इक्साहाङ चेम्जोङ
कमरेड !
माओवादको उजिन्डोमा झुन्डिएको
च्वेःगेभाराको हड्डीद्धारा निर्मित
दबासोको एक थान राइफल भिराउनु भएको थियो
मेरो काँधमा
त्यो राइफल भिरेर
म तानाशाहीहरुको आँगनमा परेड खेल्न थालेँ
शासकहरुको कन्चटमा निशाना लगाउन थालेँ
र, आतंककारी भएँ
शासकहरुको नजरमा
यसरी मलाई आतंककारीको फूली लगाईदिए पछि
अशान्त हुन थालेका थिए शान्त बस्तीहरु
तर्सिएका थिए ती शुन्दर शहरहरु
घृणित नजर लगाउन थालेका थिए
प्रेमिल आँखाहरु पनि
तैपनि, बन्दुक बोकिरहेँ
बन्दुक बोकेरै
एक मुठी साथु खाँदै
हिँड्नु थियो, माओले खनेको अक्करे बाटैबाटो
छिचोल्नु थियो, हजारौं दुश्मनहरुको किल्ला
पुग्नु थियो साम्यवादी मैदान
‘युद्ध’ त लड्नु नै थियो
काला किल्लाहरुलाई लाल किल्ला बनाएर
फर्किदै गर्दा पनि
युद्ध गर्नु थियो– अरुणको भंगालो र तमोरको भेलसँग
थाम्दै–थाम्दै ढुंगा, मुढा, भेल, पहिरोहरु
भञ्ज्याङ् र देउरालीको चिसो सिरेतोलाई तताउदै
कैयौं जंघारहरु तरेपछि
मुक्तिको पर्खाईमा बसेका चौतारीहरुसँग
गाँसेर जनवादी प्रीत
चलेको थियो होडबाजी
तारेभीरको उकालोहरुसँग
तैपनि, बन्दुक बोकिरहेँ
मैले बन्दुक बोकिरहेँ
धर्ती चिस्याउने हिउँको बाटो हिँड्दै गर्दा
हड्डी गलाउने प्रचण्ड गर्मीमा उभिँदा
हजुरले भिराउनु भएको त्यो बन्दुक
बोक्नु थियो, बोकिरहेँ
यात्रा थियो हजारौं माईलको
बाँकी थिए अझ कति युद्ध
लत बसिसकेको थियो युद्ध गर्ने
मीठो लाग्न थालेका थिए, बम र बारुदको धुवाँ
जनवादी संगीत झैँ लाग्न थालेका थिए, गोला बारुदको आवाज
लाउदै थिएँ अन्तिम निशाना
दबाउनै लागेको थिएँ ट्रिगर
एक्कासी नेपथ्यबाट काशन छोड्नुभयो तपाइँले– ‘बन्दुक बिसाउनोस् !’
बन्दुकमै थियो मेरो जिवन र मृत्यु
तर, गाढा प्रेम थियो बन्दुकसँग
मेरो काँध पटक्कै गलेको थिएन
थाकेका थिएनन् खुट्टाहरु
बदल्नु थियो त्यसैको सहारामा देश
गर्नु थियो अनगिन्ती यात्रा
यद्यपी, आधा यात्रामै बिसाएँ मैले बन्दुक
हजुरको आदेश वमोजिम
जब मैले बन्दुक बिसाएँ
साँघुरो लाग्न थाले साम्यवादी बाटाहरु
अनकन्टार जंगल देख्न थालेँ, माओवादको दर्शन
फिक्का–फिक्का लाग्न थाले क्रान्तिका रंगहरु
अचेल पहाड पर्वतहरु सोध्छन्– खोइ तिम्रो बन्दुक ?
तारेभीर र उजाडउजाड चौतारीहरु सोध्छन्– खोइ तिम्रो बन्दुक ?
तेह्रथुमको बगाले र पान्थरको मेहेलबोटेमा बगेका रगतले सोध्छन्– खोइ हाम्रो बन्दुक ?
किन बिसायौ ?
म अनुत्तरित छु
आफैलाई पनि प्रश्न गर्छु
साँच्चै ! मेरो बन्दुक खोइ ?
शरीरबाट ग्रीनेडका छर्रा नहराए झैं
सँधै गिजोली रहन्छ एउटै प्रश्नले
भेटिन्न जवाफ
ओ शासक बनेको कमरेड !
जवाफ देउ– मेरो बन्दुक खै ?