एजेन्सी । अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै संयुक्त राष्ट्रसंघले विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगानी जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन् ।
‘यतिबेला अफगानिस्ताका मानिसहरुको समस्याबाट भाग्ने समय होइन्,’ लायोन्सले भनिन् । संकटको समयमा अफगानिस्तानलाई बिर्सनु गंम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन् ।
राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ । खाद्यन्न अभावकै कारण विकृति देखिएका छन् ।
मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन् । केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन् ।