काठमाडौं । चिकित्सा शिक्षा अध्ययन गर्न १ हजार ३ सय ५९ सिट थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
अधिकांश निजी मेडिकल कलेजमा संख्या वृद्धिसहित सिट निर्धारण गर्ने निर्णय हुँदा सरकारी मेडिकल कलेजहरूमा भने सिट संख्या थपिएको छैन ।
गत वर्ष २ हजार १ सय ४० रहेको एमबीबीएसको सिट ४ सय ५९ ले बढाएर २६ सय ३५ पु¥याइएको छ । १ सय सिटमा विद्यार्थीलाई पठनपाठन गर्दै आएका अधिकांश मेडिकल कलेजले १ सय ३० वटा कोटाको दरले सिट पाएका छन् ।
बीडीएसमा ५० सिट वृद्धि भएको छ । जसमा कुल ६ सय २५ सिट निर्धारण भएको छ । बीएस्सी नर्सिङमा ४ सय ४० सिट बढाएर २ हजार ४ सय ३० सिट निर्धारण भएको आयोगले जनाएको छ । बीएनएसमा १ सय २२ सिट थप गर्दै १ हजार ६२ सिट निर्धारण भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडामा पनि पहिलो पटक एमबीबीएसको सिट तोकिएको छ । उनीहरुले ५०÷५० सिट पाएका छन् । पूर्वाञ्चलले कोशी अस्पताल र मदन भण्डारी प्रतिष्ठानले हटौंडा अस्पतालको सहकार्यमा चिकित्सा शिक्षाको अध्यापन थालनी गरेका छन् ।
निजी मेडिकल कलेजमा सिट संख्या थप हुँदा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा अध्ययन संस्थान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत सरकारी मेडिकल कलेजमा भने सिट बढाइएको छैन । सिट वृद्धि गर्न आर्थिक स्रोत सुनिश्चित नभएको भन्दै प्रधानमन्त्री ओलीले आयोगको बैठकमा रोकेको एक सदस्यले बताए ।
काठमाडौं, चितवन, युनिभर्सल, किस्ट, विराट, नोबेल र नेपाल मेडिकल कलेजको सिट वृद्धि गरेर १ सय ३० कायम गरिएको आयोगले जनाएको छ । त्यस्तै मणिपाल र गण्डकी मेडिकल कलेजको १ सय २० तथा देवदहको ९० सिट पु¥याइएको छ । यी मेडिकल कलेजमा नर्सिङतर्फ पनि सिट वृद्धि भएको हो । बीडीएसतर्फ कान्तिपुर, पिपल्स डेन्टल कलेजको पनि सिट संख्या वृद्धि गरिएको छ ।




