April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

औंलाहरू

3.6K

जुनु दिव्या राना

जब
सुक्ष्मताको जग टेकेर म
स्वयम् घोषित विद्वानहरुको
नजर मानसिकता नियाल्छु
तिनले
देख्न चाहेका दृश्य
र तिनले बुझ्न चाहेका अर्थहरु
खोज्न थाल्छु ।

Advertisement

तब
बग्रेल्ती भेटिन्छन,
नजर भित्र ठड्याउनु चाहेका औंला
चरित्रको तराजुमा जोख्न तम्तयार तिनका मगज ।

म नतमस्तक बन्दिनँ !
ति औँलाहरु प्रति र अर्थहरू प्रति
मैले जानेको ति औंलाहरू
समाजका कहलिएका ठुलाहरू हुन् ।

जो दिनको उज्यालोमा
भिडको माँझमा
या कुनै सभा समारोहमा शालिनता प्रर्दशन गर्दछन्
जो रातको अँध्यारोमा
या दिनको उज्यालोमा
कुनै स्त्री देह मन्थन गरिरहेकै हुन्छ्न
र तिनको औंलाले
र तिनको मगजले तिनलाई
अचाक्ली गिज्याईरहेको देख्छु !

खोक्रो आवरणभित्र लुकाइएको नियतमा
यहि अन्तर छ महोदय !

तब म हाँस्छु,
तिम्रो वौद्दिकताको निरिहतामा !