हैदरावाद । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइज हैदरावादलाई आठ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा विराट कोहलीको शतकको मदतले बेंगलोरले जित निकालेको हो । यो जितसँगै बेंगलोर प्लेअफ नजिक पुगेको छ ।
आफ्नो अन्तिम खेलमा बेंगलोरले गुजरात टाइटन्सलाई हराएमा उसको प्लेअफ यात्रा लगभग निश्चित हुनेछ । जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको बेंगलोरले दुई विकेटमा आठ बलको खेल बाँकी छँदा त्यसलाई प्राप्त गरेको थियो ।
‘प्लेयर अफ द म्याच’ कोहलीले कप्तान फाफ डे फ्लेसिससँग मिलेर पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरे । उनले ठ्याक्कै सय रन बनाए । त्यसअगाडि हेनरिक क्लासनको १ सय ४ रनको सहयोगमा हैदरावादले पाँच विकेटमा १ सय ८६ रन बनाएको थियो ।