November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रत्यारोपण केन्द्रको गेट अगाडि प्रदर्शन, मन्त्रालय घेर्ने चेतावनी

990

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासी विहीबार पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नौं दिनदेखि आन्दोलनलाई निरन्तरता दिंदै आएका हुन् । विहीबार पनि उनीहरुले अस्पताल गेट अगाडि डेढ घन्टा प्रदर्शन गरे ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घेराउका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उनीहरुले कार्यकारी प्रमुखलाई अस्पताल प्रवेशमा रोक लगाउने तयारी गरेको जानकारी दिए ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि सुनुवाइ नभएको उनीहरुको आरोप छ । हाल मुटु सम्बन्धी उपचार नभइरहेको, उपकरण थन्क्याएर राखिएको एवम कार्यकारी प्रमुख नियुक्ति गर्दा विधि, प्रक्रियाको पालना नगरी विवादस्पद व्यक्तिलाई नियुक्ति गरिएकोमा उनीहरुको आक्रोश छ ।

Advertisement

अस्पतालमा किड्नीको मात्र प्रत्यारोपण भइरहेको तर मानव अंगका अन्य शिर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको आन्दोलनकारीले आशंका व्यक्त गरेका छन् । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको आन्दोलनकारीको भनाइ छ ।

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा।पुकारचन्द्र श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिमाथि पनि आन्दोलनकारी आक्रोशित छन् । ६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।