राम योञ्जन गाउँले
खै ! किन आजभोलि
बिर्सिनेहरूलाई नै सम्झिरहेछु म
हिँड्छु सम्झनामै, प्रेमिल मुटुका गल्लीहरू
बोल्छु सम्झनामै, देब्रे छातीको धड्कन सँगै मिसिएर
आँखा बन्दकी राखेर, निदाउँछु सम्झनाकै सिरानीमा
निरन्तर मुटुबाट
संचार भइरहेछ सम्झनाकै रगतहरू
मनको आँगनबाट
आजसम्म अस्ताएकै छैन सम्झनाको घाम
बिर्सिदा पनि आइरहने त
केवल सम्झना मात्रै रहेछ
नछोएर पनि स्पर्श हुन्छ भने
त्यो सम्झना नै रहेछ
आँखा सम्झनामै चुहेर खस्छ बेलाबेला
सम्झनाकै रंगहरूमा
रंगिन हुन्छन् आँखाहरू
सम्झनले तिम्रो अभावको प्रतिनिधित्व गर्छ
र सम्झनामा ननिदाइकन फर्किन्छ हरेक रात
म बाट
प्रत्येक समय, पल तिम्रो अभावको छट्पटी सहेर जान्छ
मेरो प्रिय ! तिमी आऊ
कि मलाई आउने अनुमति देऊ
तिमीलाई भेट्न
म पर्खिरहेछु सम्झनामै त्यो दिन ।