April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

संस्मरणः युद्ध जानु अघिल्लो रात

1.6K

भीम राई

कुरो सन् १९९० को हो । म उमेरले ठ्याक्कै २५ टेकेको थिएँ । र, त्यसताका पल्टनघरमा थिएँ । त्यहाँ छँदा मैले ‘लाठे’ उपनाम पाएको थिएँ । पल्टने भाषामा चुकचुकाउँदो बैंसालु जवान भएका जो कोहीलाई लाठे भन्न स्वभाविकै ठानिन्थ्यो । त्यसबेला मेरो पल्टन हङकङमा थियो । पल्टन त्यहाँ हुँदा म यातायात विभागको टुकडीमा काम गर्दथेँ । तिनै यातायात विभागलाई पल्टनघरमा गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) भन्ने चलन थियो । अहिले जिटिआरको आयु सकिएर छुस् भइसकेको छ । तैपनि पहिले थियो है भन्ने ‘ब्रिगेड अफ गोर्खाज’ को इतिहासमा निश्चय नै जीवित रहेको छ । अब पुनः खडा हुन्छ कि हुँदैन, त्यो त सायद भविष्यले नै बताउँने छ ।

तत्कालिन समयमा जिटिआरको दुईवटा उपशाखाहरु पनि थिए । जसलाई उतैतिरको भाषामा भन्नुपर्दा ‘स्क्वाड्रन’ भन्नु पर्दथ्यो । ती दुईवटा स्क्वाड्रनहरुमध्ये २८ यातायात स्क्वाड्रन गन क्लब हिल ब्यारेक्स, काउलुनमा अड्डा जमाएर मज्जाले बसेको थियो भने अर्को स्क्वाड्रनलाई ३१ स्क्वाड्रन भन्ने गरिन्थ्यो । जुन स्क्वाड्रन चाहिँ बोर्नियो लाइन्स, सेकङ (न्यू टेरिटोरिज) मा गज्जबले अखडा जमाएको थियो । वास्तवमा ती दुवै स्क्वाड्रनहरुले यति धेरै अखडा जमाएर बसेका थिए कि अन्य पैदल सेना (इन्फेन्ट्रि बट्टालियन) का सदस्यहरुले यातायात रेजिमेन्टका मानिसहरुलाई त्यसैले ‘होम गार्ड’ भनेर हेला मात्र गर्दैनथे अनादर, अपमान र बेइज्जतको उपनाम पनि दिएका थिए ।

Advertisement

के हो होम गार्ड ?

यसको सरल जवाफ दिने हो भने त्यहाँ कार्यरत सदस्यहरु हङकङदेखि बाहिर जाने अवसर पाउँदैनन् भनेर राम्ररी बुझिन्थ्यो । अब हङकङदेखि बाहिर जान नपाएपछि त्यहाँ काम गर्ने मानिसहरुले वेतन पनि थोरै पाउँथे । न्युनतम तलवमा काम गर्नु परेपछि सँगसँगै भर्ती भएका तर पैदल सेनामा काम गर्नेहरुसँग पैंठेजोरी खेल्न सकिदैनथ्यो । आफू सँगैका नम्बरीले नेपाल छुट्टीमा जाँदा धरान वा पोखरामा घडेरी किनेको सुन्दा आफू हकदेदे पर्नुपर्थ्यो । त्यति मात्र कहाँ हो र ? जसको घर, घडेरी र गाँठ हुन्थ्यो, उसैले रोजारोजा युवती बिहे गर्ने चलन थियो ।

जुलाईको समयमा हङकङमा असाध्यै गर्मी हुन्थ्यो । ‘तँहरुलाई थाहा छैन, हङकङको गर्मीले भङ्गेरा लडेर भुइँमा बङ्लङ्गै झर्छ’, रिक्रुट हुँदा गुरुजीको अम्माइन त्यसरी सुरु हुन्थ्यो । हुनत रिक्रुटलाई रिकुटे, रेक्रुट वा थङरुट भनेर विभिन्न नामले पुकार्ने गरे पनि केही फरक पर्दैनथ्यो । त्यहाँ प्रयोग हुने ती सबै शब्दहरु हेपाहा, नीच र क्षुद्र भाषाका लागि बनेका थिए ।

अझै गोर्खा फेमिली लाइन्समा आफ्नो जीवन सङ्गिनीसँग झगडा परेपछि जुङ्गामा ताउँ लगाउँदै माओ त्से तुङ साइकलमा खुरुरु आउँने गुरुजीहरुको हृदयमा कहिलै पनि दया पलाएको जस्तो लाग्दैनथ्यो । किनभने रिक्रुटलाई देख्ने बितिक्कै गुरुजीको शब्दकोषमा दुम्बाभन्दा अर्को शब्द हुँदै हुँदैनथ्यो । हुन त हङकङ जस्तो व्यस्त सहरमा आफ्नो जीवन हराएर अधिकारवीहिन भएका मानिसहरुलाई आखिर जेसुकै भनेर पुकारे पनि के नै पो फरक पर्थ्यो र ? त्यसैले गोर्खा रेक्रुट तालिम केन्द्र, मलाया लाइन्समा त्यसकै बढी अभ्यास हुने गर्दथ्यो ।

खयर जे सुकै होस् । थङरुट उत्तीर्ण भएपछि चालक भएको मान्छे, म । चालक भएर तिनै तालिम केन्द्रमा पटकपटक जाने कर्तब्य (ड्युटी) परिरहन्थ्यो । अझै गर्मीको समयमा एकहातमा क्रिमसोडा र अर्को हातमा फोरटन ट्रकको स्टेरियङ् घुमाउँदै मलाया लाइन्स पुग्त्ता, ‘होम गार्ड आयो बाटो छोड,’ भनेको यदाकदा सुन्ने गरिन्थ्यो । त्यहाँ कार्यरत इन्फेन्ट्रियर गुरुजीहरुको त्यस्तो हेपासी बोलिले कन्पारो झनन् तातिएर आउँथ्यो । तर उनीहरुकै मुखबाट प्रष्फुटित अमिलो वाक्यांश, ‘वेश्यालयमा भर्ती हुनु र सेनामा भर्ती हुनु एउटै हो,’ भनेको घरीघरी सम्झन्थेँ । र, मनलाई हल्का शान्ति दिन्थेँ । तर त्यसको माने चाहिँ जस्तोसुकै परिस्थिति आइपरे पनि वेश्या र सिपाहीले सहनुपर्छ भन्ने नै बुझिन्थ्यो ।

पल्टनघरको समयले नेटो काटिरहेको थियो । बोर्नियो लाइन्समा स्थायी बसोबास गर्नु परेकोले होमगार्ड उपाधि त यस्सै पाइरहेको थिएँ । तर कसोकसो चन्द्रमा दाहिने भएर दोश्रोचोटी हजुर महारानी (अहिले राजा) को देश बेलायत टेक्नको लागि गोर्खामेजरको अन्तवार्तामा जानुपर्ने भयो । त्यसबेलासम्म मोटरसाइकल, कार, ल्याण्डरोभर, फोरटनर र कोच चालकसम्म भइ टोपलेको थिएँ । अब मैले त्यतिमा मात्र गौरव अनुभूति गरिरहेको थिइँन । झन् निकट भविष्यमा वारियर (टैंक) चलाउँने अवसर जुर्दै गरेकोले मन हावामा फुरुरु उँडिरहेको थियो । तैपनि अझै सल्सबरी प्लान, बेलायतमा । त्यसैले अर्को दिन चालक रोहित राईसँग रेजिमेन्टल मफ्तिमा सजिएर चुरुमचुरुम हाइल्याण्डर सुजको आवाज निकाल्दै सर्लक्क देवानन्द शैलीमा रेजिमेन्टको मुख्यालय पुगेका थियौँ । हामी त्यहाँ पुग्दा तत्कालिन साजर्न्ट गोपीमान प्रधान, कर्पोरल पूर्ण शाही र चालक रिन्जी शेर्पासँग हाम्रो भेटघाट भयो । तर उहाँहरुसँग भेट हुने बितिक्कै – ‘साथीहरु के हो ? जुत्ता त अलिक मज्जाले टल्केको छैन ? यस्तो उमेरमा त जुत्ताको नखमा टिलिक्कै अनुहारको छायाँ पो देखिनु पर्ने हो !’

अनायसै त्यसरी खोलिएको कर्पोरल गुरुजीको मुख एकदम चोटिलो बनेर आयो । उहाँको कुरो सुनेपछि मैले रोहितको अनुहारतिर एक झलक हेरें । उनको अनुहार बिहानीपखको स्वर्ग डढेझैँ सुस्तरी रातो हुँदै आइरहेको थियो । मैले भने चिट्चिट् पसिना छुट्न थालेको महसुस गरिरहेको थिएँ । तर गुरुजीको कुरो सुनेर हामी दुवैजनाको मुखदेखि एक्कै शब्द फुत्कन सकेको थिएन । हामी केही बोल्दै नबोलेपछि म तिर तिरिरि हेरेर– ‘एइ चडके ! अझै तिमी त यस बर्षको जेएलसीमा फस्ट भएको मान्छे पनि होइन ? अलिक समयमा नै होसको दवाइ खानु है ।’ सार्जन्ट गुरुजीले भारीमाथि सुपाडी थपेर टोकाइ दिन थाल्नुभयो । उहाँको कुरो सुनेपछि मैले कोईलीकोझै मधुरो स्वरमा, ‘हजुर ! गुरुजी,’ मात्र भन्न के खोजेको थिएँ । अचानक मेरो सास टुङ्गि हाल्यो । ‘साथी हो ! अलिक चडके भइएन भने म जस्तै बुढो सिपाही हौला नि ?’ रिन्जी गुरुजीले पनि बिस्तारै बल्दै गरेको आगोमा घ्यू थपिहाल्नुभयो ।

त्यो अध्याय एकछिनको लागि त्यतिक्कैमा समाप्त भयो । उहाँहरु तिनैजना २८ स्क्वाड्रनमा कार्यरत हुनुहुन्थ्यो । रोहित र म चाहिँ ३१ स्क्वाड्रनमा काम गरिरहेका थियौं । तर के गर्ने ? बेलायत जानको लागि हर्षित मुद्रामा अन्तरवार्तामा हिँडेको मानिस पहिलो गाँसमा नै ढुँगा भेटिहालियो । हुनत पल्टनघरमा टोकाइ खानु कुन चाहिँ ठूलो कुरो हो र ? कुकहाउसमा सार्जन्ट दिमाक सिङ्ग राई गुरुजीले पकाउनु भएको दुम्बाको मासुको स्वाद भन्दा कोहिबेला मिठो र स्वादिलो हुने गर्दथ्यो । तर असाध्यै भोक लागिरहेको छ भने त खैँ कुन्नि हैं यस्सै भन्न सकिन्न । कुकहाउसमा फर्फर भुटिदै गरेको दुम्बाको वासना नाथन रोडको छातीभरि पोखिँदा मन भरङ्गै हुने गर्थ्यो । अझै छद्म भेष पहिरिएर सुश्री एसडी मनिला वा मिस साइगनको खोजीमा हिँडेको मानिस वानचाईको फुसिक्याट र नेप्च्युन पुग्न त परै जावस चुङकिङ म्यानसनको पहिलो तला चढ्न नपाउँदै यतीको झैँ उल्टो पाईला चालेर फरक्क फर्किन मन लागि हाल्थ्यो ।

खाने कुरोको कुरै छाडौं । र, एकछिन परेडको कुरो गरौं । हातेघडीले समय बिहानीको ठीक १० बजाएको थियो । १० बज्ने बितिक्कै हाम्रो सामु रेजिमेन्टल सार्जन्ट मेजरको उपस्थिति भयो । हामी त्यसबेला रेजिमेन्टको मुख्यालय अगाडी खडा थियौं । उहाँ आउने बित्तिक्कै हामी सबैजनालाई ‘अटेन्सन’ भन्ने कासन दिएर सुरिलो पोजिसनमा तैनाथ गराइ हाल्नुभयो । केहिबेरपछि हातमा सानो छडी खेलाउँदै–खेलाउँदै कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल पौल गिल्हाम एसक्यु र गोर्खामेजर मेजर (क्युजिओ) काजिमान लिम्बू एमभिओको आगमन भयो ।

उहाँहरु लौरो हल्लाउँदै हाम्रो नजिक आइपुग्नै लाग्दा रोहित गुरुजीले सानो स्वरमा, ‘हेर ! मनाङ्गे र आम्फैको स्वाङ !’, भनेर मैले सुन्नेगरी उहाँहरुको उपनाम छुसुक्कै भन्नुभयो । अब म यसै त सबैभन्दा जुनियर र फुच्चे थिएँ । त्यसैले त्यति ठूल्ठूलो सैनिक अधिकृत साहेबहरुको उपनाम किन त्यस्तो रहन गयो होला भनेर सार्है निधिखुदी गर्न खोजिनँ । अघि नै भारी पुग्ने गरी टोकाई खाइसकिएको मान्छे । बरु पोइन्ट जान्छ भनेर वाइवाइ उँभिरहें ।

जस्ले जे सुकै भनेता पनि रोहित गुरुजी अलिक ढुक्कैको मानिस हुनुहुन्थ्यो । उनीसँग मेरो तुलना गर्ने हो भने बरु म चाहिँ अलिक खन्तरे नै थिएँ । अब त्यहाँ उभिरहँदा अलिक सकरात्मक भएर, – ‘जानेको जति खरिखट्टै काम गरिन्छ, तर कसैलाई हल्ट पुकारिदैन,’ त्यो सिदान्त अपनाउछु भनेर सोच्न थालें । अब कसै कसैलाई हल्ट पुकार्न थालियो भने पल्टनघरमा ओभर बाठो दुम्बा (ओबिडी) नाम त यस्सै पाइन्छ नै त्यहिँमाथि चाँदे पनि भेटाइ हालिन्छ ।

चाँदे भेटेपछिको जिन्दगी भने पल्टनघरमा कदापि सजिलो हुने छैन भन्ने मेरो मनमा लागिरहेको थियो । किनभने त्यहाँ कागको फुल चोर्न रातको प्रतिक्षा गरिरहन पर्दैन । कसैकसैले दिउँसै चोरी हाल्छ । कागको फुल चोर्ने मात्र होइन, झुटो हर्कते, पोइन्टे र सुख्खा डटफटेदेखि जिउँन सरल स्वभाव भएका सिधा साधालाई निक्कै हम्मेहम्मे पर्ने गर्छ । तर, पल्टनघरमा सबैभन्दा खतरा चाहिँ खैनी मोल्ने, कादुरीको भाले पोल्ने, ताइलाम चुङ् जलाशयको माछा मार्ने र बाटोका ेलागि भनेर बियर फुटाउँनेदेखि होइन, घोडा दौडको टिकट काटिदिनेसँग चाहिँ अति नै सावधान रहनुपर्ने हुन्थ्यो । ती मानिसहरुसँग बँचे मात्र नोकरी बँच्न सक्थ्यो । नत्र बल्लबल्ल बेलायत यात्रा तय भएको पनि एउटै युनिफर्म लगाउने दुश्मनले ‘चामाथुङ्मा’ गराई दिइहाल्थ्यो । अनि त्यसपछि होमगार्ड शब्द प्यारो भैं हाल्थ्यो । अब त्यो प्यारो भएपछि भने उहि त हो । छुट्टिको दिन डक कम्पनीबाट एक क्यान सिङ्गापुरे बागको दुध ल्यायो । एक स्वाटमा नै सिध्यायो । अनि बिस्तारामा बङलङ्गै उतानो परेर दिनभरी सुत्यो । सिलिङमा झुन्डिएको पङ्खा कति चोटी घुम्छ भनेर हेर्यो र दिन कटायो । अझै त्यतिले मात्र भतभत्ती पोलेको दिल के सन्चो हुन्थ्यो र ? छिमेकी विस्ताराको नम्बरीले पैसामा आइरन लगाउँदै गर्दा आफ्नो मन कटक्लकटक खानु मात्र होइन गहिरो खाडल परेको घाउमा नुनचुक हालेको जस्तो महसुस हुन्थ्यो । त्यसैले त्यो सबै हर्कत बुझेपछि आफ्नो मुखलाई धारिलो छुरा बनाउनुभन्दा त बरु तोक्सम्बा भएर बस्नु नै उचित हो जस्तो लाग्थ्यो ।

आखिर जतिसुकै लामो दाम्लो बाटेपनि कुरो टुङ्गामा पुर्याउन खोजौं । त्यहाँ कमाण्डर र जिएमको आगमन भएपछि हामी सबैको सास निभ्न लागेको टुकीझैँ मधुरो भइरहेको थियो । सायद त्यसैले होला, उहाँहरुले हामीलाई धेरै अगेराबगेरा र अम्माइन लगाउन चाहनु भएन । तैपनि गोर्खामेजरले निक्कै ठूल्ठूलो स्वरमा, ‘ल ! तिमेरु वारमिनिष्टरमा वारियर टैंक सिक्नु जाँदैछौं । त्यसैले त्यहाँ पुगेर राम्रो काम गर्लास् ! जिटिआरको नाम उच्च राख्लास् ! यदि कसैले काम बिगार्यो भने मैले खाली खुट्टा घर पठाउनु जानेको छु ।’ त्यति भनेपछि लौरो यस्तरी उचालिएको जस्तो लाग्यो कि, मङ्गल ग्रहको नजिक रहेको एस्टोरोइट पेटीमात्रले त के मान्थ्यो र ? त्यो भन्दा दुई प्रकाश बर्ष टाढा रहेको कुइपर पेटीसम्म पुगेको अनुभूति भयो । अनि चेतावनी पनि यति कडा लाग्यो कि, ओलाङचुङगोलादेखि मातेको लिम्बू कराउँदा ताप्लेजुङ र पाँचथर पुरै थर्किए झैँ हाम्रा मन थरर थर्किने गरी । त्यसपछि अन्तमा, ‘आरएसएम ! क्यारि अन,’ भन्ने हुकुम बर्सेपछिमात्र मन ढुक्क भयो ।

उहाँहरु बिलुप्त हुनुभएपछि सार्जन्ट गुरुजीले, ‘ल पार्टी हो । जिएम साहेबको कुरो सुनिहाल्यौ होला ?’ भनेर थोरै चकाब दिनुभयो । तर त्यतिको कडा स्वर उहाँको आएन । सायद पाल्पा, बुटवल र भैरहवाको पानी पूर्वी पहाडको जस्तो कडा हुँदैन होला ! बरु उहाँपछि कर्पोरल गुरुजीले सोहि कुरोलाई अलिकति मरमसला थपेर बेजोडले प्रस्तुत गर्नुभयो । हुन त पल्टनघरमा त्यस्तो हर्कत कति सुनियो, देखियो र दिनैपछि सुनेर आइरहेकै हो । बरु के गर्नु । सबैभन्दा दुःखलाग्दो कुरो त नयाँ हाइल्याण्डर सुजले खुट्टाको औंलाहरु सबै सिध्यायो कि भन्ने ठूलो पीरमा थिएँ । किनभने त्यसबेलासम्म खुट्टाका औँलाहरु टन्टन् दुखिरहेको थियो ।

बडो मुस्किलले दुवैजना गुरुजीहरुको लेक्चर सकिएपछि रोहित र म बोर्नियो लाइन्स, सेकङ जानको लागि बाटो तताउन थालिहाल्यौं । गन क्लब हिल ब्यारेक्सलाई आँधी चक्कर मारेपछि कारले सुस्तरी गति लिन थाल्यो । वाटर लु रोडको ट्राफिकले केहि समय नष्ट गरेपछि चुनवान सहरलाई बिदाइ गर्यौं, अनि कछुवा तालमा रुट ट्विस्कको उकाली चढ्न थाल्यौं । त्यहाँका असंख्य घुम्तीहरु काट्दै जाँदा जाबो जिन्दगी पनि ब्यार्थै छ है ! भन्ने लागिरह्यो । मैले एकोहोरो त्यसरी कार हाँक्द्रै गर्दा टाउको फर्काएर रोहित गुरुजीको अनुहारतिर एकखेप राम्ररी हेरें । त्यसबेलासम्म एक्कै बचन नबोलेको गुरुजीको हृदयलाई पनि मान्नैपर्छ भन्ने मनमनै लाग्यो । त्यसपछि टाइमोसान पर्वत ताकेर उकाली चढदै गर्दा उनको बिषयमा झन् नानाभाँती सोच्न थालें ।

रोहित पल्टनघरमा मभन्दा एकबर्ष अगाडी भर्ती भएका सदस्य थिए । त्यसैले पल्टने साइनो अनुसार मैले मोलमालको साथमा उनलाई गुरुजी भनेर श्रद्धाभक्ती चढाउँनु पर्थ्यो । नत्र, ‘एइ काने ! कर्पोरल गुरुजीको अगाडी सर्लक्क तन्काउन लैजाउँ,’ भनेर खप्पि नसक्नु गरिहाल्नु हुन्थ्यो । पल्टनघरले दिएको अधिकार प्रयोग गरेर मलाई हैरान बनाउँनु हुन्थ्यो । उनको सैनिक नम्बर ६१६५ थियो । त्यसैले हरबखत बोल्ने क्रममा मैले ६५ गुरुजी भनेर सम्बोधन गर्दथे । उनी बुताङ पाछा, बान्तवा राई र घर चाहिँ पूर्व ४ नम्बर बोखिम, भोजपुर । अथवा मेरो छिमेकी जिल्ला । तर, म चाहिँ खोटाङ्गे अनि निख्खुर राईको छोरा । त्यसैले थर राई । अनि उपथर चाम्लिङ । पाछा दालङ्गे । सामै सिबिली रोधिता । र, नुङ हछाली लाहुर बुङ् ।

त्यस मानेका रोहितको थर राई भएपनि मभन्दा अलिक फरक नै थियो । किनभने उनको बाबु राई र नेवार्नी आमाको ठिम्बर छोरो । ठिमाहा छोरो भएकै कारण उनी मभन्दा हल्का श्यामश्र्वेत वर्णका थिए । हरबखत नुनको सोझो गरेर खरिखट्टै काम गर्ने लगभग ५ फिट ४ इन्च उँचाई भएका उनलाई मैले पल्टनघरमा ज्यादै मेहनती, फर्साइलो, मिलनसार र मृदुभाषी पाएको थिएँ । अझै यस्लाई यसरी पनि भन्न सकिन्छ– ठगाहा, जाली, फटाहा, भाईमारा, बिन्दास वा सुरदास भन्ने उनको जीवनमा मैले कहिल्यै देखिनँ वा भेटिनँ पनि ।

उनी मभन्दा एकबर्ष अगाडी भर्ती भएतापनि समय जाँदै गर्दा हामी एक अर्कामा निक्कै नजिकको साथि भइसकेका थियौं । चाहे त्यो खेलमा होस् वा ड्रिलमा । उनी ज्यादै भात्रृत्वप्रेमी थिए । त्यति धेरै हिमचिम भएका हामी दुवैजनाको रोचक पक्ष भनेको चाहिँ मोलमाल नै थियो । जस्लाई हामी दुवैले भान्जी बराबर मान्दथ्यौं । मेरोभन्दा उनको एउटा कमजोरी पक्ष पनि थियो । टाइपोमा बनेको कार्ल्सबर्ग बियर निसुन क्लबमा मैले एक्कै घुट्कीमा स्वाट्टै बनाउँदा उनले आधा क्यान पनि मुस्किलले सक्थे । त्यसैले उनको तुलनामा म थोरै घामड मात्र नभएर भष्मसुर पियक्कड पनि थिएँ ।

बोर्नियो लाइन्स, सेकङमा एउटा अर्को एकदिन सुनौला दिन भएर उदाएको थियो । समयले त्यस्तै मध्यान्ह पार गरिसकेको थियो । हामी त्यसबेला बेलायततिर बरालिनको लागि ब्लक नम्बर ३ लाई बिदाई गर्नै लागेको थियौं । सरकारी सन्दुक, किटब्याग र गोर्खा ह्याट साथमा लिएर हामी मुनि जमीनमा झर्दा हामीलाई बिदाई गर्ने एकजना मानिस पनि देखापरेका थिएनन् । तैपनि एसक्युएमएसकोमा थोत्रो म्याट्रेस बुझाउँदा र तीन नम्बर ब्लकको कोठालाई सधैको लागि छाड्नु पर्दा रोहितले हल्का सानो मन गरिरहनु भएको थियो । तर मलाई भने खासै केही फरक परिरहेको थिएनँ । त्यसको बाबजुद कहिले युके पुगेर महिनावारी तलव थापेर नयाँ–नयाँ स्टर्लिङ पाउँण्ड क्याट्क्याट् गन्न पाइएला नि भन्ने पो सोचिरहेको थिएँ ।

तिनै पाउण्ड कमाएर काठमाण्डौमा घडेरी किन्नको लागि हुण्डी गर्ने सोच बनाईरहेको बेला चालक राजकुमार तामाङ (हाल गल्लावाल) ले ३७ सिटे सेतो कोच हामीतर्फ ल्याउँदै गरेको झल्यास्स देखापर्यो । त्यसपछि मोरोले घन्द्रङ्गै आवाज आउने गरि रिभर्स गियर लगाएर हाम्रो नजिकसम्म रिभर्स गरे । चालक कोच रोकिने बितिक्कै, ‘युके टोली,’ भन्दै सिटबाट कस्सेर कराउँदै कोचबाट मुनि झरेका थिए । उनी झर्ने बितिक्कै हामीले सामानहरु कोचको मुनिको भागमा थन्क्यायौं । र, हतारहतार कोचभित्र पसिहाल्यौं । एकछिनपछि चिनियाँहरुले पहरादिने बोर्नियोलाइन्स चौकी काटेर चट्टै क्याम्पलाई छाड्दा कताकता दिल रोइरहेको थियो । आँखाको झिमिक्कमा रोएको दिललाई काबुमा राख्ने प्रयत्न गरें । र, पातहाङ्ग प्रहरी अड्डालाई दायाँ छाडि राखेपछि कोच सर्लक्कै फानकाम रोडतर्फ मोडि हालियो ।

त्यो सडक कोच हाक्नको लागि त्यति ठूलो र आरामदायी सडक चाहिँ निश्चय पनि छँदै थिएन । तिनै सडकमा मेरो कोच परीक्षा लिने क्युटिओ तत्कालिन स्टाफ सार्जन्ट आसमान राईले, ‘बिस्तारै चलाउँ, बिस्तारै चलाउँ ! धेरै स्पिड गरेर के फाइदा हुन्छ र ? पक्राउँ पर्यो भने २ नम्बर ड्रेस लगाएर मात्र होइन। टोपी र पेटी खोलेर ओसी साहेबकोमा चार्ज हुनुपर्छ । तिमीजस्तो कलिलोलाई कसरी २५२ फाराम भर्नु हात मान्छ र ? अझै हप्ता दश दिनको पैसा पनि झरप्पै काटिन्छ । त्यसपछि पदोन्नति हुनु बेस्सरी मुस्किल पर्छ । उता नेपालमा आमा, बाबा, स्वास्नी र छोराछोरीहरु भोकै हुन्छ ।’ भनेर सम्झाई बुझाई खाको झलझली स्मंरण गरिरहें । उहाँको त्यस्तो अभिव्यक्तिले वास्तवमा म एकदम धमासे मान्छे रहेछु भन्ने साबित भएको थियो । त्यसबेला दिनुभएका उहाँका तिनै बाणीहरु अहिलेसम्म मेरो मष्तिस्कदेखि तिरष्कृत भएका छैनन् र हुदैनन् पनि ।

फानकाम रोड सानो भएतापनि त्यसबेला कोचको अगाडी सिटमा म बाहुनी बुँढी झैँ खन्तरिदै बसिरहेको थिएँ । त्यसैत राईको चिम्से आँखा, सिधै अगाडीबाट भिमकाया ट्रकहरु आउँदा मेरो आँखा चिम्मचिम्म भइरहेको थियो । आ… जे सुकै मरोस् है ! भनेर ढुक्कै मन भएका रोहितले कोचभित्र पस्ने बितिक्कै फाङ्स दिन थालेका थिए । उनले त्यसरी मज्जाले जिपिएस दिइरहँदा मलाई भने अब सार्जन्ट र कर्पोरल गरुजीहरुले एक बर्षमा कतिको शेष बनाउने होला भनेर खन्तर पैदा हुन थालिसकेको थियो । किनभने पल्टन घरमा काम गर्दा ग्रह र नक्षत्र मिलेन भने चाँदे मात्रै भेटिने होइन, आरटियुसम्म भएका उदाहरणहरु प्रशस्त देखिएकै थिए । त्यसैले तिनै विविध कुरोहरु सम्झँदै बिर्सदै गर्दा थोरै ब्याकुल बनिरहेका थिएँ ।

कोचले बिस्तारै फ्यानलिङ गल्फ कोर्सलाई बिदा गर्यो । त्यसपछि न्यू टेरिटोरिजका रमणीय स्थानहरु सेङ्गसुई, फ्यानलिङ, टाइपो, सातिनलाई छिचोलेर लाइनरक टनलभित्र सर्लक्कै छिर्यो । टनलभित्र छिर्ने बितिक्कै अचानक चालक राजकुमारले मलाई एक झलक हेर्यो अनि, ‘गुरुजीलाई दुई–दुई चोटी युके, हगि ?’ भन्दै उनले च्व ! च्व ! गर्यो । उनको कुरो सुनेर म केहिबेर नाजबाफ बनें । उनी मभन्दा एक बर्ष पछि भर्ती भएका हुन् । र, काकताली के परेको थियो भने उनको घरपनि रोहितको झैँ भोजपुर नै थियो ।

चालकको कुरो सुनेर म केहि बोल्दै नबोलेपछि फेरि उनैले मलाई जिस्क्याउँदै बोल्न थाल्यो । ‘धातु त तपाई पनि एक नम्बर धातु नै हो, तर मोलमाल चाहिँ निक्कै कडा छ कि के हो ? त्यसैले तपाईकै लम्पट छ त ? अब बेलायत पुगेर जुली र म्याण्डीहरुको सेतो फिला हेरेर मोजमस्ती गर्नुहोला ? तर फर्केर आएपछि सिएफसीमा एक डालो चिप्ससँग एक जग बियर चाहिँ किन्न नभुल्नोस नि फेरि । हुनत मान्छे पनि तपाइँ मेरो नम्बरी रबिन्द्रजस्तै अलिक लोभी हुनुहुन्छ ?’, उनले त्यति भनेर एकसुरमा कोच हाँकीरह्यो । उनको कुरो सुनेर मलाई थोरै हाँस उठ्यो । त्यसैले फिसिक्कै मुस्कानसहित प्रतिउत्तरमा, – ‘बियरको मात्र के कुरा गर्छौ, निख्खुर काँचो राईको छोरा हुँ । तिमीलाई सेकङ भिलेजमा बङ्गुर काटेर मेसिङ नै खुलाउँला नि ! आकाश जस्तो छाति छ के भाई ! के फिकर गर्छौं ? बरु एउटा कुरा चाहिँ याद राख्नु । म जतिसुकै धातु भएपनि अब तिमी चाहिँ धातु हुने कोशिस नगर्नु नि ! तर, अरुले कुकहाउसमा गएर मासु र भात हसुर्दा तिमी जुली क्लबमा गएर टनेला र अल्टर खाने, रातको समयमा अरु बिस्तारामा मज्जाले फाङ्स दिदा तिमी पासा थापेर झरल–झरल भन्ने, त्यतिले मात्र नपुगेर आरएमपीसँग पैठेजोरी खेल्न खोज्ने गरेउ भने त फेरि जाने बाटो त उँहि बिएससम्म मात्र हो !, सम्म भनेँ ।

मेरो त्यस्तो कुरो सुनेर उनले मुन्टो निघुँर मुन्टे न पार्यो । सिंहको मुख जस्तो आकृति भएको लाइन रक टनलबाट सुस्तरी निस्केर कोच एकाध ओराली झरिरह्यो । तिनै टनल पार गरेर काउलुन सहर छिरेपछि चालकसँग मेरो बिचार साँगुरिएका भएतापनि सडक विल्कुल चौंडा र फराकिला थिएँ । त्यसैले त्यति फराकिला सडकमा गुडेको कोचले हामीलाई एक्कैछिनमा काइटक विमानस्थलको मुखमा पुर्याइदियो । कोच रोकिन पाएकै थिएन, सार्जन्ट गुरुजीहरुलाई बायाँ सडकको पेटीमा उभिरहनु भएको देख्न सक्यौं । राजकुमारले, ‘यहिँ रोकिदिउँ कि कसो ?’ भन्दैगर्दा मैले टाउँको हल्लाएर स्वीकारोक्त्ति दिएको थिएँ । कोच रोकिने बितिक्कै रोहितसँग कोचदेखि झरि हाल्यौं । र, गुरुजीहरुलाई बेलुकीको सादर अभिवादन टक्रायौं ।

‘आइ पुग्यौ ?’ सार्जन्ट गुरुजीले सानो सवाल गर्नुभयो ।

जबाफमा, ‘हजुर’ सम्म भने ।

राम्ररी भेट हुनै पाएको छैन । कतिबेला आएर टोकाई दिउँ भइरहेको जतिक्कै, ‘ल सामान निकालेर तयार भइहाल,’ फेरि हुकुम बज्र्यो ।

गुरुजीहरुसँगको भेटमा, ‘कुकुर भेट खाइ भेट’ जस्तै भयो । मनमनै के लाग्यो भने– जिन्दगीले कम्फर्ट जोनलाई भित्रभित्र बिदाई गरिसकेको रहेछ । त्यसपछि कता जाने वा के गर्ने भन्ने नियम सुरु हुन थालिसकेको थियो । अब कहिलै सँगसँगै काम नगरेको गुरुजीहरुको साथमा हिँडेपछि लाटो हिरो (एलएच) भएर मुख टल्काउन के पाइन्थ्यो होला र ? उहाँहरु हाम्रो अगाडीअगाडी रोहित र म पछिपछि विमानस्थलभित्र छिरेर अध्यागमनलाई विस्तारै पार गर्यौं । लगातार हिँड्दै गएको केहिबेरमा ब्रिटिस क्यालेडोनियन विमानको पुच्छरमा रहेको आ–आफ्नो सिटमा गएर थपक्कै बस्यौं ।

पहिलोचोटी बेलायत जाँदा सोही विमानमा एक्लै यात्रा गरेको झल्याँस्स सम्झँदा एकछिन भएपनि मेरा मन फुरुङ्गै भएर आएँ । त्यतिबेला त्यो यात्रा कति आनन्ददायी थियो भनेर हल्का स्मृति पनि भइरहेको थियो । यसपटक भने गुरुजीहरुको चेपुवामा परेर पिना भएको छु । तैपनि मानिस भएको हुनाले तेलचाहिँ निस्कदैन होला भन्ने लागिराछ । अनि खै त्यति लामो यात्रामा के मज्जा आउला र ? भन्ने सोचिरहेको थिएँ । नभन्दै विमानको पुच्छारको सिटमा बसेको केहीबेरपछि बेलायती खानपिन भइहाल्यो । त्यसपछि कम्बलले मुख छोपेर एकचोटी सुत्दा दुबाई र अर्कोचोटी उठ्ता बेलायती भूमी ग्याटविक टेकिसकेको थिएँ ।

त्यसबेला बेलायतको स्थानीय समय बिहानीको साँढेपाँच बजेको थियो । बिना आवाज विमानले ग्याटविक विमानस्थलमा अवतरण गर्दैगर्दा मेरो मन विमानसँगसँगै गुडिरहेको थियो । विमान पूर्णरुपमा रोकिएपछी कतै यताउता ठोकिएर बिग्रिहाल्छ कि भनेर एउटा हातले गोर्खा ह्याट दर्हो समातिरहेको थिएँ । भनौं, मलाया कन्फ्रोन्टेसनदेखि फकल्याण्डसम्म थर्काएको तिनै गोर्खा ह्याटलाई पल्टनघरमा आफ्नी श्रीमतीभन्दा प्यारो गरिरहेको थिएँ । खाली रहेको अर्को हातले सन्दुक तान्दैतान्दै बेलायती ठन्डी महिनामा विमानस्थलदेखि बाहिर निस्कँदा जाडोले लगलगि कामिरहेको थिएँ ।

त्यहाँदेखि अगाडी बढ्ने क्रममा सार्जन्ट गुरुजी सबैभन्दा अगाडी हुनुहुन्थ्यो । र, हामी आफ्नो मर्यादा क्रमानुसार सिङ्गल फाएलमा हिँडिरहेको थियौं । त्यसरी हिँडेर कमिलाको जन्तीलाई चुनौती दिने क्रममा म सबैभन्दा काने थिएँ र त्यसैले फाएलको अन्तिममा हिँडिरहेको थिएँ । हुनत मानव मात्र नभएर हरेक प्राणीको जीवनमा शक्तिशालीहरु सबैभन्दा अगाडी हिँडछन् । र, कमजोरी सबैभन्दा पछि हिँडछ भन्ने त्यहाँ मज्जाले प्रमाणित भइरहेको थियो ।

केहिबेर हिँडेपछि विमानस्थलमा फेला परेको सटल सर्भिसदेखि ग्याटविकको दक्षिणी टर्मिनलमा पुगेका थियौ । बिहानी पखको जाडोले रेल स्टेसनसम्म पुग्दा मेरो नाकदेखि तुरुरु सिँगान चुहिरहेको महसुस भइरहेको थियो । त्यहाँदेखि रेल चढेर पटकपटक चढदै झर्दै गरेर अन्तमा वारमिनिष्टर पुगेका थियौं । हामी त्यहाँ पुग्दा एउटा सैनिक ट्रकले हाम्रो प्रतिक्षा गरेर बसिरहेका थिए । अब तिनै ट्रकको अगाडी सिटमा सार्जन्ट गुरुजी र बाँकी सबैजना पछाडि बसेर एक्कैछिनमा ब्याटलस्बरी ब्यारेक्सको प्राङ्गनमा पुग्यौं ।

ब्याटलस्बरी ब्यारेक्स, सल्सबरीमा पुगेपछि हामी रोयल आइरिस रेजिमेन्टसँग जोडिएका थियौं । पहिले इङल्याण्डमा छँदा इङलिसहरुको इङलिस बुझ्न मलाई कति गार्हो भएको थियो । अब आइरिसहरुको इङ्लिस सुन्दा एलियनहरुको पनि आफ्नै भाषा हुन्छ भन्ने सुनेको थिएँ, सायद उनीहरुको भाषा पनि यतिक्कै कठिन हुन्छ होला भन्ने लाग्यो । त्यहाँ पुगेर त्यो भन्दा अझै खेदको कुरो त के सुनियो भने सबै वारियार टैंकहरु धमाधम खाडीमा लगिदै छ । त्यसैले टैंक चलाउन सिक्न पाइदैन भन्ने दुःखद समाचार सुनियो । हुनत हामी सल्सबरीमा पुग्दा सबै टैंकहरु खाडीमा जानका लागि मरुभूमि रङ्गमा परिवर्तन हुँदै गरेका आफ्नै आँखाले देखेका थियौं । जस्तो सोचेर हामी त्यहाँ पुगेका थियौ, परिस्थिति त्यसको ठीक विपरित दिशामा गइरहेको थियो । त्यसपछि हामी आइरिसहरुको एमटी प्लाटुनमा जोडिएर सैन्य अभ्यासको लागि पहिले नेपाल लाइन्स सान्डर्हष्ट, क्याम्बर्लीमा जस्तै फोरटनर ट्रक चालक भएर कहिले सेन्नी ब्रिज, वेल्स र कहिले अटरबर्न, स्कटल्याण्डसम्म पुग्न थाल्यौं ।

दिनपछि रात र रातपछि दिन गर्दै महिनौं बितिरहेको थियो । एक सप्ताहन्तको समय बेलुकी ६ बजेको थियो । रोहितसगँ खाना खानको लागि न्यानोन्यानो पतलुङ र ज्याकेट सिउरेर कुकहाउसमा पुगेका थियौं । हरेक बेलुकी त्यहाँ उपलब्ध हुने गोराको खान्कीले जिन्दगी दुःखको साथ चलिरहेको थियो । त्यसबेलुकी पनि मैले एकचोक्टो बङ्गुरको मासुसँग आलुको ढिडो (मास पोटाटो), तेलमा तारेको आलुका चोइटाहरु, गुच्छाभन्दा सेक् ठूल्ठूला आकारमा ब्रसलस्प्राउँट, भुलभुल तातो पानीमा छोल्क्याएर राखिएका गाँजरका केही टुक्राहरु जम्मा पारेर एक थाल बनाएको थिएँ । हुनत खानाको प्रकारहरु सुन्दा जति धेरै लागे पनि खाँदा भने कति पनि हुदैनथ्यो । तिनै खाना खाइ सकेपछि गोजीमा हात हालेर रोहितसँग नाफिमा पुग्यौं । र, गोजीबाट हात निकालेर एक/एक क्यान फोस्टर लिएर कोठामा फर्क्यौं ।

कोठामा पुगेपछि बियरको क्यान खोलेर पहिलो घुट्की घाँटीदेखि ओरालो झर्न पाएकै थिएन । अचानक सार्जन्ट गुरुजी हाम्रो कोठामा झुल्किनुभयो । बेलुकीको मौसम रिम्रिम् अँध्यारो थियो । तिनै मौसमसँग मिल्दोजुल्दो मधुरो अनुहार लिएर उहाँ कोठामा आउँनुभएको थियो । उहाँ कोठामा आउँने बितिक्कै, ‘मेरो लेक्चर छ, सबैजना भेला हुनु !’, भन्ने आदेश दिइहाल्नुभयो । अब उहाँको आदेशसँगसँगै रोहित गुरुजीले पनि मौकाको फाइदा उँठाउँदै, – ‘लु भाई ! तिम्रो मारुनी जस्तै कलिलो हात छ, तिनै हातले सार्जन्ट गुरुजीलाई जतिसक्दो छिटो एक कप मिठो कफी बनाइ हाल त !’ सार्जन्ट गुरुजीको अगाडी उनको मुख खोलियो ।

भन्न त रोहित गुरुजीलाई, ‘के मारुनी भन्नुहुन्छ हौं ?’ टिडीबिजीमा छाती फुलाउँदै फुर्सुङ्गे भएर साकेला नाँचेको प्रमाण तस्बिरमा देखाइ दिउँ भन्न मन लागेको थियो । तर, पल्टनघरमा जागीर जोगाउनको लागि पोइन्टको एकदम सवाल हुन्थ्यो । त्यसैले यदाकदा रुच्दै नरुचेको गाँस पनि खानुपर्थ्यो । त्यसबेला अरु त के नै खानु र ? बरु घुटुक्कै एकचोटी थुक निलेर मुखमा ताल्चा लगाउनेसम्म काम गरें । तर कताकता उनको त्यो भनाइले मेरो दिल भने चैनमा छँदै थिएन ।

अझै त्यसबेला पल्टनघर मात्र त्यस्तो एउटा घर हो, जहाँ सबैभन्दा सानो मानिसले बढी काम गर्नुपर्छ र सबैभन्दा थोरै तलव पाउँछ भन्ने लागिरह्यो । तर, मैले के कुरामा हेक्का राख्नुपर्थ्यो भने सार्जन्टको अगाडी रोहितसँग मुख लाग्न पनि निःसन्देह हुदैनथ्यो । मौका पर्यो भने वारमिनिस्टरदेखि नै फटेङ्ग्राको सिङ जत्रो बिल्ला लान्स कर्पोरल भिरौँला भन्ने उनको ठूलो रहर थियो । अब त्यसो भएको हुनाले बेलाबेलामा उनले झुटो हर्कत र सुख्खा डटफट गर्न अभ्यास गरिरहनुभएको थियो । आखिर म जतिसुकै चेपुवामा परे पनि पल्टन घरमा म कुटे जस्तो र तिमी रोएजस्तो गर्नु है भन्ने नै हर्कत हुन्थ्यो ।

रोहित गुरुजीको कुरो सुनेर सिरानी नजिकै रहेको क्याटललाई टक्क गर्दै स्विच अन गरें । त्यसपछि रानी भिक्टोरियाको पालामा बनेको आलमारीलाई ठूलो आवाजसहित घन्द्रङ्गै खोले । र, आलमारीभित्र गुफा बसेको कफिको सामानहरु निकाल्न सुरु गरें । तर, आलमारी खोल्ने बितिक्कै, ‘गुरुजी, ला ! चिनी त सकिएछ !’ भन्ने बितिक्कै ‘भो भो पर्दैन ! मैले एक बोतल व्हिस्की पनि मेरै साथमा लिएर आएको छु । बरु अरु दुईजना गुरुजीहरुलाई पनि झट्ट खबर !’ गर सार्जन्ट गुरुजीले भन्नुभयो ।

सार्जन्ट गुरुजीले साथैमा व्हिस्की लिएर आउँनुभएको कुरो सुनेर म केहिबेर अन्योलमा परिरहें । यो जाबो स्कटिस पानीको ताकत पनि पल्टनघरमा कम्तिको छैन । मलाई त्यसबेला झल्यास एउटा पुरानो कुराको स्मंरण भयो । म पहिलोचोटी बेलायत आउँदा रित्तै हात सान्डर्हष्टमा पुगेको थिएँ । त्यहाँ पुगेको बेलुकीपख सोही ठाउँमा कार्यरत मेरै पल्टनको बाबुजी तत्कालिन चिफ कलर्क सार्जन्ट चन्द्र मनी क्षेत्रीले, ‘तिमीले दुबाईदेखि आउँदा जाबो एक बोतल ह्विस्की पनि नलिइ आको हो भाई ? तिम्रो पोइन्ट पटक्कै छैन है !’ भनेको सुन्दा मेरो अनुहार डढेर खरानीमा परिणत भएको थियो ।

तिनताकादेखि पोइन्ट जोगाउँन म एकदम कोशिस गर्दै थिएँ । त्यसैले पोइन्ट गइहाल्ने हो कि भनेर आगोले पोले झैं गरेर अरु गुरुजीहरुलाई बोलाउँन लागिहालें । सार्जन्ट गुरुजी हामीभन्दा केही टाढा तर अति आनन्ददायक सार्जन्ट मेसमा बस्नुहुन्थ्यो । दिउँसो कामको बेला आक्कल झुक्कल देखा परेता पनि त्यसबेलासम्म हाम्रो कोठामा उहाँ आउँनुभएको थिएन । अब कहिले नआउने भएपछि त्यस्तो के काम परेछ र यहाँ आउनुभएको होला भनेर म एकछिन त्रसित बनिरहें । तर उहाँको कुरो सुन्ने बितिक्कै म गएर कर्पोरल गुरुजी र रिन्जी गुरुजीलाई बोलाएर ल्याइहालें । उहाँहरु आएर नजिकै रहेको कुर्सीमा थपकथपक बस्नुभयो । रोहित र म चाहिँ सबैभन्दा कान्छो मान्छे । त्यसैले बिस्ताराको नजिकै भुइँमा एउटा चारपाटे म्याट बिछ्याईएको थियो । तिनै म्याटमा थपक्कै पलेटी कसेर बस्यौं ।

हामी भुइँमा बसिसकेपछि सार्जन्ट गुरुजीको मुख खुलिहाल्यो, –‘२ अगष्ट १९९० मा सद्दाम हुसेनले कुवेतलाई कब्जा गरेको कुरो तिमी हामी सबैलाई सर्वबिधितै भएको छ । तिनै लडाइको सिलसिलामा अर्को हप्ता हाम्रो एउटा स्क्वाड्रन हङकङदेखि बेलायत आउँदै छ । तिनै लडाईमा जानुभन्दा अगाडी गरिने एकहप्ते सैनिक अभ्यासको लागि हामी भोली बिहानको १० बजे चर्च कुरखाम, गोर्खा सैनिक क्याम्पमा जादैछौं । आज बेलुकीभरिमा तिमीहरु सबैको व्यक्तिगत सरसामानहरु तयार गर्नु । त्यसपछि भोली बिहान हामी त्यता लाग्नेछौं । अनि राम्ररी सुन्नु ! यो लडाईमा न्युक्लियर, बायोलोजिकल र केमीकल (एनबिसी वारफेर) हुन्छ होला । त्यसैले हामीले राम्रोसँग तालीम गर्न आवश्यक छ ।’

त्यसपछि उहाँ एकछिन बोल्नुभएन, रोकिनुभयो । उहाँको त्यस्तो अभिव्यक्तिले हाम्रो अनुहारमा कालो बादल मडारिन थालिसकेको थियो । रिन्जी गुरुजीले सानो स्वरमा, ‘म त मेडिकल ग्रेड डाउन सिपाही हो । लडाइमा के जान्थे र ?’ भनेको मैले छ्वास्सै सुनें । त्यो भन्दा अगाडी कहिलै सुनेको थिइनँ । तैपनि सार्जन्ट गुरुजीले त सुन्नु भयो कि भएन मलाई थाहा भएन । तर, लडाईमा भाग लिन जाने कुरोले हामी सबैको अनुहार कालो र निलो भएतापनि उहाँको कुरोको अझै बिट मरेको थिएन । सार्जन्ट गुरुजीले एकचोटी लामो सास तान्नुभयो र फेरि बोल्न थाल्नु भयो, – ‘यो लडाई पक्कापक्किको लडाई हो । सैनिक अभ्यास जस्तो खेलाँची हुँदै होइन । तिमीहरु सबैलाई याद रहोस् । लडाइमा जे पनि हुनसक्छ । हामी अहिले समूहमा छौं र सँगसँगै लडाईमा जादैछौं । तर, यो लडाईमा लगभग के निश्चित छ भने हामी मध्ये कोही नफर्किन पनि सक्छौं । यदि फर्कि हाल्यौं भनेपनि कतिजना आजीवन घायल भएर पनि फर्किन्छौं होला । यदि हामी शारिरिक रुपमा घायल नै नभए पनि मस्तिष्कमा चाहिँ नराम्रो असर परेको नै हुन्छ । तर सत्य के पनि हो भने हामी जे कामको लागि भर्ती भएका छौं । त्यो देखाउँने अवसर चाहिँ पाएका छौं ।’

त्यसो भनिसकेपछि उहाँले कोठाको झ्यालदेखि एकझलक बाहिर हेर्नुभयो । कोठा बाहिर मुसलधारे पानी बर्सिरहेको थियो । उहाँको कुरो सुनेर हामी सबैजना अबाक भयौं । आ…संसारमा भएका हरेक मानीसहरु भाग्यमानी कहाँ हुन्छन र ? आखिर एकदिन सबै मर्नै पर्छ । लगभग एक कोरी बाँचि हालियो, त्यसैले म त मरेपनि केही छैन । चार महिना अगाडीमात्र बुईपा, खोटाङ्मा एकजना घोर्ले छोरो जन्मेको चिट्ठी प्राप्त गरेको थिएँ । यदि मरिहालियो भने छोरोसँग भेट्ने रहर चाहिँ पुरा नहुने रहेछ भन्ने लाग्यो । तर, कसोकसो शून्य कोठाभित्र सबै गुरुजीहरुको मलिन अनुहार देखेपछि मलाई ७ फेब्रुवरी १९८४ मा धरान घोपा क्याम्पमा भर्ती भएर हजुर महारानीको तस्विर अगाडी युनियन ज्याक छोएर कसम खाँदै गर्दा खेलाँची जस्तै लाग्ने उक्त वाक्यांशलाई ‘खाडी युद्ध जानु अगाडीको रात’ विरक्तिएको भाषामा सम्झिरहेको थिएँ ।

‘वायुमार्ग, स्थलमार्ग, जलमार्ग जहाँ भेटिन्छ, दुश्मनको घाँटी छप्लक्कै बनाउँछु ।’