रातको करिब तीन बजे निन्द्रा खुल्यो । केही खटपट आवाज आयो । भान्सामा गएर हेरेको आमाले भाँडा निकाल्दै हुनुहुन्थ्यो । मलाई देखेर आश्चर्यचकित हुँदै हाँस्दै भन्नुभयो, ‘विहान हुन अझै बाँकी छ गएर सुत ।’ उहाँको दन्तपङ्क्ति लोभ्याउने खालको थियो । मैले अल्छी मान्दै सोधेँ, ‘तपाईं यति राती के गर्दै हुनुहुन्छ ? किन नसुत्नु भएको ?’
– भर्खरै उठेको हो ।
– तपाईं राती बाह्र बजेसम्म त जागै हुनुहुन्थ्यो ।
– के भयो त म त्यति मात्र सुत्छु । तँ गएर सुत ।
केहि दिनपछि म रातको करिब एक डेढ बजे उठेँ । कुनै सपना खलबलिएको थियो वा कुनै आवाजले उठाएको हो । भान्सामा कोहि छ जस्तो लाग्यो । बत्ती बलिरहेको थियो । गएर हेर्दा आमा कुर्सीमा बसेर पत्रिका पढिरहनु भएको थियो । मलाई देखेर आत्तिनुभयो । संयमित हुँदै भन्नुभयो,‘पानी पिउने ?’ जवाफको प्रतीक्षा नगरिकन गिलासमा पानी खन्याउन थाल्नुभयो । पानी पिएर मैले सोधेँ, ‘आमा तपाईं किन नसुतेको ?’ ‘निन्द्रा लागेन त्यसैले यहाँ आएर पत्रिका पढ्न थालेको ।’ आमाले जवाफ दिनुभयो ।
– आमा यो कुनै तरिका भयो र । जुनसुकै बेला अझ आधारातमा पनि भान्सामा बस्नुहुन्छ ।
– किन, भान्सामा बस्न हुन्न ? मलाई यहि बस्न मनपर्छ ।
‘ठीक छ, आमा ।’ मैले हारेको भाव देखाएर भनेँ ।
– ल अब सुत्नोस् ।
– तँ सुत । म यो अन्तिम पाना सक्याएर सुत्छु ।
बारम्बार यस्तो धेरै पटक दोहोरिरह्यो । जबजब रातमा मेरो निन्द्रा खुल्छ, बाह्र बजे, दुई बजे, चार बजे, विहान पाँच बजे उहाँ भान्सामा भेटिनुहुन्थ्यो । कहिले भन्नुहुन्थ्यो– दही जमाउनको लागि राख्न भुलेछु । पाँच मिनेटमा सुत्न जानेछु । कहिले भन्नुहुन्थ्यो– अचानक याद आयो तरकारी सकिएको थियो । विहानको लागि चना भिजाउँदै छु । अथवा गहुँको आटा फ्रीजमा राख्न बिर्सेछु ।
एकरात यस्तो अवस्थामा देखेँ । यस्तै बाह्र बजेको थियो होला । भान्साको भित्तामा टासिएको पात्रोमा दुधको हिसाब लेख्दै हुनुहुन्थ्यो । सोध्दा जवाफमा भन्नुभयो, ‘सधैं लेख्छु । कति दूध लिएको भनेर । आज बिर्सेछु । भर्खरै सम्झेर । लेख्न आएकी । कहिलेकाहीँ रिसाउँदै भन्नुहुन्थ्यो,‘म जबजब रातमा भान्साको काम गर्न आउँछु । तँ पछिपछि आउँछस् ।
अनि केही रेडिमेड जस्ता जवाफ बारम्बार भन्नुहुन्थ्यो, ‘पानी पिउन आएकी थिएँ । चिसो हावा आएकोले झ्याल नजिक आएर बसेँ । भान्साको दक्षिण दिशामा एउटा सानो झ्याल थियो ।
एकचोटि दुई ढाई बजेको समय हुनुपर्छ । आमा आफ्नो कोठामा हुनुहुन्थेन । बुवा घुर्दै हुनुहुन्थ्यो । वाथरुममा पनि हेरेँ भेटिनँ । बैठक र भान्सा अँध्यारो थियो । बाहिरको ढोका भित्रबाट बन्द थियो । म चिच्याएँ, ‘आ..मा कहाँ हुनुहुन्छ तपाईं ?’ भान्साको अँध्यारो कोठाबाट आमा बाहिर निक्लिएर डराउँदै भन्नुभयो, ‘किन यसरी चिच्याएर बोलाएको ? सुस्तरी बोल सबै जाग्नेछन् ।’ ‘आमा डर त मलाई लागेको थियो । कहाँ जानुभएको होला भनेर ।’ मैले भनेँ ।
– म कहाँ जान्छु छोरा यहि भान्सामा थिएँ ।
झ्याल बाहिर हेरेकी थिएँ । आज सप्तमी हो ।
मलाई रिस उठ्यो तर के गर्न सक्थेँ र ! गएर सुतेँ ।
बाहिर कतै गएर आए भने आफैँ ढोका खोल्न आउनुहुन्छ । भान्साबाट आउने हो अनि पुनः भान्सामै जाने हो । कहिलेकाहीँ भन्नुहुन्छ, ‘पापडको डिब्बा निकाल्देन ।’ उहाँको सबै काम भान्सासँग सम्बन्धित हुन्छन् । ब्लाउजको टाँक लगाउने देखि गहुँ फट्कार्नेसम्म । अनि उहाँको सबै काम भान्सामै सम्पन्न हुन्छन्। वर्षमा एकाध माइजू र फुपुलाई चिठ्ठी लेख्नुहुन्छ । काखमा किताब राखेर कपिको पन्नामा तर त्यो पनि भान्सामै बसेर । छिमेकी काकीहरू र केटाकेटीहरू आक्कलझुक्कल घर आउँदा पनि भान्सामै बसाल्नु हुन्छ । उनीहरू आमालाई भान्सा सफासुँघर छ भनेर प्रशंसा गर्छन् । कहिलेकाहीँ फुर्सदमा बसेको देखियो भने पनि आफ्नो प्रिय एकफिट अग्लो भान्साकै कुर्सीमा बस्नुहुन्छ । जुन कुर्सी म जन्मनुपूर्वको हो । कहिले झ्यालमा उभिएर टोलाएको अवस्थामा पनि भेटिनुहुन्छ । झ्यालबाहिर थाहा छैन के हेर्नुहुन्छ । मलाई यस्तो लाग्छ । दक्षिण दिशाको पूरै आकाश उहाँलाई थाहा छ । कतिवटा तारा छन् । कति नक्षत्र छन् । कति ग्रह छन् । सुर्य त्यहाँबाट कुन मौसममा कतिबेला निक्लन्छ । जून कति कलामा फुल्छ । त्यो दिशाको आकाशको रङ्ग र बादलको रूप सबै थाहा छ । हावाबाट आकाशबाट मौसमको अन्दाज लगाउन सक्नुहुन्छ अथवा के थाहा उहाँले यो सब हेर्नुहुन्छ कि हुन्न ! सायद टाढा देखिने तीनचार वटा रूखको पातलाई हेर्न पनि सक्नुहुन्छ । वा मात्र श्वास लिन उभिनुभएको पो हो कि ! उहाँको बारेमा उहाँबाट कुनै पनि कुरा पत्ता लगाउन निकै कठिन हुन्छ । उहाँलाई भान्सा बाहिर बोलाउने प्रयास प्रायः असफल हुन्छन् । सोध्न मनलाग्छ कि बेल्ट, मोजा, घडी कहाँ छ भनेर जसले गर्दा उहाँ भान्सा बाहिर आउनु हुनेछ । तर त्यस्तो हुन्न । उहाँ भान्साबाटै सबै कहाँकहाँ छ भन्दिनुहुन्छ । दराजको पछाडि, मुनि वा भन्नुहुन्छ सिरानी मुनि, ढोकाको पछाडिको किल्लामा यस्तै यस्तै । उहाँलाई मनपर्ने गीत रेडियोमा बजिरहेको बेलामा । भान्साबाटै भन्नुहुन्छ, ‘रेडियोको आवाज अलि चर्को बनाऊ भान्सासम्म सुनिएन ।’
विदाको दिन थियो । एक डेढ बजे खाना खाएर कोठामा सुत्न गएँ । भाइ क्रिकेट म्याच खेल्न गएको थियो । साढे तीन बजेतिर उठ्दा आमा भान्सामा चामल हेर्दै हुनुहुन्थ्यो । म उहाँको अँगालोमा टासिएर लाडे भएर भनेँ,‘यो के हो आमा ? दिनरात काम मात्रै । कहिले आटा छान्नुहुन्छ, कुहिले दुध निकाल्नुहुन्छ । कहिले यो गरम, कहिले त्यो चिसो बनाउनुहुन्छ । केहि काम भेटिएन भने नरिवर टुक्रा पार्न थाल्नुहुन्छ । मसलाको डिब्बा बदल्नुहुन्छ । तरकारी काटेर रास लगाउनुहुन्छ । अहिले चामल लिएर बसिराख्नु भएको छ । चिठ्ठी पनि यहि बसेर लेख्नुहुन्छ । मलाई यो सब मनपर्दैन । भाँडा माझ्ने दिदीले भाँडा माझ्दा पनि यहि बसेर हेर्नुहुन्छ । आफ्नो कोठामा गएर आराम किन गर्नुहुन्न ? त्यो तपाईं र बुवाको कोठा हो तर तपाईं त्यहाँ कहिले बस्नुहुन्न । बैठकमा गएर आराम गरेपनि त हुन्छ । ‘हेर केटा तँ यो सब बुझ्दैनस् । सबै काम अहिल्यै तयार गरेर राख्नपर्छ । नत्र तुरुन्तै दालभात तरकारी कसरी बनाउने ! भोक भन्ने कुरा अचानक लाग्ने गर्छ । घरमा काम गर्ने केटीसँग कुरा गरेकै हुन्छु । बचेको खाना उसलाई लिएर जानको लागि दिन्छु । चिया पनि बनाउन पर्छ । धेरथोर काम गर्नैपर्छ । कसले गर्छ नत्र ? अनि म सुत्न त हाम्रै कोठामा सुत्छु नि । बैठकमा बस्न पल्टन मलाई मनपर्दैन । आवातजावत भइरहन्छ आराम गर्नै सकिन्न त्यहाँ । मेरो सबै काम भान्सामा हुन्छ । मलाई यहि शान्ती मिल्छ ।’ मेरो शिरमा हात राखेर कपाल मुसार्दै आमाले भन्नुभयो । आमाको केश कालो र लामो छ । यसरी कुरा गर्नुहुन्छ कि मानौं म चारपाँच वर्षको बच्चा हो । मैले केहि बुझ्दिन । मलाई पनि उहाँको अगाडि केही नबुझ्ने बच्चा जस्तै लाग्छ ।
एकदिन साझपख देखेँ । आमा कुर्सी भित्तामा अढेस लगाएर बस्नुभएको थियो । उहाँको काखमा एउटा थाल छ । जसमा आधा लौका काटेर राखिएको छ । नजिकै चक्कु पनि छ । आमाको शिर केही पछाडि झुकेर भित्तामा अडिएको छ । आमा निदाउनु भएको छ । उहाँको मुहारमा विश्रान्ति थियो । लामोलामो श्वास लिँदै हुनुहुन्थ्यो । म अगाडि ठिङ्ग उभिएर सोचिरहेँ । आमालाई उठाऊ वा नउठाऊ ! फर्केर जानै लागेको थिएँ । आमाले आँखा खोल्नुभयो अनि सोध्नुभयो, ‘के भयो के चाहियो ?’ आमालाई मायालु नजरले हेरेर भनेँ,‘यस्तो धेरै थाकेर पनि यहि भान्सामा बस्नुहुन्छ । कोठामा गएर केही समय आराम किन गर्नुहुन्न ? थाकेर यहि निदाइरहनु भएको थियो ।’ आमाले भन्न थाल्नुभयो, ‘होइन बाबू, सुतेकी थिइन् । मलाई कहिलेकाहीँ भित्तामा अढेस लागेर आँखा बन्द गर्न मनपर्छ ।’
मैले भनेँ,‘अरे ! आजका नारी के के मात्र काम गर्दैनन् । कहिलेकाहीँ बाहिर घुम्न जानुहोस् । यो पिँजडामा किन बन्द हुनुहुन्छ ? आमाले नाटकीय जवाफ दिनुभयो, ‘म घुम्छु नि ! तलाई थाहा हुन्न बाहिर गएको । बगैंचामा पनि जान्छु । जब तिमीहरू घरबाहिर हुन्छौँ, म कति घुम्छु । टाढाटाढा पनि धेरैपटक गएकी छु ।’उहाँको आवाज भान्साको गहुँ राख्ने ड्रमबाट आए जस्तो सुनिएको थियो । मलाई उहाँको कुरा आधा बुझेजस्तो आधा नबुझेजस्तो लाग्यो । अनि फेरि हाँसेर भन्न थाल्नुभयो,‘सुरुसुरुमा वेचैनी हुन्थ्यो तर अब मलाई घरको काम गर्नमै आनन्द आउँछ । घरमै यतिधेरै घुमफिर हुन्छ कि अन्त जानै मन लाग्दैन । भन्छन् म मेरी आमातिर गएकी छु । उहाँलाई पनि यो सब मनपर्थ्यो ।’
मेरी छोरी भएको भए उनलाई पनि त्यस्तै बनाउनु हुन्थ्यो । सबैले सबैलाई मिलेर बनाउँछन् । छोरीहरू पनि यसरी बन्छन् । सायद उहाँ केही अलग बनेको भए ! उहाँ खुसी हुनुहुन्थ्यो वा उदास केही थाहा भएन । म चुपचाप कोठामा गएँ ।
केहि समयपछि भान्साको सामुन्ने भएर गुज्रिएँ । आमा भान्साको प्लेटफर्ममा उभिएर कुनै डिब्बा निकाल्ने कोसिसमा हुनुहुन्थ्यो ।
– आमा अत्ति गर्नुहुन्छ तपाईं । म घरमै छु नि ।
आमा प्लेटफर्मबाट हाम फाल्नुभयो । अनि दायाँ खुट्टा समातेर चिच्याउन थाल्नुभयो । मैले उहाँले सम्हालेर कुर्सीमा बसालेँं । भन्न थाल्नुभयो,‘खुट्टा मर्के जस्तो छ ।’ मैले रिसाउँदै भने,‘यसरी हामफाले पछि अरू के हुन्छ त ? म उतारिदिन्थेँ नि ।
‘केही त्यस्तो भएको छैन । खुट्टा फर्किएको मात्र हो भइरहन्छ छोरा । मसला निकाल्दे त बरू ।’ बेसार मिलाउँदै भन्नुभयो ।
सोही रात जब बिचमा मेरो निद्रा खुल्यो । मैले टाढैबाट हेरेँ । झ्यालबाट जून प्रवेश गरेको थियो । आमा झ्यालमा हुनुहुन्थ्यो । एकदम सिधा तन्किएर उभिनुभएको थियो । उहाँको पाउँमा कुनै असर देखिएको थिएन । के हेर्नू भएको हो थाहा भएन जून वा अरू केही पनि हुन सक्थ्यो । बिस्तारै फर्किएर कुर्सीमा बस्नुभयो । भित्तामा शिर अढेस लगाएर आराम गर्नुभयो ।
(प्रस्तुत कथा भारतीय सुप्रसिद्ध कवि तथा कथाकार कुमार अम्बुजको हिन्दी कथाबाट जनक कार्कीले नेपालीमा भावानुवाद गरेका हुन् ।)