February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

प्रेम र बियोगको साँधैसाँध हिँडेको ‘यादको सन्दुक’

10.8K

अस्ति एक दिन कवि नवीन प्राचिनले लेखे,
“एकदिन
कवि बेपत्ता भयो
गाउँ,
शहर, टोलबाट,
मान्छेका हृदयबाट

वर्षौंपछि उसको कंकाल भेटियो
उसका प्रसंसकहरुका
हत्केलाबीच

ऊ तालीमा च्यापिएर मरेको थियो ।”

Advertisement

सटिक किसिमले वर्तमानका ‘भनिएका कविहरु’ र तिनका समर्थकहरुको भिडले निम्त्याईरहेको कविताको दुदर्शा व्यक्त गरिएको अभिव्यक्ती थियो यो ।

हुन त कविता वा साहित्य सृजनाको कुनै पनि विधा अंकगणितको हिसावी सुत्र जस्तो सुत्रमा बाँधिएर लेखिन्न । तर साहित्य हुनका लागि साहित्यको केही विशेषताहरु भने जरुर हुनुपर्दछ । आजकल साहित्यले आफ्ना ती विशेषताहरु बिस्तारै छोड्दै गएको हो कि भन्ने भान परिरहेको छ ।

यतिखेर मसँग कवि दिपा मेवाहाङ् राईको प्रथम कवितासंग्रह ‘यादको सन्दुक’ हातमा छ । किताबको पछाडिपट्टीको बाहिरी खोलको अन्तिममा लेखिएको छ, “धोकामा पनि ऊर्जा प्राप्त गराउने प्रेमिल कविताहरुको संग्रह हो ‘यादको सन्दुक’ ।” अर्थात यो संग्रह जिन्दगीको आँधी–बतास, घाम–पानी, मिलन–बिछोड वा दुःख–दर्दहरुको मुहानबाट पलाएका असंख्य अनुभूतिहरुको छपनी हो । यहि बुझाईको बिन्दुबाट संग्रहको पहिलो पन्ना पल्टाएँ ।

संग्रहका बारे कविको स्पष्टिकरणबाट शुरु भएर कविले धन्यवाद ज्ञापन गरेको पन्नासम्म पुग्न सकस परेन । अर्थात एकै बसाईमा संग्रह वारपार भयो । प्रायः दुर्लभ घट्ना हो मेरो लागि यो । तर यसपटक त्यस्तै भयो ।

कविताहरु पढिरहँदा धेरै ठाउँमा मेरो आफ्नै अनुभूतिहरु हुन् जस्तो बनायो भने कतिपय ठाउँमा आफ्नै नजिकबाट वा छोईएर पार भएको समयको झोँका जस्तै लागिरह्यो । संग्रहको शुरुमा कविको दलिल छ, “प्रेम पनि त समाजकै अभिन्न हिस्सा हो । समाज बदल्न प्रेमको पनि उत्तिकै अहम भूमिका रहन्छ ।” तर संग्रह प्रेम र बियोग दुबैको साँधैसाँध हिँडेको छ । उसो त जहाँ प्रेम रहन्छ त्यहाँ वियोग वा बिछोड साथमै रहिहाल्छ ।

हुन त संसारमा प्रेमलाई हेर्ने र परिभाषित गर्ने असंख्य तौर–तरिकाहरु हुन्छन् । हरेक मान्छेले आफ्नै चेतना र बुझाई अनुसारको अर्थ तयार गर्छ । तर, धेरै जसो मान्छेहरु प्रेममा अत्यन्तै उत्साहित हुन्छन् । रोमाञ्चित हुन्छन् । तर दिपा मेवाहाङ् राई भद्र तथा सालिन प्रेममा विश्वास गर्ने कवि हुन् । उनका प्रेमिल कविताहरुमा न त कुनै तडकभडक छ, न त कुनै उच्चतम अपेक्षा, न भेटिन्छ कुनै उच्छृङ्खलता । कविताहरु पढ्दै गर्दा लाग्छ निघारको पहिलो ग्लास भर्खरै रित्तिएर बिस्तारै दृष्यहरु ‘ब्लर’ हुन थालेका हुन् । झम्झम् हुँदै मन्द गतिमा चिमोट्दै गर्ने कविताहरु आँखा चिम्म गरेर महसुस गर्न सकिन्छ ।

“रङ्गिन दुनियाँको रङ् चोरेर
बनाउँछु आफ्नै हातहरुले खाम
जतन साथ पठाउँछु
सिंगो मुटु पनि
बाहिरपट्टी लेख्छु
पठाउनेमा
मुटुको चिन्हमा आफ्नै नाम, ठेगाना
पाउनेमा तिम्रो नाम ।”

(प्रेमपत्र)

“यतिबेला
बिना गन्तव्य यताउता गरिरहने पैतालालाई
गन्तव्यसम्म पुग्ने अर्को पैताला मिलेको छ
सँधै जसो एकोहोरो गमिरहने मस्तिष्क
कसैको बारे सोच्नमा व्यस्त छ ।

कहिल्यै मधुमास बोकेर नआउने मौसम
हिजो आज वसन्त बोकेर आउँछ
सँधै जसो सुनसान बनेर झोक्राईरहने गल्ली
अचेल प्रेमिल संगितमा झुम्न थालेको छ ।”

(अचेल लाग्न थालेको छ)

कवि दिपा मेवाहाङ राई

अचेल प्रेम पनि पुँजी बजार झै भएको छ । अनपेक्षित उतार चढाव आईरहने । प्रविधिले यति कायल बनाएको छ कि प्रेमी प्रेमिकाहरु ‘च्याटिङ्’मा एक मिनेट मात्रै ढिला ‘रिप्लाई’ पाए ‘ह्वाई आर यु सो लेट ?’ भन्दै ‘ब्रेक अप’ को स्थितिसम्म पुग्ने गरेका छन् । कस्ट्मेटिक प्रेमले बजार पिटेको छ । लाभ–हानिको हिसाब किताबमा निर्भर हुने प्रेमको बिगबिगी छ । परबाट हेर्दा दुनियाकै आदर्श जोडी देखिने प्रेम जोडीहरु बास्तवमा प्रेमिल देखिन मात्रै स्वाङ् गरिरहेका हुने रहेछन् धेरै जसो । आजकलको सम्बन्धमा धैर्यता, आत्मियता, विश्वासनीयता तथा ईमानदारिता बिस्तारै क्षय हुँदै गईरहेको छ । सम्भवतः यो परिस्थितिमा हर कोहिले असल प्रेम प्राप्त गर्न निक्कै मेहनत गर्नुपर्दो हो । तर कवि दिपा मेवाहाङ् राई स्निग्ध, निस्वार्थ अनि भावनात्मक प्रेमका कविताहरु लेख्छिन् । अन्तर आत्माबाट स्विकार्य हुने प्रेम जो जीवनका हरेक उतारचढावहरुमा पनि उत्तिकै भरोसायोग्य हुन्छ, हो त्यस्तै प्रेमका भाकाहरु उनको कविताको परिचायक हुन् ।

प्रेम अर्थात मिलनसँगै आउने अर्को पाटो हो बिछोड वा बियोग । अर्थात प्रेम गरिएको मान्छेले दिने धोका र त्यसबाट सृजित मनोदशा । संग्रह पढिरहँदा कविको मनोभावमा प्रेमभन्दा बढी बियोगका बाछिटाहरु गाढा भएको आभास हुन्छ । त्यो बियोग दुई प्रेमिल आत्माको मात्रै नहुन सक्छ । आफ्नाहरुसँगको दुरी, आफ्नो सोचिएकाहरुले दिएको दर्द या आफूले चाहेको समयबाट हुत्तिएरै अर्कै समय रेखामा हिँड्नुपर्दाको छट्पटी । यी सबै नै पीडायुक्त क्षण हुन् हाम्रा लागि । अझ प्रवासीले गिजोलिनुपर्ने यस्ता थुप्रै दृष्यहरु छन् । सम्भवतः कविले तिनै दृष्यभित्र आफुलाई शब्दमार्फत व्यक्त गरेको हुनसक्छ ।

“जून उदाउने आशामा
बसेको छ साँझ
बटुवा आउने आशामा
बसेको छ चौतारी
सपना आउने आशामा
बसेको छ निन्द्रा…”

(पर्खाई)

परदेश भन्नू अनेकौं आशाहरुमा थप नयाँ आशा रोप्नु न रहेछ । चाहे आफ्नो होस् वा आफ्नाहरुको । तर ती आशाहरुसँग नभेटिँदा खप्नुपर्ने दर्द सायद त्योभन्दा ठूलो दुखाई आईनपरेसम्म निक्कै ठूलो लागिरहन्छ । आफ्नाहरुको आशा निराशामा परिणत हुँदा फेरि समय यसरी बदलिदिन्छ कि,
“भुगोल मात्र नबदलिने रहेछ
मन, सम्बन्धहरु
पल मै बद्लिने रहेछन् ।”

(समय)

बिछोड अर्थात बियोग वा भनौं दर्द । यसलाई प्रायः मान्छेहरु चिच्याएर सुनाउने गर्दछन् या त रोएर व्यक्त गर्दछन्, नत्र दर्द दिने मान्छेप्रति आक्रोश पोखेर, गाली गरेर आफूलाई हलुङ्गो महसुस गराउँछन् । तर ‘यादको सन्दुक’ले पाठकलाई पीडा वा बिछोडको वेदनालाई पनि सहजै स्वीकार्नुपर्छ, यो त जीवन भोगाईको अनिवार्य शर्त हो । मान्छेका हरेक कदमहरु दर्दकै भुमरीबाट उठिरहेका हुन्छन् भन्ने आभास दिलाउँछ । बियोगको समय पनि कवि आफ्नो कविताहरुमा यति सालिन प्रस्तुत हुन्छिन् कि उनलाई चोट दिएर जानेलाई नै उल्टै चोट लाग्यो कि भनेर सोधिदिए झैं लाग्छ ।

“छालहरुको बीचबाट
हेलिँदै बहने डुंगा जस्ता तिम्रा पदचापहरु
खोजिरहेँ एक्लो गोरेटोभरी
तिमिले कुल्चिएका पाईलाहरु
यात्रा निस्कनु अघि
गोधुली बन्धन बाँधेर गएको तिमी
खै कहाँसम्म पुग्यौ बाटो बिराएर ?
दुरदराज पुगेर पठाउँछौ सम्झनाका बतासहरु ।”

(बाचाहरु)

भनिन्छ हरेक भत्काईहरु नयाँ निर्माणका जग हुन् । बिछोडिएको समयलाई पनि त्यसरी नै नयाँ गन्तव्य खोजिको नयाँ सुरुङ् बनाउनुपर्छ भन्ने आग्रह छ कविको । जिन्दगीको बाटो कहिल्यै सरल रेखामा बन्दैन । यो त घुमाउरो छ, अथवा घुमाउरोभन्दा पनि बढी उवडखावड छ। कहाँ कति गहिरो खाल्डो छ कहाँ कत्ती अग्लो डाँडा छ त्यसको पत्तो पाउन मुस्किल । हामी बाँचिरहेका हुन्छौँ, त्यो भोलिको सम्भावनाका खातिर । किनभने हिजो र आज त बाँचिसक्यौँ । त्यसैले प्रत्येक भुतमाथी टेकेर आउने समयमाथी कब्जा जमाउने एउटा अविराम आशा नै त जीवन हो । यहि सन्दर्भमा कविको भनाई छ:

“सोच्थेँ जिन्दगी बाँचेको थिएँ तिमिसँगै हुँदा
म भ्रममा रहेछु
आजसम्म मैले अरुकै लागि बाँच्दै आएछु
अरुकै लागि हाँस्दै आएछु
अरुकै लागि सपना देख्दै आएछु
तिमी गएपछी थाहा पाएँ
आफुखुसी बाँच्नुको मिठास
आफ्नो मन लाग्दो हाँस्नुको आभास”

(तिमी गएपछी)

‘यादको सन्दुक’ भित्र केवल प्रेम र बियोगको कविता मात्रै छैनन् । जीवन, जगत र माटोप्रतिको कविको आफ्नो दृष्टिकोण पनि समेटिएको छ । यतिखेरसम्म बाँचेको समय, समाज र सामाजिक चेतनाले दिएको राम्रा नराम्रा सम्झनाहरु पनि कविताको बिषय बनेका छन् ।

“जीवनको लोरी गाउँदा गाउँदै
बैँशको मध्यभागमा आईपुग्दा
फूल फुलेको मनै पर्न छोड्यो

मनभित्र भय पस्यो साँझको घाम देख्दा
बाटोले आफ्नै गतिमा तान्न थाल्यो
सपनाको भुमरीले अँठ्याएर
ल्याईपु¥यायो अर्कै भुगोलमा ।”

(सपनाको सीमा)

त्यसो त जिन्दगी बुझेर कहिल्यै नसकिने एउटा अविश्रान्त माकुरे जालो हो । जेलिएको त्यो जालो फुकाउँदाफुकाउँदै अघि फुकेका गाँठोहरु फेरि नयाँ गाँठोमा बाँधिईसकेका हुन्छन् । अर्थात ठ्याक्कै यस्तै हुनुपर्छ जिन्दगी वा यसरी नै बाँच्नु सहि हो, यो चाहिँ गलत हो भन्ने सुत्रात्मक परिभाषाभित्र अटाउन सक्दैन । त्यसैले त हरेक मान्छेको छुट्टै जीवन दृष्टिकोण बनेको हुन्छ । त्यो अरु कसैसँग मिल्न पुग्नु संयोग हो । तर ठ्याक्कै यहि धारणा हुनुपर्छ भनेर कसैले कसैलाई जोर लगाउन मिल्दैन ।
“उध्रीएको जिन्दगी
सिलाउन खोज्दा
कहिले सियो हरायो
कहिले धागो हरायो
दुबै खोजेर ठिक्क पारेँ
अन्त्यमा जिन्दगी नै हरायो ।”

(जिन्दगी)

हामीले बाँचिरहेको यो समय बैश्विक समय हो । अर्थात देशको सिमानाले छुट्याए पनि हामी त्यही सिमानाभित्र मात्रै अडिएर बस्न सकिरहेका छैनौँ । भुगोलको सिमाना नाघेर अकल्पनिय दुरी नाप्न अभिषप्त छौँ । केहिको रहर होला, धेरैको बाध्यता हो यो । यो बाध्यताले दिने दर्द सायद हरेकका लागि साझा दुखाई हुन सक्छ ।

“घर छोड्दा लागेथ्यो
आमाको अलिकती न्यानोपन छोडेँ
छोडेँ गुन्द्रुक ढिँडोको स्वाद
दराजमा थन्किएको कागजात
जागिर खानलाई नमिलेका
अथवा
जागिर खान नसकिएका प्रमाणपत्रहरु
सबै सबै छोडेँ
होईन रहेछ
छोडिएको रहेनछ दुखको सहेली”

(अलार्म)

यसरी “यादको सन्दुक” चार दर्जन कविताहरुले टम्म भरिएको छ । टम्म यस कारण कि सबै कविताहरु आ–आफ्नो भार उठाउन सक्षम छन् । तर यतिबेला नेपाली कविताको बहस मुद्धामा केन्द्रित छ, विचारको मशाल बोक्नुपर्छ कविताले भन्ने आवाज चर्को छ । यो आवाज चर्काउनेहरुका लागि ‘यादको सन्दुक’ खोल्नु दर्कार छैन । यसभित्र तपाईले भन्ने गरेको क्रान्ती, बिद्रोह वा वैचारिक कविता भेट्नुहुन्न । यहाँ त शान्त र सालिन ढंगले कविको मनका गुम्फनहरु कुरुषले बुनेको स्वेटर जसरी सररर फुकेका छन् । कहिँ कतै नअड्कि । हो, सृजनामा विचार हुनुपर्छ वा यो सत्ताका लागि प्रतिपक्षको भुमिकामा रहनुपर्दछ । तर, यो अनिबार्य हो ? वा तपाईले भनेका चिजहरु नभएको सृजना चाहिँ बेकारै हो ? मलाई त्यस्तो लाग्दैन । सत्तालाई गाली गरिहनु, परिवर्तनको नारा दिएर क्रान्तिको नाममा भ्रान्ती सृजना गर्नु बास्तवमा सृजना हो भन्ने लाग्दैन, त्यो त प्रायोजित उत्पादन हो। सर्जकले आफुलाई शुन्यमा राखेर सृजना गर्न सकेन भने त्यो वास्तविक सर्जक हो भन्ने लाग्दैन । त्यसर्थमा ‘यादको सन्दुक’ कविले शून्य धरातलमा बसेर सृजना गरेको कविताहरुको संग्रह हो ।

संग्रहभित्र केही लामा र केही छोटा कविताहरु छन् । मलाई भने छोटा कविताहरु निक्कै प्रभावकारि लागे, लामोको तुलनामा ।
“बाटो छेउमा
बर्षौँबाट
एक्लो उभिएको
त्यो रुखलाई सोध
सम्बन्धहरुको अभाव कस्तो हुन्छ ।”

(अभाव)

“आमाले पलेँटी फिँजाएपछी
मिलेको हो जग
बाले दरिलो खुट्टा टेकेपछी उभिएका हुन खाँवाहरु
बा आमा दुबैले एक अर्काको हात कसिलो पक्रेपछी
बनेको हो छानो ।”

(घर)

यी दुई प्रतिनिधि छोटा कविता हेर्दा कवि दिपा मेवाहाङ राईले लामोभन्दा छोटो कविताहरुलाई निरन्तरता दिन सके अझ राम्रो हुनेछ । कतिपय लामो कविताहरुमा एउटै अर्थका लागि धेरै शब्दहरु खर्चिनुपरेको देखिन्छ भने कतै वाक्यहरु लामो बनिदिँदा कविताको स्वादमा रस हराए झै लाग्दछ । कतिपय ठाउँमा धेरै थरी कथाहरु समेट्ने प्रयास गरिँदा पाठकहरुमा दुबिधा उत्पन्न हुने खतरा पनि देखिन्छ । मलाई मन छोएका केही लामो कविताहरु मध्ये ‘सर्किनी बोजु’ निक्कै उत्कृष्ट लाग्यो,
“….उनी अर्थात सर्किनी बोजु
आज सत्तरी बर्षमा पनि
उसरी नै गाउँदैछिन जीवनको गीत
सखारै उठ्छिन्
लाग्छिन जंगलतिर
दुखेसोका बुट्यानहरु काट्छिन्
बटुलेर, कसकास पारेर
पु¥याउँछिन् साहुबाको गोठमा
र पोको पारेर ल्याउँछिन् केही माना खुशीहरु
आफ्नो लागि
भोकको बिरुद्ध ।”

अन्य लामो कविताहरु मध्ये ‘शहरले मलाई’, ‘फराकिलो’ ‘आमा’, ‘यादको सन्दुक’, ‘रातो बाकस’ लगायतका कविताहरु शक्तिशाली छन् ।

समग्रमा कविको पहिलो कवितासंग्रह भएर पनि गतवर्षको मदन पुरस्कारका लागि उत्कृष्ट १० को मनोनयनमा परेको ‘यादको सन्दुक’ नेपाली साहित्यका लागि एउटा संग्रहणीय संग्रह हो । समकालीन कविहरुमा सामयिक तथा सामाजिक सचेतनाको बहस घनिभूत रुपमा चलिरहेको सन्दर्भमा यो संग्रहभित्रका कविताहरुले समाजभित्रका प्रेम, बियोग तथा सुख–दुःखका मनोभावहरुसँगै थुप्रै प्रश्नहरु पनि उठाएका छन् । आखिर कहिलेसम्म माटोको प्रेमबाट बिछोडिनुपर्ने ? कहिलेसम्म आफ्नाहरुको मायाबाट अलग भएर बाँच्नुपर्ने? या कहिलेसम्म कसैको प्रेम पाउनका लागि कस्ट्मेटिक जिन्दगी जिउनुपर्ने ? कहिले सबै कुरा ठिकठाक हुन्छ, र हामी एउटा सिंगो, मान्छे सिंगो परिवार भएर बाँच्ने वातावरण कहिले बन्छ ?

… र यो गन्थन् सिर्फ किताब पढेपछिको पाठकीय प्रतिक्रिया मात्रै हो । कुनै समिक्षाको शुत्रमा बसेर लेखेको वा सैद्धान्तिक कसिमा राखेर कृतिलाई घोटिएको होईन । मध्यरात हुनै लाग्दा गन्थन बिट मार्न खोजिरहेको छु । कोठाको मधुरो बत्तीभन्दा बाहिर ल्याम्पोस्टहरुमा बल्ने बत्ती चहकिलो देखिन्छ । झ्यालनेर आफ्नो रंग बदल्न तयार भएर बसेको रेड लिफको पातहरु सल्बलाईरहेका छन् । झ्यालबाट छिरेको हावाले टेवलमा पल्टिरहेको ‘यादको सन्दुक’को एउटा पन्ना हल्लाईरहेको छ, जहाँ लेखिएको छ,
“जब रात पर्छ
तब म मान्छे हुन खोज्छु
दिल खोलेर रुन्छु
उन्मुक्त हाँस्छु
साँच्चै मान्छे बनिन पनि
दिल खोलेर रुन सक्नुपर्ने रहेछ ।”

(शहरले मलाई)

यी लाईन लेखिसक्दा सम्झिएँ, थुप्रै पटक मन भक्कानिएको छ । तर म रुन नसकेको थुप्रै भएछ । दिपा मेवाहाङ्लाई सोध्न मन छ– के म अब मान्छे हुन सक्दिनँ त ?