May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

सुदूरपश्चिमको मुख्य पर्व गौरा सुरु

2.8K

काठमाडौँ – सुदूरपश्चिमको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात् पार्वतीले निराहार व्रत बसी नित्य आराधना गरेको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

गौरा पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।  आज गौरा देवीको प्रसाद बिरुडा भिजाइँदै छ । गौरा पर्वको पहिलो दिन आज विवाहित महिलाले नजिकैको धारा तथा पँधेरोमा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउन थालेका छन् ।

गौरापर्व मनाउने समुदायका महिलाले निराहार बसेर आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ साइतमा बिरुडा धोएर गौराको प्रतिमा बनाएर गौराघरमा भित्र्याउने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

Advertisement

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्त्वका साथ यस पर्वलाई मनाउने गर्दछन् ।