टीका आत्रेय
घुमेजस्तै चर्खा
घुमेजस्तै पृथ्वी
घुमेर आउँछ
र विगत हल्लाउँछ
दर खाने दिन ।
भदौजस्तै आँखाबाट
हाम फालेर झर्थे खहरेहरु
प्वाल परेको बाँसमा
बतासले हिर्काउँदा बजेको धुन झै
फुत्किरहन्थे सुस्केरा
हृदयको खड्प्वालबाट
जब माइती लिन आएर रित्तै फर्कन्थे
दर खाने दिन
आमा भन्नुहुन्थ्यो ।
आँखामा चौपट्टै आउथ्यो बाआमाको झझल्को
जिब्रोमै रसाएर सकिन्थ्यो माइतको दर
कानमा ठोक्किएर फर्कन्थे सखीका आवाजहरु
गोडासम्मै आएर डराउँथ्यो नृत्यको झङ्कार
ओठैमा आएर निरीह फर्कन्थ्यो तीजको संगीत
म झरिरहन्थे गालाको बाटो भएर
आमा भन्नुहुन्थ्यो ।
अग्ला थिए रहरका वृक्षहरु
तीभन्दा अग्ला थिए
वाध्यताका पर्खालहरु
“बुहार्तन” नामको संस्कारले
नेलकडी लगाइरहन्थ्यो
म झ्यालखानाभित्र बसेको कैदीझैँ
जिन्दगीभित्रै थुनिइरहन्थें
आमा भन्नुहुन्थ्यो ।
कोही लुगाभरि तीज फुकाउँथे
कोही गहनाभरि तीज देखाउँथे
आँगनभरि पोखिएर तीज
मैले कहिल्यै उठाउँन पाइनँ
हावाभरि मगमगाएर पर्व
मैले कहिल्यै उड्न पाइनँ
पोल्टामा भरेर खुसी
म कहिल्यै रमाउन सकिनँ
आमा भन्नुहुन्थ्यो ।
आज समयको अर्काे किनाराबाट
छोरी आउँने आशामा
आमा रित्तो बाटो हेरिरहनुहुन्छ
र आँसु चुहाउनुहुन्छ
दरखाने दिन।
साहित्यकार टीका आत्रेयका थुप्रै पुस्तकहरु प्रकाशित छन् । उनी राष्ट्रिय कविता महोत्सव–२०७९ मा प्रथम भएकी थिइन् ।