April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

गीत: काम बिना पाँच बर्ष, भत्ता मात्र पचाएर

4.7K

वाक्सेली थापा

काम बिना पाँच बर्ष, भत्ता मात्र पचाएर ।
उही अनुहार हात जोड्छ, गाउँ फेरि आएर ।

घोटला र काण्डैकाण्ड, माफियालाई साथ ।
विचार अनि सिद्धान्त त, देखाउने हुन दाँत ।
उत्तर ढल्क्यो, दक्षिण ढल्क्यो, छैन स्वाभिमान ।
झुठै–झुठा आस्वासनले, पाकिसके कान ।
जस्ले कहिल्यै पूरा गर्दैन, बाचा कसम खाएर ।
उही अनुहार हात जोड्छ, गाउँ फेरि आएर ।

Advertisement

नाता–गोता, परिवार बिचौलिया भए प्यारा ।
महङ्गीमा सदा भोक–भोकै, हामी जन सारा ।
सुशासन र विकास त, एकादेशको कथा ।
कहिसक्नु छैन यहाँ, दशकौंको यो व्यथा ।
हजुर भने सधैं सत्तासीन, हाम्रै भोट पाएर ।
उही अनुहार हात जोड्छ, गाउँ फेरि आएर ।

बिचार छैन, भिजन छैन, अघिपघि दलबल ।
आधा जन्ता खाडीमा, मरिराछन् पल–पल ।
स्वार्थ मिले गठबन्धन, होइन भने टुटफुट ।
कहिले यता कहिले उता, गुट माथि उपगुट ।
भेटे जति खाइदिने, बसेको छ मुख बाएर ।
उही अनुहार हात जोड्छ, गाउँ फेरि आएर ।

त्याग, इमान र बलिदानी, हेर्ने जति हेरियो ।
सत्तामा पुगेपछि छेपारो झैं, रङ्ग पूरा फेरियो ।
आनी हेर्छु, बानी हेर्छु हिसाब गर्छु एक–एक ।
यस पाली त नेता छान्दा, प्रयोग गर्छु विवेक ।
छुट छैन हामीलाई नि, आरोप मात्र लाएर ।
उही अनुहार हात जोड्छ, गाउँ फेरि आएर ।