April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कवि अजित उत्सवको कविता सङ्ग्रह ‘आकाशगङ्गाको किनार’ विमोचित

3.8K

पोखरा । कवि अजित उत्सवको कविता सङ्ग्रह ‘आकाशगङ्गाको किनार’ विमोचन भएको छ । सङ्ग्रहको पोखरामा एक कार्यक्रमकाबीच विमोचन सम्पन्न भएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रहको विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा बोल्दै पूर्व कुलपती श्रेष्ठले कविता लेखनमा युवाहरु जुर्मुराएको देखेर आफूलाई खुसी लागेको बताउँदै यस कविता सङ्ग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने विश्वास व्यक्त गरे । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस कृतिको लागि बधाई दिंदै सङ्ग्रहभित्रका कविताले आफू प्रभावित भएको बताए ।

Advertisement

विमोचित पुस्तकको समीक्षा युवा कवि एकम् समालोचक संजीव पौडेलले गरेका थिए भने उपप्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा लघुकथा समाज प्रदेश नम्बर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दिपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुन्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिती रहेको थियो । युवा कवि रोशन तिमिल्सिनाले विमोचित कविता संङ्ग्रहभित्रको कविता वाचन गरेका थिए ।

कवि अजित उत्सव

कार्यक्रमको संचालन सगरमाथा साहित्य प्रतिष्ठान गन्डकी शाखा सचिव कवि लिली अधिकारीले गरेकी थिइन् । कार्यक्रममा उपस्थित सबै दर्शकलाई नै सभापति बनाईएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो ।
सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिस्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कविता सङ्ग्रहमा जम्मा ५६ वटा कविताहरु रहेका छन् । सङ्ग्रहको बिक्रि मूल्य २ सय पचास रहेको छ ।

विमोचनसँगै पुस्तक देशभर वितरण सुरु भएको कवि अजित उत्सवले बताए । निकट भविष्यमै एक कथा सङ्ग्रह र एक कविता सङ्ग्रह प्रकाशन हुन लागेको पनि कवि उत्सवले जानकारी दिए ।