November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डायस्पोरा समीक्षा: ‘हङकङका समकालीन नेपाली कविता’

4.8K

सर्वप्रथम आहुतीको एक भनाइ उदृत गरेर अघि बढ्छु ।

“देशबाहिर रहेका नेपालीको सपना हुँदैन, त्यसैले उनीहरूले गरेको साहित्य श्रृजना त्यहाँको तत्कालीन जीवनको ऐया आत्थाको वरिपरि घुम्न बाध्य हुन्छ ।” –आहुती

आहुतीको यो भनाइमा आंशिक सत्यता होला तथापि यसप्रकारको पुर्वाग्रही भनाइले प्रवासी नेपाली साहित्य र साहित्यकारहरू माथि अपमानजनक आक्षेप लागेको महसुस हुन्छ । देश छोड्नु सपना नहुनु हैन । परदेश भोग्नु अनेपाली हुनु हैन । आफूले भोगेको समय र परिवेश लेखिनु असाहित्य हैन । डायस्पोराका नेपालीले लेख्ने साहित्य अति उत्कृष्ट नहोला तर तिनले लेख्ने साहित्यलाई यति उपेक्षा पनि नगरौं जसले आफू–आफूबीचमा कटुता पैदा गरोस् । कथित बौद्धिक तथा बरिष्ठ साहित्यकारहरूबाट यसप्रकारको अभिव्यक्ति आउनु दुःखद कुरा हो ।

Advertisement

यस सन्दर्भमा कवि दिपा एवाइद्वारा सम्म्पादित हङ्कङबाट प्रकाशित संयुक्त नेपाली कवितासङ्ग्रह ‘हङ्कङका समकालीन नेपाली कविता’को सामान्य चिरफार गर्दै उक्त आहुति आक्षेपको पनि समिक्षात्मक टिप्पणी गर्ने जमर्को गरेको छु ।

सर्वप्रथम यस सङ्ग्रहको आहुती कै भाषामा ऐया आत्था (जिजीबिषा) झल्किने कविताहरूको उठान गर्दछु ।

आईडी सौन्दर्यलाई कवि बज्रकुमार थुलुङगले रोचक प्रस्फुटन गरेका छन् । आईडीसँग जोडिएका अप्ठ्याराहरूसँगै जिउछन् हङ्कङमा धेरै नेपालीहरू । हङ्कङ आईडी कलहको पासो बनेको यथार्थलाई कविले व्यंग्यपरक शैलीमा कविता कोरेका छन् यसरीः

“आईडीको पासो
घाँटीमा अड्किन थालेपछि
एउटा निरिह कविले गर्धन थापिदियो
र भन्यो–
छिनाऊ प्रिय, चर्लक्कै !
तिम्रो आईडी स्पोन्सरको गतिलो कत्तीले
यो कविको घाँटी ।”

(आईडी र जीवन उत्सर्ग)

कवि हांगयुग अज्ञात र आशीष साम्पाङ ‘महेश’ले चौकीदारी अनुभूतिलाई आ–आफ्ना कवितामा उतारेका छन् ।

“म जड
बुटभरि दबाएर आंकाक्षाको बतास
खस्दै निरीह वर्तमान
स्खलित वर्तमानको पहेँलो पात
म त रूख भइसकेछु ।”

(रूख)

यो पुरानो कविता निकै शसक्त र लोकप्रिय कविता हो । कविले बाह्र घण्टे ड्यूटीमा उभिरहेको एउटा चौकीदारको मनोवादलाई कलात्मक भाषाको प्रयोग गरेर काव्यरूप दिएका छन् । बिम्ब र भाषिक सम्प्रेषणले कविता उत्कृष्ट छ ।

‘महेश’ले भने कवितामा आफू र कुकुरबीचको तुलना गरेका छन् । आफू र कुकुर (डोबर) दुबै चोकीदार दुबै बफादार तर डोबर मालिकको प्रिय छ, किम्ति खाना खान्छ, महगो बाथटबमा नुहाँउछ । ‘डोबर मान्छे जस्तो, मान्छे डोबर जस्तो’ छ किनकी मान्छे भएर पनि मान्छे उपेक्षित छ ।

“ऊ भुक्छ म बोल्छु
इर्ष्याले आफैलाई पोल्छु
यसको पित्त छ
मेरो सानो चित्त छ
थाह छैन उसमा कस्तो बेदना छ
तर ममा भने
दुबै चेतना र समवेदना छ ।”

(डोबर र म)

कवि दिपा एवाई राइले हङ्कङ शहर भित्रको पीडा लेखेकी छिन् । उनी एम्बुलेन्सको साइरनसँग हङ्कङ दौडिएको देख्छिन् । दमकलसँगै तड्पिएको देख्छिन् । जक्की क्लब वरपर शहरका चोटहरूदेख्छिन् ।

“यो हङ्कङ शहर दुखेको छ
तेसैले म विक्षिप्त छु

यी साँझ बिहान
दिन र रातहरूमा ।”
(हङ्कङ शहर)

कवि डीवी पालुङ्वा ‘गम्भीरमानजी’ मार्फत हङ्कङेली नेपाली समाजको प्रतिबिम्ब उतार्छन् । हङ्कङ एउटा मिनी नेपाल हो, जहाँ समाज छ, राजनीति छ । विभिन्न अवयवहरू र एजेण्डाहरू छन् । नेपालीको आफ्नै जीवनशैली छ । तर, उत्तिकै विकृति पनि छ । त्यहाँ ‘गम्भीरमानहरू’ छन ।

“व्यक्ति पहिचानको महत्वाकांक्षाले
मेरो मित्र गम्भीरमानजीलाई
बेस्सरी चिमाट्यो र छटपटायो …”

(गम्भीरमानजीलाई)

कवि टोपबहादुर याक्खा हङ्कङले खाइपठाको सपनालाई राइफलको च्याम्बरमा फसिरहेको गोलीजस्तो भन्छन् । नौ लाख तारा जस्तै अहोरात्र खटिन्छन हङ्कङमा सपनाहरू ।

“… हो खन्दैछु
बिशाल एमटीआर दौडने टनेलहरू
पुर्दैछु समुद्र
र ठड्याउदैछु
गगनचुम्बी भवनहरू ।”

(सपना)

कवि मनू कन्दङ्वा समुद्र र जुनकिरीहरूलाई जिजीबिषाको सारथी बनाउछिन् । रात कता–कता सन्त्रासमय छ, तर ‘कलरफूल’ जुनकिरीहरूको मौन नृत्यले मन भुलेको अवस्था छ ।

“म भने जहाँको तहिँ छु
मेरो समुद्र मेरो रातको जुनकिरी
मेरो ‘फस्टफेरी’
मलाइ सधैं साउती मार्ने
समुद्रमाथिको मेरो जुनकिरी ।”

(समुद्र, जुनकिरी र म)

यस सङ्ग्रहमा संग्रहित सबै कविता ऐया आत्थामा सिमीत छैनन् । यसमा कविका विविध कविताहरू छन् । जस्तै–

कवि नेत्र प्रकाश जुनकिरी आफ्नो घरको अपनत्व यसरी पोख्छन्–

“आभाष होस जहाँ
पखेटा भित्र छ कोही
जस्तै चिंगनालाई पोथीले राखेको ।”

(मेरो सानो घर)

भयवादी कवि देश सुब्बाले आफ्नो कवितामा इश्वर भयको तर्क गरेका छन् । पशुहरूमा ईश्वर भय नभएर पनि जीवन चलेको छ, तर मान्छेमा ईश्वरप्रति किन यति धेरै प्रश्नै प्रश्न ? कविता तर्कशील छ–

“कृपया ईश्वर मलाई बताऊ
पशुहरू किन मरिहत्ते गर्दैनन् तिमीलाई पाउन ?

तिमी बिना पनि जीवन चल्ने रहेछ ।”
(पशुको इश्वर)

ईश्वरको कुरा गर्दा कवि कमल पौडेलले आफ्नो कविता ‘धर्मको कुहिरो’मा भ्रमैभ्रमको प्रस्फुटन गरेका छन् । उनको कवितामा घर्मको नाममा भएका मानवीय ध्रुवीकरण र पाखण्डलाई औल्याइएको छ ।

र, कवि टंक सम्बाहाम्फेको कविता ‘बुद्धको खोजी’मा शान्तिको पैरवी गरिएको छ । शान्तिको खोजी गर्ने कविमा त्रिभुवन लुम्फङ्वा पनि हुन् । उनले ‘बिथोलिएको छ दूनीयाँ’मा विश्व शान्तिको कामना गरेका छन् ।

यस्तै, कवि नरेश सुनुवारको कविताले देशको राजनीतिको वर्तमान असन्तुलन र असन्तुष्टीलाई पोखेको छ । शासकले गरेको सिमाङ्कनले देश कमजोर बन्ने संकेत छ ।

“मेरो देश !
शासकहरूले कोरेको सिमानाले
तिमीलाई रक्षा हैन
बिलखबन्धमा पार्छ ।”

(शासक र सिमाना)

हेम कुमार लावतीको ‘यी यथार्थताहरूमा’ कविताले असल नायकको कल्पना गर्दै वर्तमान समयमा तेस्तो नायक केवल तस्वीरमा सुहाउने तर्क गरेका छन् । मगेन राई ‘किराती’को ‘हङकङमा गणतन्त्र दिवस’ कविताले भ्रष्ट र गैरइमान्दार राजनीतिप्रति आक्रोश पोखेको छ ।

त्यसैगरी दाजु गुरुङको ‘भीर’ कविताले जीवनको कटु यथार्थलाई बोल्छ । भीर जीवनको बिम्ब बनेको छ । रिता गुरुङको कविता ‘स्वप्न तिर्खा’ र चन्द्र मादेन ‘आन्छन’को कविता ‘प्रवासीको बिलौना’ले देशभक्ती भावना बोकेको छ । पूर्णीमा शाहको कविता ‘खै कहाँ छ मेरो अस्तित्व’ले जीवन मूल्य खोजेको छ र पदम चेम्जोङको ‘उन्मुक्त जीवन कस्को छ र’ले उन्मुक्त जीवनको कल्पना गरेको छ भने धन यक्सोको कविता ‘जीवनको परिभाषा खोज्दा’मा जीवनका अनेक परिभाषा र भ्रमहरूको प्रस्फुटन गरिएको छ । सुनीता गिरी (राना) को कविता ‘आमाको सपना’ले मातृत्व र असल सन्तानको चाहना राखेको छ । मेख बहादुर आलेको कविता ‘कुर्ची’ले सत्ता मोहप्रति व्यंग्य गर्छ भने पी एम परदेशीको ‘सदाबहार मेरो टारबारी’ र लालबहादुर गुरूङको ‘मेरो गाँउ’ले जन्मभूमी साथै गाँउ प्रेम व्यक्त गर्छ । विष्णु कुमार इङ्नामको कविता ‘सम्झौता’लाई चाहिँ कविता भन्दा गीत भन्न बेश होला !

अब पुन माथिको प्रसङ्ग जोडौंः

हामीले भोगिरहेको समय र परिवेश लेख्दैमा हाम्रो सिर्जनाहरु स्तरहीन या अश्रृजनशील भइजाने तर्कप्रति सहमत हुन सकिन्न । यो हाम्रो अस्तित्वप्रति चुनौती पनि हो । केन्द्रीयता र क्षेत्रीयताको चस्माले हेरियो भने हाम्रो साहित्य कमजोरै देखिन्छ । पुर्वाग्रहको चस्माले हेर्दा या म नै उत्कृष्ट हुँ भन्ने घमन्डले हेर्दा अन्य सबै कमसल मात्र देखिन्छ । तर हामीले के चाहिँ सोच्न पर्छ भने हामीले लेख्दै गर्दा थाहै नपाइ कुण्ठा मात्र लेखिरहेका त छैनौं ? त्यो लेखिदै गर्दा श्रृजनात्मक पक्ष कमजोर बनेर त गाछैन ? पाठकको मूल्यांकनमा हाम्रो साहित्य कुन स्तरको ठहर हुन्छ ?

हामी कवि हुनुको आत्मरतिमा रमाइसकेका हुन्छौं । हामीले राम्रो साहित्य कसरी लेख्ने त्यसको अध्ययन मनन गर्दैनौं या समय हुदैन । आफ्नो श्रृजनालाई आफैले अध्ययन गर्दैनौं । अरूले राम्रो भनिदियोस् भन्ने मात्र सोच्छौँ । सोच्नु जरूरी छ की बाहिर बसेर लेख्नेहरूले कतिको स्तरीय साहित्य लेख्दैछन् ।

अन्तमा यस सङ्ग्रहको कविताहरूमा ऐया आत्था अवश्य छ । कला पक्ष कमजोर भएका कविता धेरै छन् । बिम्बको प्रयोग छैन या एकदमै कम छ । तर सुन्दर कविताहरू पनि छन् । परिपक्क र शसक्त कवि हांगयुग अज्ञातदेखि स्थापित भयवादी लेखक देश सुब्बा पनि यसै सङ्ग्रहमा छन् ।

यस सङ्ग्रहमा बिष्णु कुमार इङ्नाम, धन याक्सो, लाल बहादुर गुरुङ, मेखबहादुर आले, पदम चेम्जोङ, पि.एम परदेशी, सुनीता गिरी र त्रिभुवन लुम्फुङ्वा जस्ता नयाँ कविहरु देखा परेका छन् भने हङ्कङमै रहनुभएका प्रकाश छाङ्छा, मोती चाम्लिङ, रूद्र नाल्बो, रविन राई, निरज राई, जुनू राना, कविता राईहरू लगायत शरण सुब्बा, क्रान्ति सुब्बा र किराती जेबी राई जस्ता अन्य राम्रा कविहरुको कविता परेका छैनन् । कारण जेसुकै होस् । सबैको कविता परेको भए सुनमा सुगन्ध हुने थियो ।

अशोक चाम्लिङ राई

हाल भर्जिनिया