरमाथाको देशबाट आएका छौं । त्यसैले अफ्रिकाकै अग्लो र सुन्दर हिमाल किलिमन्जारो नाम राख्ने सहमती गर्‍यौं ।’

पुस्तकभित्रका लेखरचनाहरू प्रायः किलिमन्जारोको विम्बमाथि रहेर लेखिएका छन् । त्यसैगरी अफ्रिकाका स्थलहरू एलिजाबेथ भ्युटावर, भिक्टोरिया क्लक टावर, मुगाबे, कङ्गो, इजिप्ट, नैरोबी, यम्बे, नामिबिया, क्वान्द्रोमाथि लेखिएका लेखरचना त्यहाँको भूगोल, वातावरणबारे बुझाउन खोजेको छ ।

अनेसास अफ्रिका च्याप्टरले आगामी दिनमा यस्ता धेरै खुराकहरू नेपाली साहित्यलाई दिनेछ भन्ने आशा यसै सङ्गालोमार्फत गर्न सकिन्छ ।