March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

गुरु: एक आदर्श शिक्षकको गुमनाम कहानी

२०७९ कार्तिक १२

9K

नेपाली साहित्यमा भविष्यको जहाजलाई बर्तमानको धावनमार्गमा अवतरण गराई कथा भन्ने शैलीमा कति आख्यानहरू कोरिएका होलान्, त्यो त थाहा छैन मलाई । तर, त्यो अवधारणामा लेखिएको कृतिमध्ये मैले चाहिँ पहिलोपटक ‘गुरु‘ उपन्यास पढ्न पाएँ ।

उपन्यासको सम्पूर्ण कथामा हामीले अहिले भोगिरहेको र भोगेर आएको समयको वर्णन छ, तर त्यो कथा भने अहिलेभन्दा ३९ बर्षपछि सुनाईएको छ । मलाई लाग्छ, कथा वाचनको यो शैली नेपाली साहित्यमा दुर्लभ नै होला ।

कविता राई: प्रज्ञाप्रतिष्ठानद्धारा २०७८ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवको प्रथम कवि । त्यसभन्दा अगाडि नै एउटा कवितासंग्रह प्रकाशित गरिसकेको कविता राईलाई राष्ट्रिय कविता महोत्सवको नतिजाले अझ फराकिलो परिचय बनाईदियो । त्यो फराकिलो परिचयलाई स्थापित गर्न उपन्यास ‘गुरु‘ले थप टेवा पुर्‍याएको छ । यतिखेर भने उहाँको कवि व्यक्तित्वमाथी उपन्यासकारले ‘ओभर रुलेड’ गरेको छ ।

Advertisement

उपन्यासकार आफै सरकारी विद्यालयको शिक्षक । सायद त्यही पृष्ठभूमिले संगालेको थुप्रै अनुभूतिहरू थिए होलान्, जो दुनियालाई सुनाउन जरुरी लाग्यो । शिक्षण पेशा आफैमा एउटा सुन्दर र सृजनात्मक पेशा हो । त्यसलाई सुन्दर बनाईरहन हरेक दिन शिक्षकले आफूलाई चुस्त दुरुस्त राख्नुपर्दछ । तर हाम्रो अधिकांश सरकारी विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरू त्यो स्वरुपमा पाउन सकिन्न । त्यसका अनेकौँ कारणहरू भेटिन्छन् । तर, एउटा साँच्चै सृजनशिल, कर्तव्यनिष्ठ तथा विद्यार्थीहरूको भविश्यप्रति चिन्तित शिक्षक भइदिने हो भने चाहेको परिणाम पाउन सकिन्छ । यस्ता दृष्टान्तहरू हाम्रै सामु प्रसस्तै भेटिन्छन् ।

‘गुरु‘ भित्र पनि त्यस्तै आदर्श शिक्षकहरूको कथा भेटिन्छ, किस्ता किस्तामा । यो उपन्यास विशेष गरि हाम्रो नेपाली समाजले भोगेको १० बर्षे गृहयुद्धको बाछिटाले लपेटिएका निर्दोष मान्छेहरूको कथालाई एउटा शिक्षकको माध्यमबाट सुनाईएको कथा हो ।

उपन्यासका मुख्य पात्र सहदेव राई । उनैले जन्मदेखि ४५ बर्ष उमेरसम्म भोग्नुपरेको कथा र उनीसँगै हिँडेको समयको रथ वरिपरि निर्मित समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।

सहदेव राई भोजपुरको फालिकोटमा जन्मिए । उनी जन्मिएको समय आजभन्दा ४५ बर्ष अगाडि । त्यतिबेलाको शैक्षिक चेतनाको अभावले गर्दा उनको आमाको अकालमै मृत्यू भयो । केही समयपछि बुबा पनि बिते । बाँकी रहेका सहदेव र उनकी एक दिदीले बाँच्नका लागि गरेको संघर्ष अर्थात दिदिले भाईलाई स्कुल पढाउन गरेको सम्झौताबीहिन् संघर्षले जो कोहिलाई भावुक बनाउँछ । स्कुलमा फरक स्वभाव, फरक व्यवहार र रुचि हुने विद्यार्थीप्रति गरिने र हेरिने फरक दृष्टिकोण र व्यवहारले एउटा राम्रो सम्भावना बोकेको विद्यार्थी विद्यालयबाट पलायन हुन सक्छ भन्ने कुरा सहदेवले स्कुल छोडेर पहिलो चोटि भागेर धरान पुगेको घट्नाले धेरै ठाउँका स्कुल तथा स्कुलको वातावरणहरूको प्रतिबिम्ब झल्काएको छ ।

सहदेवको प्रेम बस्यो चम्पासँग । सहदेव बाबू आमा गुमाएको एउटा निरीह र गरिबिले पिल्सिएको केटो । चम्पा भने गाउँमा राम्रै आयस्ता भएको परिवारकी छोरी । दुवैले एक अर्कालाई मन पराएरै स्कुल पढिसके । एसएलसी पछि सहदेवको पढाईको अवस्था बेटुंगो हुँदै चम्पा काठमाडौ गईन् पढ्नलाई । सहदेवसँग पढ्न खर्च थिएन। तर बाउले असाध्यै सम्मान गर्ने प्रधान बाले सहदेवलाई खर्च खोजिदिए, सहदेव खांदबारी गए पढ्न । चम्पा र सहदेवको प्रेम जारी रह्यो चिठ्ठिको माध्यमबाट । चम्पा गाउँ आउँदा भेट हुन्थे, गफ गर्थे । दुई बर्षको पढाईपछि सहदेवले गाउँकै स्कुलमा पढाउने जागिर पाए । दिदिभाई खुशी भए, चम्पा पनि खुश । तर केही समयपछि दुवैको खुशी खोसियो । चम्पा र दिदी दुवैजना सहदेवबाट टाढिए । अत्यन्तै हृदयबिदारक अवस्था आईलाग्यो ।

आफ्नाहरू पालैपालो आफूबाट टाढिएपछि सहदेवलाई घर ‘घर’ जस्तो लागेन । सबै कुरा पराई लाग्न थाल्यो । एकदिन कसैलाई नभनी गाउँ छोडेर हिँडे । जेठको गर्मी समय निरुद्देश्य बाटो लागेका उनी केही दिनपछि धरान भानुचोकको पिपलको फेदमा आईपुगे । हतुवाबाट ज्यामी काम गर्न झरेका राईसँग भेट भए । तिनै राईको साथीहरूसँग धरानमा दुई बर्ष मजदुरी गरे । ती मजदुरहरूलाई सहदेवले सामूहिक योजना, ज्यालाको बचत तथा सन्तुलित दैनिकिका कुराहरू सिकाए । उनले जिन्दगीलाई अर्को कोणबाट परिभाषित गर्न सिके । धरानमा स्कुले केटाकेटिहरूसँग जम्काभेट हुँदा उनको शिक्षक व्यक्तित्व बौरिन्थ्यो, उनी नोस्टालियामा रमाउन पुग्थे । स्कुलका गेटहरूको अघिल्तिर रोकिएर चिहाईरहन्थे । तर उनको त्यहाको परिचय केवल एउटा ज्यामी मात्रै थियो । आफ्नो परिचय बदल्न चाहेर पनि उनले सकेनन् ।

एकदिन धरानको छाप्री होटलमा लमजुङ्का मनोज खनियासँग भेट भयो सहदेव राईको । उनै खनियासँगको भेट र चिनापर्चीपछि उनको जिन्दगीको अर्को अध्याय शुरु भयो । खनियाको गाउँमा संचालित स्कुलमा गणित शिक्षकको खाँचो पूरा गर्न सहदेव राई तयार भए । २०५७/५८ सालको समयरेखामा लम्जुङ् हिँडेका सहदेवका लागि त्यो यात्रा सहज थिएन । राज्यपक्ष र विद्रोही पक्षबीच कहाँ कतिखेर मुठभेट हुन्छ पत्तो हुदैनथ्यो भने हिडिरहेको मान्छे कतिखेर कुन आरोपमा गोलिको निशाना बन्नुपर्थ्यो त्यसको पनि कुनै ठेगान थिएन। त्यस्तै अनेक बाधा छिचोल्दै मनोज खनिया र सहदेव राई लमजुङ्को दुराडाँडा पुगे ।

तत्कालिन विद्रोही माओवादीका तर्फबाट भएको उनीहरूकै भाषामा एउटा सफाया त्यही दुराडाँडामा भएको थियो । जसको चर्चा अन्तर्राष्ट्रिय स्तरमा समेत भयो । वि.सं. २०५८ साल माघ ३ गते भएको सो घट्नामा पाणिनी मा.वि. दुराडाँडा लम्जुङ्का प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको अमानवीय ढंगले हत्या गरिएको थियो । उपन्यासमा मुख्य पात्र सहदेव राईको आँखाबाट सो घट्नाको वर्णन गरिएको छ भने उक्त घट्नापछि सो क्षेत्र आसपास राज्यका तर्फबाट गरिएको ज्यादतीमा सहदेव राई आफै पिल्सिएका छन् । तत्कालिन शाही सेनाले स्कुलमा फेला पारेको सहदेब राईको व्यक्तिगत डायरीका आधारमा उनलाई गिरफ्तार गरियो । अवर्णनीय शारिरिक यातनाले जीवन र मृत्यूका बीचमा केसको टुप्पा जतिको सिमाना मात्र छुट्याएर हिँडायो । त्यतिबेलाको सरकारी फौँजले गर्ने ज्यादतीका अनेकौँ चरणहरू सहदेव राईको आँखामा ठोक्किए ।

एक दिन अचानक शाही सेनाको क्याम्पबाट सहदेव राई छुटे, माथिको आदेशबाट । उनलाई छुटाउने आदेश कसरी आयो ? मलाई मनमा लागेको झड्का थियो यो । कतै लामो समयसम्म बेखवर चम्पा पो त्यो तहमा पुगेकी थिईन् कि ? यस्तै लाग्यो पढ्दै गर्दा । यो जिज्ञासाले उपन्यासको अन्तिमसम्म डोर्‍याईरह्यो । सहदेव राई छुटेपछि एकप्रकारको मानसिक बिरामीको सिकार भए । स्कुलका स्टाफहरू मिलेर चितवनस्थित भरतपुर अस्पताल पु¥याए । लामो समयको उपचारपछि पुनः दुराडाँडा पुगे । पहिला जस्तै पढाउन थाले स्कुलमा । तर, पुरानो लय हराईहाल्यो । उनमा जोस रहेन, दुराडाँडाले बिसाउन थाल्यो उनलाई । मोहभंग भयो एक प्रकारले । एक दिन फेरि दुराडाँडा छोडेर गन्तव्यबीहिन यात्रामा हिँडे फालिकोटबाट निरुद्देश्य हिँडे जस्तै । सोँचाईका अनेकौँ भंगालोहरू संगाल्दै, पर्गेल्दै उनी भोजपुरको कोट आईपुगे गणित शिक्षक बनेर । उनी कोटमा लामो समय टिकिरहे । आफूलाई सहदेव भन्दा बढी ‘कृष्ण सर‘ नामले चिनाए । त्यहाँ उनले आफ्नो जिन्दगीलाई चलायमान बनाए । आफ्नो सम्पूर्ण ऊर्जा प्रयोग गरेर शिक्षणमा लागिरहे । त्यो समय करिब विद्रोही माओवादीको सशस्त्र संघर्षको उत्कर्ष समय थियो । त्यतिबेला पूर्वी नेपालका अधिकांश गाउँहरू धेरै प्रभावित थिए । सहदेव राईले पढाउने ठाउँ अछुतो रहने कुरा भएन । विभिन्न बहानामा सरकारी फौजले निहत्थालाई दिने सास्ती र ज्यादती, विद्रोही पक्षबाट आउने धाकधम्की तथा विद्यार्थीहरूमा पर्ने मानसिक असर ईत्यादी त्यो समयका भोगाईहरू थिए । ती सबैसँग आफूलाई समाहित गर्दै सहदेव राई अर्थात कृष्ण सरले निक्कै सृजनात्मक ढंगले पढाए स्कुलमा । उनी जहाँ बस्थे, त्यही नजिक उनान्चालिस जोभानसिंह राई र उनकी छोरी चन्द्रमा पनि बस्दथे । जोभानसिंह परिवारले मीठो नमिठो हरेक चिज कृष्ण सरसँग बाँडेर खान्थ्यो । जोभानसिंहकी जहान बेलैमा बितेकी थिईन् । कृष्ण सर रहँदा बस्दा जोभानसिंहको पनि चोला उठ्यो । बाबुको सहारा बन्ने भनेर विवाह नगरी बसेकी चन्द्रमा एक्लो भईन् । एक दिन अचानक आफ्नो कोठामा चिठ्ठी लेखिराखेर कृष्ण सर बेपत्ता भए । त्यो थाहा पाएपछि चन्द्रमाले पनि गाउँ छोडिन् ।

‘गुरु‘ को मुख्य औपन्यासिक ‘फ्रेम’ हो यो । उपन्यासभित्र थुप्रै कथा र उपकथाहरू बुनिएका छन् । हरेक उपकथाहरूको विवरण अत्यन्तै शुक्ष्मताकासाथ प्रस्तुत गरिएको छ । खासगरि सहदेव राईको कथा भएकोले सम्पूर्र्ण कथा उपकथाहरू सहदेव राई कै वरिपरि घुमेका छन् । उनीबाहेक खासै अर्को मुख्य पात्र छैन कथाहरूमा । सहदेवले भोगेको बाल्यकालको कथा हर कोहि न्यून मध्यम वर्गीय मान्छेले आफ्नै भोगाई भन्ठान्नेछ । अभावग्रस्त दैनिकी, स्कुलमा गरिने बदमासिहरू, साथिभाइसँगका झगडा, गाउँघरमा हुने गरेका अनेकौँ बितन्डा अनि भर्खरै वयस्क चरणमा प्रवेश गर्दैगर्दा हुने बिपरित लिङ्गीप्रतिको आकर्षण र प्रेम जस्ता कुराहरूले साँच्चिकै आफूले पार गरेर आएको त्यही समय मस्तिस्कमा खेलिरहन्छ ।

पढ्नु वा शिक्षित हुनु कत्ती जरुरी छ भन्ने कुरा सहदेवको आमाले सिउँडीको चोप खानुपरेको घट्नाबाट दर्शाउन खोजिएको छ । अशिक्षा अर्थात पर्याप्त ज्ञानको अभावले गर्दा आमाको अकाल मृत्यूपछि नै सहदेवलाई आफू शिक्षक हुने हुटहुटी चलेको थियो । तर अनेकपटक त्यो सपनालाई भत्काउन उनको गरिबिले तोप हानिरह्यो । आमाको देहान्तपछि बिक्षिप्त बनेका बाउको पनि चोला उठेपछि दिदिको भरथेगले उनी शिक्षक बन्ने अवस्थामा पुगे । दिदीभाईको संघर्षको कथा हृदय बिदारक छ । कथा क्रममा आक्कल झुक्कल परिचित पात्रहरू नेपथ्यमा सुनिन्छन् । राजनितिज्ञहरू शेरधन राई, राजेन्द्र राई, सुदन किराँती, ध्रुब राई, ज्ञानेन्द्र कार्की कलाकार लोकेन कार्की आदि । ती वास्तविक चरित्रहरूको त्यतिबेलाको भूमिकालाई कथामा समेट्दा कथाको ‘टाईमलाईन’ लाई आधिकारिक बनाउन सहज भएको छ ।

पारिवारिक बिग्रह र असफल प्रेमको आगोले पिल्सिएर धरान झरेका सहदेव आफ्नो ज्यान पाल्नका लागि ज्यामी काम गर्दछन्, उस्तै काम गर्ने मजदुरहरूसँग । ‘यदि भानुचोक पिपलको फेदमा उनको भेट हतुवाली मजदुरसँग नभएको भए सहदेवको जीवनको लय कता चल्थ्यो होला ?’ किताब पढिसकेर मनसँग कुरा गरिरहँदा प्रश्न गर्‍यो मनैले । अझ थप्यो, ‘एउटा तोड परेर घर छोडेको सहदेवले त्यति लामो यात्रामा किन कुनै योजना बनाएनन् होला ?’ उनले धरानमा जुन स्तरको संघर्ष गर्नुपर्‍यो त्यो अस्वभाविक त होईन तर अलिम बढी भयो कि भन्ने चाहिँ लाग्यो । तर बिशुद्ध गाउँको परिवेशबाट खाली हात सिधै शहरमा आईपुग्दा उसको हालत त्यो भन्दा फरक नि नहुन सक्छ ।

अर्कातिर धरानकै दृष्यमा पढाईको महत्वलाई उजागर गराईएको पनि छ । सहदेवसँगको संगतले ‘लुटी ल्यायो, भुटी खायो‘ हालतका ज्यामीहरूलाई एउटा व्यवस्थित डेरामा बस्ने, कमाईलाई सकेसम्म बचत गर्ने, कम खर्चमा दैनिकी धान्ने जस्ता जीवनोपयोगी सिपहरू सिकायो । सहदेव अरुलाई जीवन दर्शन सिकाएर हिँड्ने तर आफ्नो जीवनप्रति बेपर्वाह मान्छे देखिन्छन् । आफ्नो कुनै पनि लय छैन । धेरै कुराहरू संयोग मै भएका छन् । धरानबाट दुराडाँडा पुग्नु पनि संयोग नै थियो । यो यात्राको वर्णनले तत्कालिन समयमा विद्रोेहको कारण दुईतिरबाट चलिरहेको बम, बारुद र गोलिको बीचबाट हिँड्नुपर्दाको त्रासद समय अहिलेका पुस्ता वा त्यो समय नभोग्ने पाठकका लागि कुनै थ्रीलर फिल्म हेरेभन्दा कम लाग्दैन ।

सहदेवलाई लेखकले लमजुङ दुराडाँडा पुर्‍याउनुको कारण त्यहाँ बीभत्स ढंगले हत्या गरिएका मुक्तिनाथ अधिकारीको कथा पाठकलाई सुनाउनु हो । तर सहदेवलाई अत्यन्तै सहज र स्वभाविक ढंगले कथाले नै तानेर त्यहाँ पुर्‍याए झैँ लाग्ने दृष्य निर्माण गरिएको छ । यो लेखकीय चातुर्यतालाई सलाम छ । धरानबाट दुराडाँडासम्म पुग्दाको यात्रा वर्णन पनि उस्तै ‘थ्रीलर’ छँदैछ, दुराडाँडामा सहदेव राईकै व्यक्तिगत जिन्दगीमा आईपरेका घट्नाहरू पनि त्यो समयको फ्रेममा राखेर हेर्दा ‘जस्टिफाईड’ नै छन् । पात्रहरूको माध्यमबाट दुराडाँडा, च्यानपाटा जस्ता ठाउँहरूको ऐतिहासिक कथनसहितका वर्णनहरू पनि समेटिएका छन् जो पाठकका लागि बोनस जानकारी हुनसक्छ । दुराडाँडामा जुन उद्देश्यका लागि सहदेव राईलाई कथाले पु¥यायो त्यो कथा कुनै काल्पनिक थिएन । पाणिनी मा.वि.का तत्कालिन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई विद्रोेहिहरूले बिना यथोचित कारण कक्षाकोठाबाटै हात बाँधेर नजिकैको जंगलमा लगि रुखमा बाँधेर निर्ममतापूर्वक हत्या गरेका थिए । उपन्यासमा सहदेव राई उनै मुक्तिनाथका स्टाफ रहेका छन् । तर सहदेव राईले लेखेको आफ्नो संस्मरणमा स्कुलको नाम अर्कै भेटिन्छ भने हत्यापछिका केही दृष्यहरू पनि फरक उल्लेख गरिएको छ । त्यतिबेला मुक्तिनाथ अधिकारी हत्याको त्यो बीभत्स तस्विर हिमाल खवर पत्रीकाको १६–३० माघ, २०५८ को आवरण कथाका रुपमा श्रीभक्त खनालको बाईलाईनमा छापिएको थियो । त्यसपछि उक्त घट्ना अन्तराष्ट्रिय चर्चाको विषय बनेको थियो ।

हिमाल खवरपत्रीकामा प्रकाशित सामग्रीका अनुसार मुक्तिनाथ अधिकारी कक्षा १० मा गणित विषय पढाईरहेका बखत उनलाई बन्धक बनाईएको थियो । उनको दुवै हात पछाडी लगेर बाँधिएको थियो भने खुट्टामा पनि लामो फड्को मार्न नसक्ने गरि बाँधिएको थियो । विद्रोहीहरूले ‘तपाईहरूको हेडसरलाई केही सोधपुछको लागि लैजादैछौँ । केही दिनमा फर्कनुहुनेछ ।’ भनेका थिएनन् । बरु ‘दुराडाँडामा मार्नुपर्ने सात जनामध्ये पहिलो व्यक्तिलाई मारिन लागेको र बाँकीलाई पनि छिट्टै मारिने’ घोषणा गरेर लगेका थिए । यी कुराहरू उपन्यासमा अलिकती फरक भेटिन्छ । त्यसो त उपन्यास लेखनको दौरान लेखक आफै नै दुराडाँडा पुगेर स्थलगत अध्ययन गरेकोले प्रकाशित समाचारभन्दा बास्तविकता फरक पनि हुन सक्छ वा उपन्यास ईतिहास नभएकोले लेखकले आफ्नो अनुकुल लेख्न सक्ने छुट पनि छँदैछ ।

हत्याकाण्डपछि स्कुलमा बनेको तनावपूर्ण अवस्था अनि सहदेव राईलाई सुरक्षा फौजले पक्राऊ गरेपछिको यातनाको वर्णनले पाठकको रौँ उभ्याईदिन्छ । त्यतिबेला नीति नियम, कानुन वा मानव अधिकार, मौलिक अधिकार कुनै पनि कुराहरू थिएनन् । ती थिए, तर बन्दुकको नालको अघिल्तिर । जोसँग बन्दुक छ सबै कानून उसैको हातमा । बन्दुक दुईतिर थियो । विद्रोही र सरकारको ज्यादतीमा अन्तर खासै थिएन । सहदेव राईले माओवादी हुनुको अभियोगमा त्यस्तै यातना खेप्नुपर्‍यो । उनकै अघिल्तिर महिलालाई गरिएको सामुहिक बलात्कार, कुनै विद्रोेहिले शीर ठाडो पारेर शाहसका साथ रोजेको मृत्यू, सरकारी फौजले प्रयोग गर्ने भाषा र तिनको मनोविज्ञान सबै द्धन्द्धको त्यो दारुण समयको जीवन्त चित्रण हुन् । यतिखेर त्यस्ता कुराहरू आख्यानको रुपमा पढ्दा पनि मुटुको चाल एक्कासी बढेर आउँदो रहेछ, त्यतिबेला त हरेक दिन त्यस्ता समाचारहरू पढ्नुपर्थ्यो, सुन्नुपर्थ्यो । लाग्छ, समयभन्दा उत्तम औषधि अरु केही हुन्न रहेछ ।

यातनाले थलिएर बसेको सहदेव, बाँच्छु भन्ने आशा मारेर कालकोठरीमा बसेको सहदेव एक दिन ‘माथिको आदेश’ मा छुट्छन् । कसरी, कहाँबाट कस्तो आदेश आयो होला भन्ने कौतुहलताको नाउ चढेर पुरै किताब छिचोलियो, तर ठ्याक्कै उत्तर भने भेटिएन । त्यो साह्रै दुर्लभ घट्ना हो, त्यो समयका लागि । त्यही दुर्लभ पात्र बने सहदेव राई । बाँचेर आए पनि उनी मानसिक रोगी बने, लामो समय दुराडाँडामा अडिन सकेनन् । उपन्यासमा गरिएको उनको मनस्थितिको व्याख्या सुन्दर छ । त्यो मनोभावमा गुज्रिएका थुप्रै मान्छेहरू थिए त्यो समय, तिनको झल्कोले आफ्नै वरपरको माहोल चित्रण भए झै लाग्छ ।

दुराडाँडा छोडेर चितवन भरतपुर आईपुग्दा धरानमा भेटिएका खनिया सर जस्तै गरि भोजपुर कोटका स्याम राई भेटिन्छन् । यी दुवै संयोगहरूको ‘सिक्वेन्स‘ उस्तै देखिन्छ । यसमा केही फरक गर्न सकेको भए अझ गज्जव हुन्थ्यो भन्ने लाग्यो । दुरडाँडाको स्कुलमा पनि गणित शिक्षकको अभाव थियो, भोजपुर कोटको स्कुलमा पनि गणित शिक्षककै खोजी थियो । हुन त विज्ञान र गणित विषयको शिक्षक नेपालका हरेक सरकारी स्कुलले खोजी गरिरहने शिक्षक हुन् । पर्याप्त जनशक्ती व्यावस्थापन नहुँदा यो राष्ट्रव्यापी समस्याकै रुपमा रहेको छ ।

भरतपुरमा क्यान्सर रोगको उपचारमा झरेका श्याम सरको पछि लागेर सहदेव राई कोट निस्किए । भरतपुरदेखि उदयपुरको गाईघाट, घुर्मी हुँदै हलेसी, दिक्तेल, चखेवाको सुन्दर नागिहरू छिचोलेर कोट पुगेपछि सहदेव राईले आफूलाई कृष्ण नामाकरण गरे । सशस्त्र द्धन्द्धको उत्कर्ष समय थियो । सरकारी फौँज र विद्रोहीहरू आ–आफ्नो ईलाका बनाएर बसेकै थिए । ती दुवै पक्षसँग जोगिएर हिँड्नु दुई धारको तरवारमा टेक्नु जत्तिकै थियो । कोट पुगेपछि उनलाई नि.मा. वि. अस्थायी शिक्षकमा नियुक्त गरियो ।

सहदेव राई कोट पुगेपछि भने कथाको गति शिथिल हुन्छ । किताबको करिब ४० प्रतिशत मोटाईले त्यही विद्यालयको आसपासको गतिविधिलाई व्याख्या गर्दछ । करिब २०५९ सालदेखि २०७२ सालको भुकम्प हुँदै हिजो अस्तिसम्मको समय रेखामा कथा उपकथाहरू बुनिएका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने थेगो केही समयअघि मात्र युवा पुस्ताहरूमा लोकप्रीय भएको थियो, यो थेगोलाईसमेत प्रयोग गरेर उपकथा जोडिएकोले हामीले अहिले बाँचिरहेकै समयको व्याख्या हो भन्ने कुरामा दुईमत छैन । यो भागमा थुप्रै स–साना घट्नाहरू जोडिएका छन् । कृष्ण सरले कक्षाकोठामा प्रयोग गर्ने नवीन शिक्षण शैली, विद्यार्थीहरूलाई सृजनात्मक कार्यमा दिएको उत्प्रेरणा, विद्यार्थीहरूसँगको आत्मियता जस्ता विषयहरू एउटा शिक्षकका लागि अनुकरणीय विषय हुन् । यी कुराहरू पढिरहँदा लाग्यो, साँच्चै हाम्रा प्रत्येक शिक्षकहरू कृष्ण सर जस्तै गतिशिल, सृजनात्मक भईदिएको भए कत्ती उपलब्धिमूलक पढाइ हुन्थ्यो होला ! तर, हाम्रो विद्यालय शिक्षाले जीवन जस्ता विद्यार्थीहरू जन्माईरहन्छ । जसले पढाईमा अब्बल मात्रै होईन आई.एस्सीमा उत्कृष्ट भएर पनि आफूभन्दा कमजोरले छात्रवृत्ति पाउँदा पढाईबाट बिरक्त भएर कोरिया पुग्यो । औद्योगिक दुर्घट्नाले जीवनलिला सकियो । हाम्रो शैक्षिक प्रणालीले शैक्षिक बेरोजगारभन्दा अरु उत्पादन गर्न सकेन ।

कृष्ण सरले २०६२÷०६३ को आन्दोलन पनि भ्याए । आन्दोलनपछि नागरिक स्तरमा आएको उत्साह, अपेक्षा र त्यसका खतराहरू पनि देखे । कतिपय विषयहरूको गलत व्याख्याले कक्षाकोठासम्म परेको असर पनि भोगे । समावेशीता, पहिचान जस्ता नेपाली समाजका लागि नयाँ लाग्ने शब्द र विषयहरूमा सघन छलफलहरू चले । तिनलाई कृष्ण सरले राम्ररी नियालिरहे । यस्ता राजनैतिक विषयहरूलाई उपन्यासमा कक्षाकोठाको गतिविधिका आधारमा बुझाउन खोजिएको छ । लेखक आफैमा शिक्षक भएकोले हुनसक्छ शिक्षण सिकाई क्रियाकलापका रुपमा ती पेचिला विषयलाई पनि सहज ढंगले प्रस्तुत गरिएको छ । पहिचानको विषयलाई शिशु कक्षाका नानीहरूको मनोविज्ञानका आधारमा बुझाईएको छ । समावेशिता तथा संविधानसभाको विषयलाई गाउँले प्रहसनको माध्यमबाट व्यक्त गरिएको छ ।

यी सँगै हाम्रो समयमा बरदान र अभिषाप दुवै रुपमा देखिएका प्रविधि छ यतिखेर । यसको बारेमा पनि केही उपकथाहरू जोडिएका छन् । विशेष गरि विद्यालय जाने उमेरका केटाकेटिहरूमा परेको ‘एडिक्सन’ अहिलेको मुख्य समस्या हो । पहिला–पहिला हामी शारिरिक रुपमै खेल्थ्यौँ, जुध्थ्यौँ, झगडा गर्थ्यौँ, बाझ्थ्यौँ, दौडिन्थ्यौँ अनेक हुन्थ्यो । शारिरिक रुपमा स्फूर्ति हुन्थ्यो। आजकल प्रविधिले केटाकेटिलाई अल्छी बनायो । मोबाईल वा ल्यापटप अगाडि बसेर अल्मलिएपछि त्यसैको रंगिन संसारमा आफूलाई पुर्‍याउँछन् । लामो समयसम्म त्यसैमा भुलिएपछि वास्तविक दुनियाँ र स्क्रीनको दुनियाँमा फरक छुट्याउन सक्दैनन्, कुन यथार्थ हो कुन बनावटी भन्ने दोधारले मानसिक बिरामीसम्म हुन पुग्छन् । केही उपकथाहरू यहि तथ्यमा आधारित छन् ।

पछिल्लो समय बल्ल शिक्षक सेवा आयोगले बेलाबेलामा स्थायी शिक्षक पदपूर्र्तिका लागि नियमित परीक्षा गराईरहेको छ । तर बिगतमा २०५०/५१ सालपछि लामो समयसम्म त्यो क्रम रोकिएर बल्ल २०७० सालमा मात्रै अर्को खुला परीक्षा गरिएको थियो । यो अवस्थामा दक्ष शिक्षकको अभावले गर्दा नेपालको शिक्षाक्षेत्र निक्कै धरासायी बनेको थियो । विशेष गरि गणित, विज्ञान र अंग्रेजी विषयको जनशक्ती अभावले गर्दा यी विषयहरूमा राम्रो नतिजा आउन सकेन । विज्ञान विषयका लागि प्रायः तराई मूलका शिक्षकहरू धेरै जसो पहाडी ईलाकामा पुगे । त्यसै क्रममा कृष्ण सरको स्कुलमा पनि सप्तरिका मुकेश सर आईपुगे । तर उनको पारिवारिक बिग्रहको कथाले गर्दा उनको जीवनमा अर्कै मोड ल्याईदिन्छ, त्यो मोड ल्याईदिने माध्यम भन्नू त्यही ईन्टरनेट प्रविधि हो । पहाडी दुर्गमताको सास्ती तथा त्यतिखेरको बन्द हड्ताल जस्ता राजनैतिक दलका अराजनैतिक गतिविधिले एउटा सामान्य पौरखी मान्छेलाई असामान्य अवस्थामा पुर्‍याईदियो ।

उपन्यासको अन्तिमतिरका कथा उपकथाहरू आफैमा भने गज्जव छन् तर तिनलाई उपन्यास कै अंशका रुपमा जोड्नु आवश्यक थियो र ? भन्ने लाग्यो किताब छिचोलिसक्दा । धेरैजसो प्रसंगहरू कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलाप जस्तै लाग्ने गरि राखिएको छ, यसले विषयलाई सामान्यिकरण गरेर बुझ्न सजिलो त हुन्छ तर उपन्यासले शुरुदेखी उठाईरहेको विषयलाई यसले कत्ती बल दिन सक्छ भन्ने पनि हो । बरु ती केही उपकथाहरूको स्थान चाहिँ चम्पा वा सहदेवको दिदिको कथालाई दिन सकेको भए उनीहरूप्रति न्याय हुन्थ्यो कि जस्तो लाग्यो ।

समग्रमा उपन्यास पठनीय छ । हाम्रो पुस्ताले भोगील्याएको त्यो समयको लिखित साक्षीको रुपमा उभिएको छ ‘गुरु’। लेखक आफैमा कवि भएर होला सायद धेरै ठाउँमा काव्यिक स्वाद भेट्न सकिन्छ भने कतै–कतै वाक्य अलि खुकुलो भएको महसुस पनि हुन्छ । खँदिलो वाक्य गठन जरुरी हुन्छ भन्छन् आख्यानका जान्ने बुझ्नेहरू । अर्को महत्वपूर्ण कुरा चाहिँ, जुन भुगोलको दृष्य छ त्यसको संक्षिप्त ईतिहास पनि जोडेर कथालाई अगाडि बढाउनु लेखकको ‘प्लस पोईन्ट’ हो भन्ने लाग्छ । शीर्षक गुरु भएकोले एउटा गुरु अर्थात शिक्षकले साक्षात्कार गर्नुपर्ने अनेकौँ आरोहअवरोहकाबीच निभाउनुपर्ने पारिवारिक, सामाजिक तथा वैयक्तिक जिम्मेवारीका गुत्थिहरू सुनाईएको छ । अझ सशस्त्र द्धन्द्धको त्यो दारुण समयमा शिक्षकहरूले झेल्नुपरेको कहालिलाग्दो क्षणलाई सविस्तार गरिएको सायद यो पहिलो कृति हुनुपर्दछ । विद्रोही र राज्यपक्ष दुवैबाट उत्तिकै प्रताडित कोहि थियो भने त्यो शिक्षक नै थियो त्यतिबेला । विद्रोेहीले हरेक शनिबारको तलब चन्दाको रुपमा उठाउँथ्यो, नदिए भौतिक सफायासम्म हुन्थ्यो । त्यो कुरा राज्यपक्षले थाहा पाए तिनै शिक्षक ‘आतंककारी’ का रुपमा मारिनुपर्थ्यो ।

त्यो अवस्थाबाट गुज्रिएको कृष्ण सर अर्थात सहदेव राई अन्तिममा कसैले थाहै नपाउने गरि एकाएक गाउँबाट अलप हुन्छन् । आफ्ना सम्पूर्र्ण कहानीहरू एउटा पेनड्राईभमा लेखिराखेर । उनको अलपको खवरले आलाप बिलाप गर्दै जोभानसिंह राईकी छोरी चन्द्रमा पनि गाउँबाट हराउँछिन् । यो घट्नाको ठिक उनान्चालिस बर्षपछि एक साँझ कृष्ण सरले छोडिगएको स्कुलको ठेगाना सोध्दै पिखुवाको उकालो चढ्दै गरेका एक बृद्ध र एक बृद्धा भेटिन्छन् । बृद्धले आफूलाई सिक्किम युनिभर्सिटिको एक्स प्रोफेसर भनेर चिनाउँछन् भने बृद्धाले आफूलाई खर्साङ्को चिया कमानबाट आएको बताउँछिन् । उनीहरू त्यही पिखुवानिर सँगै भेटिएर स्कुल पुग्छन् । आफ्नो जिन्दगीभरी कमाएको पैसाको थैलो त्यही स्कुललाई चन्दा दिन्छन् । आखिर ती दुई को थिए त ? यहिँ कौतुहलतासँगै उपन्यासको ३८५ पेज बन्द हुन्छ । मैले चाहिँ अन्तिमसम्मै कोट छोडेपछिको कृष्ण सरको यात्रा जान्न चाहिरहेँ, सायद त्यो कथाले ‘गुरु भाग २’ को माग गर्ला कि ?

समकालीन आख्यानहरूमा पठनीय उपन्यास हो ‘गुरु’ । यसले गम्भीर प्रश्न सोधिरहे झैं लाग्छ । देशले रक्तिम क्रान्ती बेहोर्‍यो । त्यो क्रान्तिमा हजारौँको बलिदान जोडिएको छ । बलिदान दिनेहरूले देखेको सुन्दर र सुदुर भविश्य आज कहाँ छ ? त्यो भविश्य निर्माण गर्न दौडिनेहरू साँच्चै ईमान्दार थिए त ? लाग्छ, यो प्रश्न एक अनुत्तरित प्रश्न कै रुपमा रहिरहनेछ । कवि कविता राईलाई यो बर्षका पद्मश्री, बिमल गुरुङ् स्मृती साहित्य पुरस्कार तथा पहिचान पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कारहरुका लागि नोमिनेशनमा पर्न सफल उपन्यास ‘गुरु’ र गुरु भन्दा अझ सुन्दर अनि गहकिलो आख्यान सृजनाका लागि हार्दिक शुभकामना ।

दिलिप बान्तावा
दक्षिण कोरिया