November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

थेत्तरा हातहरू

6.1K

वाक्सेली थापा


पाहुनाकोठा, चिया पसल वा चौतारीबाट
तीखो धार बनाएर निरन्तर
अठार सय चौबिस दिनसम्म
उसैलाई सराप्छन् हातहरू
उसैलाई गाली गर्छन् ओठहरू
जो आँखैअगाडि छरेर झुटको बीउ
गर्छ धोकाको उन्नत खेती
र, फलाउँछ लहलह कसेराबारीमा
कमिशनका झरिला बालाहरू ।

आफ्नो सुकिलो निधारबाट
आफ्नै हातले उखेलेर भाग्यको जरा
उसैको निधारमा रोपिदिएको भोलिपल्टदेखि
बदलामा लगातार सराप्दै बितेका छन्
‘अ’ नै ‘अ’ ले ढाकेका अँध्यारा दिनहरू
जस्तो कि अन्याय, अतिचार, अनिकाल
वा भनौ अव्यवस्था
तै पनि,
सराप्नु र फेरि सराप्नु बाहेक
देखेनन् हातहरूले केही बिकल्प
हुनसक्छ हातमा थिएनन् आँखाहरू ।

Advertisement

सराप्दा यसरी निरन्तर
त्यो एकदिन –
छातीमा जम्दछ खै श्रापको कुन सागर
ग्लानिको कुन चिस्यानले गाल्दछ आफैँलाई
र प्रायश्चित्तमा कुन मेघनादपछि
कालो बादलले ढाक्दछ आँखाहरू
हूरीले उडाउँछ विवेकको छानो
र, पखाल्छन् बाछिटाहरूले रिसको मयल ?
जुन दिन –
आउँछ हातमा रङ्गिन मतपत्र
यसरी उठाउँछन् स्वस्तिक छाप
मानौँ कि बन्धक थिए औँलाहरू
थिएन दायाँबायाँ अरू बाटो
र, सजिलै दिन्छन गरुङ्गो आशीर्बाद
गन्हाएको उही पुरानो थाप्लोमाथि
जो श्रापित छ आफैँबाट अविरल
त्यस दिन बाहेक थुप्रै पाँच वर्षहरूमा
र, फेरि तयार हुन्छन् थेत्तरा हातहरू
भोलिदेखि उसैलाई सराप्न
अर्को अठार सय चौबिस दिनसम्म ।

आउन त फेरि आउँदैछ घुमीफिरी
नाच्दैनाच्दै त्यही हातमा
आफ्नै भाग्यरेखा कोरिएको मतपत्र
र स्वविवेक परीक्षण गरिरहेको स्वस्तिक चिन्ह
त्यस दिन के गर्छन हातहरू ?
हेर्न बाँकि छ
तर साथी !
हातमा परेको त्यो रङ्गिन कागज
मतपत्र होइन मनपत्र हो
औँलाले होइन त्यसमा
मस्तिष्कले लगाउनु पर्छ छाप
होइन भने, याद रहोस् !
‘उसलाई’ यसरी सराप्नु
खासमा आफ्नै हातलाई सराप्नु हो
आफ्नै टाउकोलाई धिक्कार्नु हो ।