March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

ह्याप्पी बर्थडे टु यू: रहर हो कि बाध्यता ?

हितराम तिल्लिङ
२०८१ भाद्र २३

8.4K


ह्याप्पी बर्थडे मनाउने नेपालीे संस्कार होइन

नेपालमा सुरुमा राजामहाराजा तथा महान ब्याक्तित्वहरुको मात्र जन्मजयन्ती मनाइन्थ्यो । हिन्दु धर्मावलम्बीहरुले भगवानका जन्मजयन्तीहरू मनाउने गर्दछन् । बौद्ध धर्मलम्बीहरुले सिद्धार्थ गौतम बुद्धको जन्मजयन्ती मनाउछन् । साथै सामाजिक, राजनीतिक, साँस्कृतिक, साहित्यिक आदि महान् व्यक्तित्वहरुको जन्मजयन्ती मनाउने संस्कार छ । हिन्दुशास्त्रीय मान्यताअनुसार जन्मोत्सवका दिन पितृलाई स्मरण गरेर पूजा गर्ने, पुराणमा वर्णित अष्ट चिरञ्जीवीहरूको पूजा गर्नुपर्छ भन्ने मान्यता रहेको छ । हिन्दुहरूले आफ्ना मातापिताको स्मरणमा वार्षिक तिथिमा सराद गर्छन् । यसरी नेपालमा महान ब्याक्तित्वहरुको मृत्युपछि वार्षिक संस्मरण गरि जन्मजन्ती मनाउने चलन रहिआएको छ । पछिल्लो समयमा केही संभ्रान्त व्याक्तित्वहरुले आफ्नो जन्मदिन साँझमा आफू जति वर्ष पुगेको हो, त्यति नै जोर बत्तीले घरको सबै भागमा दीपावली गर्ने र जति वर्षमा प्रवेश गर्ने हो, त्यो वर्षको प्रतीक स्वरूप एउटा ठूलो दियो बालेर जन्मोत्सव मनाउथे । नेपालमा सर्वसाधरणहरुले जन्मदिन मनाउदैनथ्यो । पछिल्लो समय सञ्चार र प्रविधिको विकास र विस्तार अनि मानव स्वतन्त्रताको युग सुरु भएसँगै सबैले जन्मदिन मनाउन थालेका छन् । कतिपयले घर, होटल, क्याफे, पार्टी प्यालेसहरुमा भव्य रुपमा बर्थडे मनाउछन् भने कतिपयले सामाजिक फोटो राखेर जन्मदिनको शुभकामना दिने गर्छन् । जन्मदिन मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । धेरैले मानिरहेका छन् । अर्काको नक्कल गरिरहेका छन् । पश्चिमा मुलुकले उनीहरूको संस्कृति जबर्जस्त लादिरहेका छन् । हामीले पनि मख्खै परेर “ह्याप्पी बर्थडे टु यू” भन्दै, गाउदै, लेख्दै आइरहेका छौ । सबै वर्ग र लिङ्ग र बालबालिकाहरुलाई यसले मनोवैज्ञानिक असर पारेको छ । भविश्यमा झन् भयंकर रूप लिने अवस्था छ । नेपालमा ह्याप्पी बर्थडेको प्रभावले नेपाली समाजको सामाजिक–साँस्कृतिक र आर्थिक रुपमा गम्भिर असर गर्दै गइरहेको छ ।

जन्मोत्सवको विकसित रुपमा ह्याप्पी बर्थडे
ह्याप्पी बर्थडे र जन्मजयन्ती वा जन्मोत्सव फरक हुन् । नेपालमा मनाइने जन्मजयन्ती र पश्चिमा संस्कृतीको ह्याप्पी बर्थडे मनाउने तौरतरिका, विधि, महत्व फरक छन् । त्यसैले ह्याप्पी बर्थडे विदेशी संस्कार हो । यसकोे इतिहास र महत्व आफ्नै ठाँउमा छ । नेपालमा कसैलाई रहर भएको छ भने कसैलाई बाध्यता भएको छ । पहिलेपहिले शहर बजमरमा मात्र बालबच्चाको जन्मदिन मनाएको सुनिन्थ्यो, देखिन्थ्यो । आजकल गाउँमा ह्याप्पी बर्थडेको ठूलो लहर चलेको रहेछ । गाउँघरतिर पनि भव्य मनाउन थालेका छन् । बिहे, बर्खिमा जस्तै निम्तो बाँडेर ह्याप्पी बर्थडे टुयू गीत गाउन थालेका छन् । गौरवका साथ सामाजिक सञ्जालहरुमा बर्थडे भोज प्रदर्शन गर्ने गरेका छन् । बर्थडेका दिन निम्तेरीहरुले चामल, रक्सी, जाँड तथा कोक, ड्यू र पैसा ल्याउदारहेछन् । कसले के, कति ल्यायो भनी बोही पनि राख्दा रहेछन् । क्षणभरको लागि भएपनि विलासी सजिसजावट गरेर, अवोध बालकलाई चुच्चे टोपी ओडाउछन् । रसायनयुक्त केक काट्न लगाएर बलेको मैनबत्ती निभाउन लाउदै “ह्याप्पी बर्थडे टु यू” गीत गाउछन् । रासायनिक स्प्रे उडाउदै केक र भोज खाइसकेपछी नेपाली, हिन्दी, अंग्रेजी गीतसंगीतमा जोडदार नाच्न थाल्छन् । सामाजिक सञ्जालहरुमा पोष्ट गर्न थालछन् । यहाँ दुखत कुरा के छ भने, आफ्ना संस्कारसंस्कृतिहरु सामाजिक सञ्जालहरुमा राख्न कन्जुस्याई गरिरहेका छन् । यसले नेपालको संस्कृतिक असर पारेको छ । दियो बालेर जन्मोत्सव मनाउने नेपाली चलनको ठीक उल्टो हिजोआज आयतीत संस्कृतिको प्रभावमा परेर बलेको मैनबत्ती निभएर ह्याप्पी बर्थडे मनाउन थालिएको छ ।

नेपालमा ह्याप्पी बर्थडे कसैको रहर र कसैको बाध्यता
रेमिट्यान्ससँगै भित्रिएको बर्थडे सस्कार कसैको रहर भने कसैको बाध्यता बन्दै गएको छ । हरेक मान्छे जन्मन्छन् । जन्मनु स्वाभाविक प्रक्रिया हो । जन्मदिनलाई देखासिखीको रूपमा नक्कल गरेर आफ्नो आर्थिक हैसियतभन्दा बढी खर्च गर्न थालेका छन् । हुनखानेले अनावश्याक विलासी भोज गरेर देखाउन थालेका छन् । हुनेखाने र हुदाखाने विच भयंकर सामाजिक विभेद जन्माइरहेको छ । हुनेखानेले आफ्नो वच्चा खुसी बनाउन महँगा पार्टी प्यालेसमा बर्थडे मनाउँछन् । महँगा उपहार विलासी खाना र भव्य आफ्ना आफन्त र साथिहरुका उपस्थितिमा बर्थडे मनाएको देखेपछि हुँदाखानेको बच्चाहरुले जन्मदिन आउनुभन्दा एक महिना अगावैदेखि बाआमालाई गनगन सुरु गर्न थाल्छन् । बाध्य भएर आफ्ना बच्चाहरुको बर्थडे मनाउनु पर्ने हुन्छ । बाध्य भएर आफ्ना बालबच्चाको लागि आमाबाबुहरूको आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । यस्ताखाले सामाजिक विभेदले बालबालिकाको मनोविज्ञानमा ठुलो असर परेको छ । हाम्रो नेपाली संस्कृतिमा समेत गम्भीर प्रश्न पनि खडा गरिदिएको छ ।
विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालययमा आफ्नो संस्कार संस्कृतिको महत्त्व र बर्थडेको प्रभावको बारेमा जानकारी दिनुको सट्टा चकलेट वितरण गरेर बर्थडे मनाईरहेका हुन्छन् । बिद्यार्थीहरुले पैसा उठाएर शिक्षकहरु समेतको बर्थडे मनाइरहेका हुन्छन् । विद्यालयस्तरका बालबालिकाका सबैभन्दा प्रभावित छन् । जन्मदिन मनाउनै पर्दा मौलिक हिसावले मनाउन सिकाउदा राम्रो हुन्छ । जन्मदिनको दिन ह्याप्पी बर्थडे टु यू कै गीत गाउनुपर्छ भन्ने छैन । आफ्नै पाराले आफ्नो अनुकुलको गीत गाइदिए भइहाल्छ । आफ्नै मात्रृभाषा वा राष्ट्रभाषाबाट सोही भावको लयमा गीत गाउदा पनि हुन्छ । जसले देश प्रतिको सम्मान र असल नागरिक बन्ने प्रेरणा पनि दिन्छ । अनुत्पादक काममा हामीले समय खर्च गरिरहेका छौँ । यसले हाम्रो समयको बर्बादीभन्दा केही गरेको देखिँँदैन । जन्म दिनका दिन केक नै काट्नु पर्दैन । बिद्यालय शिक्षाको पाठ्यक्रममा नेपाली संस्कारबारे कमै समाबेस भएकाले हाम्रो संस्कार र संस्कृतिका विषयमा बालबच्चालाई कमै थाहा छ । उनीहरूसँग हाम्रो संस्कारसंस्कृति र परम्पराका विषयमा खुलेर सिकाउनुको सट्टा शिक्षक आफैले जन्मदिन मनाएर बिद्यार्थीहरुबाट केक र गिफ्ट लिईरहेका हुन्छन् । बिद्यार्थीहरुलाई पनि मनाउन उक्साईरहेका हुन्छन् ।

Advertisement

ह्याप्पी बर्थडेले नेपाली समाजमा निम्त्याएको असरहरु
पश्चिमा संस्कार ह्याप्पी बर्थडे नेपालको कुनाकुनामा सल्बलाइरहेको छ । यसले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हरेक क्षेत्रमा असर पारेकै छ । केही समस्यहरु यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

संस्कारसंस्कृतिमा असर
ह्याप्पी बर्थडे पश्चिमा संस्कार हो । अहिलेको विश्वव्यापीकरण र भौतिकवादी सोचाइले हामीलाई निरीह बनाएको छ । नेपालमा ह्याप्पी बर्थडेको प्रभावले नेपाली समाजको साँस्कृतिक रुपमा गम्भिर असर पार्दै गइरहेको छ । अहिलेका बालबालिकाले आफ्ना संस्कारसंस्कृतिहरु बिर्सदै गएका छन् । अरूको सिको गर्दै हामीले हाम्रा सन्तानलाई गलत संस्कार सिकाईरहेका छौं । बालबालिकाहरुसँग बसेर आफ्नो संस्कारसंस्कृतिका विषयमा कुराकानी कमै मात्र गरेका छौं । त्यसैले बर्थडेले सांस्कृतिक असर पु¥याएको छ ।

आर्थिक असर
जन्मदिन मनाउनु अनुत्पादक कार्य हो । यसले अनावश्याक समय र खर्चको नास गर्छ । जन्मदिनको अवसरमा मनपरेको उपहार, कपडा, नातागोतालाई बोलाएर भोज, केक आदी खरिद गर्दा सामान्य परिवारलाई कम्तिमा दश हजारसम्म खर्च हुन्छ । एउटा घरमा वर्षमा चार–पाँच जनाको खर्च यही गतिमा गर्दा पचासदेखि एक लाखसम्म खर्च हुने गर्छ । जन्मदिनमा उपभोग गर्ने, प्रयोग गर्ने सामाग्री, उपहारहरु प्रायः आयातीत छन् । सबै हाम्रा उत्पादन हुँदैनन् । प्राय भारतीय सामाग्रीहरु प्रयोग गर्छौं । यसले हाम्रो वैयक्तिक जीवनमा मात्र होइन, राष्ट्रको आर्थिक नीतिमा पनि असर पुर्‍याउँछ । अनि फेरि बर्थ–डे गिफ्टको झमेला पनि छ । आमाबुबादेखि साथीभाइ, आफन्त र प्रेम सम्बन्धमासमेत यो गिफ्टले जरो गाडेको छ । जन्मदिनमा दिइएका र लिइएका उपहारहरु न व्याबहारमा काम लाग्छन् , न बिक्री नै हुन्छन् । त्यसैले जन्मदिन मनाउने व्यक्ति, मानिदिने आफन्त र सिंगो राष्ट्र कसैलाई पनि आर्थिक लाभ हुदैन ।

स्वास्थ्यमा असर
बजारमा पाइने धेरै केक अस्वस्थ्वकर र विषादीयुक्त छ । जन्मोत्सवमा केक, माछामासु, कोक, ड्यू, र मदिरामै लठ्ठिने प्रचलन छ । यो चलनले बच्चादेखि बुढा बाआमालाई समेत रसायनिक खानेकुरामा डुबाइसकेको छ । आँखै लोभ्याउने रंगिन खाने कुरामा शरीरलाई हानी गर्ने तत्त्व रहेका खाद्यविज्ञहरू बताउँछन् । आफ्नो बर्थडेको केक खाने बितिकै फुड पोइजन भएर मृत्यु हुने बालबालिकाहरु पनि छन् । कोक, ड्यू तथा रक्सीजन्य पेय पदार्थहरु स्वास्थ्यको लागि हानीकारक मानिन्छ । बर्थडेको मुख्य पेय पदार्थ नै यीनै हुन् । रातको १० देखि १२ बजेसम्म निद्रा बिगारेर बर्थ–डे मनाइरहदा अनिदो भएर स्वास्थ्यमा गम्भिर असर पुग्छ ।

बालबालिकामा मनोवैज्ञनिक असर
बालबालिकाहरुलाई बर्थडे पनि आफ्नै संस्कार हो भन्ने बुझाई हुन्छ । त्यसैले सबै बालबालिकाहरुले बर्थडे मनाउन रुचाउछन् । हुनेखानेले आफ्ना छोराछोरीको बर्थडे पार्टी प्यालेसमा गर्छन् । घरमै गरेपनि धुमधामसँँग गर्छन् । हुँदाखाने साथीभाई, आफन्तलाई समेत बर्थडे पार्टीमा निमन्त्रणा गर्छन् । उक्त पार्टीमा अन्य सहभागि सरह उपस्थित हुन नसक्दा मनोवैज्ञनिक असर पर्छ । हुनेखानेको जस्तो जन्मदिन मनाउन नसक्दा उसलाई र उसको बच्चालाई मनोवैज्ञानिक असर पर्छ । मनोबैज्ञानिक असर नपरोस् भनेर कसैले आफ्नो आम्दानीभन्दा बढी खर्च गरेर, चर्को व्याजमा ऋण काढेर जन्मदिन मनाइरहेका छन् ।

बर्थडेले दुर्घटना निम्त्याउछ
बर्थडे पार्टी मान्ने र मनाउने क्रममा थुप्रै सवारी दुर्घट्ना भएर निधन भएको सुनेका/देखेका छौं । अहिलेका बालबालिकाहरुको बर्थडे बिहानदेखि बेलुकासम्म फरकफरक ठाँउमा भिन्नभिन्न साथिहरुसँग पार्टी प्यालेस र होटलहरुमा मनाउने गर्दछन् । बर्थडे पार्टीमा अत्याधिक मादक पदार्थ सेवनको कारणले सवारी दुर्घट्नाको कारणले बर्षेनी थुप्रै मानिसहरुको मृत्यु हुने गरेको छ । यसरी बर्थडे पार्टीको कारणले पनि दुर्घट्ना निम्त्याउने गर्छ ।

सामाजिक सञ्जालहरुको दुरुपयोग
अहिले सामाजिक संजालमार्फत जन्मदिनको कामना गर्नेको होडबाजी चलेको छ । फेसबुकमा जन्म मिति राखे अनुसार सबैको जन्मदिन नोटिफिकेसनमा आउँछ । जन्मदिनलाई खास महत्त्व नदिने, आफ्नो जन्मदिन भनेर ख्याल नगर्ने, थाहा नपाउनेहरूले पनि सञ्जालमार्फत् भटाभट जन्मदिनको शुभकामना आउन थाल्छ । पछिल्लो समयमा राजनीतिज्ञ नेता तथा कार्यकर्ताहरुले एकापसमा सामाजिक संजालमार्फत जन्मदिनको शुभकामना ब्याक्त गर्दै सुन्दर फोटो सार्वजनिक गरिरहेका छन् । यसो गर्नुको मुख्य उदेश्य भनेको नेताले कार्यकर्तासँग सम्बन्ध बढाउनु र कार्यकर्ताले नेतासँग सम्बन्ध बढाउनु मात्र हो । त्यसैले जन्मदिन पनि नेता तथा कार्यकर्ताहरुको लागि एक राजनैतिक हतियार बनेको छ । एक नेता साथीले हरेक दिनमा ५ देखि १० जनासम्मको सामाजिक संजाल फेसबुकमा बर्थडेको शुभकामना दिँदै आएका छन् । यसो गर्नको कारण चाहीँ चुनावमा भोटको लबिङ गर्न सजिलो हुने भनेर बताए । बच्चादेखि बुढाबुढीसम्म सबै जनाको जन्मदिन केक काटेर, पार्टी, भोज गरी सञ्जालहरूमा लाइभ गरिरहेको देखिन्छ । आजको पुस्तालाई जन्मदिन भनेकै फेसबुकमा फोटो राख्ने र कमेन्ट, लाइक र रियाक्ट हेर्ने दिन भएको छ । फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा फोटो लाउनु जरुरी छैन । यसले लाइक र कमेन्ट गर्दागर्दा समयको बर्बादी मात्रै भइरहेको छ । सामाजिक सञ्जालहरुमा जन्मदिनको कामना राख्नुको सट्टा सञ्चार माध्यमहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्क गरेर कामना गर्नु राम्रो हुन्छ । त्यसो गर्दा तेस्रो व्यत्तिलाई न लाइक, न कमेन्ट, न रियक्ट केही पनि गर्न परेन ।

ह्याप्पी बर्थडे टु यूको विकल्प
आधुनिक जन्मोत्सव तथा बर्थडे विश्वव्यापिकरणले निम्त्याएको नयाँ संस्कार हो । मनाउनै पर्छ भन्ने छैन । मनाउनै परेपनि मौलिक तरिकाले स्वदेशमै उत्पादन गरेको सामाग्री र खाद्यन्न प्रयोग गरेर मनाउनुपर्छ । सामाजिक, साँस्कृतिक, आर्थिक र मनोवैज्ञनिक दृष्टिकोणले केही असर नपर्ने आफ्नै देशको परिवेश सुहाउदो मनाउनुपर्छ । बर्थडेको भोज खुवाउनै परे, पार्टी प्यालेशमा नभएर आश्रमका वृद्धाहरुलाई र गरिब तथा असाहायहरुलाई भोज खुवाउनका साथै आवश्यक सामाग्री वितरण गरेर मनाउदा उत्तम हुन्छ । आफ्नै तरिकाले जन्मदिन मनाउने संस्कार शुरुवात गर्नुपर्छ । बर्थडेमा गरिने कार्यविधिसँग मिल्ने आफ्नो मौलिक संस्कार भित्र खोज्नुपर्छ । यहाँ लिम्बु जातिको माङ्गेना अनुस्ठान बर्थडेको भाव मिल्न जान्छ ।

आजकल बर्थडेको प्रभावले लिम्बुले अनिवार्य गर्नुपर्ने माङ्गेना पूजा कमै गर्न थालेका छन् । आफ्नो पहिचान, कला, र संस्कृतिहरू भुलेर आयातीत संस्कृतिमा रमाउन थालेका छन् । लिम्बू समुदायमा माङ्गेना अनुस्ठान परम्परागत रूपमा चल्दै आएको संस्कार हो । माङगेना गर्नुको उद्देश्य हाम्रो पिता पूर्खाहरूसँग बल शक्ति माग्ने हो । मानवीय गरिमा, आत्मसम्मान, मान्छेभित्र भएको भावना, रहर, विश्वास र चाहनालाई सधैं उच्च बनाइराख्नु वा शिर ठाडो बनाइराख्नु नै यो अनुष्ठानको उद्देश्य हो । माङगेना अनुष्ठानमार्फत मानवीय गरिमा वा उच्च आत्मा सम्मान प्राप्त होस् भन्ने कामना गरिन्छ । माङ्गेना विशेष गरी सु–स्वास्थ्य, दीर्घायु, सुरक्षा र सफलताका लागि गर्ने गरिन्छ । प्राय वर्षमा एकपटक कार्य सफलताका लागि माङ्गेना गरिन्छ । कुनै पनि कार्य असफल भए यस्तो असफलता फेरि नदोहोरियोस् भनी शिर उठाउनका लागि पनि माङगेना गरिन्छ । यसो गर्दा संस्कार पनि बाँच्ने बर्थडे जस्तै जमघट, मौलिक भोजभतेर पनि हुने । यसरी नै सबैले आफ्नो मौलिक संस्कारभित्र बर्थडेको बिकल्प खोजी गर्नुपर्छ ।

निष्कर्ष
ह्याप्पी बर्थडे नेपालीको मौलिक संस्कार होइन । केहीको रहर त धेरैको बाध्यता भएको छ । आफ्नो मौलिक संस्कार छोडेर विश्वव्यापीकरणको नाममा बिदेशी संस्कारलाई प्राथमिकता दिनु राम्रो हुँदैन । हाम्रो संस्कृतिमा उज्यालोलाई विशेष महत्त्व दिइन्छ । दियो बालेर पूजा गर्नु नेपाली संस्कार हो । बर्थडे मनाउदा मैनबत्ती निभाएर मनाउछन् । नेपाली सस्कारको ठिक उल्टो छ । हाम्रो संस्कारमा उज्यालोको महत्त्व हुन्छ । यसबारे हाम्रो सोचको ढोका खुल्न जरुरी छ । जन्मदिनको अवसरमा प्रगतिको कामना गर्नु, सम्झनु त राम्रै हो, तर सामाजिक सन्जाल मार्फत लाइभमा आएर होहल्ला गर्नु राम्रो होइन । यस कार्यले कसैलाई फाईदा पुर्‍याउदैन । यदि गर्नु नै छ भने सम्बन्धित ब्याक्तीलाई फोन, म्यासेज, म्यासेन्जर, इमो, वाट्सएप, इन्स्ट्रग्राम आदिद्धारा ब्याक्तिगत रूपमा प्रत्यक्ष शुभकामना दिदा राम्रो हुन्छ । जन्मदिनमा शुभकामनाको फोटो फेसबुकमा लाउनै पर्छ भन्ने पनि छैन । साथीभाई, आफ्नो आफन्तले लाइक र कमेन्ट, रियाक्ट गर्दागर्दा समयको बर्बादी मात्रै भइरहेको छ । आफ्ना आफन्तहरुले सामाजिक संजाल फेसबुक भरी सुन्दर फोटोसहित जन्मदिनको कामना गरिरहदा जन्मदिनवाला मक्ख पर्नु स्वभाविक हो । कतिपय साथिहरु लाइक कमेन्ट गर्दा वाक्क मानेका छन् । जन्मदिन नमान्नेहरु दिक्क मानेका छन् । त्यसैले आयतित सस्कार भन्दा आफ्नो मौलिक सस्कारलाई भव्य रुपमा मानौं । लिम्बु जातिको माङ्गेना अनुस्ठान जस्तै बर्थडेकै भाव बोक्ने आफ्नो मौलिक संस्कार भित्र खोजी गरी बर्थडेको बिकल्पमा बर्थडे जस्तै भव्य मनाऔं ।