April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पुस्तकका बिषय चर्चायोग्य भए पाठकहरु स्वत: चर्चाको तहमा पुगिदिन्छन्- दिलिप बान्तावा

4.2K

प्रदेश नम्बर १ भोजपुरका साहित्यकार दिलिप बान्तावा हाल रोजगारको शिलशिलामा कोरियामा रहँदै आएका छन् । कोरियामा विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेका उनले कोरियाबाटै ‘ताल्चा’ कथासंग्रह पाठकमाझ ल्याए । ‘ताल्चा’ यसवर्षको ‘सहित्यपोष्ट उत्तम कृति पुरस्कार’को उत्कृष्ट पाचौं सूचि रपद्मश्री साहित्य पुरस्कारका’को १५औं सूचीमा परेका थिए भने ‘कवि विमल स्मृति पुरस्कार’ को उत्कष्ट १०औं सूचिमा परेको छ । दिलिपका ‘यादहरु मेटाएर’, ‘यी कठोर यादहरु’, ‘तिम्रो माया’, ‘म कतै शुन्यतामा’, ‘सोल्टिनी ज्यू लगायत थुप्रै गीतहरु रेडर्क भएका छन् । उनीसँग साहित्य र संगीतबारे गरिएको कुराकानी यहाँ प्रस्तुत छः

आफ्नो लेखन यात्रालाई स्मरण गर्नुहोस् न ?
खासै सम्झिने गरि त्यस्तो त छैन । खत्र्याक-खुत्रुक्क मनमा आउने कुराहरु लेखिरहन्थेँ । अझै पनि त्यसै गर्छु । काम लाग्ने, नलाग्ने सबै खाले अनुभुतिहरु पर्छन् त्यसमा । मैले सम्झनामा राखिरहेको पहिलो लेखन घट्ना भने ८ कक्षा पढ्दाको हो । त्यतिबेला कथा लेख्ने गृहकार्यमा आफ्नो चेतना र बुताले भ्याएसम्मको एउटा कथा लेखेर कक्षामा सुनाएथेँ । साथिहरु सबैले राम्रो भनिदिए । पढाउने मिसले पनि प्रशंसा गरिदिनुभएको याद छ । त्यसपछी ९ कक्षा हुँदा स्कुलमा साथीहरुले भित्ते पत्रीका तयार गर्थे, त्यसमा एउटा कविता लेखेको थिएँ । सुरुवाती अवस्थामा यिनै घट्नाहरु थिए ।

प्रायः दशैको समयमा सर्जकहरु पुस्तकहरु संकलन गर्ने गर्छन्, प्रवासमा रहेका सर्जकहरुलाई यस्तो समय मिल्ला ?
म चाहिँ प्रायः आफ्नो कुनै पनि काम कुनै नियमिततामा गर्दिनँ । अर्थात मलाई शुत्रवत काम मन पर्दैन । मान्छेहरु घुमफिर गर्न खास अवसर रोज्ने गर्छन् । त्यतिबेला त भिडभाड धेरै हुन्छ नि, हेर्न चाहेको चिज हेर्न पाईन्न । बरु अरु समयमा जाने हो, खुला हुन्छ । आफू खुशी डुल्न र हेर्न पाईयो । प्रायः दशै तिहारमा किनमेल गरिन्छ, त्यो पनि गलत समय लाग्छ मेरो लागि । त्यतिबेला त हर चिज महंगो हुन्छ । जताततै भिड हुन्छ, भिडमा समय लाग्छ । त्यसैले अरु बेला किनमेल गर्नु उपयुक्त ठान्छु । त्यसै गरि पुस्तकको जोहो पनि कुनै खास नियम वा समयमा गर्दिनँ । कतिबेला, कहाँ, कुन उपलब्ध हुन्छ त्यसै बेला भेला गर्छु । कोरियामा चाही नेपालको दशैँ छेकोमा निक्कै ब्यस्त हुन्छ । भर्खरै यहाँको मुख्य चाड छुसकको बिदा सकिएको हुन्छ । यस्तोमा धेरै जसो साथीहरु त ‘म्यासेजको रेस्पोन्स’ गर्ने समय समेत नहुने गरि काममा खटिएका हुन्छन् ।

Advertisement

कोरियाबाटै ‘ताल्चा’ कथासंग्रह पाठक माझ ल्याउनुभयो, ताल्चा खोल्ने योजना कसरी बन्यो ?
म योजना बनाएर काम गर्न नजान्ने मान्छे । काम गर्दै जाँदा जतिबेला जहाँ पुगिन्छ त्यसैमा चित्त बुझाउँछु । ‘ताल्चा’मा समावेश कथाहरु पनि “कुनै दिन संग्रह प्रकाशन गर्छु” भन्ने उद्देश्यले लेखेको थिईनँ । विभिन्न समयमा विभिन्न घट्नाहरुले बिझाईरहेको मनलाई शान्त बनाउन कथाको माध्यम रोजेको थिएँ । लेख्दै राख्दै छोडेको थिएँ । त्यो सँगै समकालीन कथाहरु पढिरहँदा ‘मैले लेखेको कथाहरु पनि पाठकले पढ्न रुचाउलान् कि ?’ भन्ने लाग्यो । साथै साथी, शुभचिन्तकहरुले पनि एक खालको हुटहुटिपूर्ण चासो राखिरहनुभयो । त्यसपछी चाहिँ प्रकाशन गर्नुप¥यो भन्ने लाग्यो ।

उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले लिम्बु गाउँ र बिना थिङको कथासंग्रह ‘याम्बुनेर’ले तामाङ गाउँको कथा बोले जस्तै तपाइँको ‘ताल्चा’ले पनि राई गाउँको कथा बोल्छ ?
उहाँहरु दुबै जना मेरो प्रीय लेखक । उहाँरुको कृतिसँग मलाई तुलना गर्नु उहाँहरुकै मानमर्दन गर्नु हो जस्तो लाग्छ । तपाईले भन्नुभए जसरी ताल्चाले राई गाउँ कै कथा बोल्छ भन्ने दाबी त गर्न सक्दिनँ । प्रयाससम्म गरेको हुँ । म त त्यही ठाउँको मान्छे, त्यही ठाउँको कुरा लेखेँ । सबै कुरा अट्यो जस्तो लाग्छ । तर अटे, नअटेको कुरा भने पाठकहरुले खुट्याउनुहुनेछ भन्ने लाग्छ ।

ताल्चाबारे पाठकहरु के भन्नुहुन्छ ?
जतिले पढेर प्रतिक्रिया दिनुभयो, सबैले राम्रो छ भनिदिनुभएको छ । कमिकमजोरीहरु पनि औँल्याईदिनुभएको छ । प्रशंसासँगै आउने हरेक सुझावहरु मेरो लागि मार्गदर्शक हुन् । आफूलाई निरन्तर सुधार गर्दै लैजाने कोसिस गर्नेछु ।

यस वर्षको पुरस्कारहरुको उत्कृष्ट सूचिमा प्रायः ताल्चा कथासंग्रह पर्ने गर्छ, यसबाट संग्रहको उत्कृष्टता मापन गर्न सकिएला नि हैन र ?
– पुरस्कार पनि कृतिको मापन गर्ने एउटा आधार चाहिँ हो जस्तो लाग्छ । तर त्यही नै सबै थोक भने होईन । पुरस्कारभन्दा धेरै पर भएका थुप्रै कृतिहरु पाठकको हृदयमा बसेका पनि छन् । ताल्चाको सन्दर्भमा केही पुरस्कारका लागि सूचिमा परेको सहि हो । यसले सिकारुलाई भने केही ऊर्जा थप्ने रहेछ । अझ परिस्कृत हुनुपर्छ भन्ने बोध गराउँदो रहेछ ।

यसरी उत्कृष्ट सूचिमा परेर पुरस्कृत नहुँदा कस्तो अनुभूति हुनेरहेछ ?
पहिलो कुरा म व्यवसायिक लेखक होईन । लेख्नैपर्छ भन्ने हिसाबले लेख्दिनँ । अर्को कुरा पुरस्कारको अपेक्षा राख्दिनँ पनि । पुरस्कृत भए गज्जव हुन्थ्यो । नहुँदा पनि ठिकै लाग्छ । किनभने मेरो कृतिमा योग्यता नभएरै पुरस्कृत नभएको हो भन्ने लाग्छ ।

ताल्चाले अझैं सोचेजति चर्चा नपाएको हो ? यदि हो भने के कारणले होला जस्तो लाग्छ ?
– मलाई त्यस्तो त लाग्दैन । चर्चा गरिदिनुस् भनेर मैले आग्रह गरेको छैन । जति शुभचिन्तकहरुले पढिदिनुभएको छ, प्रचार गरिदिनुभएको छ त्यो ठिकै लागेको छ । गुदिविहिन चर्चा भन्दा कितावभित्रको सामग्रीका आधारमा चर्चा भए राम्रो होला भन्ने लाग्छ । हल्लाखल्ला धेरै गरेर बिषय चाहिँ फितलो भयो भने त्यसको मूल्य नै रहेन । तर बिषय आफै चर्चाको बिषय छ भने पाठकहरु आफै चर्चाको तहमा पुगिदिन्छन् नि होईन ?

तपाइँका धेरै राम्रा गीतहरु पनि रेकर्ड भएका छन्, राम्रा हुँदाहुँदै पनि ती गीतहरुले चर्चा पाएनन् नि ?
गीतको प्रसंग निकाल्नुभयो, धेरै–धेरै धन्यवाद । गीत लेख्ने एउटा ठूलो रहर थियो एक समयमा । मन पर्ने गीतहरु रेडियोमा सुन्दै कापीमा सार्थेँ । सायद त्यही क्रममा आफ्नै गीत रेकर्ड गर्ने रहर जागेको हो कि ! त्यही रहर मेट्न केही थान रेकर्ड गरेँ पनि । अब रहर पुग्यो । चर्चाको सवालमा भने चर्चाका लागि आवश्यक गतिविधि गर्न नजानेरै वा गर्न नसकेरै त्यस्तो भए होलान् भन्ने लाग्छ ।

प्रदेशमा रहेका गीतकारहरुले पैसा खर्च गरेर गीत रकर्ड गर्ने हुँदा गीतको गुणस्तर खस्कियो भन्ने आरोप पनि आउँछ नि ? यो आरोपमा सत्यता छ ?
यो प्रश्नको उत्तर दिन सक्ने मान्छे म नहुँला कि ? तर अहिलेको समय यस्तो भईदियो, अलिकति खर्च पायो भने जस्तोसुकै, जेसुकैलाई पनि विज्ञापन गरिदिएकै भरमा रातारात चर्चाको शिखरमा पु¥याईन्छ । स्वदेश होस् वा परदेश, जहाँको मान्छेले नि यसको फाईदा लिएकै छन् । तर त्यो खालको चर्चा उतिसारो दिगो भने हुँदैन । कुरा रह्यो परदेशी गीतकारहरुको, परदेश बस्नेहरुले श्रम र त्यसबाट आउने कमाईको मर्म राम्रैसँग बुझेका हुन्छन् जस्तो लाग्छ । त्यसैले कमजोर सृजनालाई चर्चा पाउन कै लागि जथाभावी खर्च गर्छन्, जस्तो लाग्दैन । यद्यपि कतिपय सन्दर्भमा भने तपाईले उठाउनुभएको विषय सहि पनि छ ।

गीतकारले गीतको शुल्क लिने कि शुल्क तिरेर रेकर्ड गराउने ?
यसमा चाहिँ दुईटा वर्गको कुरा आयो । गीतकारले शुल्क लिएर रेकर्ड गराउने । यो वर्गमा नाम चलेका र सिद्धहस्त गीतकारहरु पर्लान् । जसलाई संगीतकार र गायकहरु आफै खोज्दै गएर पैसा तिरेर गीत लिन्छन् र रेकर्ड गराउँछन् । अर्को वर्र्गका गीतकार वा नामको अगाडि गीतकार लेख्न रहर गर्नेहरु चाहिँ संगीतकार र गायकहरुलाई खोज्दै गएर पैसा दिएर आफ्नो गीत रेकर्ड गराउँछन् । म चाहिँ दोस्रो वर्र्गमा परेँ ।

अलिक फरक प्रसंगमा जाऔं, शिक्षण गरिरहनुभएको तपाइँ कसरी विदेशिने सोच बन्यो ?
यसको कहानी निक्कै लामो छ । छोटकरिमा भन्नू पर्दा आफूले जुन दुःख र अभावको सामना गर्नुप¥यो आफ्ना सन्तानहरुले त्यो भोग्न नपरोस् । कमसेकम आफूले बाँचेको भन्दा अलिकति सुविस्ताले उनीहरुको भविश्य बनाउने बाटो देखाउन् सकियोस् भन्ने अभिलाषाले नै विदेशिनु परेको हो ।

प्रवासमा कुनै साहित्यक या सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ कि ?
हजुर, म भोजपुर परिवार दक्षिण कोरिया र नेपाल आदिवासी जनजाती साहित्यकार÷लेखक महासंघ दक्षिण कोरियामा आबद्ध छु ।

नेपाल छँदा विद्यार्थी राजनीतिमा पनि आवद्ध हुनुहुन्थ्यो जस्तो लाग्छ, किन बीचैमा छोड्नुभयो ? भविश्य नदेखेर हो त ?
राजनीति कुनै पेशा होईन । म चाहिँ यसलाई पेशा बनाईनु हुन्न भन्ने पक्षमा थिएँ र छु, तर वास्तविकता त्यो रहेन । हामी जस्तो निम्न–मध्यम वर्गीय मान्छेहरुले सक्रिय राजनीतिमा लाग्नु उस्तो उचित देखिन पनि । हाम्रो राजनीति चाहिँ राजनैतिक विचार, सिद्धान्त, कार्यक्रम र निष्ठाभन्दा निक्कै टाढा पुगेको छ अहिले । यी सबै अवस्थामा दैनिक श्रम नगरी चुलो नबल्ने हामी जस्तोले राजनीति गर्नु भनेको आफ्नै जिउमाथी मट्टितेल खन्याएर डढेलो निभाउन निस्किए जस्तो हो ।

अन्त्यमा आफूलाई लागेका केहि कुरा ?
धेरै खुशी लागेको छ । ताल्चाका विषयमा चासो राखिदिनुभयो । साथै केही फरक एंगलको कुराकानी पनि भए । राई बस्तीमा ग्रामीण जनजीवन बिताईरहेका सामान्य मान्छेहरुको जिन्दगी र तिनको भोगाईका उवड्खावडका बारे चासो राख्नुभएको छ भने ताल्चा कथासंग्रहले तपाईको चासोहरुलाई थोरै भए पनि सम्बोधन गर्न सक्नेछ ।