April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कविता: छुट्नु

6.7K

हिँड्दा हिँड्दै यात्राबाट तिमी छुट्यौ
हेर्दाहेर्दै आँखाबाट आँसु छुटे
यहाँ छुट्न सबैलाई छुट रहेछ ।

यदि छुट्न छुट नहुँदो हो त
बग्ने थिएन नदि, बन्ने थिएन समुन्द्र
उड्ने थिएन बाफ, हुने थिएन बर्षा ।

यदि छुट्न छुट नहुँदो हो त
बन्ने थिएन झुसिल्किरा, उड्ने थिएन पुतली
फुल्ने थिएन कोपीला, झर्ने थिएन फूल
यहाँ छुट्न सबैलाई छुट रहेछ ।

Advertisement

अँह ! छुट्न सबैलाई छुट छैन रहेछ
हैन भने हाँमी छुट्टिएपछि
मनबाट तिम्रा यादहरू तिमीसँगै छुट्टिनु पर्ने हो
किन तिम्रो मुहार बारम्बार आँखामा आइरहन्छ
छुट्नु भनेको सम्झनामा जीवित रहनुरहेछ ।

देशबाट छुटेर परदेश पसेको बर्षौं भैसकेछ
हेर्दा हेर्दै आँखै अगाडि उमेरले छोडेर गैसकेछ
बहिनीले पनि उमेर बढेपछि घर छोडेकी थिइन् ।

बूढा बाआमालाई सम्झिएर
यतिखेर कलमबाट मसि के छुटेको थियो
घरबाट फोन आयो, आमा बोल्नुभयो
“ठूले हामी छुट्न लागेका घाम भैसक्यौ
घर फर्कि छिट्टै हाम्रो यो शरीरबाट एक मुठ्ठी सास नछुट्दै”
यतिबेला मेरा आँखाबाट आँसु छुटेका छन् ।

यहाँ छुट्न सबैलाई छुट रहेछ ।

कवि कृष्ण कन्चन