बेखबर–बेखबर छु खबर नसोध
म एक मुसाफिर हुँ घर नसोध
उ खोली थियो सागर भेटी सक्यो
कहाँ छोडेर आयो बगर नसोध
कुनैदिन म जस्तै मरेर बाँचि हेर
कस्तो हुन्छ मृत्युको डर नसोध
प्रेम कागजमा गरिदैन मेरो मान्छे
हरेक प्रश्न हरुको उत्तर नसोध
डस्विनमा फालेको फोहोर न हुँ
अब मेरो गन्धको असर नसोध
***
तिम्रै तस्बिर आउँछ आँखामा मेरो
त्यसै बदलिन्छ रंग चेहरामा मेरो
तन मन सबै दिएकै हो मैले पनि
फेरि के कमि भयो मायामा मेरो
आफ्नै आँखा पनि रुन मान्दैनन्
अब को रोइदिन्छ पिडामा मेरो ?
किन मलाई हेर्दै सबै हासेर जान्छ
के देख्यो र त्यस्तो हुलियामा मेरो
अरे बदनाम त तिम्रो शहर रहेछ
सधैं चर्चा हुन्छ मधुशालामा मेरो
***
पैसा सकियो सँगसँगगै मेरो जवानी सकियो
अब तिम्रो र मेरो बिच प्रेम कहानी सकियो
घन्टौंसम्म बोल्दा पनि नथाकिने ऊ अचेल
बोल्नै छोड्यो हुनसक्छ कुराकानी सकियो
हरेक रात पोखिन्छ सिरानीले प्यास मेटाउछ
पोख्दा पोख्दै आँखाको यति धेरै पानी सकियो
खुसी हुनु अब तिमी तिम्रो खेलमा तिम्रै जित भो
अरे के नै बाकी छर मेरो त जिन्दगानी सकियो
प्रयत्ना वाईबा तामाङ
चन्द्रपुर –१,मंगलपुर, रौतहट




