दीप दर्पण
पसिनाको खोल्सीहरुले
तिम्रो अनुहारका गराहरुलाई
कति ठाउँबाट चिरा पारेको छ ?
कति सपनाका काल्नाहरु भत्काएको छ ?
बा मलाई तिम्रो मुख हेर्नु छ ।
तिम्रा अनुहारमा देखिने
मेरो सुदुर भविश्यको आकृति
उस्तै छ कि धमिलो भै सक्यो ?
“बा म पास भए” भनेर डिलमाथि बाट कराउँदा
तिम्रो अनुहारमा मुस्कुराउने फूल
कहिले सुक्यो ? कि उस्तै छ ?
म बिरामी भएको त्यो रात
बा म मर्छु कि बाँच्छु भनेर रुँदा
निन्याउरो बनेको तिम्रो अनुहार
यो दशैंमा सर्ट पाईन्ट किन्ने हो मत भन्दा
दोधार बोकेर म छु नि छोरो
भनेको तिम्रो अनुहार
कस्तो छ अहिले ?
अहिले पनि दोधारमा छ कि ?
अहिले पनि स्याँलमा छ कि ?
बा मलाई तिम्रो मुख हेर्नु छ ।
तिम्रा हातहरु छोडेर
तिम्रो काँधको भारी बोक्नलाई
कमाउन पर्देश हिँड्दा
तिम्रो अनुहारमा उर्लेको साउने भेल
अहिले पनि त उस्तै होला ।
त्यो अनुहारको खुशी फर्काउन
सात समुन्द्र पारी बर्षाैं वेपत्ता भएको
यो अनुहार बोकेर तिम्रो अनुहार अघिल्तिर
कसरी फर्केउ ?
बा मलाई तिम्रो मुख हेर्नु छ