मिठो भाषण ठोक्नेसँग होसीयार ।
फूलको थुङ्गा बोक्नेसँग होसीयार ।
आँखा तर्नेसँग नडराउनु कहिले,
आफ्नै अधर टोक्नेसँग होसीयार ।
सूनचाँदी व्यापारीले ठग्दैन बरु,
माया प्रित जोख्नेसँग होसीयार ।
कस्तो जमाना यस्तो हुन थाल्यो,
स्वास्नी आफ्नै लोग्नेसँग होसीयार ।
संसार अहिले अभिनयको छ,
आँखाबाट आँशु पोख्नेसँग होसीयार ।
***
आला घाउहरु छन् र खतहरु छन् ।
जति हिँडे पनि नपुग्ने पथहरु छन् ।
होलान् तिमीसँग सुनौला सपनाहरु,
मसँग त तिमी सम्झने लतहरु छन् ।
आँसु सकाउदैमा युद्ध जित्या नसम्झ,
तिमीलाई डुबाउन रगतहरु छन् ।
गर्दै जाऊ अपराध नथाकुन्जेल तिमी,
सफाई दिन तयार अदालतहरू छन् ।
जीवी गजल, इटहरी