माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्की निवासी राजु क्षेत्री ‘अपुरो’ चर्चित लघुकथाकार हुन् । बुवा डम्बरबहादुर क्षत्री र माता बुद्धिमाया घर्ती क्षत्रीबाट २०२९ कार्तिक १९ गते जन्मिएका राजुले आइकमसम्म अध्ययन गरेका छन् । विद्यार्थी जीवनदेखि खेलक्षेत्रमा लागेका राजुले पछिमात्रै साहित्यमा हात हालेका हुन् । शुरुमा साहित्यका सबै विधामा कलम चलाउने राजुले ‘प्रवासमा मेरो अनुभव र भोगाई’ संस्मरण सङ्ग्रह प्रकाशित गरेका छन् भने मेरा केही लघुकथाहरू, आशाका झिल्का, भाग्य र कर्म, दिमागको बिर्को लघुकथा सङ्ग्रह प्रकाशित छन् । सामाजिक कार्यमा पनि सक्रिय रहेका राजु वैदेशिक रोजगार मञ्च लाहाचोकको अध्यक्ष रहेर गाउँको विकास निर्माण होस् या मानवीय सेवामा टिमको नेतृत्व गर्दै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । राजुसँग नेपाल मामिला डटकमका लागि सीता तुम्खेवाले गरेको अनलाइनवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
बाल्यकाल कसरी बित्यो ?
म सानैदेखि पढाईमा भन्दा खेलकुदमा रुचि राख्दथेँ । टोल छिमेकमा पनि सिजन अनुसारका खेलकुद तथा मनोरञ्जनात्मक खेल गतिविधि हुन्थे । म समकालीन साथीहरूभन्दा अब्बल हुन खोज्थेँ । पारिवारिक माहोलको कुरा गर्नुपर्दा हाम्रो परिवार ग्रामीण भेकमा निम्न मध्यम वर्गीय परिवार हो । मैले पनि गरिबी, पीडा, अभावलाई नजिकबाट बुझ्ने मौका चाहिँ पाएको छु ।
स्कुलेजीवनमा तपाई कस्तो हुनुहुन्थ्यो ?
पढाईमा म त्यति अब्बल थिइनँ । पास हुनु नै मेरो लागि ठूलो कुरा थियो । अलि चकचके स्वभावको थिएँ ।
त्यतिबेला पनि बालकथा चाहिँ पढ्न खुब मन पथ्र्यो । सानोमा हजुर बाआमाले कथा सुनाउनु हुन्थ्यो । अलि ठूलो भएपछि, भारतीय सेनामा कार्यरत रहनु भएका बाबा छुट्टीमा आउँदा उहाँले सुनाउनु भएका ऐतिहासिक कथाहरू, कहिलेकाँही फुपुहरूले पनि कथा सुनाउनु हुन्थ्यो । यसैले होला म कथातिर आकर्षिक भएको हो । लाइब्रेरीमा जाँदा मेरो पहिलो रोजाई नै कथा उपन्यास हुने गर्दथे ।
तपाई त खेलाडी पनि हुनुहुन्थेछ त ? कहिलेसम्म खेल्नुभयो ? कुन तहसम्म खेल्नुभयो ?
हो, म पढेर ठूलो मान्छे बनुँला भन्ने त मनमा छँदै थिएन । खेलकुदतिरबाट नाम कमाउन पाए हुन्थ्यो भन्ने मात्रै थियो । गाउँमा हुँदा स्थानीय स्तरमा हुने प्रतियोगितामा अमिट छाप छाड्दै गएको बेला हाम्रो बाबाले सपरिवार भारत लिएर जानुभयो । जलपाइगुडी जिल्लाको बिन्नागुरी क्लबमा आवद्ध भएपछि मलाई जिल्ला क्लबमा खेल्न पठाइयो । त्यहाँ मैले राम्रै प्रदर्शन गरेँ । सन् १९९३ मा म त्यो क्षेत्रमा पैसा लिएर खेल्न थालेको थिएँ । त्यहाँ बेलाबखत ठूलाठूला फुटबल प्रतियोगिताहरू आयोजना गरिने रहेछ । त्यतिबेला गयरकट्टा रिडिङ क्लबले आयोजना गरेको सुब्रतो कपमा मैले आयोजकको तर्फबाट खेल्ने अवसर प्राप्त गरेको थिएँ । त्यतिबेला इस्ट बङ्गाल, वेस्ट बङ्गाल पुलिस, झापा ११, सिलिगुडी ११, दार्जीलिङ ११ लगायत थुप्रै ख्यातिप्राप्त टिम सहभागी थिए । हाम्रो यात्रा सेमीफाइनलसम्म रह्यो । वेस्ट बङ्गाल पुलिससँग ट्राइबेकरमा हारेपछि इस्ट बङ्गाल पुलिससँग फाइनल खेल्ने सपना पूरा हुन सकेन । त्यसपछि भारतीय सेनामा भर्ती भएँ । बनारसमा १९९४–९५मा तालिम गर्दै ३९ जिटिसिको टिमको सदस्य रहेँ । तालिम सकिएपछि म सेनामा रहिनँ । यसको छुट्टै कथा छ । परिवार दिल्लीमा थिए । त्यसपछि म दिल्ली पुगेर सानोतिनो नोकरी गर्न थालेँ । दिल्लीमा भाइहरू स्कुलमा राम्रै छाप छाडेका रहेछन् । अभ्यास गर्न जाँदा दिल्ली केन्ट क्लबका म्यानेजरको नजर म माथी पर्यो र सिधा ए डिभिजन खेल्ने मौका मिल्यो । अर्को वर्ष यानी सन् २००० मा गोअन्स क्लबमा आवद्ध भएँ । त्यो लिग सकेर म स्वदेश फर्किएँ र उपल्लो तहको खेल त्यहीं बिट मारेँ । म होचो कदकाठीको मान्छे, मैले भलिबलमा लिफ्टर भएर पनि थुप्रै प्रतियोगितामा सहभागी जनाएँ । २००१–२०१० सम्मको मलेसिया बसाई भलिबलमय नै भएर बितेको हो मेरो ।
साहित्य सिर्जना कहिलेदेखि गर्नुभयो ?
म मलेसिया प्रवेश गरेको केही वर्षसम्म कम्पनी र होस्टेल मै सिमित थिएँ । जब २००६ शुरु भयो । मलाई पनि केही लेखौं भन्ने उत्साह जागेर आयो । मेरो लेखनयात्रा भित्ते पत्रिकाबाट शुरु भएको हो । त्यतिबेला रविन्द्र राई अधुरो, पदम नेपाल र म मिलेर भित्ते पत्रिका साप्ताहिक रुपमा झन्डै एक वर्षसम्म चलाएका थियौँ ।
सबैभन्दा पहिले प्रकाशित तपाईको रचना ?
भित्ते पत्रिका निकाल्दै गर्दा मैले त्यतिबेला एउटा संस्मरण लेख ‘वर्तमानमा बिझेका काँडाहरू’ पत्रद्वारा श्रम साप्ताहिक मलेसियालाई पठाएको थिएँ । त्यो लेख नै मेरो पहिलोपल्ट छापिएको लेख हो । त्यसपछि मैले ‘जे देखियो त्यो लेखियो’ भन्ने स्तम्भ लेख्न थालेँ र पाठकहरूको भरपुर माया पाएको थिएँ ।
शुरुमा तपाईले के लेख्नुहुन्थ्यो, केमा रुचि थियो ?
शुरुमा म संस्मरण कथा लेखनमा आकर्षित थिएँ । २००६ पछि म लघुकथा लेखनतिर सक्रिय रहन थालें ।
ति लेखनले कतिको निरन्तरता पाए ?
मेरो एउटा लघुकथा २००६ मा श्रम साप्ताहिक को सहप्रकाशन रहेको एउटा द्वैमासिक पत्रिकामा छापिएपछि म त्यही देखि शुरु हुन्छ मेरो लघुकथा लेखनयात्राको निरन्तरता ।
पहिलो प्रकाशित पुस्तक कुन हो ?
मलेसिया मै रहदै गर्दा मेरा थुप्रै लेख रचना छापिएका थिए र ती लेखलाई जिवन्त बनाउन मैले पुस्तकको रुप दिएको थिएँ । त्यो पुस्तक एकै बिधामा केन्द्रित थिएन । ‘प्रवासका अनुभव र भोगाई’ मेरो पहिलो पुस्तक हो ।
बीचमा त पत्रकार राजु क्षेत्री अपुरो भनेर परिचय आएको थियो होइन ?
एक समय पत्रकार बन्ने हुटहुटी पनि जागेको थियो र मलेशिया मा केही समय पत्रकारको रुपमा पनि चिनिने अवसर चाहिँ मिलेकै हो ।अहिले त्यो नसा हराएको अनुभव भैरहेको छ । सायद म पत्रकार बन्न त्यति योग्य थिइनँ ।
अहिले त साहित्यविधाको लघुकथामा कटिवद्ध हुनुभएको छ, कसरी शुरु भयो लघुकथाको यात्रा ?
धेरै विधामा हात हाल्नु भन्दा एउटै विधामा केन्द्रित हुनु राम्रो भन्ने लागेर आज पनि म लघुकथा लेखन, प्रशिक्षण, सम्पादन र साप्ताहिक रुपमा चल्ने दैनिक वाचन कार्यक्रमको संयोजक रहेको छु । लघुकथा गानको परिकल्पना र निर्माण गर्दै लघुकथा क्षेत्रमा एउटा सानो इतिहास रच्न सफल भएको महसुस गर्न थालेको छु । लघुकथा गान पहिलो विधागत गान भएकोले यसले बिस्तारै मान्यता पाउनेछ भन्नेमा म ढुक्क पनि छु ।
खासमा लघुकथा के हो ?
लघुकथा एउटा आख्यानको स्वतन्त्र प्रविधा हो । उपन्यासलाई फुटबल मैदान, कथालाई भलिबल मैदान भनेजस्तै कथालाई भलिबल मैदान भनेजस्तै लघुकथा चेसबोर्ड हो । थोरैमा धेरै कुरा भनिने, लघुकथा पढेपछि पाठक घोत्लिन, मुस्कुराउन, आक्रोश पोख्न, बाध्य हुने या भनौं मन मस्तिष्कमा एउटा गहिरो छाप छाड्ने हुन्छ । एउटा विषयलाई काल्पनिक कथ्यका माध्यमबाट शिल्पकलाले सिगार्दै आकर्षक समापन गरिएको त्यो लघुत्तम आकारको कथा जो एउटा खास उद्देश्यका लागि लेखिन्छ । लघुकथा कथाको सार होइन, न जोक नै हो । लघुकथा बुझ्नको लागि अध्ययन गर्न नितान्त जरुरी हुन्छ ।
यो विधा नेपालमा मात्रै सिमित छ कि विश्वसाहित्यमा पनि छ ?
लघुकथा लेखन बिश्वमा साहित्यमा लेखिन थालेको थुप्रै सताब्दी बितिसकेको छ । हिन्दी साहित्यमा कलम चलाउनेहरूले पनि हिन्दीमा लघुकथा लेख्न थालेको हाम्रो भन्दा धेरै पुरानो इतिहास छ । हाम्रोमा भने बि सं २००७ पछि मात्रै तिव्रता आएको हो ।
विश्वसाहित्यले कथा भनिने विधालाई ‘सर्ट स्टोरी’ नै भन्छ होइन, सर्ट स्टोरी र लघुकथाको अन्तर के छ ?
सर्ट स्टोरी, माइक्रो स्टोरी आदि जे नाम दिए पनि यी सबै लघुकथा कै हिस्सा हुन् । भारतलाई इन्डिया र बेलायतलाई ब्रीटेन भनेजस्तै । यति हो कि लघुकथामा हुनुपर्ने तत्व आयो कि आएन भन्ने कुरा महत्त्वपूर्ण हो ।
लघुकथासम्बन्धि संस्था पनि छ होइन, यसले के के गर्दैछ ?
नेपालमा २०६५ भाद्र् ५ गते विधिवत रुपमा दर्ता भएको सस्था लघुकथा समाज नेपाल रहेको छ । पोखरामा पनि लघुकथा प्रतिष्ठान दर्तामा छ । सामाजिक सञ्जालमा फेसबुक पेज खोलेर लघुकथाको विकास बिस्तारमा लागिपरेका आधा दर्जन भन्दा बढी पेज सकृय छन् । सबैको उद्देश्य एउटै हो । काम गर्ने तरिका अलि फरक चाहिँ हुन सक्छन् ।
लघुकथाप्रति पाठकको धारणा के छ र तपाई लेखकहरु स्वयंले कतिको भविष्य देख्नुभएको छ ?
म अहिले हाम्रो लघुकथा पाठशाला भन्ने पेजमा एडमिन रहेको छु । त्यहाँ हाम्रो ७ प्रमुख र एक दर्जन सहायक प्रमुखहरू रहेका छन् । अहिलेसम्मको हाम्रो गतिविधि हेर्दा लघुकथाको भविष्य उज्ज्वल मात्रै होइन हामीले पुस्ता हस्तान्तरण गर्न सयौ लघुकथाकार उत्पादन समेत गरिसकेका छौँ । लघुकथा ओझेलमा पर्ने कुनै सम्भावना देखिदैन ।
आगामी कृति के आउँदैछ ?
हाल सिमित रुपमा लेखन यात्रा अगाडि बढ्दैछ । हालसम्म चार लघुकथा सङ्ग्रह प्रकाशित भए । अब एउटा अब्बल दर्जाको लघुकथा निकाल्ने धोको चाहिँ छ । समय चाहिँ निकै लाग्न सक्छ ।