बुबा कृष्ण कुमार राई र आमा कुमारी राई (कमला) कोखबाट झापा, मेचिनगरपालीका–१ मा जन्मिएकी कवि दिपा मेवाहाङ राई हाल दक्षिण कोरियाबाट आफ्नो कलम चलाइरहेकी छन् । ‘इतर कविता’ (संयुक्त कवितासंग्रह–२०७६), ‘यो मेशिनको शहर हो’ (संयुक्त कवितासंग्रह, कोरियन भाषामा अनुवादित, सन्–२०२०) ‘छकालै’ (संयुक्त कथासंग्रह–२०७७) र ‘यादको सन्दुक’ (कवितासंग्रह–२०७८) प्रकाशन गरिसकेकी मेवाहाङको उक्त ‘यादको सन्दुक’ कवितांग्रह अहिले चर्चाको शिखरमा छ । फिनिक्स बुक्सद्धारा प्रकाशित उनको पहिलो एकल कवितासंग्रह यादको सन्दुक ‘मदन पुरस्कार–२०७८’ को श्रेष्ठ सूची र ‘लालबन्दी नगर वाङमय भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि छनौट भएका १० औँ कृतिहरुको सूचीमा परेको छ । यीनै विषयमा कवि दिपा मेवाहाङसँग नेपाल मामिलाले गरेको छोटो कुराकानी यहाँ प्रस्ततु गरिएको छ ।
तपाइँको पहिलो एकल कवितासंग्रह ‘यादको सन्दुक’ बारे आफ्नै केहि शब्द राखिदिनोस् न ?
– बिगत ५ बर्षदेखि प्रवासमा छु । दैनिक ८ देखि १२ घन्टा काम, उस्तै दैनिकी, ज्यानकै जोखिम मोलेर मेसिनसँग जोरी खेल्नु त छँदैछ , त्यो समय आफूले आफैलाई मेसिनमै परिणत भएको धेरैपटक महसुस गरेको छु । यस्तो अवस्थामा भावनात्मक संवेदनालाई मर्न नदिन पनि कविताहरु कोर्ने गर्छु । र, ती नै भावनात्मक संरचनाहरुलाई सँगालेर तयार पारिएको हो ’यादको सन्दुक’ ।
‘यादको सन्दुक’ अहिले चर्चाको शिखरमा छ, मदन पुरस्कार–२०७९ को श्रेष्ठ सूचीमा परेको छ, अन्य पुरस्कारका लागि पनि धमाधम छनौटमा परिरहेको छ, अपेक्षा कस्तो थियो ?
– अपेक्षाले त मान्छेलाई निरास बनाउँछ । म कुनै कुराको अपेक्षा राख्दिनँ, यानेकी म निरास बन्न चाहान्नँ । चाहे त्यो सम्बन्धमा होस् या मैले लेखेका लेखहरुमा । जब कवितासङ्ग्रह प्रकाशित गर्ने सोच बनाएँ, प्रकाशित भएर बजारमा पनि गयो । पाठकहरुले पढ्नुभयो र सकारात्मक प्रतिक्रिया दिनुभयो, एकदम खुसी लाग्यो । मदन पुरस्कार गुठीको श्रेष्ठ सूची (उत्कृष्ट–८) र लालबन्दीनगर वाङमय परिषद् भाषा तथा साहित्य पुरस्कारमा छनोट पर्दा भने लेखनप्रति थप उत्साह बढेर आएको छ ।
प्रवासमा रहेका सर्जकहरुले भावना मात्रै कोर्छन् भन्ने नजिर तोडिएको हो ?
– नेपाली साहित्यलाई हेर्दा देशमा बसेर कलम चलाईरहेका सर्जकले प्रवासी सर्जकलाई हेर्ने दृष्टिकोण बेग्लै छ । त्यस्तोमा हामी प्रवासी सर्जकहरुले अझै मेहनत गर्नुपर्ने हुन्छ । पछिल्लो समय प्रवासमै रहेर केही कवि, कथाकारहरुले सृजना गर्नुभएको सङ्ग्रहहरु पढ्नुभएमा भावना मात्रै कोर्छन भन्ने भ्रम पक्कै हट्ने छ ।
तपाइँलाई विशेष के कुराले कविता लेख्न प्रेरित गर्छ ?
– म मस्तिष्क भन्दा बढ्ता मनको कुरा धेरै सुन्ने भएर होला, देखिएका, हेरिएका, भोगिएका कुराले मनलाई झंकार दिन्छ । मनलाई कुनै कुराले छोईहालेमा भावनाहरु टिपिहाल्छु ।
साहित्यका अन्य थुप्रै विधाहरु छन्, तर तपाइँ विशेष कविता नै लेख्नुहुन्छ, कविताले किन तान्यो ?
– हुन् त मैले कविता बाहेक कथा, संस्मरण पनि लेखिरहेको हुन्छु, तर लामो समयको ‘ग्याप’मा एक त प्रवासमा समयलाई जोखेर चल्नुपर्ने हुन्छ, यस्तो अवस्थामा कम समयमा पनि आफ्ना कुराहरु लेख्न सकिने भएकोले पनि अरु विधा भन्दा कविता नै लेख्न मन पराउँछु ।
पाठकले तपाइँको आख्यान पढ्न पाउनुहोला ?
आख्यान नै आउँछ भनेर त अहिल्यै भन्न सक्दिनँ, किनकी कविता लेख्छु, सङ्ग्रह निकाल्छु भनेर पनि कहिल्यै सोचेको थिइनँ । लेख्दालेख्दै कवितासङ्ग्रह आयो । बाकी समयलाई छोडिदिएको छु ।