February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

एनडीए यूकेको च्यारिटी डिनर सम्पन्न

1.1K

लन्डन । बेलायतस्थित नेपाली चिकित्सकहरुको संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके)को च्यारिटी डिनर सम्पन्न भएको छ। शनिबार लन्डन वेम्लीस्थित क्ले ओभनमा सम्पन्न च्यारिटीबाट १५ हजार पाउण्ड बढी संकलन भएको एसोसिएसनले जनाएको छ ।

आयोजकका अनुसार नेपालमा मानव बेचविखन र यौन शोषणबाट मुक्ति पाएका समुदायका लागि कार्यरत अपरचुनिटी भिलेज नेपालको सहयोगार्थ उक्त च्यारिटी गरिएको हो । उक्त संस्थाले महिला बालबालिकाको अधिकार, उनीहरुको आर्थिक एवं सामाजिक न्याय, बाल श्रम रोकथाम, मानव बेचविखन र बालिका शिक्षाको प्रवर्धनका लागि वकालत गर्ने गर्छ ।

संस्थाले हाल बाल हेरचाह गृह सञ्चालन गरिरहेको छ। जसमा विशेष गरी यौन दुर्व्यवहार, बेचविखनबाट मुक्ति पाएका वा बेचविखनको उच्च जोखिममा परेका ३० जना बालिकाले संरक्षण पाएका छन् ।

Advertisement

कार्यक्रममा नेपाली चिकित्सकहरुले नेपालमा बढ्दो मानव बेचविखन समस्याप्रति चिन्ता व्यक्त गर्दै स्वतस्फूर्त सहयोग प्रदान गरेका थिए।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आधुनिक दासत्व र महिला बेचविखनसम्बन्धि संसदीय सल्लाहकार एवं यूके ब्यारिस्टर परोसा चन्द्रनले आफ्नो कार्यक्षेत्र र त्यस्तो वर्गको मानवअधिकार पक्षमा भएका न्यायिक सफलता एवं नेपालमा महिला बेचविखनबारे तथ्यांक प्रस्तुत गरेकी थिइन् भने एनडीए यूके अध्यक्ष डा. सन्जिव नेपालीले एसोसिएसनका च्यारिटी गतिविधिबारे प्रकाश पारे ।

कार्यक्रममा कार्यक्रम संयोजक एवं महासचिव डा. आरती हमालले स्वागत मन्तव्य राखेकी थिइन् भने लन्डनकी गायिका सितु खरेलले गीत र चिकित्साकी विद्यार्थी प्रतिष्ठा त्रिपाठीले आकर्षक नाच प्रस्तुत गरेका थिए । यस्तै, जोस ब्याण्डले लाइभ म्यूजिक प्रस्तुत गरेको थियो ।

सो अवसरमा राफल ड्र र अक्सन पनि गराइएको थियो । पल्लवी शाक्य र सेलिना जोशीले गराएको अक्सनबाट उल्लेख्य रकम संकलन भएको थियो । अक्सनमा राखिएकामध्ये डा. सन्दुक रुइतको बायोग्राफी ‘द बेअरफुट सर्जन’ ५ सय पाउण्ड र डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र परराष्ट्र’ दुई सय पाउण्डमा खरिद भएको थियो । महासचिव डा. आरती हमालले नेपाल गएका बेला दुवै कृतिका लेखकसंग भेटेर हस्ताक्षर गराएकी थिइन् ।

च्यारिटी डिनरमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बेलायती सांसद तथा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्मा, स्वीमर गौरिका सिंह लगायत सयौं सहभागी थिए ।