जनक कार्की
केशवराज ज्ञवालीको पहिलो कथा सङ्ग्रह ‘अर्को भोर’ यतिबेला पद्मश्रीका कारण चर्चामा छ । संयोग पद्मश्री घोषणा हुने दिन नै मैले यो कृति पढ्न सुरु गरेको थिएँ । दुईवटा कथा पढेर विश्राम गर्दा समाचारमा यो सङ्ग्रह पुरस्कृत भएको समाचार पढेँ । त्यसपछि झन् यो कृतिमा के छ ? भन्ने कुराले उत्सुकता जगायो र अन्य कथालाई पनि रोचकपूर्ण पढेर सिद्धाएँ ।
पेशाले इन्जिनियर केशव अमेरिकामा बस्छ्न् । अमेरिका र नेपालमालाई जोडेर उनले यस कृतिमा प्राय कथा बुनेका छन् । अमेरिकामा खुसी खोज्न गएको पात्र कसरी दुखी बन्छ ? बुढेसकालमा जब सन्तानलाई पछ्याउँदै अभिभावक अमेरिका पुग्दा कस्तो महसुस गर्छन ? अमेरिकामा भाषा नजान्दा पर्ने समस्या, नेपाल र अमेरिकाको साझा विभेद लगायत नेपाली समसमायिक विषयवस्तुमा सामाजिक यथार्थवादमा टेकेर कथा लेखेका छन् । उनका कथाका पात्रलाई बलियो देखाइएको छ । समाजिक रुपान्तरणको लागि साहसिक निर्णय उनका पात्रहरूले लिगिरहन्छन् । केहि कथाहरूको कथा भन्ने शैली रोचक र फरक पनि छ । श्वैरकल्पनाको माध्यमबाट लोभलाग्दो कथानक तयार पारेर यथार्थ कथा भन्न सफल छन् कथाकार । चौधवटा कथा समावेश गरिएको कथासङ्ग्रहमा सबै कथाको विषयवस्तु फरकफरक पाउन सकिन्छ ।
तीन बराबर पाँच
नेपालमा जातीय विभेद कायम छ । बेलाबेलामा विभिन्न किसिमका अमानवीय घटना हामीले सुन्दै, देख्दै, भोग्दै र पढ्दै आएका छौँ । नेपालको कानुनले जातीय विभेदलाई अपराध हो भनेपनि व्यवहारमा यो लागू हुन सकेको छैन । मान्छेको मानसिकतामा परिवर्तन नआउँदासम्म कुनै पनि कानूनले अपराध नियन्त्रण गर्न सक्दैन । नेपालमा अझै पनि गैरदलितले दलितमाथि हिंसा गरिरहेकै छन् । ‘तीन बराबर पाँच’ जातीय विभेदको कथा हो । यो कथाको एकजना पात्रले नेपालको जातीय विभेद र अमेरिकाको रंग विभेदलाई महसुस गरेको कथा हो । अमेरिका जस्तो आधुनिक देशमा पनि मान्छे मान्छेबीच कसरी विभेदको पर्खाल खडा गरिन्छ भनेर कथाले देखाएको छ ।
अमेरिकाले सन् १७८७ मा तीन–पाँचौं सम्झौता राज्यको कुल जनसंख्या निर्धारण गर्न दासहरूको गणनामा संयुक्त राज्यको संवैधानिक कन्वेंशनको समयमा भएको सम्झौता गरेको थियो । सम्झौताले प्रतिनिधि सभाको विभाजनको उद्देश्यका लागि प्रत्येक राज्यको दास जनसंख्याको तीन–पाँच भागलाई त्यस राज्यको कुल जनसंख्यामा गणना गर्यो । यद्यपि दासहरूलाई मतदान गर्ने अधिकार अस्वीकार गरिएको थियो, यसले दक्षिणी राज्यहरूलाई दासहरूको गणना नगरेको भन्दा बढी प्रतिनिधिहरू र अधिक राष्ट्रपति चुनावी मतहरू दियो । यसले दक्षिणी विधायिकाहरूमा दासधारकहरूलाई पनि त्यस्तै विस्तारित शक्तिहरू दियो; यो सन् १८६३ मा भर्जिनियादेखि पश्चिम भर्जिनियाको अलगावमा एक मुद्दा थियो । निः शुल्क अश्वेतहरू र करार सेवकहरू सम्झौताको अधीनमा थिएनन्, र प्रत्येक प्रतिनिधित्वको लागि एक पूर्ण व्यक्तिको रूपमा गणना गरिएको थियो । चौधौं संशोधन (१८६८) को धारा २ पछि यो खण्डलाई हटाएर स्पष्ट रूपमा सम्झौता रद्द गर्यो ।
श्वेत ३ बराबर अश्वैत ५ गणना गर्ने यस्तो विभेदपूर्ण कानूनको साक्षी यो कथा बनेको छ । अमेरिकामा आजको दिनमा पनि अश्वेत भएकै कारण कसरी विभेद गरिदै आएको छ भनेर अमेरिकाको कथा पनि बोलेको छ ।
समग्रमा यो कथाले नेपाल र अमेरिकाको विभेदको स्वरुपलाई चित्रण गरेको छ । कथाको प्रस्तुति र विषयवस्तुले यो कथालाई अब्बल बनाएको छ ।
एक्वारियम
अमेरिका वा अन्य कुनै परदेश एउटा निश्चित उमेर, उर्जा, सपना र महत्वकांक्षाका लागि अवसर हुनसक्ला तर एक्सपाइरी डेट नजिकिदै गरेका उमेर समुहलाई त्यहाँको जीवनशैली, रहनसहन, सुखसुविधाले पटक्कै स्पर्श गर्न सक्दैन । जब उमेर बूढो हुन्छ गगनचुम्बी घरभन्दा आँपाको अग्लो रुख नै मनपर्छ, दौडिरहने व्यस्त सडकभन्दा सुनसान गाउँघरको डहर मै मन बस्छ । बढी आरामले थाकेको शरीर भन्दा करेसाबारीमै पाखुरा बजारेर थाकेको मनपर्छ ।
यो कथा आधुनिक नेपाली समाजको परदेश गएर उतै स्थायी रूपमा बसिरहेका नेपालीहरूको कथा हो । सन्तान त त्यो माहोलमा भिजिदिन्छन् तर आमाबाबुलाई त्यो विकासको लड्डु भन्दा गाउँघरकै नासपाती मिठो लाग्छ ।
कथाले अक्वेरियमको माछा लाली र सुमित्रा बजैको जीवनलाई विम्बात्मक रूपमा देखाएको छ । लालीको मृत्युले सुमित्रामा दिव्य ज्ञान प्राप्त हुन्छ र उनी सुनको पिंजडा त्यागेर गाउँ आइपुग्छिन् । यो निर्णयले पात्रलाई बलियो बनाउँछ । कथाको पात्र पाल्पाल्नीले प्रयोग गरेको भाषा भने पाल्पाली नभइ बागलुङ, स्याङ्जातिरको जस्तो लाग्छ । आञ्चलिकता प्रयोगमा अलिकति काल्पनिक संवाद राखियो कि भन्ने गुनासो रह्यो ।
उज्यालो: एउटा प्रस्थान विन्दु
विज्ञानले गरेको प्रगति हेर्दा यो संसारमा असंभव भन्ने कुरा विरलै रहे । विज्ञानका सबै आविष्कारको फाइदा भने पक्कै छैन । तत्काललाई फाइदा जस्तो देखिए पनि कति कुराहरू अप्राकृतिक पनि छन् । यस्तै एउटा विज्ञानको चमत्कारीय आविष्कार हो टेस्ट्युब बेबी । यसै टेस्टट्युब बेबी अन्तर्गतको आइभिएफ प्रणाली अनुसार लिङ्ग निर्धारण गरेर आफूलाई चाहिएको छोरा वा छोरी जन्माउन सकिने व्यवस्था छ ।
यो कथा प्रयोगशालामा टेस्टट्युबभित्र लिङ्ग निर्धारणको लागि राखिएको भ्रुणको कथा हो । सम्पूर्ण कथालाई भ्रुणले व्याख्या गर्छ । त्यसैले यसको प्रस्तुति सुन्दर छ । अभिभावक मध्य बाउलाई छोरो चाहिएको हुन्छ । कथावाचक भ्रुण छोरी हुन्छे । छोरीलाई आफू जन्मिन पाउन्न भन्ने चिन्ता छ । यो कथाले छोराछोरीबीचको विभेदलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । कथाको अन्त्यमा आमाले लिएको निर्णयले आवाजको महत्वलाई दर्साएको छ ।
परस्युइट अफ ह्यापिनेस
अमेरिका नेपालीहरूको सपनाको देश हो । सारा खुसी र आनन्द अमेरिकामा छ भन्ने कुरा प्रायः नेपालीको मस्तिष्कले कल्पना गरेको यथार्थ हो । त्यहाँ पुगिसकेपछिको दुख यस कथाले देखाउन खोजेको छ । त्यहाँ बेरोजगार हुन पुगेको एउटा परिवार कसरी खुसीको खोजिमा दुखी हुँदै जान्छ भन्ने विषयलाई कथाले समेटेको छ । अमेरिकामा खुसी मात्र हुन्छ भन्ने भ्रमलाई कथाके दर्साएको छ ।
बेजुबान
यो कथा अमेरिकामा पुगेका भाषा नजान्ने पात्रको कथा हो । भाषा नजान्दा त्यहाँ आइपर्ने समस्यालाई मुख्य विषय बनाइएको छ । ग्रीन कार्ड पाउने आशामा लामो समय अमेरिकामा बस्दा सिर्जित हुने यौन कुण्ठा र त्यसले निम्त्याएको दुर्घटना कथामा पाइन्छ । कथाले साइबर संस्कृतिलाई पनि छोएको छ । महत्वपूर्ण कुरा नेपालमा यतिबेला नाबालिगसँगको हिंसा समाचारमा छाएको बेला यो कथामा पनि नाबालिगसँग ललाईफकाई बनाउन खोजिएको सम्बन्धको कुरा समावेश भएको छ । अमेरिकामा नाबालिगसँगको हिंसा रोक्नको लागि प्रहरीहरू नै नाबालिग बनेर च्याट गर्ने र त्यस्तो खराब मनासाय भएका व्यक्तिलाई पक्राउ गरेर कडाभन्दा कडा कारवाही गरिने कुरा चित्रण गरिएको छ । यो कथा सन्देशमुलक छ ।
काकबन्ध्या
यो कथा एउटा मात्र सन्तान जन्माउने महिलाको कथा हो । एउटा मात्र सन्तान जन्माउदा महिलामाथि लगाइने आक्षेप, गरिने हिंसा, सौता उपहार पाउने आदि जस्ता सामाजिक कथा हो । कथाको प्रस्तुति श्वेरकल्पनामा गरिएको छ । कथाको प्रस्तुतिले पाठकलाई बाँधेर राख्न सफल हुन्छ । यसले नेपाली समाजको पितृसत्तात्मक सोचलाई पनि उजागर गरेको छ ।
रामकथा
रामकथा नेपाली समाजको आधुनिक रामायण हो । आज रामगरू खाडीमा वनवास बिताउन बाध्य छन् भने सीताहरू उनीहरूको प्रतीक्षामा दोबाटो ढुकेर बस्न बाध्य छन् । सबै रामहरू सास लिएर घर फर्किन्नन कति लास भएर फर्किन्छ्न् । नेपाली समाजको लाहुर जाने प्रथाको स्वरुप फेरिएको छ । कसरी नेपाली राम र सीताहरूले कष्टकर जीवन बाँच्न बाध्य छन भनेर कथाले प्रस्तुत गरेको छ । यो कथा नेपालीको साझा कथा हो ।
मास्क
कोरोनाकालमा लकडाउन भएपछि एउटा देह व्यापार गर्नेको जीवनमा आएको परिवर्तनको कथा हो मास्क । लकडाउनसँगै आम्दानीको बाटो रोकिएपछि देह व्यापार गर्नेको चुलो कसरी निभ्दै जान्छ भनेर यो कथाले बोल्छ । कथाले देह व्यापारमा कसरी आइपुगिन्छ के कस्ता बाध्यता हुन्छन् भन्ने कुरा पनि देखाएको छ । कथामा देह व्यापार गर्नेहरूलाई समाजका यौन पिपासुहरूले कसरी हरेक कुरामा प्रयोग गर्न खोज्छ भन्ने विषयलाई केन्द्रमा राखेर देखाइएको छ ।
अन्य कथाहरू सम्बन्ध, जीवन दर्शन, समाजको यथार्थवाद र मनोबैज्ञानिक क्षेत्रमा घुमेका छन् । कथाकारले प्राय कथालाई अमेरिकासँग जोडेका छन् । अमेरिकाको जीवनशैली र त्यहाँको अवस्थालाई चित्रण गरेका छन् । नेपाल र अमेरिकालाई पनि सँगै जोडेर कथा बुनेका छन् । कथाकारले अमेरिकाको दुखको पक्षलाई धेरै उभ्याएको देखिन्छ । केही कथाहरूमा राम्रो प्रयोगात्मक शैलीलाई पछ्याउन सफल भएपनि केही कथा भन्ने तरिका परम्परागत छन् । उनको कथाको राम्रो पक्ष भनेको अनेपेक्षित समापन हो । जसले पाठकलाई झट्का दिन्छ र पात्रलाई बलियो बनाउँछ । ‘बेजुवान’ शीर्षकको कथामा केहि कुरा अतार्किक जस्ता लाग्ने तथ्य छन् । हुनत कथा भनेको काल्पनिक कुराको तत्व पनि हो । तर पनि समाजिक यथार्थवादको कथाम केही त्यस्ता तथ्यसँग सम्बन्ध बनाउन नसक्दा अलिकति खिन्नता आउँन सक्छ । यो कथाको पात्र पहिला खाडीमुलुकमा काम गरेको भनेर देखाइन्छ र त्यसमा एकवर्षमा दुई महिना भ्याकेशन हुन्थ्यो भनेर भनिएको छ । खाडी मुलुकमा त्यो पनि निर्माण क्षेत्रमा काम गर्नेलाई एक वर्षमा दुई महिना विदा हुँदैन । त्यसैगरि खाडीमा काम गर्दा अमेरिकामा कन्ट्र्याक्ट पाएर सो पात्रलाई अमेरिका लिएर गएको भनिएको छ । यो कुरा झन् अप्रत्यारिलो छ । यस्ता केही वास्तविक सत्यतथ्यमा केही खडकिएको भएपनि कथाकार आफ्नो पहिलो कृतिबाट नै निकै शानदार आगमन भएको देखिन्छ ।