अवैधानिक बाटोबाट मलेसिया पुगेका इन्द्र एनआरएनएको अध्यक्षसम्म
देवेन्द्र खापुङ
पूख्र्यौली नै त नभनौ, केही पुस्तापहिले देखि लिम्बूहरूको छोरा ‘लाहुरे बनोस्’ भन्ने आशिर्वाद दिने चलन छ । लाहुरेमा पनि ‘मलायाको लाहुरे’ बनोस् भन्ने हुन्थ्यो । सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने सँगसँगै सबै छोरा लाहुरे बनोस् भन्ने आर्शिवाद कुनै कुनै परिवारमा लाग्थ्यो पनि ।
तेह्रथुमको श्रीजुङ ३ मा जन्मिएका इन्द्र लुङ्फुङ्वाको परिवार पनि आशिर्वाद लागेका मध्ये एक हुन् । मलायाका लाहुरे बुबा खड्गबहादुर लुङ्फुङ्वा र आमा रजनमाया फागो चोङबाङको कोखबाट ४ भाई जन्मिएकोमा ३ भाई लाहुरे भई हाल सिंगापुर पुलिसमा कार्यरत रहेका छन् । गाउँकै गल्लावालबाट एक घरको एक जनामात्र छान्ने नीति अपनाएर इन्द्रलाई छोडी उनको भाईलाई छाने । माध्यमिक शिक्षासम्ममात्र अध्ययन गर्न पाएका अनि लाहुरे पनि बन्न नसकेका इन्द्रले कालान्तरमा मलेसियाको स्थापित नेपाली व्यापारी, नेपाली व्यावसायी समाजको अध्यक्षहुँदै गत अगष्ट ३१ मा भएको गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाको अध्यक्ष बनेर अर्को उदाहरण नै बनेका छन् ।
२०३० फागुन १९ गते जन्म लिएका हुन इन्द्रले । ४ भाई र ५ बहिनीमध्ये माइलो सन्तानका रूपमा रहेका उनी उमेरमा निक्कै ‘ह्याण्डसम’ थिए । साच्चिकै भर्ति लाग्लाजस्तो शरीर रहेकोले उनी धेरै मेन्छ्या (तरुनी)हरूका सपनाका राजा पनि थिए । शायद त्यसैले गर्दा नै होला, माध्यमिक तहदेखि उनको पढाई बढ्न सकेन । अन्ततः पढाई रोकिनु, लाहुर पनि नजानुको कारणले गर्दा उनको परिवारले २१ वर्षकै उमेरमा तेह्रथुम छथरका विनिता लेक्वा खजुमसँग विवाह गराइदिए । वि.सं. २०५१ सालको फागुन २५ गते विवाह भएको थियो उनको । त्यसैले धेरै मेन्छ्याहरूले उनलाई ‘पच्चिसे’ भनेर नाम दिएका थिए रे ।
विवाहकै साल उनीहरूको परिवार मोरङको शनिश्चरे ३ मा बसाइँ स¥यो । पहाड र तराई गरिरहेकै बखत इन्द्रलाई विदेश जाने रहरले गाँज्यो । बुबाले उनलाई कोरियातर्फ पठाउन खोजेका थिए । तर विदेश जाने मनस्थिति बनाएपछि तत्कालै गइहाल्ने योजनामा लागि परे । फलस्वरूप चाडै पुगिने देश मलेसिया उनको लागि गन्तव्य बन्यो ।
वि.सं. २०५२ को वर्षहरूमा मलेसिया नेपाली कामदारहरूको लागि वैधानिक तवरले पुग्न सकिने देश बनेको थिएन । यद्यपि थाइल्याण्डको बाटो हुँदै धेरै नेपालीहरू मलेसिया पुग्ने गरेकोले उनीहरूले पनि त्यही बाटो समाते । बाटो देखाउने काम उनको फुपाजु पर्नेले गरेका थिए ।
थाइल्याण्डको बाटो हुँदै मलेसिया पुग्नुका आफ्नै कथाहरू हुन्छन् । लेख्न सक्नेहरूले लेखेर ति दुःखहरू पोखेका छन् । भन्न सक्नेहरूले बोलेर छरेका छन् । उनको कथा पनि लेख्ने र बोल्नेका भन्दा कम छैन ।
थाइल्याण्डको बाटो समात्नेहरूको पहिलो गन्तव्य भनेको मलेसियाको पेनाङ नै हो । उनलाई पनि पेनाङको फाजङ भन्ने सुपरमार्केटमा काम दिलाइयो । जेटी (जर्ज टाउन)नजिकै रहेको सुपरमार्केटमा उनी १ वर्ष काम गर्न भ्याए । भिषाविहिन विदेशीहरूलाई पक्राउ गर्ने मलेसियाको कानुन त थियो नै । तर बढ्दो रूपमा भित्रिएका विदेशीहरूलाई कस्तो रणनीति अपनाउने भन्ने कुरामा मलेसिया स्पष्ट भइसकेको थिएन । जब १ वर्षपछि सबै इलिगलहरूलाई आफ्नो देशबाट धपाउने उर्दी भएपछि भने उनीहरूको जागिर गयो ।
त्यो बेला अवैधानिक रूपमा काम गर्नेहरूको तलब आरएम ५५० थियो । कम्पनीले बस्ने ठाउँ दिएको हुनाले खानामा आरएम ३० खर्च हुन्थ्यो भने बाँकी सबै बच्थ्यो । अहिलेजस्तो मोवाइल सबैको हात हातमा पुगिसकेको पनि थिएन । अनि नेपालमा पैसा पठाउने माध्यम पनि थिएन । तसर्थ जे जति कमाएको र बचाएको पैसा १ वर्षसम्म साथैमा राखेको यथार्थता पनि उनीसँग छ ।
सुपरमार्केटमा १२ जना नेपालीहरू कामदाररत रहेको र १ वर्षपछि सबैलाई निकालेपछि उनीहरू क्वालालम्पूरको बाटो समात्न पुगे । क्वालालम्पुर पुगेपछि मात्र सिंगापुरमा रहेको दाइमार्फत आफुले कमाएको पैसा नेपाल पु¥याउन सफल भए ।
क्वालालम्पूरमा त चिनजानका धेरै साथीभाईहरू थिए । उहाँहरूमार्फत नै श्रीहर्तमासको एक घरमा सेक्युरिटीको काम पाए । तर काम गरेको ५ महिनापछि उनीहरूमा एक समस्या आइलाग्यो । त्यहाँ कार्यरत स्थानीय मले र नेपालीबीच झगडा पर्दा त्यहाँ कार्यरत १४ जना नेपालीको जेलयात्रा शुरु भयो । उसै त अवैधानिकहरूलाई धमाधम पक्रन शुरु गरेको अवस्थामा उनीहरू त झोसपोलमार्फत पक्राउ परेका थिए । पक्राउ परेको केहीदिनसम्म ब्रेकफिल्डको हिरासतमा बासपछि उनीहरूको ग्रुपको १४ जनामध्ये ७ जनालाई जोहोरको पेकानानस भन्ने ठाउँमा पु¥याइयो । अन्य ७ जनालाई मलाका पु¥याइएछ भन्ने इन्द्रले पछि मात्र थाहा पाए । त्यति टाढा पु¥याइनुको कारण थियो –देशव्यापी रूपमा अवैधानिकहरूलाई पक्राउ गरिँदा मलेसियाका सबै जेल भरिनु । पेकानानस पुगेको ७ जनामध्ये तेह्रथुमका उनीसहित ४ जना, झापाका २ जना, मोरङका १ जना थिए । ठूलो कम्पाउण्डमा रहेको काठको दुईतल्ले घर भएको जेल थियो । त्यहाँ ५०० जना कैदीहरू थिए ।
भिषा सकिएको पासपोर्ट त साथैमा थियो तर प्रहरीले पक्रने वित्तिकै जफत गरेर फिर्ता दिएन । तसर्थ मलेसियाको लागि उनीहरू कुन देशको हो भन्ने कुराको पहिचान नै हुन सकेन । ५ महिनाको अल्याङटल्याङपश्चात इन्द्रले प्रहरीहरूलाई केही पैसामा लोभ्याएर सिंगापुरमा रहेका दाईलाई पत्र पठाउन सफल भए । उनै दाइमार्फत उनीले नेपाली हो भन्ने प्रमाणित गर्न पाए र नेपाल फर्किए । उनी फर्किएपछि जेलमा रहेका अन्य साथीहरूलाई पनि नेपाल फर्काउन सफल भए ।
उनी मलेसिया छँदा नै नेपालमा छोरा डीबीहाङको जन्म भइसकेको थियो । विदेशमा जेलनेल भोगेर आएका इन्द्रलाई छोराको मुख हेर्दा धेरै सन्तोष मिल्यो । जेलबाट फर्किएका साथीहरू भने मलेसियाको नाम सुन्दै तर्सिन थाले । तर उनी भने नेपाल फर्किएको २ वर्षपछि फेरि थाइल्याण्डको बाटो भएर मलेसिया हान्निए ।
यसपल्टको गन्तव्य पेनाङ नभएर पेराक हुन पुग्यो । त्यहाँस्थित प्राउन फर्ममा ५ महिना काम गर्न पुगे । त्यस समयमा पनि उनको तलब आरएम ५५० थियो । उनका चिनजानका साथीहरू क्वालालम्पुरको शाहआलममा बंगुर फार्ममा कार्यरत थिए । साथीहरूको बोलावटपछि उनी पनि त्यही नै काम गर्न पुगे । त्यहाँ पुगेपछि भने उनको तलब आरएम ११०० हुन पुग्यो ।
शाहआलममा बंगुर बन्थ्यो अनि पुडुमा मासु बेचिन्थ्यो । शाहआलममा डेढ वर्ष काम गरेपछि पुडुमा बंगुरको सेकुवा बनाएर बेच्ने भाग प¥यो उनलाई । पुडु आएपछि भने उनी नेपाली बजारमा पनि प्रवेश गर्ने अवसर पाए । उनले केही कमाएका थिए । धेरै नेपालीहरू साथी थिए । तसर्थ उनी साथीहरूको लागि नेपाली बजार छिरेका थिए । क्वालालम्पूरको कोतारायास्थित खोलिएको पहिलो नेपाली व्यावासाय ‘नेपाल हाउस’को ठीक अगाडि रहेको घरमा ‘नेपाली पसल’ को शुरुवात गरे । उनलाई साथ दिएका थिए –सन्तोष खिम्दिङले । नेपाली पसल पिसिओसहित खोलिएको थियो ।
त्यसैसाल उनका बुबा सिंगापुर आए, र मलेसियाहुँदै नेपाल फर्किने योजना बनाए । मलेसियामा रहेको माइला छोराको प्रगति पनि हेरुँ न भनेर बुबा आइपुगेपछि बुबाले छोरालाई नेपाल फर्काउन जोड गरे । उहिले त्यही देशमा ‘मलायाको लाहुरे’ भएका बुबालाई त्यही देशमा छोरा अवैधानिक रूपमा बसेको चित्त बुझेन । त्यसैकारण छोरालाई फर्काउनमा लागिपरे । उनले साथीलाई पसल जिम्मा लगाएर नेपाल फर्किए तर त्यो पसल जोगिएन ।
पुडुमा सेकुवा पोल्नमा उनी माहिर बनेका थिए । तसर्थ मालिकले उनलाई गुमाउन चाहेका थिएनन् । तर भिषाविहिन भएका कारण उनलाई छुट्टी मिल्यो । नेपाल फर्किएको ९ महिनापछि कलिङ (रोजगार भिषा) मिलाएर उनी त्यही पुगे । मालिकको प्यारो बनेका कारण उनी त्यो ठाउँमा १० वर्ष लामो काम गर्न पुगे ।
मलेसियामा नेपालीहरूको चाप, नेपाली व्यावसाय पनि फस्टिदै गएको देखेपछि इन्द्रले पनि परिवार झिकाए । र, नेपाली बजारमा छिरिसकेको कारण ‘साइनो रेष्टुरेन्ट’ व्यावसाय शुरु गरे । तीन तले घर भाडामा लिएर सिरान तला होस्टेल, बीचतला रेष्टुरेन्ट र भुइतल्ला पसलको रूपमा व्यावसाय चलाउन शुर गरे । इन्टरनेटसमेत भएको पहिलो नेपाली व्यावासाय मान्न सकिने साइनोमा हरिमान श्रेष्ठ र सुरेन्द्र चोङबाङले साथ दिएका थिए । प्रवासी नेपाली साहित्य समाज तथा किरात धर्म साहित्य उत्थान संघको जन्मदाताको रेष्टुरेन्टको रूपमा पनि साइनोलाई मान्न सकिन्छ । पछि अनेसास बनेको प्रवासी नेपाली साहित्य समाजको स्थापनाको समयमा आफ्नो व्यापारलाई हापेर संस्था बनाउनमा सहयोग गरेको कुरा इन्द्र लुङ्फुङवा गर्वका साथ सुनाउँछन् ।
साइनो रेष्टुरेन्ट चलाइरहेको बेला छोरा डीबीहाङ मलेसिया घुम्न बोलाए । छोराले मलेसिया घुमिरहेको बेला ‘बहिनी चाहियो’ भनेर जिद्दी पनि गर्न भ्याए । छोराको जिद्दीकै कारण उनीहरूले सन्तान बनाउन चाहे, फलस्वरूप ‘निङ्वाहाङ्मा’ को जन्म भयो । छोराको बहिनी रोजाई र छोरी नै जन्मिनु एक संयोग पनि बन्यो ।

करिब डेढ वर्षपछि साइनो समूह छुट्यो । सुरेन्द्र नेपाल फर्किएर शैक्षिक व्यावसाय गर्न थाले । हरिमान आफ्नै व्यावसायमा तल्लिन भए । सबैले शेयर लिएपछि इन्द्रले छुट्टै रूपमा इन्द्रेणी रेष्टुरेन्ट खोले । इन्द्रेणी रेष्टुरेन्टको अपार सफलतापछि भन्दा फरक नपर्ला, अति सुविधासम्पन्न ‘काठमाडौं रेष्टुरेन्ट’ खोल्न पुगेका छन् । इन्द्रेणी र काठमाडौं रेष्टुरेन्ट उनको एकल लगानी हो भने चाडै नै इश्वरी ढकाल, मनोज गुप्ता र जीवि लिम्बूसँगको संयुक्त लगानीमा काठमाडौं दोहोरी साँझ सञ्चालनमा ल्याए ।
छोरालाई पनि हाल मलेसियामा नै झिकाएर साइफल इन्टरनेशन स्कुलहुँदै हाल युनिभर्सिटी अध्ययन गरिरहेका छन् भने छोरीले पनि मलेसियाको माध्यमिक विद्यालय तहको अध्ययन गरिरहेकी छिन् ।
मलेसियामा मात्र नभएर शनिश्चरे मोरङमै सुरेन्द्र चोङबाङसँग प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल चलाइरहेका छन् । पथरी शनिश्चरेमा असर्फी कृषि फार्ममार्फत बंगुरको पाठा उत्पादन गरिरहेका छन् ।
कोरानाकालमा कोतारायाका धेरै नेपाली व्यावसायीहरू बन्द भए । त्यसैको मेसोमा दोहोरी साँझ, इन्द्रेणी रेष्टुरेन्ट पनि बन्द गरे र हाल काठमाडौं रेष्टुरेन्ट तथा कपडा पसलमात्रै सञ्चालन गरिरहेका छन् ।
व्यापारको आलवा किरात धर्म साहित्य उत्थान संघ मलेसिया, नेपाल विजनेश सोसाइटी मलेसियाको अध्यक्ष र किरात याक्थुङ चुम्लुङ आदि संस्थाको संस्थापक सदस्यका साथै तीनैवटा संस्थामा कोषाध्यक्षको जिम्मेवारी लिएका छन् । हङकङबाट तयार गरिएको तेह्रथुम वृत्तचित्रलाई मलेसियामा भिसिडी उत्पादनसमेत गरेका छन् ।
अब नेपालमा या कुनै पनि देशमा सकेसम्म सामुहिक लगानीमार्फत व्यापार गर्ने सोचमा रहेका छन् –इन्द्र । यसको लागि टिम पनि निश्चित भइसकेको बताउँछन् । तर कस्तो व्यापार गर्ने र कहाँ लगानी गर्ने बारे चाही छलफलकै क्रममा रहेको छ ।
‘मलेसियाका असली लाहुरे त म पो हुँ’ भन्ने इन्द्रले खास लाहुरे बुबालाई नै छक्क पार्ने काम गरेका छन् । किनभने तीन भाई सिंगापुरका लाहुरे छन्, तर इन्द्र भने मलेसियाबाट दाजुभाईको भन्दा बढि रूपैया बुबालाई देखाइरहेका छन् । शायद बुबा सोच्दा हुन्– ‘उहिलै दिएको आशिष लाग्यो होला ।’